हिजोका कुरा : भजन सुनेर हुर्केका प्रशन्नध्वज पंकपपतिर कसरी मोडिए ?

हिजोका कुरा : भजन सुनेर हुर्केका प्रशन्नध्वज पंकपपतिर कसरी मोडिए ?

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानका दुई छोरामध्ये जेठा छोरा हुन्, प्रशन्नध्वज प्रधान। सानैदेखि आफ्ना बुबा प्रेमध्वजको अनुशासित र सरल गायकको छवि प्रशन्नमा पर्यो। गायनमा भने उनले सुगम संगीतभन्दा वेस्टर्न पंकपप जारालाई आत्मसात गरे। 

होस सम्हालेदेखि नै संगीतको ध्वनीसँगै हुर्के प्रशन्नध्वज। बिहान ३ बजेदेखि बागबजारस्थित उनको घरमा गीत-संगीतको माहोल जम्थ्यो। हजुरआमा (बज्यै) प्राणदेवी प्रधान उज्यालो नहुँदै हरदिन भजन गाइरहनुहुन्थ्यो। बिहान आँखा नखोल्दैदेखि राति नसुतेसम्म संगीत गुन्जिरहेकै हुन्थ्यो।

बिहान बज्यैले गाउनुहुन्थ्यो भने साँझ बुबाको रियाज। बज्यैको गायन नसुनी उठ्ने बानी नै थिएन। बिहानको अलार्म जस्तै थियो, प्रशन्नलाई बज्यैको रियाज।

बिहान झिसमिसेमै बज्यैको हात समाएर काठमाडौंको जनबहाल, शोभा भगवती लगायत मठ-मन्दिर पुग्थे प्रशन्न। मन्दिरमा बिहान भजन-कीर्तन भइरहन्थ्यो। बज्यैले भजन गाउँदा प्रशन्न तबला बजाइदिन्थे। बागबजार भजन घरमा प्राणदेवीले भजन गाउँदा जहिले पनि तबला बजाउने प्रशन्न नै हुन्थे।

प्रशन्नलाई तबला र मादल बजाउन पनि प्राणदेवीले नै सिकाएकी हुन्। प्रेमध्वजलाई पनि तबला र हार्मोनियम उनैले सिकाएकी हुन्। सधैं संगीतकै माहोल हुँदा प्रशन्नको संगीतप्रति झुकाव नहुने कुरै भएन। त्यसमा पनि बाहिर मानिसको छेउमा बजाउन पाउँदा उनमा सिक्ने हुटहुटी बढेको हो। उनी हरेक दिन बज्यैको छेउमा तबला सिक्न जान्थे। १०/१२ वर्षको उमेरसम्म उनलाई बिट रिदमहरु बढी मनपर्थ्यो।

प्रशन्नको उमेरका छिमेकका केटाकेटीहरु घरमा एकछिन बस्दैनथे। तर उनी भने बाहिर निस्कनै नखोज्ने। उनको संसार नै कोठा हुन्थ्यो। उनकै भाइ कबिरध्वज पनि एकछिन घरमा रहँदैनथे। टोलका साथीहरु बटुलेर फुटबल खेल्न दगुरिहाल्थे। 

आमाबुबाले बाहिर खेल्न पठाउन धेरै प्रयास गर्थे। तर कसैको केही चल्दैनथ्यो। प्रशन्न सानैदेखि विज्ञानमा रुचि राख्थे। उनले कक्षा ७ मा पढ्दा नै मोडल प्लेन बनाएका थिए। उनले त्यसका लागि धेरै पुस्तक पढे र प्राक्टिस पनि उत्तिकै गरे। सेन्ट जेभियर्समा पढ्ने उनी ब्रेकको प्रायः समय नै लाइब्रेरीमा बिताउँथे। सबै साथीहरु खेल्न र गफिनमा व्यस्त रहँदा उनी भने विज्ञानका पुस्तक पल्टाएर बस्थे। मोडल प्लेन तयार पार्नका लागि उनलाई वैज्ञानिक बलराम जोशीको गाइडलाइन भने मिलेको थियो। वैज्ञानिक जोशी शिक्षाविद् अंगुरबाबा जोशीका श्रीमान् हुन्। 

पुराना टिभी, रेडियो भित्रका फर्महरु, अरु काम नलाग्ने सामानहरु जम्मा पारी आफूलाई आवश्यक सामानहरु लिन्थे। आवश्यक केमिकलहरु भने पसलमै गएर किन्थे। केमिकल किन्न घरमा पैसा दिँदैनथे। उनी बुबाले दिएको खाजा खर्च जोगाएर पैसा जम्मा पार्थे।

सन् १९८८ तिर आफूले बनाएको सानो प्लेन बोकेर इन्जिनियर क्याम्पस, टुँडिखेल, पिके क्याम्पसको मैदानमा उडाउन जान्थे। टुडिखेलमा उडाउँदा रिमोट कन्ट्रोल पनि बनाएर उडाएका थिए। धेरै मान्छे हेर्न आएपछि आर्मीले उडाउन स्वीकृति लिएको छ कि छैन भनेर सोधेका थिए। प्रशन्न भन्छन्, ‘यो मैले आफैं घरमा बनाएको। उड्छ कि उड्दैन हेर्न मात्र आएको भनेर फर्केको थिएँ।’

प्लेन उडेको देख्दा यो प्लेन कहाँबाट ल्याएको? बेच्ने हो? भनेर सोध्थे। आफूले बनाएको, बेच्नलाई होइन भन्दै प्लेन च्यापेर फर्केको स्मरण गराउँछन् प्रशन्न।

०००
बुबा संगीत साधनामै व्यस्त र अमेरिकन लाइब्रेरीमा जागिरे भएकोले उनीहरुको लागि त्यति समय दिन सक्नुहुन्नथ्यो। बच्चैदेखि होमवर्क भने बुबाले प्राक्टिस गर्ने कोठामै बसेर गर्ने नियम थियो। होमवर्क गर्दा केही आएन भने बुबालाई सोध्ने, उत्तर दिएर बुबा फेरि रियाज गरिहाल्ने गरेको प्रशन्न सम्झन्छन्। ‘बुबा हरेक कुरामा अनुशासित हुनुहुन्थ्यो। त्यही भएर हामी पनि बुबाको अगाडि यता–उता नै गर्दैनौं। नियम-कानुन मिलेको घर जस्तै लाग्छ,’ प्रशन्न भन्छन्। 

बिदा भएको बेला प्रेमध्वजको रेकर्डिङ पर्यो भने उनलाई पनि सँगै लैजान्थे। मुम्बइमा रेकर्ड गर्ने बेला पनि प्रशन्नलाई प्रेमध्वजले साथी लगेका थिए। त्यहाँ उनले मिनाक्षी, ऋषि कपुर, माला सिन्हालाई नजिकबाट चिन्ने मौका पाए। त्यहाँ उनले कला, संगीत भनेको सम्मानित काम हो भन्ने बुझे। 

प्रेमध्वजका एकेडेमी तथा नाचघरमा कार्यक्रमहरु भइरहन्थे। प्रशन्नलाई भने बुबाको गीत सुन्न खुब मन पर्ने। स्कुलबाट फर्केर बुबाका गीत सुन्न जाँदा गेटबाट भित्रै छिर्न दिँदैनथे। उनी गार्डलाई प्रेमध्वज प्रधान मेरो बुबा हो भन्थे तर पत्याउँदैनथे। उनले सुनाए, ‘कति पटक त बाहिरबाटै सुनेर फर्किएको छु।’ कार्यक्रममा बुबाले सुरुको अलाप मात्रै लिँदा पनि सबै अडिएन्स कराउने गरेको उनले सम्झिए।

प्रशन्न १४ वर्षको हुँदा बज्यै प्राणदेवी बितेपछि उनले तबला बजाउन खासै सकेनन्। तबला र बज्यैको कनेक्सन थियो, उनको। तबला बजाउन बस्यो कि बज्यै सम्झने। त्यसपछि उनले ड्रम सिक्न चाहेको बुबालाई भनेपछि घरमै सिक्ने गुरुको व्यवस्था गरिदिए। उनी स्कुलबाट फर्केपछि ड्रम, तबला बजाउँथे। 

उनका मिल्ने साथी जम्मा दुई जना थिए। ब्रुनो मल्ल र उज्वल जोशी। लिंकन स्कुलको ब्याण्डमा प्रशन्न पनि साथीहरुसँगै सामेल भए। जसमा प्रशन्नले ड्रमसेट बजाउँथे। कन्सर्ट र प्राक्टिसमा ड्रम बजाउँदाबजाउँदै उनलाई गितार बजाउनतिर रुचि बढ्न थाल्यो। बुबालाई गितारप्रतिको रुचि बताएपछि आफैंले सिकाउन थाले। गितार पनि राम्रै बजाउन थालेपछि प्रेमध्वजले नै गाउनु पनि पर्छ भनेर गायनमा प्रवेश गराए।

भ्जन र क्लासिकल संगीतको माहोलमा बाल्यकाल बिताएका प्रशन्नको साथीसंगतले संगीतप्रतिको जारा नै फेरियो। उनी बढीजसो अंग्रेजी गीतहरु नै गाउँथे। त्यसमा पनि माइकल ज्याक्सन जस्तै डान्स गर्थे। विस्तारै आफैं गीत लेख्ने र कम्पोज पनि गर्न थाले। अंग्रेजीको साथमा नेपाली गीतहरु पनि गाउन थाले। 

‘मेरो लागि’ बोलको गीत सिम्फोनी रेकर्डिङमा रेकर्ड गर्दा रोशनप्रताप रानाले यो गीत कसले गाएको भनेर स्टुडियोभित्र सोध्न आएको उनलाई हिजै जस्तो लाग्छ। उनी आफैंले यसको म्युजिक भिडियो नेपाल टेलिभिजनबाट बनाइदिए। 

प्रशन्नले डान्सिङ बिटका गीतहरु लिएर बजारमा आउँदा नेपाली बजारमा स्लो पप चलेको समय थियो। सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ गीत हिट भएको समय थियो त्यो। संगीत क्षेत्रका अग्रजहरुले पनि बुबा सुगम गीत गाउने, छोरा भने पंक पप गाउने, यो त भएन पनि भने। उनी भन्छन्, ‘बुबाले जस्तो गायो आफूले पनि त्यस्तै गाउनुपर्छ भन्ने छ र? बुबा बुबाको टाइपका र म मेरै टाइपका गीतहरु गाउँछु भन्थें।’

उनले पंक पपमा आधारित ३ वटा एल्बम बजारमा ल्याए। जो डान्स म्युजिक मन पराउँथे, उनीहरुले रुचाए। तर प्रशन्नले गाएका ती पंक पपहरु नेपालको लागि समयभन्दा अगाडि भित्रिएकोले उनले धेरै फ्यान फलोअर्स पाएनन्। त्यसपछि उनी अमेरिकामा साउण्ड इन्जिनियरिङ पढ्न गए। तर त्यहाँ पुगेपछि कम्प्युटर इन्जिनियरिङ पढ्न थाले। त्यहाँ रहँदा पनि संगीतबाट टाढिएका छैनन्। नेपाल र अमेरिका दुवै घरमा उनका मिनी स्टुडियो छन्। 

उनले बुबाका गीतसंगीतलाई संरक्षण गरेर आर्काइभ गर्ने कामहरु गरिरहेका थिए। उनी र भाइकै पहलमा प्रेमध्वजका गीतहरु युट्युब च्यानल बनाएर संकलित गर्दै थिए। उनी भन्छन्, ‘बुबाले सधैं हाम्रो सिर्जनाहरु म्युजिक नेपालले आफ्नो कब्जामा लियो भनेर चित्त दुखाइरहनुहुन्थ्यो। पैसा खर्च गरेर गाएका गीतहरु पनि म्युजिक नेपालले रेडियो नेपालसँग लिएर आफ्नो बनाएकोमा चित्त दुखाएर बित्नु भयो।’ 

अमेरिकामा बस्ने प्रशन्न बुबाको ६ महिनाको कामको लागि अहिले नेपाल आएका छन्। उनलाई अहिले पनि बुबा बितेको जस्तो पटक्कै लाग्दैन रे। ‘कोठामा बसिराख्दा विस्तारै छिर्नुहुन्छ कि जस्तो लाग्छ। हामी भन्दा स्मार्ट र बलियो हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘लडेर टाउको ठोकिएपछि पछि हिमाटोमा भएको बाहेक केही रोग थिएन। तर अचानक भएको बुबाको मृत्यु पत्याउनै गाह्रो भइरहेको छ।’

अब बुबाले इच्छा गरेका र चित्त दुखाएका कुराहरुमा काम गर्ने उनको योजना छ। कपि राइट्सको लागि सबै कला सर्जकहरुलाई एकजुट बनाई काम गर्ने उनले बताए। प्रशन्न भन्छन्, ‘त्यसपछि मात्रै बुबाको आत्माले शान्ति पाउला। पीडितहरु चुपचाप बस्नुपर्ने अनि पीडकहरु छाती फुलाएर हिँड्न पाउने यो कस्तो समय?

१६ मंसिर, २०७८, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।