उकेरा कोलम

हिजोका कुरा : ११ वर्षको उमेरमा गृहत्याग गरेकी शारदा कसरी बनिन् फुलनदेवीकी गुरुमा ?


काभ्रेको बनेपा पहिलेदेखिकै व्यापारिक केन्द्र। काठमाडौंबाट व्यापार गर्न तिब्बत जाने र तिब्बतबाट काठमाडौं आउनेको बास बस्ने मुख्य थलो बनेपा नै थियो त्यतिबेला। बनेपाको वांख्य टोलमा जन्मिएकी हुन्, शारदा मानन्धर।

किसान परिवारमा जन्मिएकी शारदा ७ वर्षकै उमेरदेखि घरको काममा परिपक्व थिइन्। भाइहरु हेर्ने र खेतमा खाजा पुर्याबउने जिम्मेवारी उनकै काँधमा हुन्थ्यो।

शारदा १० वर्षकै उमेरमा तन्नेरी जस्ती देखिन्थिन्। त्यो उमेरमा उनलाई विहेको प्रस्ताव लिएर आउनेहरु थुप्रै थिए। सँगै गुच्चा, कबड्डी, लुकामारी खेल्ने केटा साथीहरुको घरबाट विहेका प्रस्तावहरु आउँथे। २६ ठाउँबाट विहे प्रस्ताव आएको उनलाई अहिले पनि सम्झना छ। यस्ता कुराले शारदालाई भित्रभित्रै रिस उठ्थ्यो।

घरको काम र बुबाको व्यापारमा सघाउन सक्रिय उनलाई छर-छिमेकका मान्छेहरु बुहारी बनाउन पाए घर राम्ररी चल्छ भन्ने दाउमा थिए। उनी भन्छिन्, ‘एक पटक बुबाका साथी बिल्लु मानन्धर घरमा आउनुभएको थियो। म भर्यापङमा बसेर उहाँहरुको कुरा सुनिरहेको थिएँ। उहाँहरु छोरीचेलीलाई धेरै घरमा राख्नुहुँदैन, बेइज्जत गर्न सक्छे भनेर कुरा गर्दै हुनुहुन्थ्यो।'

घरबाटै छोरीलाई बोझको रुपमा लिइने गरेको थाहा पाएर उनको मनमा विद्रोहको भावना पैदा हुन्थ्यो। त्यसमा पनि माइलो भाइ जन्मिने बेलामा आमाको प्रसव व्यथा देखेर गृहस्थ जीवनप्रति उनको तृष्णा मेटियो। 'यस्ता घटनाले विहेप्रति मेरो रहर नै सदाका लागि मर्‍यो। विहे गर्दिनँ भन्ने सोचमा पुगें,’ शारदाले भनिन्।

०००
शारदालाई विस्तारै स्कुलभन्दा विहारमा रमाइलो लाग्न थाल्यो। बहिनीसँग चन्द्रकृति विहार जाँदाजाँदै त्यहाँका फूलहरु देख्दादेख्दै उनी विहारप्रति लोभिइन्। फूलको बगैंचामा फूलेका सबै फूल टिपिँदैन, आफूलाई जुन मनपर्छ त्यो मात्रै टिपिन्छ भन्ने कुराले बालसुलभ शारदालाई खुबै छोयो। पञ्चशीलका कुराबाट प्रभावित उनलाई हिंसा मनपर्ने कुरै भएन।

उनी आफ्नो बाल्यकाल सम्झन्छिन्, ‘मलाई काटमार फिटिक्कै मन पर्दैनथ्यो। तर दशैंको बेला घरमै बलि दिइन्थ्यो। घरमा पालेको कुखुरालाई बलि दिन लाग्दा म कुखुरालाई भगाउँथें। कुखुरा नकाट्नू, बरु मलाई नै मार्नू भन्थें।’

शारदाको अनुरोधपछि घरमा कहिल्यै मार हानिएन, बलि दिइएन। उनी आफ्नो करुणाजनक हृदय खोलेर मासुका लागि कुखुरापालन, भेडा र बाख्रापालन रोक्न कडा रुपमा प्रस्तुत हुन्थिन्। कलिलो उमेरमै देवी, देवताको मूर्तिपूजन र निधारमा रातो टीका लगाउने कार्यको विपक्षमा उभिनु त्यतिबेलाको समयमा विरलै गरिने काम थियो। तर उनलाई मूर्तिपूजनले कहिल्यै आकर्षित गरेन। 

शारदा हरेक बिहान बनेपाको चण्डेश्वरी मन्दिर अगाडिको पोखरीमा माछालाई अन्न खुवाउन पुग्थिन्। तर मन्दिरभित्र पूजा गर्दिनथिन्। अरु साथीहरु मन्दिरमा पूजाका लागि जाने बेला उनी एक चित्तले माछालाई दाना खुवाएर रमाउँथिन्। त्यससँगै उनको विहारमा जाने क्रम पनि चलिनै रह्यो।

उनी भन्छिन्, ‘मेरो बाल मनसपटलमा बुद्धवाणीले थाहा नपाइकनै डेरा जमाइसकेको थियो। जतिबेला म ५ कक्षामा पढ्थें।'

सामाजिक कारण उनलाई भिक्षुणी हुने इच्छा जाग्न थाल्यो। तर गृहत्याग गरेर जान बाधाहरु पनि उत्तिकै थिए। भिक्षुणी हुन आमा र बुबाको अनुमति चाहिन्थ्यो। तर त्यो अनुमति पाउने अवस्था थिएन। 

शारदा अनेक जुक्ति खोज्दै थिइन्। एक दिन उनकी आमा आफ्नी सासुको जंकूपूजाको लागि राति चिउरा कुट्दै थिइन्। सोही मौकामा उनले कागजमा 'मेरी छोरीलाई भिक्षुणी बन्न मेरो अनुमति छ' भनेर लेखिन् र भाँडाको कालोले औंठा छाप लगाइन्। 

झुटो बोल्नु हुँदैन भन्ने सिद्धान्तमा लागेकी ११ वर्षकी शारदाले भिक्षुणी बन्न झुटकै सहारा लिइन्। विहारको काममा काठमाडौं जानु छ भनेर कागजमा दस्तखत गरिदिन बुबालाई ढिपी गर्न थालिन्। बुबाले खाली कागजमा सही गर्न मानेका थिएनन्। तर शारदाकी आमा बच्चाको लागि आफ्नो दुई शब्दको हरि लेखेर के जान्छ भनेर कराउन थालिन्। आमाको अगाडि बुबाले हार मानेर सही गरिदिए। दुई शब्दको हरिको मोल कति हो भन्ने कसलाई के थाहा! त्यही कागज बोकेर शारदाले ११ वर्षको कलिलो उमेरमै गृहत्याग गरिन्। 

०००
वि.सं. २०२७ कात्तिक ८ गते जमुना भिक्षुणीसँग लागेर गृहत्याग गरी बुद्ध खोज्न हिँडेको शारदा अनेक कष्ट-दुःख छिचोल्दै निश्चल यात्रामा लागिरहिन्।

चुपचाप घर छोडेर हिँडेको शारदालाई आमा-बुबाले निकै खोजी गरे तर भेटाउन सकेनन्। धुलिखेल बिहारका भिक्षु धर्मानन्दको काठमाडौंस्थित घरमा ७ दिनसम्म लुकेर बसेकी उनी त्यसपछि बनारस पुगिन्। उनको साथमा अनागारिका संघरक्षिता र भिक्षु धर्मान्द थिए।

सिग्रा बर्मेली विहारमा शारदालाई अनागारिका खेमा नामकरण गरिएको थियो। पछि भिक्षु प्रज्ञानन्द महास्थविरले खेमाको सट्टा अनोजा नाम राखिदिए। उनी अनोजा त बनिन् तर घरमा के भइरहेको होला होला भन्ने चिन्ता भने थियो।

भारतबाटै उनले आफू गुरुमा भएको र आफ्नो पिर नगर्नू भनेर पत्र लेखिन्। गुरुमा भएपछि नेपाल आएर त्रिशुली विहारमा एक महिना बसेकी उनी पछि पाटनस्थित विहारमा संघरक्षिता गुरुमासँग रहिन्। 

तर, त्यो बिहारमा शारदा उर्फ अनोजाले निकै सास्ती व्यहोर्नुपर्योर। भनेजस्तो नगरेपछि उनलाई शारीरिक र मानसिक तनाव दिन थालियो। कुटाइबाट उनको छाती दुख्न थाल्यो। आफूलाई छाती दुख्न थालेको धर्मचारी गुरुमालाई बताइन्। धर्मचारी गुरुमाकै पहलमा उनी धर्मर्कीर्ति विहारमा धम्मावती गुरुमाको विहारमा बस्न पुगिन्।

बुद्धको दीक्षा लिएकाहरु पनि किन यति क्रुर हुन्छन्? उनी आफैं अचम्मित हुन्थिन्। आफ्नो अगाडिको वातावरण र सोच नराम्रो छ भने आफैं पनि नराम्रो बाटो हिँडिने हो कि भन्ने डर पनि उनमा थियो। तर उनी डगमगाइनन्, आफ्नै बाटोमा निरन्तर हिँडिरहिन्।

०००
अनोजा चार दिनका लागि घर गएकी थिइन्। ती चार दिन उनका लागि निकै सकसपूर्ण थिए। टोल, छिमेक, आफन्त उनलाई हेर्न आएका थिए। अनोजा सम्झिन्छिन्, 'घरभरि मलाई हेर्न मान्छे आएका थिए। धेरैजसोले भिक्षुणीको लुगा त्याग, बरु विहे गरेर पठाउँदैनौं भने। तर मैले कसैको कुरा मानिनँ। बुबाले भनेको नमान्ने भए केही पाउँदिनस् भनेपछि म भिक्षा मागेर खान्छु भन्दै विहार फर्कें।'

उनी भिक्षुणी हुँदा पाँच कक्षासम्म पढेकी थिइन्। पढाइ अगाडि बढाउने उनको चाहना थियो। यही चाहनाले उनी स्कुल भर्ना भइन्। भक्तपुरस्थित सरस्वती माविमा एकै पटक ९ कक्षामा भर्ना भइन्। दुई वर्ष डेरामा बसेर पढेकी उनी एसएलसीमा अनुत्तीर्ण भइन्। त्यसपछि पढ्ने पाउने सर्तमा उनी धर्मर्कीर्ति विहार नै फर्किइन्। 

२०३४ सालमा एसएलसी उत्तीर्ण गरेकी अनोजाले २०४५ सालमा आइए, २०४८ सालमा बिए र २०५० सालमा एमए डिग्री हासिल गरिन्। 

भारतको बनारसस्थित सम्पूर्णन्दा विश्वविद्यालय यिनको अध्ययनको आधारभूमि बन्यो। उच्च शिक्षाका सम्पूर्ण स्तर हासिल गरेको यस विश्वविद्यालयबाट नै बौद्ध दर्शनको अभिधर्म ओतारा विषयमा विद्यावारिधी (पिएचडी) उपाधि हासिल गर्न उनी सफल भइन्।

९ वर्षको बनारस बसाइमा प्राप्त अध्ययनले अनोजालाई सक्षम र प्रतिभावान भिक्षुणी डा. अनोजा बनायो। नेपाल फर्केपछि पनि उनले अध्ययन गर्न छोडिनन्। बौद्ध परियती कोविद शिक्षा ग्रहण गरेपछि उनले अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अंग्रेजी भाषाको अध्ययन समेत गरिन्।

०००
भारतमा डाँकुको रुपमा परिचित फुलनदेवीका श्रीमान् हिमाञ्चलका  बौद्ध धर्माबलम्वी थिए। नागपुरमा रहेकी फुलनदेवीलाई उपासिका पञ्चशील ग्रहण गराउन नेपालबाट धम्मावत्री गुरुमासँग डा. अनोजा गुरुमा पनि गएकी थिइन्। फुलनदेवीलाई दीक्षा दिनेमध्ये उनी पनि एक थिइन्।

उच्च शिक्षा भारतमै भएकोले अनोजालाई हिन्दी र अंग्रेजी भाषा राम्रोसँग आउँथ्यो। फुलनदेवी अनोजासँग बढी नै गफिन्थिन्। डाँकु छविकी फुलनदेवीसँगको सामिप्यताले उनलाई बाध्यता र परिस्थितिले मान्छेलाई कहाँसम्म पुर्‍याउँदोरहेछ भन्ने बोध भयो।

आफ्नै अगाडि आमा-बुबालाई मारेर आफूलाई बलात्कार गरेपछिको आक्रोस र प्रतिकार हो, फुलनदेवीको छवि भन्ने अनोजाले मनन गरिन्। 

०००
अनोजालाई पञ्चशीलले भनेजस्तो समाज निर्माण गर्नु थियो। काठमाडौंको धर्मर्कीति विहारमा उपयुक्त वातावरणमा हुर्केकी उनलाई धम्मावती गुरुमाको रेखदेख, निर्देशन र संरक्षणले बढी ऊर्जा प्राप्त भएको थियो।

यही ऊर्जाकै कारण उनी मानिसको भीडभन्दा पर विहार बनाउने सपना बुन्न थालिन्। त्यसका लागि पवित्र सुन्दरीघाट, बागमती नदी र चोभार डाँडाको फेदमा विहार निर्माणस्थल छानियो। बागमती नदीको किनारमा रहेको यो स्थान सुन्दरीघाट अर्थात् सुलक्षण तीर्थको नामले परिचित छ। यहाँ डुबुल्की मार्दा पापमोचन हुन्छ भन्ने भनाइ पनि छ।

डा. अनोजा गुरुमा पनि यो नदीको सांस्कृतिक, धार्मिक मूल्य-मान्यता र पौराणिक कथाहरुवाट प्रभावित थिइन्। यही कारण विहारको नाम पनि सुलक्षण र्कीतिविहार राखेकी हुन्। उनको सपनालाई उनको अनुयायी तथा भक्तजनहरुवाट सहयोग र दानवाट सम्भव भयो।

विहार २०५३ सालमा निर्माण भयो। जहाँ उनले ३८ फिट अग्लो शिशु बोधिसत्वको सालिक स्थापना गरेकी छिन्। यो सालिकको मुख्य उद्देश्य नै बौद्ध समुदाय र शान्तिप्रिय जनमानसमा बोधिसत्व शैलीमा जीवनयापन गर्नका लागि प्रेरणाको स्रोत मिलोस्। 

०००
फुलनदेवीलाई दीक्षा दिने क्रममै डा. अनोजाको भेट जापानी राजपरिवारकी सदस्य मेचिको इतोसँग भएको थियो। मिचिको इतोले गुरुमाहरुको नागपुर दीक्षान्त भ्रमणमा रहँदाको सबै खर्चको दायित्व पनि लिएकी थिइन्।

उनी बुद्धको अनुयायी थिइन् र छोटो समयमै अनोजासँग प्रभावित भइन्। जापानमा इतोले २३ वटा मन्दिरका साथै स्वयम्भू महाचैत्यको प्रतिलिपिको रुपमा त्यहाँ राख्ने परिकल्पना गरेकी थिइन्। उनको चाहनालाई अनोजाले सहृदय सहयोग गरिदिइन्।

अनोजाको सहयोगी भाव र सफा मनबाट प्रभावित भएर आफ्नी छोरी जेन्सो इतोलाई प्रवजित गर्ने इच्छा पोखिन्। २०५५ सालमा आफ्नी छोरीलाई नेपालमै ल्याएर डा. अनोजाबाट दिक्षा दिन लगाई गुरुमा बनाइन्।

सोल्टी होटलमा बसेका जापानी राजपरिवारका सदस्यलाई बाजागाजा सहित चोभारस्थित सुलक्षण विहारमा जेन्सी इतोलाई महामाया देवीको रुपमा प्रवजित गराइन्। यसरी डा. अनोजा नेपाल मात्र नभई बुद्य धर्म अनुयायी भएका हरेक देशमा उत्तिकै प्रिय गुरुमाको रुपमा परिचित छिन्। 

अनोजाले अहिले विभिन्न जिल्लाका ४० जना अनाथ बालबालिकालाई पढाउने र बस्ने व्यवस्था सहित संरक्षण दिइरहेकी छिन्। उनको अबको प्लान वृद्धा होस्टेल खोल्ने र हस्पिटल बनाउने छ। यसका लागि उनी दिन रात खटिइरहेकी छिन्।

अहिलेको समयअनुसार आफूलाई पनि अपडेट गर्नुपर्छ भन्ने सोच राख्ने अनोजा पहिलो वर्ल्ड टुर गर्ने भिक्षुणी पनि हुन्। उनी आफैं गाडी चलाएर यात्रामा पुग्छिन्। साथै सबैको पहुँचका लागि मोबाइल बोक्ने र फेसबुक चलाउने भिक्षुणी पनि उनै हुन्। यसले अरुको सहाराविना नै आफ्नो गन्तव्य पुग्न सघाउने डा. अनोजाको धारणा छ। 

थप हिजोका कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

हिजोका कुरामा हाँस्य-व्यंग्यकार लक्ष्मण गाम्नागे : मास्टरले सिसीको झट्टी हान्दा सिसा झर्‍यामझुरुम

वि.सं. २०२१ सालमा भुटानमा जन्मिएका गाम्नागे चार दाजुभाइ तथा ६ दिदी बहिनीमध्ये साहिँला हुन्। आर्थिक विपन्नताका कारण परिवार पाल्न गाह्रो भएपछि २०१६....

चौथो अंगमा बिनाज गुरुबाचार्य : प्रकाशकले मिडियालाई नाफा कमाउने हतियार बनाए

भारतमा दुई महिना काम गरेपछि उनीहरुले तिमी नेपालको रिपोर्टिङ गर्न सक्छौ भनेर मलाई यता पठाए। सन् १९९० मा नेपालमा बहुदल पुनर्स्थापना हुँदा बुबासँगै मैले पनि....

कोरोना सङ्क्रमितको उपचार गर्ने डाक्टर, जसको आँखैअघि एकै परिवारका तीन जनाको मृत्यु भयो

उनले दोस्रो लहरको बेला नै सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको घटना कहिल्यै बिर्सन सकेनन्।  ३५ वर्षकी एक महिलाका सासू र ससूरालाई कोरोना....

ब्याच नम्बर ६९ :  कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

नेपालको कानुनले आफ्नो देशको नागरिकलाई सुपुर्दगी गर्न दिँदैन। दिनु पनि हुँदैन। तर जसले जुन देशमा अपराध गरेर भागेर नेपाल आएको हुन्छ उसलाई नेपालकै कानुन अनुसार....

चौथो अंगमा श्रीराम पौडेल : रेडियोमा रिपोर्टिङ टिम नै छैन, चोरचार गरेर समाचार सम्प्रेषण हुन्छन्

२०५६ को आमनिर्वाचनमा रेडियो कान्तिपुरले ‘इलेक्सन लाइभ’ प्रसारण गर्‍यो। यो लाइभ यति धेरै चर्चित भयो कि, रेडियो भनेको मनोरञ्जन मात्रै हो, रेडियोमा काम गर्ने पत्रकार....