हिजोका कुरामा ललितकलाका कुलपति केके कर्माचार्य : मृत्युको भयले बाबु-आमाले न नाम राखिदिए न कर्म नै चलाए

हिजोका कुरामा ललितकलाका कुलपति केके कर्माचार्य : मृत्युको भयले बाबु-आमाले न नाम राखिदिए न कर्म नै चलाए
तस्बिर : कृष्पा श्रेष्ठ

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य २०२१ सालदेखि चित्र साधनामा सक्रिय कलाकार हुन्। उनी आफ्ना चित्रमा मूर्त र अमूर्त दुवै शैली प्रयोग गर्न रुचाउँछन्।

कला सिर्जनामा छुट्टै पहिचान बनाउन सफल केके यथार्थवादी कलाकारका रूपमा चिनिन्छन्। हुलाक सेवामा ३८ वर्ष ९ महिना काम गरेका उनी हुलाक टिकट डिजाइनरका रूपमा पनि चर्चित छन्। उनले ४०९ वटा हुलाक टिकट डिजाइन गरेका छन्।

०००

वि.सं. २००४ मा काठमाडौंको डल्लुमा निम्नवर्गीय परिवारमा जन्मिएका केके (कान्छा कुमार) कर्मचार्यका बुबा-आमा १९९० सालको भूकम्पअघि काभ्रेको पनौतीबाट जीविकोपार्जनका लागि काठमाडौं आएका थिए। काठमाडौं आएपछि आफन्तको घरमा डेरा गरेर बसेका उनका बाबु-आमाले त्यहींबाट व्यापार गर्न थाले।

केके पाँच दाजुभाइ र तीन दिदी-बहिनीहरुमध्ये सबैभन्दा कान्छा हुन्। उनका एक जना दाजु बाहेक अरु ६ जना सानैमा बिते। उनका बाबुआमाले सन्तान वियोगको ठूलै पीडा भोग्नुपर्यो।

बुबा-आमाको कान्छो सन्तान भएकोले उनलाई घर तथा छिमेकमा सबैले कान्छा भनेर बोलाउँथे। सबैले कान्छा भन्दाभन्दै उनको परिचय नै कान्छा भयो।

आफ्नो नाम कान्छा कसरी रह्यो भन्ने प्रसंग उनी सुनाउँछन्- आफ्ना ६ सन्तान बितेपछि मेरा बाबु-आमालाई निकै तनाव भयो। सन्तान जन्मने तर नबाँच्ने भएपछि मेरा बाबु-आमाले पछि जन्मिएका मेरा दाजु र मेरो नाम नै राखेनन्। बाबुआमाले सन्तान जन्मिएर पनि बाँच्दैनन्, यिनको नाम पनि नराख्ने र कुनै कर्म पनि नगर्ने भनेर यसै छाडिदिए, सन्तान बाँच्छन् कि भन्ने आशामा।

दाजुको नाम छरछिमेकीले नै गणेश राखिदिए। केके सानोमा निकै बिरामी भइराख्थे। यो पनि बाँच्दैन भनेर परिवारले आश नै मारेका थिए।

डल्लुमै एक जना विधवा महिला डेरा गरेर बस्थिन्। उनी लाहुरेकी श्रीमती थिइन् तर लाहुरेको लडाईँमा मृत्यु भएको थियो। ती महिलाले ४/५ वर्षका केकेलाई खुब माया गर्थिन्। उनले नै नाम राखिदिएकी हुन् ‘कान्छा कुमार’ भनेर। उनी भन्छन्, ‘यही नाम अहिले चर्चित छ।’

०००

पारिवारिक अवस्थाले गर्दा शिक्षादीक्षा राम्रो हुन नसकेको उनी ठान्छन्। उनका बाबुआमा पनि पढेका थिएनन्। परिवारमा पढाउनुपर्छ भन्ने चेत थिएन। बाबुआमालाई व्यापार गर्दा नै फुर्सद हुँदैनथ्यो।

उनको स्वभाव पनि खासै पढ्न मन पराउने चाहिँ होइन। त्यतिबेला उनका दाइ छाउनीको एक सरकारी विद्यालयमा पढ्थे। दाइ विद्यालय जान थालेको एक वर्षपछि उनलाई पनि दाइसँगै पढ्न पठाइयो।

बाबु-आमालाई आफन्तले छोरो चोर-डाँका हुन्छ भन्दा उनी सुनिरहन्थे।

केकेको विद्यालयमा पहिलो दिन थियो। त्यहाँ व्यायामहरु पनि गराइने रहेछ। उनलाई सुरुमा त त्यो व्यायाम गराएको नै मन परेन। त्यसरी व्यायाम गराइरहँदा सजाय दिएजस्तो पो लाग्यो। भोलिपल्टदेखि त विद्यालय नै जान बन्द। त्यस दिनदेखि उनी विद्यालय गएनन्।

‘आफूलाई पनि कहिल्यै स्कुल जानुपर्छ भन्ने चेत भएन,’ उनी भन्छन्, ‘बुबाले स्कुल पठाउनुको साटो पैसा कमाउन जा भन्नुहुन्थ्यो।’

बाबुआमालाई पनि पढ्नु पर्छ, पढेर नाम कमाइन्छ भन्ने थिएन। बाँच्नका लागि खाना चाहिन्छ र त्यसका लागि पैसा कमाउनुपर्छ भन्ने मात्र ध्यान हुन्थ्यो।

०००

केके बाल्यकालमा निकै उच्छृङ्खल र बदमास स्वभावका थिए रे। उकेरासँगको कुराकानीमा उनले बालापन सम्झिए, ‘अरूको सामान बिगारिदिने भएकाले छिमेकीले बदमासको उपमा दिएका थिए।’

उच्छृङखल र उट्पट्याङ भए पनि उनलाई चित्र कोर्न भने असाध्यै मन पर्ने। घरमा बस्दा होस् वा खेतको गह्रामा बस्दा, सिन्काले विभिन्न आकृतिहरू बनाउँथे। त्यतिबेला अहिलेजस्तो चित्र कोर्नका लागि सामग्रीहरु उपलब्ध हुँदैनथ्यो।

एक पटक केकेले घरभेटीको कोठाबाट सादा कागजको एउटा चाङ चोरेछन्। घरभेटीले थाहा पाएर उनलाई नराम्ररी गाली गरेछन्। तर पछि उनको कलातर्फको लगावलाई ध्यानमा राखेर घरभेटी दाजुले चोर्नुपर्छ त?, मागेको भए दिइहाल्थेँ नि भन्दै माफ गरिदिए र कागजको चाङ पनि दिए।

केकेले आफ्ना दाजुका किताबका चित्रहरु देखेर त्यस्तै उतार्ने प्रयास पनि गर्थे। उनी घरमा बस्दा पनि चित्र नै कोर्थे। घरमा सबै सामानहरु छरपस्ट पार्ने, फोहोर गर्ने। यसै कारण बाबुको पिटाइ पनि मजैले खान्थे।

कक्षाका साथीहरुमा पनि उनका चित्रहरुको चर्चा हुन्थ्यो। साथीहरु लोभिएर उनका चित्र हात पार्न खोज्थे। बदलामा उनीहरु कापीका पानाहरु दिन्थे।

उनलाई सफा भुईँ र भित्ता त देख्नै हुँदैनथ्यो रे। त्यस्तो देख्यो कि चित्र कोरौँ-कोरौँ लागिहाल्ने अनि कोरिहाल्ने, जे पायो त्यसैले। ढुंगा, गोल चक आदिले। उनको त्यो काम देखेर कसैले तारिफ पनि गरे। कसैले भने गाली गरे।

चित्र कोर्न नपाए खेल्न जान्थे उनी। गुच्चा खेल्ने, डन्डीबियो खेल्ने, दौडने यस्तै यस्तै। उनलाई घुम्न पनि निकै मन पर्ने, केही नभए उनी घुम्न निस्कन्थे।

‘प्रायः मलाई बुबा-आमाले पसलमा राख्नुहुन्थ्यो। तर म पसलमा नबसेर बाटोमा चित्र बनाउँथें,’ उनी विगत सम्झन्छन्, ‘आवत-जावत गर्ने मानिस छक्क पर्थे मेरो कला देखेर।’

बाबु-आमालाई आफन्तले छोरो चोर डाँका हुन्छ भन्दा उनी सुनिरहन्थे।

केकेको त्यो सम्भावनालाई कसैले बुझेन। त्यतिबेला चित्र के हो ? भन्नेबारे कसैलाई थाहै थिएन। उनले पनि यो यात्रा जानेर-बुझेर सुरु गरेका थिएनन्। जानी-नजानी अगाडि बढेको थियो चित्रकलाको यात्रा।

उनी ९/१० वर्षको उमेरमा नागको चित्र बनाएर बेच्दा पाँच देखि १० पैसा पाएको सम्झिरहन्छन्।

०००

केकेमा सम्भावना देखेका छिमेकी दाइ रामकृष्ण श्रेष्ठले उनलाई जुद्ध शमशेरको आर्ट पाठशाला पुर्याए।

त्यतिबेला त्यहाँको स्कुल इन्चार्ज तेजबहादुर चित्रकार थिए। पाठशालामा १२ वर्ष पुगेपछि मात्र भर्ना लिने चलन थियो। उनी जम्मा १० वर्षका थिए। रामकृष्णले भनसुन गरेपछि उनी त्यहाँ एक वर्ष भर्ना नगरी बिताए। काम हेरेपछि तेजबहादुरले नै केकेलाई एक वर्ष उमेर बढाएर भर्ना गरिदिए।

त्यहाँ पनि उनले उटपट्याङ गर्न भने छाडेनन्। उनी हाँस्दै भन्छन्, ‘त्यहाँ पनि म त्यति असल मान्छे चाहिँ होइन।’

पाठशालामा उनले नयाँ साथी पनि बनाए। कोही उनीसँग मिल्ने स्वभावका थिए भने कोही मिल्दै नमिल्ने। त्यहाँ केटीहरुको मूर्ति बनाएर राखिएको हुन्थ्यो। त्यो मूर्तिको मुखै बिगारिदिने, रङ पोतिदिने जस्ता काम गर्थे उनी। स्कुल पनि बंक मार्ने, मन लागे पढ्ने, नलागे नपढ्ने। उनी कुनै नियम-कानुनमा बस्न मन नपराउने स्वभावका थिए। त्यसैले धेरै पिटाइ पनि खाए।

केकेले पाठशालामा फाइन आर्टसँग सम्बन्धित सबै विषय पढे। त्यतिबेला पाठशालामा पढ्ने विद्यार्थीलाई टिफिन खर्च भनेर राणाहरुले पैसा पनि दिन्थे। उनले पहिलो पटक सात रुपैयाँ क्वाइन पाएका थिए।

पाठशालाको आर्टमा ६ वर्षको कोर्ष पढ्नुपर्ने हुन्थ्यो। उनलाई फेरि आर्ट पाठशालाबाट झिकेर उनका बाबाले दरबार हाई स्कुलमा भर्ना गरिदिए। त्यतिबेला आर्ट पढ्नेलाई खासै राम्रो नमान्ने केके बताउँछन्। आर्टको पेसालाई तल्लो स्तरमा हेरिन्थ्यो।

दरबार स्कुलमा उनले एक वर्ष अध्ययन गरे। अन्ततः उनी फेरि पाठशालामै पढ्न आए।

चित्रमा बाहेक किताबमा ध्यान नै थिएन उनको। केके भन्छन्, ‘सिर्फ चित्र कोर्न पाए खुसी हुने। पढाइप्रति रूचि नहुने। चित्रप्रतिको लगाव झनै बढ्दै गयो।’ उनले ६ वर्षको कोर्ष ८ वर्षमा सके।

केकेलाई मूर्तिकलामा पनि निकै रुचि थियो। असाध्यै राम्रा मूर्ति बनाउँथे। उनलाई मूर्ति बनाउने राम्रा प्रोजेक्टहरु पनि हात परेका थिए त्यतिबेला।

छिमेकी एक जनाले पाठशालामा पढाउँथे। तर केकेको स्वभाव ती शिक्षकलाई पटक्कै मन पर्दैनथ्यो। स्वभाव मन नपरे पनि उनले केकेको काम भने निकै मन पराउँथे। उनैले केकेलाई मूर्तिकला सिकाएका हुन्। उनी ती मास्टरलाई नै मूर्तिकलाको प्रेरणाका स्रोत मान्छन्। 

०००

पढाइपछि उनी डल्लुमै आमा-बाबुले व्यापार गर्ने ठाउँमा चित्र बनाएर बस्न थाले। नाँच्न-गाउनमा पनि निकै सिपालु थिए केके। टोल-छिमेकमा हुने सांस्कृतिक कार्यक्रममा नाँच्ने-गाउने गर्थे। कार्यक्रमका लागि आवश्यक पोस्टरको काम पनि उनी नै गर्थे। त्यसमा पनि उनको चर्चा भयो।

२०२१ सालमा छाउनी म्युजियमा एक जना काम गर्ने मान्छे चाहिएको थियो। म्युजियमको हाकिमले पसलमा बसेर केकेले काम गरेको देखेका रहेछन्। उनी आएर म्युजियममा कलाकार चाहिएको कुरा सुनाए। उनै हाकिमको सहयोगमा केकेले लोकसेवाको परीक्षा दिएर नाम निकाले।

त्यसपछि उनी म्युजियममा काम गर्न थाले। त्यहाँ इतिहासकारहरुका ट्याग लेख्नुपर्ने भयो। प्लाइका टुक्राहरुमा लेख्नुपर्ने थियो। तर उनलाई लेख्ने काममा कुनै रुचि नै थिएन। पहिलो दिन भने काम गरे। दोस्रो दिनदेखि मन लाग्न छोड्यो काममा। उनले चारै दिनमा काम छोडे।

त्यहाँ काम गरेपछि केकेलाई जागिर खानै मन लागेन। पछि बुबाले पसल भोटाहिटीमा सारेका थिए। उनले भोटाहिटीमा बसेर दृश्य चित्र कोरेर पैसा कमाउन थाले। मठमन्दिर, हिमालका चित्र कोर्थे उनी।

त्यतिबेला भर्खरै सोल्टी होटेल खुलेको थियो। त्यहाँ विदेशीहरु आएर बस्थे। साथीको माध्यमबाट केकेले तिनै विदेशीलाई पेन्टिङ बेच्थे। पेन्टिङ ३० देखि ५० रुपैयाँसम्ममा बिक्री हुन्थ्यो। यो क्रम दुई/तीन वर्षसम्म चल्यो।

भेटाहिटिमा पनि हुलाक सेवा सञ्चालनमा आयो। हुलाकमा टिकट प्रकाशन हुन्थ्यो। हुलाकमा निकै भीड पनि देखिन्थ्यो। भीड केको भनेर उत्सुकता चाहिँ हुन्थ्यो केकेलाई तर त्यहाँ टिकट प्रकाशन हुन्छ भन्ने थाहा थिएन।

स्टेसनरीमा पेन्टिङको सामान किन्न गएका बेला पसलेबाट टिकट प्रकाशन हुन्छ भन्ने कुरा उनले थाहा पाए। स्टेसनरी पसलमा केकेको कामको बारेमा पनि कुरा हुन्थ्यो। पसलेको सुझावअनुसार नै उनले पनि हुलाक टिकट बनाउन थाले। उनको हुलाक टिकट डिजाइनप्रति आकर्षण पनि बढ्यो।

केही समयपछि हुलाकले पोस्ट स्ट्याम्प डिजाइनरमा विज्ञापन खुलायो। लोकसेवा दिएर त्यहाँ उनले नाम निकाले र जागिर सुरु गरे।

केके आर्टिस्ट र ग्राफिक डिजाइनर हुन्। उनले ग्राफिसमा नयाँ आयाम थपिदिए। उनी गएपछि नै रंगीन टिकटको सुरुवात भएको हो। केकेले ४०७ वटा हुलाक टिकट डिजाइन गरिसकेका छन्। हुलाक टिकटका लागि अनगिन्ति चित्र उतारेका छन्।

हुलाक सेवामा उनको जीवन गुजाराको बाटो थियो भने कलाकारिता सोख। हुलाक टिकट प्रिन्ट गर्थे उनी। सरकारी जागिर खाए पनि आफ्नो सिर्जनालाई कहिल्यै मर्न दिएनन्। यही यात्रा निरन्तर गरिरहे।

केके त्यहाँ ३८ वर्ष नौ महिना जागिर खाएर रिटायर्ड भए। सुरुमा उनको मासिक तलब २५५ रुपैयाँ थियो। कमाएको पैसा सबै घरमा बुझाउथे। अफिस जानुअघि खर्च भनेर दिनको एक रुपैयाँ बाबाले दिन्थे।

०००

२०२८ सालमा केकेले एकल प्रदर्शनी गरेका थिए। त्यतिबेला उनले कोलाज प्रदर्शनी गरेका थिए। त्यो एउटा टेक्निक हो। त्यतिबेला कोलाज भनेको कसैलाई थाहा नभएको उनी सम्झन्छन्। उनको प्रदर्शनीको बारेमा गोरखापत्र र राइजिङ नेपालको फ्रन्ट पेजमा समाचार छापिएको थियो।

पेन्टिङ र टिकट दुवैको प्रदर्शनीका लागि उनी सन् २००० मा जर्मनी गए।

सन् २००५ मा ‘वन म्यान सो अफ पेन्टिङ’ अन्तर्गत ‘इमेजेज अफ सोल’मा उनका चित्र र टिकटमा प्रदर्शन भए। चीनको बेइजिङमा २०१२ मा चाइना नेपाल आर्ट एक्जिबिसनमा पनि उनका कलाकारिता सार्वजनिक भए। जहाँ प्रदर्शनी भए पनि उनका लागि आउने प्रतिक्रिया प्रशंसनीय नै हुन्थ्यो।

३/४ वर्षअघि उनले भर्चुअल प्रदर्शनी पनि गरेका थिए। अहिलेसम्म विदेश र नेपालमा गरी उनका ९ वटा कला प्रदर्शनी भइसकेका छन्।

०००

केके केही समयअघि ‘दि हिमालयज अन’ नेपाली पुस्तक विमोचन समारोहका लागि कोरिया पुगेका थिए। उनी कोरियन भाषामा प्रकाशित पुस्तकका सह-लेखक हुन्।

पुस्तकमा नेपालको हुलाक टिकट जसमा हिमाली शृङ्खला र नेपालका कला परम्परा तथा व्यक्तित्वहरू विषय समेटिएका थिए। थोरै अङ्ग्रेजी र धेरै कोरियन भाषामा लेखिएको यो पुस्तकमा हुलाक टिकटहरू र तिनका विशेषतामाथि चर्चा छ।

उनले बालकथाका ५०/६० किताबहरुमा पनि चित्र बनाएका छन्। किताबका आवरण त कति बनाए उनलाई सम्झना पनि छैन्। लोगोको संख्या पनि गनि साध्य छैन। 

०००

चित्र बनाएर जीवन बाँच्न कठिन रहेको केकेको ठम्याइ छ। पहिलेको तुलनामा बिक्री मात्र होइन, चित्र बनाउनेको संख्या पनि बढेको छ। उनको अनुभवमा चित्र किन्नेमा स्वदेशीभन्दा विदेशी धेरै छन्।

जो-कोहीले चित्र किन्न सक्दैनन्। उनी भन्छन्, ‘एउटैको हजारदेखि लाखौँसम्म पर्छ। एउटा चित्र बनाउन महिनौं लाग्न सक्छ।’ परम्परागत पेन्टिङहरू नेपालमा २० देखि ३० लाख रूपैयाँसम्ममा बिक्री हुने केके सुनाउँछन्।

अहिले र पहिलाको कला हेर्दा निकै भिन्नता आइसकेको उनको अनुभव छ। ‘पहिलाको समयमा स्रोत-साधन र अध्ययनको अभाव थियो। पहिला आर्टकै किताबलाई हजारौँ पर्थ्यो। अहिलेजस्तो युट्युब र गुगलमा हेर्ने पनि हुँदैनथ्यो। त्यो बेला लाइब्रेरी धाएर किताब पढियो। लाइब्रेरी पनि धेरै थिएन। जम्मा चार वटा थियो होला। किताब घर ल्याउन पाइँदैनथ्यो। त्यतिबेला अहिलेजस्तो मिडिया पनि थिएनन्। प्रचार पनि हुँदैनथ्यो। अहिले त धेरै सजिलो छ नि,’ उनी विगत सम्झन्छन्। 

 ०००

प्रज्ञा प्रतिष्ठानको कुलपति भएपछि केके कला विकासकै लागि लागिपरेका छन्। सामान्य विकास भएको तर योजनावद्ध विकास हुन नसकेको देखेका छन् उनले।

भूकम्पले नष्ट भएका भवनहरुको पुनर्निर्माण जारी नै छ। उनको पहलमा आर्ट ग्यालरीको निर्माण भएको छ। पहिला रेन्टमा लिएर कला प्रदर्शनी गर्नुपर्थ्यो। अहिले प्रतिष्ठानकै ग्यालरी रेन्टमा दिन सकिन्छ।  

उनले कार्यकालको चार वर्ष विताइसकेका छन्। दुई वर्ष त कोरोनाले वित्यो। अब एक वर्ष मात्र बाँकी छ। ‘भौतिक विकासहरु भइरहेका छन्। सिस्टम स्ट्याब्लिस्ट भइरहेको छ,’ उनी भन्छन्, ‘राष्ट्रिय प्रदर्शनीहरु पनि कला प्रतिष्ठानमै भइरहेका छन्। अबको राष्ट्रिय प्रदर्शनी पनि प्रतिष्ठानमै हुनेछ।’

अझै गनुपर्ने काम धेरै छ, तर सरकारले बजेट निदएको सुनाउँछन् उनी।

युवापुस्तालाई प्रोत्साहन गर्ने कार्यक्रम पनि प्रतिष्ठानले गरिरहेको उनी बताउँछन्।

प्रतिष्ठानकै पहलमा पुरानै बजेटबाट कीर्तिपुरमा ढुंगाको मूर्तिको वर्कसप सम्पन्न भयो। १६ जना कलाकारबाट २५ वटा ढुंगाका मूर्ति कीर्तिपुरमा तयार भएका छन्।

चितवनको माडिमा पूरै जंगल नै मूर्तिले भरिएका छन्।

प्रतिष्ठानको मिचिएको जग्गा पनि उनकै कार्यकालमा प्रतिष्ठानको नाममा आएको छ।

इन्टरनेसनल लेबलको आर्ट ग्यालरी निर्माण गर्ने प्रतिष्ठानको आगामी योजना छ।

०००

केके अहिले पुस्तक विमोचनदेखि कला प्रदर्शनी तथा विभिन्न सभा-समारोहमा सहभागी हुन्छन्। नेपाली कला र साहित्यको छलफलमा पनि जुटिरहेका हुन्छन्।

रातोपुलस्थित केके कुञ्जमा उनको दैनिकी सुरु हुन्छ। अझै पनि उनलाई क्यान्भासमा बिम्व उतार्न मन लाग्छ। त्यसका लागि उनी विविध रङहरुको घोल मिसाएर पोत्न थाल्छन्। यो उनको रहरको दैनिकी हो।

क्यानभासमा विभिन्न आकृतिहरु उतारिरहँदा उनलाई अर्कै दुनियाँमा रमाएजस्तो लाग्छ।

२० माघ, २०७८, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।