ब्याच नम्बर ६९ : अष्ट्रेलियाका रविन्सन भनेको त न्युजिल्याण्डका हेरोइन तस्कर स्टेभन पो रहेछन्

ब्याच नम्बर ६९ : अष्ट्रेलियाका रविन्सन भनेको त न्युजिल्याण्डका हेरोइन तस्कर स्टेभन पो रहेछन्

रविन्सन हेरोइनमा कसरी पक्राउ परेका थिए र एक जना चालकको प्रभावमा परेर सर्वोच्च अदालतका दुई न्यायाधीशले कति कमजोर आधारमा टेकेर चलखेल गरेर उनलाई सफाइ दिए भन्ने विषय यसभन्दा अगाडिका २ भागमा उल्लेख गरेको थिएँ।

न्यायमूर्ति मानिने सर्वोच्च अदालतका न्यायाधीश एउटा सामान्य चालकको प्रभावमा परेर यति गम्भीर मुद्दामा चलखेल गर्न राजी हुनु आफैंमा दुखद पक्ष हो। तर यसमा सकारात्मक पक्ष के भने, उनीहरुले गरेको बदमासी र राजीनामा दिन बाध्य बनाउने वातावरण पनि सर्वोच्चका न्यायाधीशले नै गरे। यसले संकटमा परेको न्यायालयको साख केही मात्रामा भए पनि जोगाउन भने सक्यो। सबै न्यायाधीश बिक्रीमा हुँदैनन् भन्ने स्थापित भयो उनीहरुको राजीनामाले।

यो मुद्दाको अर्को रोचक पाटो पनि छ, जुन निकै पछि पुष्टि भयो। आज त्यही लेख्दैछु।

०००
पक्राउ पर्दाको समयमा पहिचान खुलाउने कानुनी कागजपत्र अनुसार उनको नाम गोर्डन विलियम रविन्सन नै थियो। पासपोर्ट हो नि पहिचान गर्ने मुख्य आधार। पासपोर्टमा उनको नाम त्यही थियो। अनि देश अष्ट्रेलिया।

पक्राउ गरेर अनुसन्धान गर्दा र अदालतमा मुद्दा पुग्दा उनको परिचय यही नै रह्यो 'गोर्डन विलियम रविन्सन'। चलखेलमा रिहा भएका पनि यही नाम गरेका व्यक्ति थिए।

रविन्सनलाई नेपालबाट भारत भगाइयो। उनको नेटवर्क भारतमा पनि थियो। उनलाई छुटाउन कानुनी सहयोग गर्न भारतबाटै वकिल आएका थिए। पाकिस्तानमा पनि उनको नेटवर्क देखिएको थियो।

उनको स्थायी बसोबास इन्डोनेसियाको बाली रहेछ। ठेगाना खुल्यो, केपरलवान रोगो जाम्पी व्यानयुवङ्गाई इष्ट जाभा इण्डोनेसिया। उनले इन्डोनेसियन महिलासँग विवाह गरेर त्यतै बसेका थिए।

नेपालबाट भागेर भारत पुगेका उनी सिधै बाली गएर बस्न थालेकोसम्म सूचना आइसकेको थियो। यता नेपालमा उनको केस उल्टिएर जेल सजाय सदर भए पनि इन्डोनेसियाबाट नेपाल ल्याउने विकल्प थिएन हामीसँग। यसका लागि इन्डोनेसिया र नेपालबीच सुपुर्दगी सन्धी भएको हुनुपर्थ्यो, त्यो भएन थिएन। अहिले पनि छैन।

जसरी चार्ल्स शोभराज नेपाल आएका थिए नि, त्यसरी नै उनी नेपाल आए मात्र पक्राउ गरेर जेल पठाउनसक्ने हैसियत थियो हाम्रो देशको। बालीमा रहेको सूचना आएपछि हामी उसको पछि लाग्न छाड्यौं।

०००
म लागुऔषध इकाइमै थिएँ। ठ्याक्कै कसले सूचना ल्याएको थियो, त्यो बिर्सिएँ। एक दिन 'रविन्सन त मर्यो रे' भन्ने खबर आयो।

यो सूचना आएपछि अष्ट्रेलियन प्रहरीसँग बुझ्यौं। हो रहेछ। उसको मृत्युको पुष्टि मात्र भएन, जसलाई रविन्सन भनिरहेका थियौं ती व्यक्ति रविन्सन रहेनछन् भन्ने पनि पुष्टि भएछ।

यो त गजबको कुरा आयो।

इन्डोनेसियामा मृत्यु भएका व्यक्तिसँग अष्ट्रेलियाको पासपोर्ट भएकाले इन्डोनेसियाली सरकारले अष्ट्रेलियामा जानकारी गरायो नाम र ठेगाना सहित।

'१२ मुर्रे सेन्ट मोसमन्ट पार्क पर्थ– ६०.१२ वेस्टर्न अष्ट्रेलिया घर भई हाल केपरलवान रोगो जाम्पी व्यानयुवङ्गाई इष्ट जाभा इण्डोनेसिया बस्ने गोर्डन विलियम रविन्सन।'

यही थियो उसको परिचय।

इन्डोनेसियन प्रहरीले फिङगरप्रिन्ट लगायतका रेकर्ड पठाएको रहेछ। ती विवरण रविन्सनबारे भएको रेकर्डसँग दाँजेर हेर्दा त मिलेन।

त्यसपछि उनीहरुले डेन्टल रेकर्ड मगाएछन्। त्यो पनि मिलेन। रेकर्ड खोज्दै जाँदा त रविन्सन नाम गरेका व्यक्तिको पहिल्यै मृत्यु भएको पुष्टि भयो। अब बालीमा जो मरे उनी को त?

हाम्रोमा भएको भए त के चासो हुन्थ्यो र! नेपाली हैन भनेर पठाउँथे होलान्। तर उता यस्तो हुन्न। मृत्यु भएका नागरिक को हो भन्ने रेकर्ड महत्वपूर्ण हो नि।

अष्ट्रेलियामा रहेको डेन्टल रेकर्डहरु हेर्दा कसैसँग पनि म्याच नभएपछि कतै छिमेकी देशका पो हुन् कि भनेर अष्ट्रेलियन प्रहरीले सबै रेकर्डहरु छिमेकी देशहरुमा पठाएछन्। डेन्टल रेकर्ड मिल्यो न्युजिल्यान्डमा। ती रविन्सन नभई न्युजिल्याण्डका कुख्यात हेरोइन तस्कर स्टेभन जेम्स माइल्स रहेको पुष्टि भयो।

उनी नेपालमा पनि पक्राउ परेको सूचना पाएपछि न्युजिल्याण्डको प्रहरीले इकाइमा सम्पर्क गरेर यहाँ रहेको विवरण मागेका थिए। हामीले पठाइदियौं। सँगै जानकारी पनि माग्यौं।

स्टेभन जेम्स माइल्सले न्युजिल्याण्डमा हेरोइनको बाढी ल्याएपछि न्युजिल्याण्ड प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेर खोज्न थालेपछि ऊ भागेर अष्ट्रेलिया आएको रहेछ।

अवैध रुपमा अष्ट्रेलिया आएपछि उसले आफ्नो सक्कली परिचय त्याग्यो। अब अष्ट्रेलियामा पनि अपराध गर्ने अनि सेटिङ मिलाउनेहरु त हुन्छन् नै।

अष्ट्रेलिया आएपछि उसले मृत्यु भइसकेका व्यक्तिको परिचय चोरेर रविन्सन भएका रहेछन्।

न्युजिल्याण्डमा जेम्स फेला नपरेपछि यताउता खोज्यो प्रहरीले। कतै नदेखेपछि फाइल त्यत्तिकै थन्किएको रहेछ। अष्ट्रेलियाले र्‌यान्डम्ली अन्य देशमा भेरिफाइ गर्ने क्रममा न्युजिल्यान्डको हेरोइन तस्कर अष्ट्रेलिया आएर रविन्सन भएको पुष्टि भएको थियो।

रविन्सनको बारेमा बुझ्दा हामीले उसले किन आफैं हेरोइन बोकेर जान खोजेका थिए भन्ने बुझ्न सकेका थिएनौं। अनि उनी पक्राउपछि उनी यति ठूलो हेरोइन तस्कर समूहका नाइके भएको त अनुमान नै गरेका थिएनौं नि।

मुद्दा प्रक्रिया सुरु भएपछि जब विदेशबाट पैसा आउन थाल्यो अनि वकिलहरु आउन थाले। त्यो बेला यो ठूलै मान्छे पो रहेछ कि भन्ने लागेको थियो। तर प्रभावशाली व्यक्ति हो भने भरिया नलगाएर किन आफैं हेरोइन बोक्यो? नेपालमा पक्राउ पर्दिनँ भन्नेमा ढुक्क थियो या अन्य कुनै कारण यो प्रश्नको उत्तर भने पाउन सकिएन।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

९ भदौ, २०७८, २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।