उकेरा कोलम

हिजोका कुरा : पञ्चायतमा राजनीतिमा लाग्ने महिलाको चरित्रमाथि प्रश्न उठ्थ्यो


वि.सं. २०११ मा नुवाकोटको त्रिशुली बजारमा जन्मिएका सुरेन्द्र शाक्य ललितपुरको पाटनस्थित मंगलबजारका स्थानीय बासिन्दा हुन्। 

पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म भोगेका शाक्य विचारधाराको हिसाबले हाल संघीय समाजवादी पार्टीसँग निकट छन्।

विगतदेखि वर्तमानसम्मका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका शाक्य विगतको चुनावी माहोललाई यसरी सम्झन्छन्: 

२००७ सालपछि बुवा-आमा काम विशेषले पाटनबाट नुवाकोटको त्रिशुली पुगेर बसोबास गर्नुभएकोले मेरो जन्म त्यहीँ भयो। म जन्मिएको केही वर्षमै देशमा पञ्चायती व्यवस्था लागू भइसकेको थियो।

म करिब पाँच वर्षको थिएँ। त्यतिबेला चुनावको माहोल थियो। आमा-बुवाहरु भोट खसाल्न गएकोले मैले नै खाना पकाएर राखेको थिएँ। ‘यो केटोले त खाना पनि बिगारेर पकाएछ’ भन्दै कराउनुभएको अहिले पनि सम्झन्छु। बुवा-आमाले ‘रुखमा छाप लगाएर आयौँ’ भन्नुभयो। कांग्रेसमा भोट खसालेको भन्ने पछि मात्र थाहा पाएँ। 

बाल्यकाल त्रिशुलीमै बिते पनि विवाह हुने बेला म यता कुलघरमै आएर बस्न थालें। २०२६ सालसम्म मैले एसएलसीको जाँच दिइसकेको थिएँ। लगत्तै म शिक्षण पेसा र सामाजिक कार्यमा सक्रिय भएँ। साथै २०२६ सालको भाषिक आन्दोलनमा पनि सहभागी बनें।

०००
२०२६/०२७ सालतिर नेपालका सबै उत्तरी सिमानामा भारत सरकारले आफ्ना सैनिकहरु राखेको थियो।

राजा महेन्द्रको पालामा कीर्तिनिधि विष्ट चीन र भारत दुवै मुलुकसँग सम्बन्ध राखेका बलिया प्रधानमन्त्रीको रुपमा चिनिन्थे। उनकै नेतृत्वमा सीमामा सैनिक राखेको विषयमा व्यापक विरोध जुलुस निकालिएको थियो। त्यो जुलुसमा हामी पनि थियौं। नुवाकोटको तत्कालीन सदरमुकाम बिदुरमा विद्यार्थी र शिक्षकको तर्फबाट मैले पहिलो पटक भाषणसमेत गरेको याद छ।

विरोध भएपछि भारतीय सैनिकहरु सबै ठाउँबाट हटाइए पनि लिपुलेकबाट भने हटाउन सकिएको थिएन। जुन मुद्दा अहिलेसम्म पनि चलिरहेकै छ।

पञ्चायतको भोट 
२००७ साल र २०१७ सालको बीचमा कांग्रेस थियो, रुखमा मात्र भोट खसाल्नुपर्ने हुन्थ्यो। मलाई याद भएसम्म त्यसबेला चुनावी प्रचारको क्रममा ठाउँ-ठाउँमा रुख भएको पर्चाहरु टाँस्ने, पर्चाहरु वितरण गर्ने र बाकसमा भोट खसाल्ने गर्थे। 

पञ्चायतकालमा अहिलेजस्तो सिधै सदनलाई भोट दिने नभई सर्वसाधारणले नगर र गाविस तहलाई भोट हाल्न पाउँथे भने नगर र गाविस प्रतिनिधिले मात्र जिल्लालाई दिने हुन्थ्यो अनि जिल्लाले माथिल्लो सदनलाई भोट दिन्थे। हामी सर्वसाधारणले सदनलाई भोट दिन पाउँदैनथ्यौं।

पञ्चायतकालको चुनाव भनेको जसले स्नातक तह पूरा गरेको छ, उनीहरुले मात्र राष्ट्रिय सदस्यको लागि सदनमा भोट खसाल्न पाउने अधिकार हुन्थ्यो। स्नातक पढेकाले दिएको भोटको मान्यता बढी थियो र सबै बुद्धिजीवीले मात्र भोट खसाल्ने प्रचलन थियो।

त्यहाँ पञ्चहरुको एउटा मात्र नभई विभिन्न समूह हुन्थ्यो। पञ्चहरुले ‘यो मेरो मान्छे, त्यो त्यसको मान्छे’ भन्दै विभिन्न किसिमका समूहहरु बनाउँथे। समूह अनुसारको राज चल्थ्यो।

राजनीतिमा लाग्ने महिलाको चरित्रमा दोष
अहिले चुनावमा महिलाको एउटा खाले सम्मान जुन छ, त्यसबखत महिलाको कुनै सम्मान थिएन। पञ्चहरुको समूहमा एकाध महिला जान्थे तर तिनले आफ्नो स्वाभिमान र आफ्नो स्वतन्त्रतामा बस्न पाउँदैनथे। 

पञ्चायतमा राजनीतिमा लाग्ने महिलाको चरित्रमाथि प्रश्न उठ्थ्यो। त्यस्तैखालको खराब चरित्र भएका महिलाहरु मात्र पञ्चहरुमाझ जान्छन् भन्ने धारणा हुन्थ्यो। किनकी दस/बाह्र जना पुरुषको बीचमा एक्लो महिला उनीहरुसँगै हिँड्नुपर्ने, उठबस गर्नुपर्ने, घर बाहिर सुत्नुपर्ने हुन्थ्यो। सोही कारण उनीहरुमाथि हेर्ने दृष्टिकोण नै खराब हुन्थ्यो। महिलाहरु पनि खराब दृष्टिकोण बोकेरै जान्थे। मैले देखेको यस्ताखाले पञ्चायतको यो चित्रलाई नेपाल भाषामा लेखेको पनि छु। 

त्यसबेला स्नातक गरेका बुद्धिजीवीहरुको अर्को इज्जतदार चित्र थियो। स्नातकमा चाहिँ दमननाथ ढुंगाना, पशुपतिशमशेर राणा लगायतका व्यक्तिहरु बुद्धिजीवीबाट उम्मेदवार बन्ने हुँदा उनीहरुको राम्रो इज्जत हुन्थ्यो। उनीहरुको भाषण खुब चल्थ्यो। 

त्यतिखेर जनताबाट पैसा उठाएर सरकारको लगानीमा जिल्लामा संस्थाले एउटा विद्यालय भवन बनाइदिन्थ्यो। सरकारले नै तलब व्यहोर्ने, साइन्स ल्याब बनाउने आदि हुँदा नमुना (मोडल) विद्यालय नाम दिइएको थियो। त्यस्ता विद्यालयमा तालिमप्राप्त शिक्षकले मात्र काम गर्न पाउने नियम थियो।

म सानै उमेरको भए पनि सामाजिक कार्यसँगै पढाइ पनि गरिरहेको थिएँ। सोही कारण र हामीहरुले नै स्थापना गरेकाले म उक्त सरकारी विद्यालयको प्राइमरी टिचर थिएँ। सो विद्यालयमा तालिम नलिई तिमीहरु टिचर बन्न पाउँदैनौ भन्दै मलाई सरकारले समात्यो। त्यसपछि म कीर्तिपुर कलेजमा पढ्न थालें।

२०२६/०२७ सालतिरै हो, रामराजाप्रसाद सिंह स्नातकबाट पञ्चायतको विरोधी भएर चुनावमा उठेका थिए। उनी नाम कमाएका व्यक्ति थिए। उनलाई नजिकबाट हेर्ने मौका जुरेको थियो। कलेजको पेरिफेरीमै उनले खुला रुपमा भाषण गर्थे। पञ्चायत विरोधी भए पनि सरकारले कलेजभित्रको कार्यक्रममा गएर हस्तक्षेप गर्दैनथ्यो। परिसरबाहिर आएर कडा भाषण गर्‍यो भने सरकारले समातिहाल्थ्यो।

कांग्रेसीलगायत विरोधी पक्षले उनलाई भाषण गर्न दिँदैनथे। रामराजा तराई मुलको भएको व्यक्ति भएकोले उनी या त अंग्रेजीमा या त हिन्दीमा फरर भाषण गर्थे। उनलाई नेपाली बोल्न आउँदैनथ्यो। म पनि उनको भाषण सुन्न गएको थिएँ। उनको भाषण साह्रै रमाइलो हुन्थ्यो।

सिंहको चुनावी पर्चा हत्तपत्त सबैको हातमा पुग्दैनथ्यो। लुकाएर पढ्नुपर्ने थियो। सिंहको एउटा चुनावी पर्चा हेर्न/पढ्न ५० रुपैयाँ तिर्नुपर्थ्यो। त्यसबेला एक रुपैयाँ पनि ठूलो रकम हुन्थ्यो। ५० रुपैयाँ त झन् अहिलेको पाँच हजार बराबर नै हुन्थ्यो।

अरु दलका पर्चाहरु सित्तैमा पाइन्थे। जम्मा एक पेजको उनको चुनावी पर्चा ५० रुपैयाँमा किनेर पढ्न पाएको थिएँ। ‘दिस इज नट दी इलेक्सन, बट अ विगिनिङ अफ रिभोलुसन’ उनको पर्चामा लेखिएको हुन्थ्यो। उनी ‘जेल मेरो मन्दिर हो’ भन्थे।

पञ्चायतदेखि सबै वाक्क भइसकेकाले जसले विरोध गर्न सक्यो, भोट उसैको पोल्टामा जान्थ्यो। इतिहासदेखि नै जसले भ्रष्ट सरकारको विरोध गर्छ, उसैलाई जनताले मन पराउने वातावरण सिर्जना हुँदो रहेछ। सोही कारण रामराजाले नै जिते।  

जितेपछि उनले सदनमा गएर सपथ लिनुपर्ने थियो। भोटले त जिते तर सरकार उनको विरुद्ध भएकोले सदनमा गएर सपथ लिने अवस्था थिएन। तर पनि उनले जुक्ति लगाए, आफू चालक बनेर र चालकलाई गाडीको पछाडि राखेर सदनभित्र छिरे। यस्तो जुक्तिले सदनभित्र पुगेका उनलाई लाठी-मुढा, झगडा गरेर, पिटेर जेलमा थुनियो।  

पछि आएर उनले राजा महेन्द्रको गाडीमा र दरबारको ढोकामा बम पनि राखेका थिए। त्यसपछि मात्र जनजातिको तर्फबाट गोरेबहादुर खपांगीहरु आए। खपांगीले ‘एउटै भाषा, एउटै भेषको देश हुनुहुँदैन, सबै जातजातिको फूलबारी हुनुपर्छ’ भनेर आन्दोलन गरे। त्यसपछि पद्मरत्न तुलाधरले पनि रामराजा सिंहले जस्तै सदनको विरोध गर्दै चुनाव जितेका हुन्।

त्यसबेला संसदमा जाने एक जना पहिलो चर्चित महिलालाई राष्ट्रिय पञ्चायतमा होमिएको थियो। हुलमुलमा साढे पठाएजस्तो गराएर तिनले पनि भारी मतले जितेकी थिइन्। खरो बोल्ने भएकोले ती महिला बौलाहाको रुपमा चिनिन्थिन्।

पछि विस्तारै पञ्चायत सरकार कमजोर हुँदै गयो। दरबारभित्रको शासन एक तहबाट भइरहेको थिएन। ऐश्वर्या र धीरेन्द्रको अलग-अलग लाइन थियो। प्रधानमन्त्रीको आफ्नै बोलबाला। दरबार भित्रका सचिवहरु अर्कै लाइनमा थिए। राजाले नियन्त्रणमा लिन नसक्दा एकदम विभाजित शक्ति थियो। तैपनि, राजाको शासन बलियो भएकोले जनताले जीवनस्तर राम्रो थियो। एक किसिमको अनुशासन थियो। 

पञ्चायतको चुनावी प्रचार 
'भात, चिउरा खान धानको बाला’, ‘दाउरा बाल्न रुख’ जस्ता नारा हुन्थे। त्यतिबेला हँसिया हथौडालगायत धेरै चिह्नहरु थिएनन्। हलो र रुखहरु मात्र देखिन्थे। संकेत अनुसारको अर्थ राखेर नारा बनाइन्थ्यो। यतिबेला जस्तो सामाजिक सञ्जाल थिएन। पर्चामार्फत नै प्रचारप्रसार हुन्थ्यो। 

राजाको पालामा गाविस र नगरमाथिको तहमा भोटिङ सिस्टम थिएन। सदनमा जिल्ला प्रतिनिधिबाहेक अरुले भोट गर्दैनथे। धेरै जना नहुँदा त्यहाँ ग्रुपिजम हुन्थ्यो। आ-आफ्ना मान्छेले हातमा लिने, कोठामा थुन्ने, कसैलाई तरुनी लगिदिने, कसैलाई पैसा लगिदिने, कसैलाई धम्क्याउने खालको चुनावी माहोल हुन्थ्यो। 

२०२६ सालपछि गणेशमान सिंहले चुनावको समयमा चार वटा तारामध्ये एउटा तारा धर्मनिरपेक्ष हो भनेर भन्थे ‘तपाइँहरु त आफ्नो हिन्दु धर्म भएकोले समस्या नहोला, भाषा र धर्मको दमन हामीले भोग्या छौं’ भन्थे।

एमाले र माओवादी भनेको आकाश-जमिनको फरक हो। एमालेसँग न कम्युनिष्ट विचारधारा छ न त व्यवहार नै। त्यसैले ऊ कुनै पनि हालतमा कम्युनिष्ट होइन। संसदीय व्यवस्थाभित्र जाने, एनजिओ खोलेर कार्यक्रम चलाउने पनि कम्युनिष्ट हुन्छ?

राज्यको एउटा मात्र भाषा र धर्म हुनुहुँदैन भन्ने पक्षमा हामी थियौं। तर गणेशमानले धर्म निरपेक्षता दिन नसक्दा उनीप्रतिको दृष्टिकोण पनि बदलियो।

०००
२०४६ सालको आन्दोलनपछि जनतामा अधिकार त आयो। तर पनि हाम्रो देशमा सार्वभौमसत्ता कहाँ छ भन्ने खै?

भारतका ठूल्ठूला नेताहरु आएर गणेशमानकै कोठामा भाषण गरेर आन्दोलन सुरु गरे। त्यसबेला म एउटा स्विस प्रोजेक्टमार्फत सिन्धुपाल्चोकको डाँडामा काम गरिरहेको थिएँ। ‘चाक्सीबारीमा भारतका नेताहरु आएर भाषण दिएर सरकारलाई तर्साए’ भनेको रेडियोमा सुन्थ्यौं। त्यति हुँदाहुँदै पनि कम्युनिष्ट र कांग्रेसले पनि आन्दोलन गर्न नसक्ने अवस्था थियो। कांग्रेस र कम्युनिष्ट सैद्धान्तिक रुपले फरक भए पनि राज्य विप्लवको लागि संयुक्त हुनुपर्ने अवस्था आयो। दुवै दल संयुक्त भएपछि मात्र केही परिवर्तन आएको हो। 

आत्मनिर्भर नेपाल 
त्यतिबेला एनजिओ/आइएनजिओबाट धेरै कामहरु भइराखेको थियो। जागिर पाइरहेका थिए। जीवनस्तरको हिसाबमा हेर्ने हो भने पहिलेभन्दा अहिले जनताले धेरै अवसर गुमाउँदै गए।

राजाको एकतन्त्रीय शासन भए पनि कृषि राम्रोसँग चलिरहेको थियो। त्यतिखेर अमेरिकाको सहयोग थियो।  कृषि तालिमका लागि अमेरिका र अन्य मुलुक जान पाइन्थ्यो। सोही कारण कृषि राम्रो भएको थियो। नेपाल आत्मनिर्भर बनेको थियो। 

त्यसपछि कृषिलाई अर्थमा रुपान्तरण गर्ने भन्दै माओवादीले परिवर्तन ल्याउन खोजे तर त्यसले राम्रो नतिजा ल्याएन। उनीहरुले केबल हिंसाको राजनीति ल्याए। हिंसाको राजनीति काम छैन भन्ने बुझियो। 

करोडौं मानिस मजदूर भएर काम गर्ने ठाउँमा चाहिँ ती मजदूरले शासन गर्ने दिन आउँछ तर नेपालजस्तो मुलुकमा, हाम्रो आफ्नो घरखेत भएको ठाउँमा, सबैले आफ्नो खेतीपाती, अन्नपात गरिरहेको ठाउँमा माओवादी जन्मिएपछि धनीहरु सुरक्षाको लागि सहर पसे। तराई, पहाड ग्रामीण भेगको जमिन बाँझो बन्यो। उत्पादन भएन र बेरोजगारी र परनिर्भरता झनै बढ्यो।

जातजाति छोडेर चाहे माओवादी, कांग्रेस, एमाले जेसुकै बने पनि यतिबेला देशमा एकथरीले मात्र शासन गरिरहेको छ। क्षमता नभई मौकाअनुसारको शासन गरिरहेको छ। पञ्चायत, राणाकालमा जस्तो शासन अहिले पनि प्रयोग भइरहेको छ। 

खासमा म त माओवादी विचारधाराबाटै प्रभावित हो। परिवर्तन आउनुपर्छ भन्ने पक्षमा थिएँ। तर माओवादीसँग एक वर्षको संगतले पुग्यो। म हिंसामा विश्वास गर्दिनँ। माओवादीले सैद्धान्तिक हिसाबमा हतियारको राजनीति नगरी हुँदैन भनेर आँखा चिम्लेर गएर भुल गर्‍यो। किनभने, हिंसात्मक राजनिति भनेको आफूले मात्र मार्ने होइन, अरुको गोलीबाट पनि मरिन्छ भन्ने हो।

सिद्धान्तको लागि भनेर गएकाहरु आफ्नो ज्यान जोगाउनतर्फ लागे। ज्यान जोगाउन आफ्नो सिद्धान्त छोड्नुपर्ने भयो। ज्यान जोगाउनको लागि यिनीहरु सबै भारत पुगेर सैनिक तालिम लिन थाले। बाहिरबाट चाहिँ भारतलाई गाली गर्ने, भित्रभित्रै भारतसँगै मिल्ने भए। जनतालाई भ्रममा पार्न उनीहरुले झुटो राजनीति गरे। दानापानी खोज्दाखोज्दै सबै भताभुंग बन्यो। 

अहिलेको संघीयता
नेपालमा संघीयताको आवश्यकता छ। तर संघीयताको खरो विरोध जुन व्यक्तिले गर्‍यो उसैले संघीयताको सिद्धान्त लागू गरेकोले बिग्रियो। एमाले संघीयताको एक नम्बर विरोधी हो। एमालेका बाहुन-क्षेत्रीहरुले संघीयताको विरोध गरेपछि अशोक राई जस्ताहरु सबै बाहिर आएर आन्दोलन गरेका हुन्। तिनै केपी ओलीले संघीयताको विरोध गर्ने र उनैले त्यो सिद्धान्त लागू गरेपछि के हुन्छ? संघीयता बिकायो र बिगार्‍यो। संघीय प्रदेशहरुमा संघीयताको के विशेषता छ?

पञ्चायतकालको चुनावमा पञ्च, कांग्रेस र कम्युनिष्ट मात्र हुन्थे। पञ्चको विरोधमा कांग्रेस र कम्युनिष्टको विचारधारा मात्र थियो। विचारधाराको लडाइँ भइराखेको थियो। तर अहिले पार्टीहरु मात्र धेरै भए, पार्टीका विचारधारा भएनन्। जुन सबैभन्दा ठूलो दुर्दशा हो।

पहिले पञ्चायतको विचारधारा यो हो, कांग्रेसको विचारधारा यो हो भन्ने स्पष्ट हुन्थ्यो। अहिले पार्टीको विचारधारा नै स्पष्ट छैन। कांग्रेस र माओवादीले गठबन्धन गर्ने भएपछि केको विचारधारा? चुनावै जित्न गठबन्धन गर्ने भएपछि केको पार्टी? टाउको काटेर टाउको काट्न दिने मान्छे नै एउटै ठाउँमा बसेर जित्ने भएपछि त्यहाँ विचारको के कुरा गर्ने?

खासमा म त माओवादी विचारधाराबाटै प्रभावित हो। परिवर्तन आउनुपर्छ भन्ने पक्षमा थिएँ। तर माओवादीसँग एक वर्षको संगतले पुग्यो। म हिंसामा विश्वास गर्दिनँ। माओवादीले सैद्धान्तिक हिसाबमा हतियारको राजनीति नगरी हुँदैन भनेर आँखा चिम्लेर गएर भुल गर्‍यो।

एमाले र माओवादी भनेको आकाश-जमिनको फरक हो। एमालेसँग न कम्युनिष्ट विचारधारा छ न त व्यवहार नै। त्यसैले ऊ कुनै पनि हालतमा कम्युनिष्ट होइन। संसदीय व्यवस्थाभित्र जाने, एनजिओ खोलेर कार्यक्रम चलाउने पनि कम्युनिष्ट हुन्छ? अहिलेसम्म पुग्दा धेरै अव्यवस्थित भइसक्यो। 

पहिलेको चुनावमा धाँधली, अहिलेको व्यवस्थित
त्यसबेला र अहिलेको चुनावमा तुलनात्मक रुपमा नियन्त्रित भएको छ। पहिलेको चुनावमा निकै धाँधली हुन्थ्यो। एउटा व्यक्तिको नाममा अरुले नै भोट दिने, भोट खसाल्न जानेहरुले दिनभर लाइन बस्नुपर्ने, लाइन बस्दासम्म अरुले नै आफ्नो नाममा भोट खसालिसकेको हुने, आफूले चाहेको व्यक्तिलाई भोट खसाल्न नपाइने धेरै हुन्थ्यो। तर यतिबेला भने प्रविधिले धेरै सुधार भएको छ। निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउँदा पहिलेजस्तो धाँधलीवाला चुनाव असम्भव छ। जुन राम्रो पक्ष हो। 

तर, आयोगले अप्रत्यक्ष रुपमा अर्को ठूलो बदमासी भने गरेको छ। मतदान पत्रमा मेयर र उपमेयर बाहेक, सूर्य र रुखबाहेक अन्यत्र मतदाताको आँखा नपुग्ने गरी चुनाव चिह्न राखेको छ। अन्य सानोतिनो चुनाव चिह्न भएकाहरुले भोट पाउने सम्भावना न्यून छ। अधिकांश ठाउँमा सूर्य र रुख चिह्नले मात्र जित्ने निश्चितजस्तै छ। 

आयोगले मतदातालाई नो भोटको अधिकार पनि दिएको छैन। अधिकांश बुद्धिजीवी वर्ग र अन्य जनतालाई यो चुनावदेखि वाक्क लागिसकेको छ। यदि नो भोटको प्रणाली थियो भने ठूलो संख्यामा बुद्धिजीवीहरुले नो भोट गर्थे।

मैले भने जो असल छ, जसले राम्रो शासन गर्छ, जसको व्यवहार गतिलो छ उसैलाई भोट दिन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

मलाई बढो खुसी लागेको छ मत परिणामहरू हेर्दा। जसलाई दलीय अन्ध मोह छैन ती मतदाता पनि पक्कै मै जत्तिकै खुसी होलान् यी परिणाम देखेर। यो....

चौथो अंग : नियमित तलब नदिने प्रकाशक भएको क्षेत्रमा समाचारमा लगानी भएन भनेर के आलोचना गर्नु !

२०५९ सालतिर एक म्यागेजिनमा काम गर्थें म। 'आमुने-सामुने' भन्ने कोलम थियो। एमालेको सातौँ महाधिवेशन चलिरहेको थियो त्यो बेला। केपी शर्मा ओली र माधवकुमार नेपालसँग कुरा गरेर....

टेको पाउन नसकेको टेकबहादुरको सपना जसले सडक किनारमा पनि साथ पाएन

यो यत्ति लोकप्रिय भयो कि उनको चुनाव प्रचारकै अफिसियल गीत जस्तै भइदियो। चुनावी प्रचारको मञ्चमा खुबै गाए उनले यही गीत। यसले धेरैलाई छोयो पनि। अहिले....

प्राध्यापक बिन्दुको प्रसव पीडा र खुसी : आमाले तेरो छोरीको खुट्टा बांगो छ भन्दा सात्तो गयो

पाँच पुस्तादेखि हामी काठमाडौंका बासिन्दा हौं। मेरो बुबा देविभक्त प्याकुरेल पहिले कुनै सरकारी कार्यलयमा काम गर्नुहुन्थ्यो रे। तर तराईको जग्गामा खेतिपाती समेत गर्नुपर्ने भएकाले जागिर....

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्। धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा....