हिजोका कुरामा दिवाकर राजकर्णिकार : जंगबहादुरको निगाहले पाटीमा जन्मिएको त्यो मिठाइ पसल

हिजोका कुरामा दिवाकर राजकर्णिकार : जंगबहादुरको निगाहले पाटीमा जन्मिएको त्यो मिठाइ पसल
तस्बिर : कृष्पा श्रेष्ठ

दिवाकरका जिजुबाजेले थापाथलीस्थित प्रसूतिगृह जाने बाटोमा रहेको एउटा पाटीबाट सुरु गरेको मिठाइ पसलले अहिले ठूलै फड्को मारिसकेको छ। 

०००
ललितपुर, टंगाल निवासी दिवाकरका जिजुबुबा बिर्खराज तत्कालीन राजदरबारमा मिठाइ बनाउँथे। वि.सं. १९०५ मा राणा प्रधानमन्त्री जंगबहादुरले राजदरबारमा मात्रै होइन, आफूहरुलाई पनि मिठाइ बनाउन हुकुम गरे। त्यसपछि बिर्खराज राजकर्णिकार राजदरबारका साथै जंगबहादुरको दरबारमा गएर मिठाइ बनाउन थाले। 

दरबारमा आउजाउ गर्ने क्रममा बिर्खराजले जंगबहादुरसमक्ष आफूलाई थापाथलीमा मिठाइ पसल राख्ने मेसो मिलाइदिन बिन्ती चढाए। ‘त्यसपछि जंगबहादुरले मेरा जिजुबाजेलाई प्रसूतिगृह जाने बाटोमा रहेको पाटीमा मिठाइ पसल राख्न स्वीकृति दिएछन्,’ दिवाकरले भने, ‘त्यसपछि भगवान रामको नाममा राम भण्डार नाम राखेर मिठाइ पसल खोल्नुभएछ।’

मिठाइ खाने भनेकै दरबार र राणा खलकले मात्रै थियो त्यो बेला। थापाथलीमा पसल खुलेपछि सर्वसाधारणमाझ पनि विस्तारै मिठाइको रस बस्न थाल्यो। त्यतिबेला खाइने मिठाइहरुमा जेरी, स्वारी, मालपुवा, लाखमरी आदि हुन्थ्यो।

पछि बाटो विस्तार गर्ने क्रममा राम भण्डार भएको पाटी पनि भत्काइयो। त्यो पाटीमा रहेको मिठाइ पसल र पुलिस चौकी बागमती पुलको मुखैमा रहेको पाटीमा सारियो। त्यो पुलमा सारिएपछिको राम भण्डार भने दिवाकरलाई पनि सम्झना छ। 

०००
दिवाकर पाटनको बैफल स्कुलमा पढ्थे। चोकभित्र रहेको स्कुलमा सुकुलमा बसेर पढ्नुर्थ्यो। ३ कक्षासम्म सो स्कुलमा पढेका उनी ४ कक्षादेखि नमुना मच्छेन्द्र स्कुल पढ्न पुगे। नमुना मच्छेन्द्र पढ्न थालेपछि दिवाकरको पढाइ बिग्रँदै गयो। साथी-संगतमा लागेर स्कुल हिँडेका दिवाकर मंगलबजारतिर घुमेर दिन काट्न थाले।

दिवाकरका बुबा हेमराज राजकर्णिकारले सिद्धार्थ बनस्थली स्कुलको खाजा र खानाको ठेक्का पाए। त्यसपछि उनी पनि बनस्थलीमै होस्टेलमा बसेर पढ्न थाले। बुबाको ठेक्का रहुन्जेल बनस्थली बढेका उनी ३ वर्षपछि ८ कक्षा पढ्न कीर्टिपुरस्थित लेब्रोटरी स्कुल पुगे।

लेब्रोटरीमा स्कुल बस थियो। पहेंलो बसमा बसेर स्कुल जान पाउँदा उनी दंग थिए। स्कुलमा खाजा खान उनी १० पैसा लैजान्थे। १० पैसाले पेटभरि आलुको तरकारी पाइन्थ्यो। पकाउने भान्से परिचित राजकर्णिकार नै भएकोले उनलाई अरुलाईभन्दा बढी दिन्थ्यो। त्यहाँ पनि संगत घुम्नेहरुसँगै भयो। स्कुलबाट भागेर चोभार डाँडा पुग्थे। पढाइ औसत मात्र थियो।

वि.सं. २०२४ सालदेखि दिवाकर स्कुलका साथै पसलमा पनि बस्नु पर्यो। २३ जनाको परिवारमा सबैको भागमा एउटा न एउटा काम हुन्थ्यो। दिवाकरको भागमा बिहान स्कुल जानुभन्दा अघि दुई घण्टा पसलको काउन्टरमा बस्नुपर्ने भयो। यो क्रम लामो समयसम्म चल्यो। 

अहिले राम भण्डार भएको थापाथलीको दिवाकरको सो घर २०२२ सालमा २४ हजारमा किनिएको हो।

०००
थापाथली राणाहरुको बसोबास भएको क्षेत्र हो। अहिलेको राम भण्डार, राष्ट्र बैंकदेखि नर्भिक अस्पतालसम्मको क्षेत्रमा सिंह शमशेरको जग्गा थियो। रामभण्डार भएको जग्गा सिंह शमशेरले जिठालाई बकसस्वरुप दिएका रहेछन्। जिठाले दिवाकरका बुबालाई घरसहित ८ आना जग्गा २४ हजारमा बिक्री गरेका थिए। 

‘त्यो समय २४ हजार पनि धेरै। मान्छेसँग पैसा नहुने,’ २४ हजारमा जम्मा २ हजार दिएर नाम सारी गरेपछि वर्षौं लगाएर पैसा तिरेको दिवाकरले बताए। उनले भने, ‘हरेक दिन मिठाइ बेचेको पैसाको केही प्रतिशत दिंदै ऋण तिर्दै गरियो।’

नेपालमा रस माधुरी भित्र्याउने श्रेय पनि दिवाकरका बुबालाई जान्छ। ‘बुबा कलकत्ता जाँदा त्यहाँका धेरै मिठाइ पसल घुम्नुभएछ। बुबालाई रस माधुरी नामको एउटा मिठाइ एकदमै मिठो लागेछ। यस्तो मिठाइ त नेपालमा पनि बनाउनुपर्छ भनेर राम भण्डारमा रस माधुरी भित्र्याउनु भएछ,’ उनले सुनाए।

त्यसपछि राम भण्डारलाई रस माधुरी पाइने पसलको रुपमा पनि धेरैले चिने। ‘रस माधुरीले एकदमै राम्रो बजार लियो। मेरी फुपूले मात्र दिन दुई सय वटा रस माधुरी बनाउनैपर्ग्यो,’ दिवाकरले भने।

२०२४ सालतिर काठमाडौंमा थोरै मात्र मिठाइ पसल थिए। त्रिपुरेश्वरमा दिवाकरका काकाहरुको मिठाइ पसल, डिल्लीबजार, पाटनको मंगलबजारमा ३ वटा र इन्द्रचोकको चोखाछें गल्लीमा एउटा अमृत भण्डार थियो। अमृत भण्डार बिएल शर्माले खोलेका थिए।

वि.सं. २०३५ सालमा आरके स्विट्स खुल्यो तर पनि बन्द भयो। अहिले परम्परागत मिठाइका साथै इन्डियन मिठाइका पसलहरु पनि थुप्रै खुलेका छन्। तर पनि राम भण्डारले अहिलेसम्म अस्तित्वलाई जोगाउन सफल नै देखिन्छ।

१७० वर्ष पुरानो राम भण्डारमा परम्परागत मिठाइका साथै नयाँनयाँ मिठाइहरु पनि पाइने भएकोले पुरानाका साथै नयाँ ग्राहक पनि आकर्षित भइरहेको दिवाकर बताउँछन्। विदेशबाट आएकाहरु समेत राम भण्डार खोज्दै आएको देख्दा दिवाकर दंग छन्। 

आफ्नै घरमा सरेपछि टाढा-टाढाबाट आउने नियमित ग्राहकहरु पनि बढेको दिवाकरको ठम्याइ छ। कांग्रेसका नेता कृष्णप्रसाद भट्टाराईसमेत राम भण्डारको मिठाइका पारखी रहेको दिवाकर दावी गर्छन्। भन्छन्, ‘सन्त नेता भटराईले हरेक दिन रामभण्डारको मिठाइ खानुहुन्थ्यो। उहाँले जेरी, स्वारी, लालमोहन बढी खानुहुन्थ्यो।’ भट्टराई न्युरोडमा पान खाएर राम भण्डारमा मिठाइ खान आउने गरेको दिवाकर सुनाउँछन्। 

०००
दिवाकर आमा-बाबुका एक्ला सन्तान। छोराले राम्रो पढोस् भन्ने आमाबाबुको चाहना थियो। तर उनी भने एसएलसीमै फेल भए। अंग्रेजी विषयमात्र लागे पनि त्यतिबेला एउटा मात्रै परीक्षा दिएर पुग्दैनथ्यो। सबै दिनुपर्थ्यो। एसएलसी फेल भएपछि उनी त्यो स्कुल छोडेर पद्मोदय स्कुल भर्ना भएका थिए।

एसएलसी पास गरेपछि पाटन क्याम्पसमा आइकम पढेका दिवाकरले डिप्लोमा भने मीनभवनस्थित नेपाल कमर्श क्याम्पसमा पढे।

त्यो बेला डिप्लोमा नयाँ शिक्षा लागू भएको थियो। डिप्लोमा पढ्दा शिक्षकहरुसँग झगडा गरेको पनि सम्झन्छन् दिवाकर। शिक्षकसँग निहुँ खोजीखोजी झगडा गरेको सम्झेर उनलाई अहिले भने नमज्जा लाग्छ। शिक्षक बढी अंग्रेजी बोल्ने, उनी नबुझ्ने। त्यही कारण निहुँ खोजिरहन्थे।

एमकम पढ्ने बेला कीर्तिपुरबाट रत्नपार्क आउँदा कहिल्यै बस भाडा तिर्दैनथे। उनी भन्छन्, ‘पैसा माग्यो कि म झगडा गरिहाल्थें। र, सधैं बस भाडा नतिरी यात्रा गर्थें।’

मास्टर्स गर्ने बेलामा उनी १० महिना राष्ट्रिय विकास सेवामा दोलखा जिल्लाको क्षमावती गाउँमा गए। काठमाडौं बाहिर पहिलो पटक गएका राजकर्णिकारले जीवनलाई राम्ररी बुझ्ने मौका पाए। बत्ति थिएन, मासु खान नपाइने। दिवाकरलाई मासु नखाइ नहुने। त्यही भएर उनलाई बुबाले टिनको बट्टामा मासुको सुकुटी हालेर पठाउँथे।

दोलखाबाट फर्केपछि उनी काठमाडौं जेसिजमा लागे। त्यसपछि उनको जीवनले नयाँ मोड लियो। सन् १९९० मा शिखर साँझ कार्यक्रम आयोजना भयो। दिवाकर संयोजक भएर आयोजना गरेको सो कार्यक्रम नेपालकै सांगीतिक यात्राको धेरै ठाउँमा गरिएको टुर थियो। यसैबाट नेपालमा सांगीतिक टुर आयोजना गर्ने चलन चल्यो।

२०४८ सालमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, काठमाडौं शाखाको संयोजक भएका उनी अहिले सो संस्थाको अध्यक्ष छन्। साथै मिस नेपाल आयोजना गर्ने हिडेन ट्रेजरको पनि अध्यक्ष समेत छन् उनी। 

दिवाकरका दुई छोरीमध्ये जेठी छोरी डा. पुर्णिमा राजकर्णिकार आँखाको क्यान्सरकी डाक्टर हुन् भने कान्छी छोरी जुर्णिका राजभण्डारी दाँतकी डाक्टर हुन्। छोरा सौरभ भने अष्ट्रेलियामा पढेर आएर अहिले राम भण्डारको डिजिटल मार्केटिङमा लागिरहेका छन्।

थप हिजोका कुरा

२३ मंसिर, २०७८, १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।