हिजोका कुरामा बाबा बस्नेत : ‘पिकेकी हिरोइन’ भनेर जिस्क्याउँथे

हिजोका कुरामा बाबा बस्नेत : ‘पिकेकी हिरोइन’ भनेर जिस्क्याउँथे

साहित्यकार बाबा बस्नेतको जन्म सिन्धुपाल्चोकको सामोसाँघुस्थित मावली घरमा भएको हो। बाबाकी आमाको सानै उमेरमा विहे भएकोले उनी जन्मिँदा आमा १५ वर्ष र बुबा २१ वर्षका मात्रै थिए। त्यही कारण उनकी आमा सुत्केरी हुनुअगावै माइती गएर बसेकी थिइन्।

बाल्यकालका धेरै समय मावलीमै बसेकीले बाबाका धरै सम्झनाहरु प्नि मावलीघरकै छन्। 

उनका मावलीका हजुरबुबालाई गाउँमा सबैले जेठा मुखिया भन्थे। त्यहाँ ३/४ वटा ठूला–ठूला रातो माटोले लिपिएका ढुंगाले छाएका घर थिए। ती घरलाई सबैले ढुंगेघर भन्थे।

बाबाको मावलीमा थुप्रै बच्चा। थिए, २० जना जति। पहिलो नातिनी भएर होला उनी सबैकी प्रिय थिइन्। बुबा नापीमा जागिरे र आमाका लगातार तीन जना बच्चा जन्मेपछि बाबाको बाल्यकाल मावलीघरमै बितेको थियो।

बाल्यकालमा ५० जनाभन्दा बढी बसेर दशैंको टीका लगाउने गरेको उनी सम्झिन्छिन्। ‘तामा र पित्तलका ठूला–ठूला भाँडामा पकाएको, १०/११ वटा पित्तलका गाग्री र २५/२६ वटा आंखोरा टल्काएर राखेको अहिले पनि सम्झन्छु,’ उनी सुनाउँछिन्, ‘गाई–भैंसी, बाख्राका छुट्टाछुट्टै खोर हुन्थे। आरुबखरा, आँप, कटहर, हलुवाबेद, आरु, अम्बा, कागतीका बोटहरु टन्नै थिए।’

बाबाको मावली गाउँ दार्जिलङतिरको जस्तो थियो। आँखाले भ्याएसम्म मावलीकै जग्गा थियो। उनले मावलीकै हजुरआमाको पहिलो पटक दूध खाएकी थिइन्। 

अलि ठूली भएपछि उनी पढाइको लागि बुबासँगसँगै धेरै जिल्लामा जानुपर्यो। विद्यालय फेर्दै पढ्नुपर्यो। धादिङ र तनहुँका नदीहरुमा लुकीलुकी पौडी खेल्न गएको, डण्डी–बियो, कबड्डी खेलेका यादहरु उनको मानसपटलमा अझै ताजै छ।

०००
सानैदेखि केटा–केटीबीच गरिने भेदभाव सहनै नसक्ने उनको स्वभाव थियो। कसैले ‘केटी मान्छेले यस्तो काम गर्न सक्दैनन्’ भन्यो भने त्यो काम गरेर देखाउनुपर्ने उनको स्वभाव थियो। 

मावली गाउँमा एउटा अग्लो ढुंगाको चिप्लेटी थियो। चिप्लेटी खेलेर भएभरका लुगाहरु प्वालैप्वाल पार्थिन्। वर्षमा एक–दुई जोर मात्रै लुगा किनिदिने हुँदा उनका प्वाल नपरेका लुगा कमै हुन्थे।

८ वर्षकी हुँदा एक पटक खन्युको रुख चढ्दा खसेर खुट्टा भाँचियो। उनलाई हजुरआमाले आफूले जानेको जडिबुटी लगाएर निको पारेको सम्झना छ। हुन पनि पहिलो बुढाबुढीहरु घर–आँगनमै पाइने जडिबुटीलाई औषधिको रुपमा प्रयोग गर्थे।

उनका बुबा पढाइमा तेज, शुद्ध बोल्ने, लेख्ने, अक्षर पनि धेरै राम्रा लेख्ने, राम्रो बाँसुरी बजाउने र गीत पनि गाउँथे। उनमा बुबाकै गुण सर्यो। २ कक्षामा पढ्दा नै सधैं बिहान चिया खाने समयमा बाबालाई गोरखापत्र पढ्न लगाइन्थ्यो। पढ्दा अल्मिलियो भने बुबाले पिट्थे। पिटाइ खानुपर्ला भनेर उनी ध्यान दिएर गोरखापत्र पढ्थिन्।

५ वर्षकै उमेरमा उनी स्वस्थानी कथा पढ्थिन्। उनले भनेको स्वास्थानी सुन्न गाउँघरका मान्छेहरु आउँथे। ७ वर्षकी हुँदा त स्वस्थानीका स्लोक र कथा नै कण्ठ भइसकेको थियो। 

सानैदेखि आफ्नो बाचनकला राम्रो हुँदै जानुमा बुबाको पढाइप्रतिको लगाव मान्छिन् उनी।

०००
बाबाले कक्षा ६ देखि ९ सम्म काठमाडौंको कन्या माविमा पढिन्। त्यहाँ पढ्दा रेडियो नेपालको बाल कार्यक्रममा भाग लिने मौका पाइन्। पहिलो पटक भाग लिन जाँदा दिनभरि घाममा लाइन बसेर ढिलो पालो आएको सम्झिन्छिन्।

पहिले चञ्चले, झगाडालु स्वभावकी बाबा टिनएजरपछि भावुक र अन्तर्मुखी स्वभावकी हुन थालिन्। त्यसपछि नै हो उनले आफू जहाँजहाँ पुगिन्, त्यहाँको प्रकृतिलाई नियाल्दै साहित्य सिर्जना गर्न थालेको। सुनकोसी र भोटेकोसी हेरेर दर्जनौं, कविता, निबन्ध, कथा लेखेकी छिन् बाबाले। उनले जति पनि साहित्यिक कार्यक्रममा भाग लिइन्, अधिकांशमा पुरस्कृत नै भइन्। 

कक्षा ९ मा पढ्दा नै उनी रेडियो नेपालमा प्रसारण हुने गीति नाटक र नाटक लेख्नसक्ने भइसकेकी थिइन्। त्यतिबेला निरोधराज पाण्डेले हरेक बिहीबार गीतिकथा बाचन गर्थे। उनकै अनुरोधमा बाबाले कथा लेख्न थालिन्। उनका कथा एवं नाटक धेरै नै बाचन भए। पछि निरोधराज पाण्डेले नै महिला आवाजमा बोल्न लगाए। 

स्कुल पढ्दापढ्दै उनले गीतमाला, देउराली, घरेलु तथा साना उद्योग आदि कार्यक्रममा बोलेकी थिइन्। त्यतिबेलै उनले सिद्धान्तराम जोशीसँग पनि बोल्ने मौका पाइन्। एसएलसी भने उनले गुल्मीबाट दिएकी हुन्। 

बबाले पद्मकन्या क्याम्पसमा संगीत विषय लिएर आइए पढिन्। रेडियोमा नियमित बोल्ने त छँदै थियो। प्रज्ञा प्रतिष्ठानमा संगीतको प्रशिक्षार्थीको रुपमा पढ्न पनि पाइन्। जहाँबाट पनि भत्ता आउँथ्यो। साँझ अंग्रेजी भाषाको कक्षा लिन जान्थिन्। उनी साह्रै व्यस्त थिएन्।

त्यही समयमा घरबाट जे गरे पनि सरकारी जागिर खानुपर्छ भन्ने दबाब आएपछि उनी फोहोर–मैला प्रबन्ध तथा स्रोत पहिचान केन्द्रमा जागिरे भइन्। जहाँ उनले रेडियो तथा टेलिभिजनमा ध्रुव थापासँग नगर परिक्रमा कार्यक्रम चलाउँथिन्।

बाबाले भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र नेपालको संयुक्त लगानीमा बनेका चलचित्रहरुमा नायिकाको नेपाली आवाज पनि दिएकी छिन्। पहिलो पटक पाकिस्तानमा नेपाली भाषाको डबिङको लागि जाँदा बासु शशी, गोपाल योञ्जन र चेतन कार्की सँगै थिए। त्यतिबेला सानी देखेर उनलाई यस्ती बच्चीले पनि के काम गर्लिन् र? भन्ने कमेन्ट समेत आएको थियो। तर उनले डबिङमा एक टेकमै ओके गरेपछि सबै छक्क परे। त्यही कारण उनले अरु ४ वटा संयुक्त लगानीमा बनेका चलचित्रमा पनि मुख्य नायिकाको लागि नेपाली आवाजमा बोल्ने मौका पाइन्।

पहिलो चलचित्रको लागि ३ हजार पारिश्रमिक लिएकी उनले पछि एउटा चलचित्रको लागि ७ हजार लिएर काम गरिन्। त्यतिबेलाका चर्चित पाकिस्तानी नायिका अञ्जुमनले अभिनय गरेको चलचित्रमा नेपाली डबिङको लागि बाबालाई नै बोलाउने थाले। बाबाले अभियान, ममता, टाइगर, शाहस, प्रायश्चितमा नायिकाको नेपाली आवाज दिएकी थिइन्। 

रेडियोका धेरै नाटकमा बोले पनि कुरुक्षेत्रमा द्रौपदीको भूमिकामा बोल्दा र दुर्गा भवानी भएर खित्का छोडेर हाँस्नु परेको भूमिकामा उनलाई धेरै गाह्रो भएको अनुभव छ। घरमा र मावलीमा ठूलो आवाजमा बोल्न र खित्का छोडेर त हाँस्न नपाउने भएकाले ती भूमिका निभाउन एकदमै गाह्रो भएको बाबाले बताइन्। 

०००
पद्मकन्या क्याम्पसमा बिए पढ्दा बाबाले नाटकमा नायिकाको अभिनय गरेकी थिइन्। त्यसपछि ‘पिकेकी हिरोइन’ भनेर केटाहरुले जिस्क्याउने र बहिनीलाई समेत हिरोइनको बहिनी आइन् भनेर जिस्क्याउने गरेको उनी सुनाउँछिन्।

कलेजमा अभिनय गरेपछि प्रज्ञा प्रतिष्ठानबाट पनि उनलाई अभिनयको लागि दबाब आउन थाल्यो। त्यहाँबाट पनि केही नाटकमा अभिनय गरिन्। उनले ‘आँधी’ नाटकबाट राष्ट्रव्यापी नाटक महोत्सवमा उत्कृष्ट अभिनेत्रीको रुपमा पुरस्कार जितेकी थिइन्।

तत्कालीन शाही सेनाको नाटक हरेक महिनामा रेडियो नेपालबाट प्रसारण हुन्थ्यो। त्यसका लागि बाबाले नै नाटक लेख्ने जिम्मा पाएकी थिइन्। त्यहाँ पनि उनले धेरै नाटक लेखिन्। 

अभिनय, वाचन, पत्रकारिता र साहित्यका सबै विधा जस्तैः कविता, कथा, गीत, गीतिनाटक, खण्डकाव्य, उपन्यास, निबन्धमा उनले कलम चलाइरहेकी छिन्। साहित्य, अभिनय, संगीत कलाका विधाहरुमा सक्रिय पात्रको रुपमा बाबा बस्नेतलाई लिन सकिन्छ।

२०४६ सालमा साहित्य पत्रकार संघको कोषाध्यक्ष भएकी बाबासँग साहित्यका हरेक विधासँग विशेष लगाव छ। पहिलेजस्तो आफ्नो एउटा रचना पाठक माझ पुर्याउन अहिले गाह्रो नभभएको बताउने उनी अहिले प्रविधिले साहित्यको पहुँचलाई पनि सहज बनाइदिएको अनुभव गर्छिन्।

१८ कात्तिक, २०७८, १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।