हिजोका कुरामा हस्तकला व्यापारी कृष्णबहादुर : पहिलेका पर्यटक खर्चालु, अहिलेका कन्जुस

हिजोका कुरामा हस्तकला व्यापारी कृष्णबहादुर : पहिलेका पर्यटक खर्चालु, अहिलेका कन्जुस

ललितपुरको पाटनमा जन्मे-हुर्केका कृष्णबहादुर श्रेष्ठ ह्यान्डिक्राफ्ट (हस्तकला) व्यापारी हुन्। वि.सं. २००० सालमा जन्मेका श्रेष्ठको बसाइ भने यतिबेला बसन्तपुर दरबार पछाडिको क्षेत्रमा छ।

एक छोरा र तीन जना विवाहित छोरीका बाबु कृष्णबहादुर छोरा-बुहारी र नातिसँगै बस्छन्। १३ वर्षअघि जीवन-संगीनी गुमाएका उनले हस्तकला पसल एक्लैले सम्हालिरहेका छन्। पाटनमा भएको आफ्नो घर सम्हाल्ने जिम्मा भने भतिजाहरुलाई दिएका छन्। 

बसन्तपुरको खुला आकाशमुनि विगत ३५ वर्षदेखि हस्तकलाकै पसल सञ्चालन गरिरहेका कृष्णबहादुरले विगत र वर्तमानको हस्तकला व्यापारमा ठूलो अन्तर पाएका छन्।

‘पहिले र अहिलेमा धेरै फरक छ,’ उनी सुनाउँछन्, ‘हस्तकला व्यापारमा पहिले सहज थियो। अहिले असहज बनेको छ। पहिले सामान भए पनि राम्रो फाइदा हुन्थ्यो। अचेल जति धेरै सामान भए पनि न व्यापार हुन्छ न त फाइदा नै।’

सस्तोमा मूर्ति 
उमेरले ७९औं बसन्त पार गर्दै गरेका कृष्णबहादुर ३५ वर्षअघि हस्तकला व्यापार सुरु गर्दा सस्तो मूल्यमा सामान किन्थे। सानादेखि ठूलो आकारका मूर्ति एवं अन्य हस्तकलाहरु सस्तोमा किनेर विदेशी पर्यटकलाई बिक्री गर्थे। तर यतिबेला भने महँगीका कारण उनलाई आफ्नो लगानी नै असुल गर्न धौ-धौ पर्छ।

‘ऊ बेला सामानको मूल्य पैसाको हिसाबले किनेर रुपैयाँमा बेच्न सकिन्थ्यो। काठबाट बनेका सानातिना हस्तकलाहरु त पैसाको हिसाबले किनेर रुपैयाँमा विदेशीलाई बेचिन्थ्यो,’ विगत सम्झिँदै उनी सुनाउँछन्, ‘तर अचेल न त सामान किन्न सकिन्छ न किनेको मूल्य अनुसार नाफा नै उठाउन सकिन्छ।’

कृष्णबहादुरलाई याद भएसम्म ३५ वर्षअघि धातुबाट बनेको बुद्ध र अन्य प्रचलित भगवानका केही ठूला आकारका मूर्तिहरु उनले करिब बाह्र सय रुपैयाँमा किन्ने गर्थे। किनेको मूल्यभन्दा बढीमा दुई सय रुपैयाँ नाफा खाएर बिक्री गर्थे। अचेल सोही आकारको मूर्तिको मूल्य तेब्बर/चौबरले बढेको उनी बताउँछन्। ‘ऊ बेला त्यो साइजको मेटलको मूर्ति १२ सय रुपैयाँ मात्र लिन्थ्यो। अहिले सानै मूर्ति पनि पन्ध्र सय घटी आउँदैन। मैले किनबेच गरेको सामानको मूल्यको कुरा गरेर साध्य नै छैन,’ उनी भन्छन्। 

उनको पसलमा मेटल (धातु), सेरामिक, काठ आदिबाट बनेका सानादेखि ठूला बुद्ध र अन्य भगवानका मूर्ति छन्। नेपालमै बनेका खुकुरी, सिंगिङ बाउल, भोटे ताल्चा लगायत अन्य केही दुर्लभ पुराना बहुमूल्य सामग्रीहरु छन्। पहिला आफूले सँगालेका एक पैसा, दस पैसा, पचास पैसाजस्ता पुराना नेपाली सिक्काहरु पनि उनले बिक्रीमा राखेका छन्। 

कृष्णबहादुर स्वयं भने मूर्ति र अन्य हस्तकला उत्पादन गर्दैनन्। उनले नेपालमै बनेका हस्तकलाका सामान पाटनबाट खरिद गर्छन् र बसन्तपुर ल्याएर बिक्री गर्छन्। कतिपय यस्तैखाले सामानहरु सकेसम्म उनले भारत र तिब्बतबाट पनि झिकाउने गरेका छन्।

विगत ३५ वर्षदेखि उनको दैनिकी यस्तै चलिरहेको छ। ‘मेटलका सामानहरु भने पाटनमै बन्छन्। पहिलेजस्तो अचेल उत्पादन कम हुन्छ। विदेशीहरुले हस्तकलाका सामानहरु रुचाउँछन्। त्यसैले यस्ता सामग्रीहरु पहिले/अहिले पाटनबाटै ल्याउने हो। कपर, सेरामिक र अन्य केही रेडिमेड सामानहरु भने भारत र तिब्बतबाट पनि ल्याइन्छ,’ उनी सुनाउँछन्। 

‘साथीहरुले प्रगति गरे, मैले सकिनँ’
आजभन्दा ३५ वर्षअघि काठमाडौंमा आधुनिक एवं कंक्रिटका घरहरु निर्माण भर्खर-भर्खर सुरु भएको थियो। सो समयमा उनले भवनको पेन्टिङ र प्लाष्टरको काम गर्थे। पेन्टिङ र प्लाष्टरको काम गर्न नसक्ने भएपछि पर्यटकीय क्षेत्रमा हस्तकला सामग्रीको किनबेच गर्न थाले। त्यसबेला प्लाष्टरको कामभन्दा बढी सहजता र फाइदा यसमा थियो।

कृष्णबहादुरले व्यापार सुरु गर्दा अहिलेजस्तो प्रतिस्पर्धा थिएन न त अहिलेजस्तो धेरै पसलहरु नै थिए। प्रतिस्पर्धा कम भए पनि व्यापार राम्रै हुन्थ्यो। तर राम्रो व्यापार-विजनेसका लागि प्रतिस्पर्धामा विश्वास गर्छन्, कृष्णबहादुर।

‘त्यतिबेला अहिलेजस्तो धेरै पसलहरु थिएनन्। सीमित ग्राहक र सीमित पसल मात्र हुन्थे। त्यसकारण व्यापार पनि सीमित नै हुन्थ्यो,’ उनी भन्छन्, ‘बसन्तपुरमा मानिस बढी छन्, प्रतिस्पर्धी पनि बढी छन्। प्रतिस्पर्धा जहाँ बढी छ त्यहाँ व्यापार राम्रो र सजिलो हुन्छ। प्रतिस्पर्धा भएन भने व्यापार गर्न गाह्रो हुन्छ।’

कृष्णबहादुरको भनाइमा उनीसँगै हस्तकला पसल सुरु गरेका सुरुवाती चरणका साथीहरु भनौं या प्रतिस्पर्धीहरु यतिबेला ठूलो व्यापारतिर लम्किसकेका छन्। हिजोका दिनका उनका साथीहरुले ठमेलतिर, विदेशतिर हस्तकलाकै व्यापार बढाएका छन्। मनग्य आम्दानी गरेका छन्। तर आफ्नो व्यापार भने जहाँको त्यहीँ रहेको उनी सुनाउँछन्।

‘ऊबेला म सँगसँगै व्यापार गर्ने मेरा अधिकांश साथीहरुले ठमेल र केही साथीहरुले विदेशतिर ठूल्ठूला पसल राखेका छन्। धनी बनिसकेका छन्। ठाउँमा पुगेका छन्,’ कृष्णबहादुर भन्छन्, ‘उनीहरुले एन्टिक (दुर्लभ, बहुमूल्य, पुरानो) मूर्ति र सामानहरु बिक्री गरे। त्यसमा धेरै पैसा आउँथ्यो। प्राचीन मूर्ति बेच्नेहरुले मनग्य पैसा कमाए। सोही कारण एकैचोटी ठाउँमा पुग्न सके। तर हामीलाई भने डर लाग्यो। आफूले ढोग्नुपर्ने देवता कसरी बेच्ने? खत्राकखुत्रुक मात्र बेचियो। त्यसैले सुरुवातमा जहाँ थिएँ, अहिले पनि त्यहीँ छु।’ 

पहिलेका पर्यटक खर्चालु, अहिलेका कन्जुस 
माओवादी द्वन्द्वकाल, भूकम्प र कोभिड महामारीको समयमा पर्यटकीय क्षेत्रमा परेको असर कृष्णबहादुरले पनि अनुभव गरेका छन्। सो समयमा उनको व्यापार पनि थला परेको थियो।

कोभिड महामारीपछि विदेशी पर्यटकहरु झुल्किन थालेका छन्। काठमाडौं, पोखरा, मुक्तिनाथ जस्ता केही पर्यटकीय गन्तव्यमा पुग्ने विदेशी पर्यटकहरु फाट्टफुट्ट देखिन थालेका छन्। पर्यटकहरु देख्दावित्तिकै आफ्नो व्यापार-व्यवसाय बढ्ने आशा पर्यटन व्यवसायीहरुमा पलाउदै गएको छ।

तर, पहिलेका पर्यटक र अहिलेका पर्यटकमा ठूलो अन्तर पाउँछन्, कृष्णबहादुर। पहिलेका पर्यटक खर्चालु भएको र अहिले पर्यटक कन्जुस भएको उनी बताउँछन्। 

‘पहिलाका पर्यटक जतिभन्यो उति नै पैसा तिरेर सामान किन्थे। अहिले आउने पर्यटकहरु कन्जुस छन्,’ उनी थप्छन्, ‘अहिलेका पर्यटकलाई कुनै सामानको मूल्य ८ सय भन्यो भने २ सय पनि मुस्किलले दिन्छन्। सामानमा उचित मूल्य भन्दा पनि बार्गेनिङ गर्छन्। अहिले व्यापार कम, घाटा बढी छ।’ 

कृष्णबहादुर नेपालभित्रै हस्तकलाका सामान बिक्री गर्छन्। उनका ग्राहक विदेशी पर्यटक मात्र नभई नेपालीहरु पनि हुने गरेका छन्। पछिल्लो समय नेपाल भित्रिने पर्यटकभन्दा नेपालीले हस्तकलाका सामान बढी किन्ने गरेको उनी बताउँछन्।

‘मैले नेपालभित्र मात्र सामान बिक्री गर्छु। पहिला-पहिला  विदेशीले मात्र यस्ता सामान किने पनि अचेल भने बढीजसो नेपालीले नै किन्छन्। नेपालीले पनि हस्तकलाको महत्व बुझ्न थालेका छन्,’ उनी भन्छन्। सरकारले पहिलेझैं खर्चालु पर्यटक भित्र्याउन आकर्षक प्याकेजहरु ल्याउनुपर्ने उनको धारणा छ। 

कृष्णबहादुरले हस्तकला व्यापार सुरु गर्दा मासिक रुपमा १५ देखि २० हजार आम्दानी गर्थे। तर अचेल भने मुस्किलले मासिक १० हजार नाफा हुने बताउँछन्। 

बुढ्यौलीले छोइसकेका कृष्णबहादुरलाई पछि आफूले सम्हाल्दै आएको व्यापार कसले सम्हाल्ला भन्ने पिर छ। ‘अचेल मजस्ता बुढापाकालाई राम्रो आम्दानी गर्न निकै गाह्रो छ। यो काम छोड्न नसकेर मात्र हो। नभए मैले उहिल्यै छोडिदिन्थें,’ उनी भन्छन्, ‘मेरा छोराछोरीको पनि यस्तैखाले व्यापार छ। तर उनीहरुको र मेरो अलग-अलग छ। मैले छोडेपछि यो काम कसले सम्हाल्छ या सम्हाल्दैन थाहा छैन।’

१२ जेठ, २०७९, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।