हिजोका कुरामा हाँस्य-व्यंग्यकार लक्ष्मण गाम्नागे : मास्टरले सिसीको झट्टी हान्दा सिसा झर्‍यामझुरुम

हिजोका कुरामा हाँस्य-व्यंग्यकार लक्ष्मण गाम्नागे : मास्टरले सिसीको झट्टी हान्दा सिसा झर्‍यामझुरुम

नेपाली साहित्यमा परिचित नाम हो लक्ष्मण गाम्नागे। हाँस्यव्यंग्य कवि तथा निबन्धकारका रुपमा पहिचान बनाएका गाम्नागेको व्यंग्यात्मक कविता ‘बा’ पछिल्लो समय निकै मन पराइएको थियो।

वि.सं. २०२१ सालमा भुटानमा जन्मिएका गाम्नागे चार दाजुभाइ तथा ६ दिदी बहिनीमध्ये साहिँला हुन्।

आर्थिक विपन्नताका कारण परिवार पाल्न गाह्रो भएपछि २०१६ सालमा उनका बुबा आफ्ना माइला दाजुको सहयोगमा ताप्लेजुङको सिकेजाबाट भुटानको देन्छुखा पुगेका थिए। गाम्नागेका बुबा भुटानमा पण्डित्याइँ गर्थे। 

गाम्नागेले बाल्यकालका १२ वर्ष भुटानमा बिताए। चिप्लेटी, लुकामारी, झुम्रोको बल र गट्टा खेलेर बाल्यकाल बिताएको स्मरण गर्छन् उनी।

०००
वि.सं. २०२७ सालमा गाम्नागेका दाजु साहित्यकार डा. गोविन्दराज भट्टराई भुटान गए। त्यसपछि उनले दाजुसँगै कखरा लेख्न र पढ्न सिके। 'मेरो पहिलो गुरु नै दाजु गोविन्दराज भट्टराई हो। उहाँले स्कुल नगएका गाउँका अरु केटालाई समेत जम्मा गरेर पढ्न र लेख्न सिकाउनुहुन्थ्यो,' गाम्नागेले सुनाए।

गाम्नागेले देन्छुखा प्राथमिक स्कुलमा आफ्नो पढाइ सुरु गरे। उनले त्यो स्कुलमा दुई कक्षासम्म पढे।

त्यो बेला शिक्षाको क्षेत्रमा भुटान राम्रै मानिन्थ्यो। आफूले पढ्ने स्कुलमा पनि राम्रो व्यवस्थापन भएको उनी सम्झन्छन्।

गाम्नागेको स्कुल गाउँबाट अलि टाढै थियो। 'म बस्ने ठाउँबाट स्कुल पुग्न करिब ४५ मिनेट लाग्थ्यो। चाङ भन्ने ठाउँमा थियो स्कुल,' उनी सम्झन्छन्, 'हाम्रो घरबाट खेतको डिलैडिल केहीबेर तेर्सो, त्यसपछि भीरको बाटो तल झरेर नालुङ खोलो तरेपछि स्कुल पुगिन्थ्यो।'

गाम्नागे पढ्ने स्कुलको अनुशासन एकदमै कडा थियो। अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो। 'हेडसर र जोङ्खा पढाउने सरहरू डुक्पा थिए। गणित, विज्ञान र अरु विषय पढाउने बंगाली सर थिए, 'उनी भन्छन्, 'हेड सरका छोरा कर्मा र छोरीहरू सोनाम र डिङ्की थिए। विदेशतिर पढेका उच्च शिक्षित। कर्मा त डाक्टर भइसकेका थिए सायद। उनीहरूले पनि हामीलाई कहिलेकाहीँ पढाउँथे छुट्टीमा घर आउँदा।'

मिसहरू चुइंगम पड्काइरहन्थे। उनीहरुलाई पनि मिसहरुले चुइगम दिन्थे बेलाबेला। नाम्नागेले त्यतिबेलै थाहा पाएका हुन् रे चुइंगमको स्वाद।

गाम्नागे नाच्नमा खुब सिपालु थिए। जोङ्खा पढाउने सरले सिकाएको एउटा गीत र त्यसमा गरिने नृत्य उनले आजसम्म भुल्न सकेका छैनन्। 

उनी गट्टा खेलमा पनि निकै सिपालु थिए। काठका फल्याकहरू ओछ्याएको भुईंमा बसेर चाइनिज चेकर र गट्टा खेलेको हिजो जस्तो लाग्छ गाम्नागेलाई।

स्कुलमा खेलकुद भइरहन्थे। कबड्डी, चट्टी, रिङ र फुटबल खेलमा उनी रमाउँथे। चाइनिज चेकर उनलाई असाध्यै मनपर्थ्यो। गट्टामा त उनी केटीहरूलाई पनि माथ दिन्थे। नाच्नमा पनि कसैले भेट्दैनथ्यो।

कक्षामा १०/१२ जना विद्यार्थी हुन्थे। पढ्न आउनेको संख्या केटाको नै धेरै हुन्थ्यो। केटीहरु भने एक दुई जना मात्र स्कुल आउँथे।

त्यतिबेला भुटानमा पनि छोरी पढाउने चलन थिएन। 'पढाइको माध्यमबाट केटीहरुले प्रगति गरेको मलाई कुनै सम्झना छैन। केटीहरु घाँस-दाउरा, मेलापात र घरधन्दामै सीमित थिए। उनीहरुको बिहे पनि चाँडै हुन्थ्यो,' गाम्नागेले पुराना दिन सम्झिए।

त्यहाँको शिक्षा पूर्ण रूपमा निःशुल्क थियो। कपी, किताब पनि स्कुलबाटै निःशुल्क उपलब्ध हुन्थ्यो। स्कुलमा कापी तथा सिसाकलम उपलब्ध हुने हुन्थ्यो लेख्नलाई।

पछि गाम्नागे पढ्ने स्कुल गुरुङ डाँडामा सर्यो। त्यहाँ उनले तीन कक्षा पढे। यहाँभन्दा अगाडि पढ्न भने चार घण्टाको पैदल दूरी दोर्खामा जानुपर्ने भएकाले उनले फेरि देन्छुखामै तीन कक्षा दोहोर्याए। बुबाको नेपाल बसाइँ सर्ने योजनाले पनि तीन कक्षा दोहोर्याएको उनले बताए।

भुटानमा स्कुल पढ्दाका रोचक प्रसंग थुप्रै छन् गाम्नागेसँग।

उनी दुई कक्षामा पढ्थेँ। एक जना जोङ्खा पढाउने सर सरुवा भएर आए स्कुलमा। असाध्यै छुच्चो। नाक पनि साह्रै चुच्चो। पढ्न नजान्दा थप्पड हानिहाल्ने। उनी भन्छन्, ‘म पढाइमा जान्ने नै थिएँ। अघिल्लो बेन्चमा बस्थें। उहाँ आएको केही दिनमै कुनै कुरा फ्याट्ट भन्न नसक्दा दह्रो थप्पड हाने। मैले रिस थाम्नै सकिनँ। रुँदै चिच्याएर भनेँ, ‘चुच्चे’!’

ती सर नेपाली अलिअलि मात्र बुझ्ने। यसले के भनेको भनेर अरु विद्यार्थीलाई सोधे। उनीहरू एकछिन त बोलेनन्। सरले लौरो उज्याएपछि एक जना साथीले अर्थ बताइदियो। त्यसपछि त सरले कपाल तानेर चार/पाँच थप्पड हाने अनि क्लासै छाडेर हिँडे। उनी सम्झन्छन्, 'त्यसपछि त क्लासका सबै स्तब्ध।'

त्यो दिन उनी पूरा दिन रोए। धेरै समय सर र उनको दोहोरो सम्वाद बन्द भयो। सरको कुटाइ खाएपछि उनी पछिल्लो बेन्चमा बस्न थालेका थिए।

अर्को एक दिन सर पढाउँदै थिए। उनी छेउको साथीसँग कुनै विषयमा कुरा गर्दै रहेछन्। सरले डेस्कमा ड्याङ्-ड्याङ पारेर आवाज दिए। गाम्नागे सतर्क भएर सरतिर फर्किए। सरले नजिकै टेबुलमा भएको मसीको सानो सिसी उनीतिर झट्टी हाने।

‘सरको दुर्भाग्य! मलाई लागेन। मेरो कानै छेउबाट सिसी गएर पछाडिको दराजमा लाग्यो र दराजको सिसा चकनाचुर भयो। मसीका छिर्का भने हामी धेरैका लुगामा पर्यो। त्यो सिसीले मेरो निधारमै लागेको भए मेरो सर्ट रगतका छिर्काले भरिने थियो। के थाहा, मैले यो संस्मरण आज यसरी लेख्न पाउँथेँ कि पाउदिनथेँ। निसाना फेल खाएर सर थप आक्रोशित हुनुभयो र हातमा भएको चक पनि झटारो हान्नुभयो। त्यो चकले मेरो निधारमा लागेपछि बल्ल सर शान्त हुनुभयो र पढाउन थाल्नुभयो।’

जोङ्खा सरलाई सम्झ्यो कि स्कुल जानै डर लाग्ने भयो उनलाई। ज्वरो नै आयो। केही दिन स्कुल गएनन्। उनका बुबाले हेडसरसँग कुरा गरेछन्।

'हेडसरले जोङ्खा सरलाई बुबाको परिचय गराएपछि उहाँले बुबासँग अप्रत्यक्ष रुपमा भए पनि माफी माग्नुभएछ,’ उनले भने, ‘भोलि पल्टदेखि म गह्रौं मन लिएर स्कुल जान थालेँ। केही दिनपछि सर हाम्रो घरैमा आएर खाना खाएर गए। मलाई माया गर्न थाले। सरले जति माया गरे पनि मलाई भने घृणा नै लागिरह्यो। मन कटक्क भइरह्यो। म सकेसम्म जोङ्खा सरको छेउ पर्न छाडेँ।'

उनले अर्को प्रसंग सुनाए, 'मध्य बर्खाको बेला, एक दिन हाम्रो घरमा आउँदा-आउँदै लेऊ लागेको आँगनमा चिप्लिएर जोङ्खा सर नराम्ररी पछारिए। बुबाले सहारा दिएर बल्ल-बल्ल उठाउनुभयो। सरका जुत्ता, दोचा, बख्खु सबै हिलै-हिलो भयो। एकछिन बसेर हरिया मकै खाएर खोच्याङ्-खोच्याङ् गर्दै सर फर्किएपछि मेरो मनमा शान्ति भयो।'

त्यसपछि भने उनले सरलाई माफ गरिदिए। र, सम्बन्ध पनि सुध्रियो।

०००
२०३३ सालमा गाम्नागेको परिवार भुटानबाट बसाइँ सरेर झापा झर्यो।

भुटानको पढाइ पनि राम्रो र तीन कक्षामा दोहोर्याएर पढेको हुनाले झापा आएपछि उनी जनता मावि गौरादहमा पाँच कक्षामा भर्ना हुन खोजे। तर त्यहाँका प्रधानाध्यापकले उनलाई पाँच कक्षमा भर्ना गर्न मानेनन्।

गौरदहमा पढ्न नपाएपछि उनी उर्लाबारीको राधिका माविमा पाँच कक्षामा भर्ना भए। त्यहाँ उनका दाइले पढाउँथे। उनको पढाइ राम्रो थियो। भुटानबाट फर्कंदा करिब २०० जना विद्यार्थीमा उनी तेस्रो भएका थिए।

गाम्नागे ६ कक्षा पढ्न फेरि गौरादह नै फर्किए। उनले सात कक्षासम्म त्यहाँ पढे। 

०००
गाम्नागे आठ कक्षा पढ्ने अवसर भने काठमाडौंमा पाए। दाजु गोविन्द भट्टराई त्यतिखेर काठमाडौंमा बस्थे।

उनी पहिलो पटक काठमाडौं आएका थिए। त्यसबेला दमकबाट आएको गाडी हेटौँडामा बास बस्थ्यो। त्यसपछि बाइरोडको बाटो हुँदै ट्रकमा जानुपर्थ्यो।

पहिलो पटक उनलाई आफन्तले काठमाडौं ल्याएर गोविन्द दाइसँग भेट गराइदिएका थिए।

सुरुमा काठमाडौंका घरैघर, गल्ली र गाडीहरु देख्दा यतै सहरमा हराइन्छ जस्तो पनि लाग्थ्यो। पढाइका सिलसिलामा उनी दाजु गोविन्दका पछि भने धेरै नै लागे।

काठमाडौंको दरबार हाइस्कूलमा कक्षा आठमा भर्ना भएर भए गाम्नागे। उनी १० कक्षासम्म पढ्न भनेर काठमाडौं आएका थिए तर दाइ जागिरकै सिलसिलामा धनकुटा जाने भएपछि उनको दरबार हाइस्कुलको पढाइ यात्रा भने त्यसै टुङिग्यो।

गाम्नागे ९ र १० कक्षा पढ्न फेरि गौरदह नै फर्किए। त्यो बेला पढ्ने विद्यार्थी २०० जना थिए। तीन वटा सेक्सन गरेर पढाइ हुन्थ्यो। 

गाम्नागेले २०३९ सालमा एसएलसी दिए। त्यसबेला एसएलसी दिने करिब सय जना थिए। तीमध्ये ३० जना पास भए। ३० जनामध्ये एक जना फर्स्ट डिभिजनमा पास भए। अरू १० जना सेकेण्ड डिभिजन र बाँकी थर्ड डिभिजनमा।

त्योबेला एसएलसीपछि रिजल्ट निस्कन तीन–चार महिना समय लाग्थ्यो। रिजल्ट कुरेर समय खेर फाल्न गाम्नागे चाहन्नथे। उनी कलेज पढ्नका लागि आर्थिक जोहो गर्न चाहन्थे। 

उनका एक जना दाइ रसुवामा थिए। दाइले जागिर खान आइज भनेर रसुवा बोलाए। उनी जागिर खान रसुवातर्फ लागे। रसुवामा उनको जागिर थियो, ‘विस्तारित खोप आयोजना’ मा।

त्यो बेला तलब ३५० रूपैयाँजति भएको उनी सम्झन्छन्। दैनिक हिँडेर खोप लगाउन जानुपर्ने भएकाले टिए/डिएको पैसा पनि पाइने उनले बताए।

जागिर खानका लागि उनी दाइसँगै धुन्चे बसे। उनले त्यहाँका टिमुरे, थुम्मन लगायत रसुवाका सिमानामा पुगेर ६ महिनासम्म खोप लगाउने काम गरे। ६ महिनापछि परियोजनाको काम बन्द भयो र उनको जागिर सकियो।

गाम्नागे रसुवामै हुँदा एसएलसीको रिजल्ट आयो। उनी दोस्रो श्रेणीमा उत्तीर्ण भए। एसएलसी उत्तीर्ण भएपछि झापा फर्किए। कलेज पढ्नका लागि उनले धनकुटामा साइन्स र कमर्स विषयका लागि फर्म भरे। उनको साइन्समा नाम निस्केन। त्यसपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आइकम पढ्न थाले।

त्यसै समयमा उनलाई  धादिङबाट एउटा चिठी आयो। त्यो चिठी  छत्रेदेउरालीमा रहेका उनका फुपूका छोराले पठाएका थिए। चिठीमा एक जना शिक्षकको पद खाली रहेकाले ‘जागिर खाने भए आइज’ भनिएको थियो। 

बाबुले दु:खले कमाएको पैसाले पढ्नुभन्दा जागिर खान बेस लागेर उनी झापाबाट छत्रेदेउराली पुगे। काठमाडौंदेखि धादिङ नजिक भएकाले पछि काठमाडौं सर्न सकिन्छ भन्ने लागेर पनि त्यहाँ गएको उनी बताउँछन्। 

गाम्नागेले ४४० रूपैयाँ तलबमा त्यहाँ प्राथमिक तहमा अंग्रेजी पढाए। करिब एक वर्ष त्यहाँ पढाएका उनले आइए भने प्राइभेट दिएर पूरा गरे।

त्यसपछि उनले लोकसेवा पढे। मुखियामा नाम निकालेर जागिरका लागि बबरमहलको कृषि विभाग पुगे। सुरुमा विभागको कृषि सूचना शाखामा काम गरेका उनले त्यहाँ जेटिए र 'बुढी आमै' मा पनि काम गरे। त्यतिबेला त्यहाँ मदनकृष्ण श्रेष्ठ पनि काम गर्दै थिए।

गाम्नागे सानैदेखि हास्यव्यंग्य कविता लेख्ने गर्थे। त्यहाँ कार्यक्रममा भाग लिने र लेख्ने गर्न थाले। त्यहाँ उनले करिब डेढ वर्ष काम गरे।

२०४४ सालमा गाम्नागे खरिदारमा नाम निकालेर दूरसञ्चार संस्थानमा काम गर्न थाले। करिब २८ वर्ष काम गरेपछि उनले २०७२ सालमा आठौं तहबाट स्वेच्छिक अवकाश प्राप्त गरे।

०००
दूरसञ्चारमा काम गर्दागर्दै २०४७ सालमा गाम्नागेले गौरदह नगरपालिकाकी देवीमाया दहालसँग (गीता) सँग प्रेमविवाह गरे। त्यतिबेला देवीमाया दमक क्याम्पसमा पढ्दै थिइन्। उनका आफन्तबाटै देवीमायासँग चिनापर्ची भएपछि उनीहरुको भेटघाट बाक्लियो। त्यसपछि दुवै जनाबीच प्रेम भयो।

उनी ठट्यौली पारामा भन्छन्,  ‘दुई/चार पटकको भेटघाट, दुई/चार वटा चिठीपत्र र दुई/चार वटा सिनेमा हेरेपछि हाम्रो विवाह भयो।’

उनका एक छोरी र एक छोरा छन्। छोरीको पढाइ थिएटर हो। छोरा भने आइटी पढ्दै छन्।

००००
गाम्नागेले आफू हाँस्यव्यंग्यकार हुनुको कारण आफ्ना दाजु तथा कवि साहित्यकार गोविन्दलाई मान्छन्। दाजुका हाँस्यव्यंग्यात्मक कविता तथा साहित्यले नै उनमा प्रभाव पारेको थियो। 

पछि काठमाडौंबाट आठ कक्षा पढेर फर्केपछि स्कुलमा शिक्षकहरुले साहित्यिक कार्यक्रमको अगुवाइ गर्ने जिम्मा गाम्नागेलाई दिन्थे। त्यसबाट पनि उनलाई सहज भयो। स्कुलमा शुक्रबार साहित्यिक कार्यक्रम हुने गर्थ्यो। त्यो बेला उनले सुरुसुरुमा क्रान्तिकारी कविता लेख्ने र प्रस्तुत गर्ने गर्थे।

पुस्तकालयमा गाम्नागेले भैरव अर्यालका किताब पढ्न थाले। अर्यालको किताब पढेपछि उनको रुचि हाँस्यव्यंग्यमा बढ्दै गयो। व्यंग्यका कविता पनि लेख्न र स्कुलमा सुनाउन थाले। व्यंग्य कविता सबैले रुचाएपछि उनलाई झन् त्यसप्रति रुचि बढ्दै गयो। व्यंग्य प्रस्तुति दिँदा आउने तारिफ र तालीले उनलाई प्रेरणा मिल्यो। यसपछि सबै छाडेर उनी लागे हाँस्यव्यंग्यतर्फ।

पहिला लक्ष्मण गाम्नागेको नाम उनको आमाको नामबाट राखिएको थियो। आमाको नाम लक्ष्मी भट्टराई हो । गाम्नागेको नाम लक्ष्मीप्रसाद भट्टराई। उनलाई यो नाम खासै मन नपरेर लक्ष्मण राखेका थिए।

गाम्नागेले आफैं सम्पादक भएर 'रकेट' नामको पत्रिका पनि सुरु गरे। त्यो पत्रिका सञ्चालन गर्न दाजु गोविन्दराज भट्टराईले नै साथ दिएका थिए।

त्यो पत्रिकामा उनले लक्ष्मण भट्टराईका नामले लेख्न थाले। पञ्चायतकालको समय अनि सरकार तथा मन्त्रीहरूका बारेमा व्यंग्य लेख्ने हुँदा उनलाई साथीहरूले अरू नै नाम राख्न सुझाएका थिए।  लक्ष्मीबाट लक्ष्मण लेख्न सुरु गरेका उनले भट्टराई समेत परिवर्तन गरेर गाम्नागे लेख्न थाले। 

गाम्नागेले २०५० सालमा ‘घिटिक घिटिक बाँचेर शहरमा’ भन्ने पहिलो हाँस्यव्यंग्य कवितासंग्रह प्रकाशन गरे। उनका तीन वटा हास्यव्यंग्य कवितासंग्रह र चार वटा निबन्धसंग्रह प्रकाशन भएका छन्।

यसका साथै एउटा उपन्यास र बालसाहित्यका दुई वटा गरी उनका १० वटा पुस्तक प्रकाशित छन्। 

हाल संगीत नाट्य प्रतिष्ठानको प्राज्ञ सभा सदस्य रहेका गाम्नागे २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालका अध्यक्ष पनि हुन्।

लक्ष्मण गाम्नागे आफू परिचित हुनुमा सिस्नुपानी नेपालको भूमिकालाई पनि महत्वपूर्ण मान्छन्।

सिस्नुपानीलाई तिहारमा खेलिने देउसीको कार्यक्रमले चिनाएको छ। उक्त देउसी कार्यक्रम राजनीतिक र सामाजिक विकृतिका विरुद्धमा तीखो प्रहार गर्ने कारणले पनि अत्यन्त लोकप्रिय र चर्चित छ।

 पछिल्लो दुई वर्ष भने कोरोना भाइरस महामारीका कारण कार्यक्रम भएको छैन। दुई वर्षमा भएका राजनीतिक तथा सामाजिक विकृतिलाई जोडदार रुपमा कार्यक्रममा प्रस्तुत गरिने सिस्नुपानी नेपालको तयारी रहेको गाम्नागे बताउँछन्।

१३ माघ, २०७८, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।