चौथो अंगमा शिव गाउँले : प्रधानमन्त्रीको डटेर आलोचना गर्ने पत्रकार सर्वोत्तम सिमेन्टसँग हच्किन्छ

चौथो अंगमा शिव गाउँले : प्रधानमन्त्रीको डटेर आलोचना गर्ने पत्रकार सर्वोत्तम सिमेन्टसँग हच्किन्छ
तस्बिर : कृष्पा श्रेष्ठ

नेपालगञ्जमा हिन्दु-मुस्लिम दंगा भएको समय थियो त्यो। खोज पत्रकारिता केन्द्रमा राजेन्द्र दाहाल र हिमाल खबरपत्रिकामा बसन्त थापा सम्पादक हुनुहुन्थ्यो। उहाँहरुले मलाई त्यो रिपोर्टिङ ‘असाइन’ गर्नुभयो। रिपोर्टिङ गर्न एक हप्ता म नेपालगञ्ज बसें।

स्थानीय तरकारी पसलमा भएको सामान्य विवाद आगो जसरी फैलिएको थियो। मस्जिद र मन्दिर भत्काइएका थिए। हिन्दु र मुस्लिमबीच शंकाको वातावरण थियो। हप्तौँ दिनसम्म कर्फ्यु लागेको थियो नेपालगञ्जमा। म त्यहाँ पुग्दा कर्फ्यु त हटेको थियो तर सहरमा मुर्दा शान्ति थियो।

त्यो रिपोर्टिङ गर्दा मैले ‘इभेन्ट’ लाई कसरी ‘इस्यु’ बनाउने भन्ने सिकें। दंगा फैलिँदा यस्तो-यस्तो भयो भन्ने रिपोर्ट लेख्न छाडेर मैले यसको असर खोज्न एउटा जुक्ति लगाएँ। नेपालगञ्जमा त्यस्तो परिवारको खोजी गरेँ जुन परिवारलाई दंगाले सबैभन्दा बढी त्रसित बनाएको होस्।

खोज्दै जाँदा मैले विवाह गरेका हिन्दु र मुस्लिमको एउटा जोडी भेटें। स्टोरी यहींबाट सुरु गरें। किनकी, मुस्लिम र हिन्दुबीच दंगा हुँदा अरुले आ-आफनो पोजिसन लिन सक्थे तर त्यो परिवार सबैभन्दा चिन्तित हुन्थ्यो। कारण, उनीहरुका आफन्त आपसमा मारमार गरिरहेका हुन्थे। मैले सम्झेसम्म तत्कालीन हिमाल खबरपत्रिकामा यो रिपोर्ट ८ पेज छापियो। 

कुनै घटनाको कारण र कारकसम्म पुगेर रिपोर्टिङ गर्नुपर्छ भन्ने मैले यहीँबाट सिकेँ। कुनै पनि घटनाका पछि देखिने जस्तै नदेखिने पात्रहरु र परिस्थिति पनि जिम्मेवार रहन्छ भन्ने थाहा पाएँ। त्यही अनुसार मेरो स्टोरी अघि बढ्यो।

तरकारी बजारको सामान्य विवाद कसरी नेपालगञ्जको इतिहासमा एउटा कलंक हुनपुग्यो भनेर स्टोरी लेखेँ। मलाई त्यो स्टोरी सम्झँदा अहिले पनि आनन्द आउँछ।

यसरी घटनाका पात्र र प्रवृत्ति उधिन्न, परिस्थिति केलाउन र समाजमा लुकेको वा लुकाइएको कुरा बाहिर ल्याउन पाउँदा मलाई खोज पत्रकारितामा रस बस्यो। २५ वर्षदेखि म यही काममा छु।

खोज पत्रकारिताले प्रणाली परिर्वतन हुन्छ
‘इन्भेस्टिगेटिभ रिपोर्टिङ’ ले राज्यको नीति-नियम बनाउने तहमा नै प्रभाव पार्छ। एउटा उदाहरण- २०६१ सालमा श्री डिस्टिलरीले आफ्नो उत्पादनमा राजस्वको नक्कली स्टिकर टाँसेको भेटियो। आश्चर्यको कुरा, ती स्टिकर सिंहदरबारभित्र रहेको मुद्रण विभागको सरकारी प्रेसमा छापिने रहेछ। 

यो ‘एक्सक्लुसिभ स्टोरी’ को राम्रो प्रभाव पर्यो। सरकारले नीतिगत परिवर्तन गर्यो। अन्तःशुल्कको स्टिकर अब उत्पादनको कार्टुनमा होइन, प्रत्येक बोतलमा टाँस्नुपर्ने नियम बन्यो।

कुनै-कुनै समाचारले त प्रणालीमाथि प्रश्न उठाउने सामर्थ्य राख्छ। र, खोज समाचारबाट हामी प्रेस स्वतन्त्रताको अधिकतम प्रयोग पनि गरिरहेका हुन्छौं। न्यायाधीश, वकिल र कर्मचारीको मिलेमतोमा सेवाग्राहीबाट घुस खाने प्रवृत्तिमाथिका श्रृंखलाबद्ध समाचारका आधारमा म यो भन्न सक्छु। 

न्यायालयमा हुने घुस प्रकरणलाई कुनै बेलासम्म ‘अनियमितता’, ‘जनगुनासो’, ‘चिया खर्च’ जस्ता सांकेतिक भाषा मात्र प्रयोग हुन्थे। तर मैले प्रधानन्यायाधीशकै संलग्नतामा घुस मागेको समाचार ब्रेक गरेपछि न्यायालयमा घुसखोरी शब्दको प्रयोग सामान्य मानिन थाल्यो।

प्रधानन्यायाधीशको तस्बिरसहित ‘सर्वोच्च अदालतमा घुस’ भन्ने समाचारमाथि बार एसोसिएसनले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा एउटा छानविन समिति नै बनायो। अहिलेसम्म अदालतको सुधारका लागि बन्ने समितिले त्यो प्रतिवेदन ‘कोट’ गरिरहेका छन्।

जब आफूले लेखेको समाचारले राज्यको निकायमा नीतिगत तहमा प्रभाव पार्छ तब न पत्रकारले व्यावसायिक जीवनमा पछि फर्केर हेर्दा ‘ए मैले यो पनि गरेको थिएँ’ भन्न पाउँछ। 

नियमित रुपमा लेखिने समाचारले भन्दा केही खोजेर गरिने स्टोरीले नै पत्रकारलाई आत्मसन्तुष्टि दिन्छ। यसले नै उसको करिअरको मापन पनि गर्छ।

रिपोर्टरमा जोश मर्यो, सम्पादकले जोखिम नउठाउने भए
सम्पादक जो पहिला आफैं रिपोर्टिङमा संलग्न थिए- उनीहरुलाई थाहा रिपोर्टिङ गर्दा रिपोर्टरलाई कहाँनेर दुख्छ, बिझाउँछ। त्यसैले म कुन स्टोरी गर्ने भनेर योजना बनाउँदा नै यो रिर्पोटमा कहाँनेर रिर्पोटरले सबैभन्दा असहज अवस्था भोग्नुपर्छ भन्ने अनुमान गर्न सक्छु। त्यसलाई कसरी फकाउन सकिन्छ भनेर संवाददातालाई बताउन सक्छु। 

अहिले नेपाली पत्रकारितामा खोज्ने, अनुसन्धान गर्ने र स्टोरी लेख्ने जोश भएका थोरै मात्रै संवाददाता छन्। पत्रकारिता भनेको ८ घण्टा काम गर्ने जागिर मात्र होइन। पत्रकारिता जागिरसँगै त्यो भन्दा अलि धेरै कुरा हो भनेर बुझाउन सकेनौं भने राम्रो स्टोरी उत्पादन गर्न सकिँदैन। 

हामी समाचार कक्षमा छलफल गर्दा भन्ने गर्छौं, पत्रकारिता गर्ने भूत सवार भएन भने मुलुक हल्लाउने स्टोरी गर्न सकिँदैन। पत्रकारमा पत्रकारिताको ‘भूत’ सवार हुनुपर्छ। म गर्छु भनेर आँट्नुपर्छ। 

तर, पछिल्लो समय, रिपोर्टरमा अल्छीपना, जोश कम र जागिरे सोचाइ बढी हुँदै गएको देखिन्छ। बजारले बढी नै निर्देशित गरेको छ पत्रकारितालाई। लाभ-हानिको मनोविज्ञानमा रिपोर्टरहरु अल्मलिएका छन्। हिजो पत्रकारिता एक प्रकारको आन्दोलन थियो भने आज बजारले व्यवसायमा धकेल्दैछ। 

कमजोरी रिपोर्टरको मात्रै होइन, सम्पादकको पनि छ। हामी धेरै सम्पादकलाई नै ‘रिपोर्टरले जोखिमपूर्ण काम गरेर सत्ता, शक्ति र त्यस वरिपरिका मानिसलाई ‘एक्सपोज’ गर्ने समाचार ल्याएर अनावश्यक समस्यामा नपारिदिए हुन्थ्यो’ भन्ने लाग्छ। 

समाचार कक्षले नै गतिलो समाचार खोज्न रुचि देखाएन भने रिपोर्टरले मात्रै के गर्न सक्छ र? यसरी समग्रमा रिपोर्टरमा जोश मर्यो, सम्पादक जोखिम नउठाउने भए अनि कसरी हुन्छ खोज पत्रकारिता?

एउटा जोशिलो रिपोर्टरले सामाजिक, राजनीतिक र आर्थिक गडबडीले भरिएको रिपोर्ट लिएर आएको हुन्छ। राजनीतिक गडबडी, सामाजिक गडबडी धान्न नपरे हुन्थ्यो, नियमित समाचार आएकै छन् भन्ने मानसिकतामा सम्पादक रहेपछि के हुन्छ? 

मैले सबै सम्पादक र सबै रिपोर्टरलाई भनेको होइन। जोखिम उठाएर समाचार लेख्ने रिपोर्टर र छाप्ने सम्पादक पनि छन्। तर संख्या थोरै हुँदै गयो। ‘रेगुलर कभरेज’ भएकै छ भन्ने मानसिकता सम्पादकमा भएपछि रिपोर्टरले मात्रै कसरी गरोस् खोज पत्रकारिता?

फेरि हाम्रो पत्रकारितामा मिहिनेत गरेर काम गरेपछि त्यस अनुसारको पारिश्रामिक पाइन्छ भन्ने ग्यारेन्टी पनि छैन। समाचार कक्षमा काम गर्ने र नगर्नेको हैसियत उही छ। पारिश्रामिक समान छ भने स्वभावैले काम गर्नेलाई डिस्करेज गर्छ। 

त्यसबाहेक हाम्रा समाचार कक्षहरुमा यो काम यसरी गर, भन्ने चलन पनि कम छ र स्टोरी गर्नेहरुलाई प्रोत्साहन दिन पनि कञ्जुस्याईं गर्छौं हामीहरु। 

खोज पत्रकारिताको लागि मिडियाले लगानी गरेनन् भनेको सुनिन्छ। तर मैले बुझेसम्म संसारभर नै यस्तोमा मिडियाको लगानी एउटा सीमाभित्र नै हुन्छ। धेरै प्रकाशकका निम्ति खोज पत्रकारिता प्राथामिकतामा पर्दैन। त्यसका लागि अतिरिक्त लगानी, जनशक्ति र आइडियाको स्रोत चाहिन्छ खोज पत्रकारितामा।

अर्को कुरा, यसमा जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले त खोज पत्रकारिताका लागि ‘नन प्रोफिट जर्नालिजम’ को अवधारणा आएको हो।

जुन संवाददाताले आफ्नो नियमित कामबाट समय निकालेर खोज पत्रकारिता गर्छ र देश हल्लाउने स्टोरी गर्छ त्यो उसको पत्रकारिता जीवनको प्रमाणपत्र हो।  

संसारभर विभिन्न संस्थाहरुले खोज पत्रकारिताका लागि सहयोग गरिरहेका हुन्छन्। र, आफूमा भूत सवार भएको पत्रकारले खोज पत्रकारिता गरिरहेका हुन्छन्। 

यसरी काम गर्नेहरुलाई प्रोत्साहन गर्न खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आइसिआइजे) छ। नेपालबाट त्यसको सदस्यमा कुन्द दीक्षित र म छौं। यो संस्थाको पहलमा संसारका ठूला-ठूला स्क्यान्डलहरु सार्वजनिक भएका छन्।

विशेष स्रोतबाट प्राप्त हुन्छन् सूचना
आइसिआइजे संसारभरका १०० भन्दा बढी देशका २८० उत्कृष्ट संवदादाता सदस्य भएको संयन्त्र हो। यसले कुनै पनि स्रोतबाट प्राप्त हुने डकुमेन्टलाई  आफ्ना सदस्य पत्रकार र संस्थामार्फत परीक्षण गर्छ। 

ठूला-ठूला तथ्यहरु सार्वजनिक गर्छ यो संस्थाले। गोप्य सूत्रबाट प्राप्त भएका फाइलहरु यो संस्थामा आवद्ध देशका पत्रकारलाई प्राप्त हुन्छ र त्यसको अनुसन्धान हुन्छ। 

यही संस्थाले तीन वर्षअघि नेपालमा नेपालिक्स सार्वजनिक गरेको थियो। त्यसबेला तीन हजार फाइलमाथि अनुसन्धान गरिएको थियो। ५२ जना नेपालीको विदेशमा सम्पत्ति छ भनेर प्रमाण सहित सार्वजनिक भएको थियो।

यस्तै ‘फिनसेन फाइल’ अमेरिकी बैंकहरुले प्राप्त गरेको शंकास्पद वित्तीय कारोबारको सूचना थियो। हाम्रा देशका बैंक र वित्तीय संस्थाहरुमार्फत कारोबार भएका शंकास्पद कामहरु सार्वजनिक भए। ८/९ महिना लागेको थियो यो अनुसन्धान गर्न। गैरकानुनी रकम ओसार-पसारमा नेपाली बैंकको संलग्नताबारेको  समाचार हो यो।

भर्खरै आएको प्यान्डोरा पेपर्स खासगरी नेपालमा प्रतिष्ठित व्यवसायीको आवरणमा  गैरकानुनी रुपमा रकम बाहिर लैजाने धन्दाको पर्दाफास हो। जुन मुलुकमा कर प्रणाली पारदर्शी छैन त्यस्तो मुलुकमा पैसा लैजाने र पछि त्यही कालो धनलाई प्रत्यक्ष विदेशी लगानी भनेर नेपाल ल्याउने धन्दा हो यो।

नेपालबाट गैरकानुनी आर्जन गरेको रकम विदेशमा लुकाइछिपाइ विभिन्न कम्पनी खोलेर राख्ने काममा नेपालका को–को छन् भन्ने यसले देखायो। यतिसम्म कि तराईका उखु किसानको रकम बिचौलियाले ट्याक्स हेभन मुलुकमा पुर्याउने काम गरेको समेत यसबाट देखिन्छ।

धेरै पत्रकारलाई यस्तो रिपोर्टिङ कसरी गरिन्छ भन्ने थाहा छैन। आइसिआइजेले गोप्य रुपमा उपलब्ध गराएका फाइलहरु नेपाली संवाददाता सहितको टिमले अनुसन्धान गर्छ र त्यसको नेपाल नाता केलाउँछ। अनि मात्र त्यो स्टोरी बन्छ। अहिलेसम्मका स्टोरीहरु यसरी नै बनेका हुन्।

हामीले फिनसेन फाइलमार्फत बैंकबाट कसरी मुद्रा निर्मलीकरण गरिन्छ भनेर सार्वजनिक गर्यौं। बैंकहरुले यो मामिलामा आफ्नो कुनै भूमिका छैन भनेर प्रतिवाद गरे। हाम्रो प्रश्न के छ भने, जुन-जुन बैंकले कारोबार गरेका हुन् ती मामिलामा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हो। त्यो कानुनी प्रक्रिया किन पूरा गरेनन् उनीहरुले?

आफूले कालो धन ओसार-पसार गर्ने काम गरेको छैन भन्नेमा बैंकका आफ्ना तर्कहरु थिए। तर हाम्रा स्टोरीहरुमा डकुमेन्ट बोल्छन्। हामी जसलाई आरोप लगाएका छौं, सकेसम्म उनीहरुको प्रतिवादलाई पनि समाचारमा स्थान दिन्छौं। त्यसो हुँदा समाचार एकपक्षीय हुँदैनन्। समाचारमा गल्ती भएको पाइयो भने सच्चाउँछौं।

बजारले थिचिए हाम्रा मिडिया
हाम्रो पत्रकारितामा खोजमुलक स्टोरी बाहिर ल्याउनुपर्छ भन्ने प्रतिबद्धता कमजोर छ। मिडिया बजारले यसरी थिचिएका छन् कि कुनै समाचार दिन बजारले के भन्छ भनेर पटक-पटक सोच्नुपर्ने अवस्था छ।  

प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता केपी शर्मा ओली, नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र रवीन्द्र मिश्रका गतिविधिप्रति जति सजिलै मिडिया क्रिटिकल हुन सक्छन् तर एउटा व्यापारिक घरानाका मामिलामा त्यति आलोचक हुन तिनले सोच्नै पर्छ। 

कुनै अनलाइनमा एनसेलका विपक्षमा समाचार आउँदैन भन्ने अब तिनका पाठकलाई पनि थाहा हुन थालेको छ। यो कुरा बुद्ध एअर, सर्वोत्तम सिमेन्ट, नबिल बैंकदेखि धारा तोरीको तेलसम्म लागू हुन्छ। देउवाको बलियो आलोचना गर्नसक्ने सम्पादक सर्वोत्तम सिमेन्टमाथि लेख्न हच्किन्छ।

मेरो बुझाइमा चाहिँ यसमा सम्पादकहरु चाहिनेभन्दा बढी ‘सचेत’ भएका हुन्। आलोचनात्मक समाचारले कुनै सञ्चार माध्यमको विज्ञापनमा त्यति असर पर्दैन, जति ठानिन्छ। क्रमशः अभ्यास गर्दै गए मात्रै बजारमा आलोचना सहने आदत बस्छ। र, मिडियालाई पनि देखिने गरी ‘वाच डग’ को भूमिका स्थापित गर्छ। 

समाचारको प्रभाव यसरी कमजोर हुन्छ
हाम्रोमा विधिको शासन प्रभावकारी छैन। अथवा व्यक्ति र संस्थापिच्छे जवाफदेहिताको मापदण्ड फरक हुन्छ। त्यसैले जस्तासुकै प्रमाण सहितका समाचार प्रकाशित भए पनि प्रभाव कम पर्छ। हामीले भोग्नुपरेको पीडा यही हो। 

प्यान्डोरा पेपर्सकै कुरा गरौं, यो पर्दाफासपछि १४ वटा देशले अनुसन्धान सुरु गरिसके। हाम्रोमा सत्ताले यो विषय बिर्सिसक्यो। प्रतिपक्षी दलहरुले पनि आफ्नो राजनीतिक फाइदाको लागि बाहेक यस्ता इस्युहरु उठाउँदैनन्।

तर, यसो भन्दैमा पत्रकार विचलित हुनु हुँदैन। मुलुकको सुशासनको तस्बिर राखिदिने हो हामीले। आजको दिनमा नभए पनि भोलि यस मामिलामा अनुसन्धान हुनसक्छ। अन्तर्राष्ट्रिय निकायले अनुसन्धान गर्नसक्छ। 

सार्वजनिक अभिलेखमा बसेपछि त्यसको लामो समयसम्म प्रभाव रहन्छ। तर सत्य हो, हाम्रो जस्तो मुलुकमा तत्काल प्रभाव पर्दैन।

म के दोहोर्याउन चाहन्छु भने पत्रकारको काम कुनै कर्तुतलाई सार्वजनिक अभिलेखबद्ध गरिदिने हो, तत्काल परिणाम आएन भनेर निराश हुने होइन। किनकी, हामी त्यसलाई पर्दाफास गर्न मात्रै सक्छौं, बाँकी काम त राज्यका अंगहरुको हो। 

चौथो अंगका पुराना श्रृंखला

आइसिआइजेका सदस्य, खोज पत्रकारिता केन्द्रका पूर्वसम्पादक एवं अनलाइनखबरका प्रधानसम्पादक गाउँलेसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

 

कात्तिक २, २०७८ मंगलबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।