ब्याच नम्बर ६९ : चरेस बोकेको छ भन्ने जान्दाजान्दै पनि धेरैलाई छाडियो

ब्याच नम्बर ६९ : चरेस बोकेको छ भन्ने जान्दाजान्दै पनि धेरैलाई छाडियो

त्यसैले, यो अंकमा चाहिँ अपराधको सामान्य अनुसन्धान र विशेष अनुसन्धानबारे कुरा गर्न मन लाग्यो।

यस अगाडि रविन्सन केसबारे लेख्छु भनेको थिएँ। त्यो अर्को साताबाट है त। अब अनुसन्धानबारे नै कुरा गरौँ।

OOO
३३ किलो सुन तस्करीको अनुसन्धानबारे त धेरैलाई थाहै होला। तस्करी भएर नेपाल भित्रिएको सुन बीच बाटोबाटै हराउँदा तस्करीमा संलग्न समूहका सदस्यबीचको शंकाले यो केस प्रहरीसम्म आइपुगेको थियो। अनि प्रहरीमा प्रारम्भमा आउँदा अपहरणको रुपमा आएको थियो।

अपहरणमा परेका सनम शाक्यसम्म पुग्न खोज्दा बीचैमा उसको हत्या भयो। पछि यो केस सुन तस्करीसँग जोडियो। सरकारले उच्चस्तरीय समिति नै गठन गरेर अनुसन्धान गर्दा सुन तस्करीमा संलग्न ठूलो समूह त पक्राउ पर्यो नै यो केसको अनुसन्धान गरिररहेका प्रहरी अधिकृतहरु पनि अपराधमा संलग्न भनेर पक्राउ मात्र परेनन्। केही समय जेलमैं बसे।

अनुसन्धानमा संलग्न अधिकांश प्रहरीहरु अहिले धरौटीमा छुटेर प्रहरी सेवामा जोडिइसकेका छन्। प्रहरी संगठनमा त जोडिए। तर अब उनीहरु कोभर्ट अर्थात् आफ्नै पहिचान लुकाएर गरिने अनुसन्धान या स्टिङ अप्रेसन या ठूलो प्रकृतिको संगठित अपराधको अनुसन्धानमा संलग्न होलान् जस्तो लाग्दैन मलाई। किनकी, अनुसन्धान गरेकै आधारमा उनीहरुमाथि जुन प्रकृतिको अपराधको चार्ज लाग्यो नि अब उनीहरु व्यक्तिगत चुनौती लिन तयार हुन्छन् भन्ने लाग्दैन।

यो मुद्दा अहिले पनि अदालतमा भएकाले योभन्दा धेरै टिप्पणी नगरौं। आज मैले जे विषयमा लेख्न खोजेको हो, त्यसको प्रकृति ३३ किलो सुनको अनुसन्धानसँग केही मिल्दोजुल्दो भएकाले छोटकरीमा उल्लेख मात्र गरेको हुँ। अब अर्को केसमै जाउँ।

OOO
एक जना व्यक्ति चरेस बोकेर दिल्ली जाँदैछ भन्ने सूचनाको आधारमा विमानस्थलमा रहेको टोलीलाई सजग गरायौँ। त्यो बेलामा इकाइबाट ठाकुर ज्ञवाली हुनुहुन्थ्यो विमानस्थलमा। उपत्यका हेर्ने जिम्मेवारी दिवस उदासको थियो।

सुटकेसको एक्स-रे गर्दा चरेस देखिँदैन। तर सुटकेसमा पाँच किलो चरेस राखेको पक्का थियो। एक्स-रेलाई छल्न कार्बन पेपरले मोरेर चरेस राख्दा एक्स-रेमा देखिँदैन पनि भन्छन् केहीले। तर त्यो हैन। चरेस राख्दा बीचबीचमा भाँचिएका त हुन्छन्। केही न केही संकेत देखिन्छ एक्स-रेमा। तर त्यो सुटकेसको एक्स-रे गर्दा चरेस रहेको केही पनि देखाएन।

पक्कै चरेस लुकाउन कुनै नयाँ विधि अपनाएको पक्का भयो। त्यसलाई पक्राउ नगरी जहाँ जाने हो जान देऊ भनेँ।

ऊ काठमाडौँबाट दिल्ली जाँदै थियो। दिल्लीको प्रहरीलाई उसको डिटेल टिपायौँ अनि एक्स-रे मात्र गर्ने तर पक्राउ नगर्ने भन्यौं, दिल्लीमा भएको अमेरिकी प्रहरीलाई।

प्राय: लागुऔषधको अनुसन्धानमा अमेरिकी प्रहरी जोडिन्छन्। यसको कारण विश्वभर फैलिएको उनीहरुको सञ्जाल हो। अर्को कारण उनीहरु निकै सहयोगी हुन्छन् यस्ता अनुसन्धानका केसमा। अनि उनीहरुलाई अनुसन्धानको उद्देश्य बताउँदा बुझी पनि हाल्छन्।

अमेरिकी प्रहरीलाई भनेलगत्तै उनीहरुको टिम दिल्लीको एयरपोर्टमा पुगिहाल्यो। त्यहाँ २ वटा टिम परिचालन भएका थिए। पहिलो काठमाडौँबाट जो चरेस बोकेर गएको छ उसको गतिविधि, उसले भेट्न सक्नेहरुको निगरानी राख्न। अर्को चाहिँ एक्स-रे गर्ने ठाउँमा सघाउन।

उसको सुटकेसको एक्स-रे भयो। त्यहाँ पनि चरेस देखिएन। भित्र केही छैनझैँ कालो मात्र देखियो। उनीहरुले 'केही छैन त' भने। हामीले यताबाट चरेस छ, उसलाई केही नगर जान देऊ भन्यौँ।

उता निगरानी गर्ने समूह खटिएकै थियो। ऊ त्यहाँबाट नेदरल्याण्ड जाँदै थियो। उताको प्रहरीलाई खबर गर्यौं।

दिल्ली एयरपोर्टमा पुगेर उसले नेपालमा किनेको टिकट च्यातेर फ्याक्यौं। त्यहीं अर्को नयाँ टिकट किन्यो। उसले नेपालबाट आएको ट्राभल्स हिस्ट्री मेटायो।

नेदरल्याण्ड पुग्यो। उसको अन्तिम गन्तव्य त्यहीं थियो। विमानस्थलबाट निस्किएर गएपछि त्यहींका प्रहरीले फलो गरेर पछि पक्राउ गरे। पक्राउ परेपछि उसको सुटकेस खोलियो। सूचना सत्य थियो। कतैको एक्स-रे मेसिनले पत्ता नलगाए पनि सुटकेसमा चरेस फेला पर्यो।

चरेस बेर्न उसले एक्स-रे प्लेट प्रयोग गरेको रहेछ। स्वास्थ्यको एक्स-रे गर्दा प्रयोग हुने प्लेटले चरेस बेर्यो भने कालो मात्र देखिने, चरेसै नदेखिने रहेछ भन्ने नयाँ जानकारी खुल्यो। अनि नेपालमा उत्पादित चरेस कसरी दिल्ली हुँदै नेदरल्याण्ड पुग्छ र त्यहाँ कुन समूह संलग्न छन् भन्ने सबै खुल्यो।

यदि उसलाई नेपालमै समातेको भए समूहका सबै पक्राउ हुँदैनथे।

OOO
जापानमा नेपाली चरेसको तस्करी बढेपछि नेपालबाट जापान जानेमाथि उता टाइट भयो। तर चरेस तस्करी रोकिएन। संयुक्त अप्रेसन गर्ने रणनीति बन्यो। चरेस लिएर नेपालबाट जापान हिँडेको एक व्यक्तिमाथि यस्तै अप्रेसन मोडल अपनायौं। ऊ सिंगापुरबाट नेपाल आएर युरोप जाँदै थियो।

हामीले निगरानी राख्दै गएपछि जापानको विमानस्थलमा टाइट गरे पनि कसरी चरेस भित्रिइरहेको छ भन्ने खुल्यो। ऊ नेपालबाट दिल्ली हुँदै युरोप पुग्यो। ऊ त्यही देशमै गयो। तर उसले बोकेको चरेस जापान पुग्यो।

नेपालबाट सिधै जापान जाँदा कडा चेकजाँच हुन थालेपछि तस्करीमा संलग्न समूहले नयाँ आइडिया अपनाएको खुल्यो। अधिकांश सिंगापुरका नागरिक नेपाल आउने। नेपालबाट सिधै जापान नजाने यताबाट चरेस बोकेर जाने अर्को ठ्याक्कै ट्रान्जिटमा भेट हुनेगरी समय मिलाउने। यताबाट चरेस बोकेर गएको र उताबाट जापान जान आएका युरोपियन नागरिक ट्याक्क ट्रान्जिटमा भेट्ने। यता नेपालबाट लगेको चरेस बोकेर ऊ जापान जाने। यताबाट गएको रित्तो हात अन्तै जाने।

जापानको विमानस्थलमा हेर्दा अब युरोपबाट आएको यात्रु हुन्छ। ऊ नेपालबाट आएको भए पो चरेस छ की भनेर कडाइ गर्नु। सिधै युरोपबाट आएको रहेछ भनेर छाड्दा चरेस पनि छाडिने। यो समूहको आइडिया खुलेपछि धेरै समूह पक्राउ परे जापानमा।

OOO
प्रहरी अनुसन्धान २ प्रकारको हुन्छ। एउटा जो भेटियो पक्राउ गरिहाल्ने। अर्को संगठित प्रकारको अपराधको अनुसन्धानमा व्यक्ति पक्राउ मात्रभन्दा पनि जालो पहिचान गरेर जालो नै भत्काउने उद्देश्यले गर्ने कारबाही।

माथि उल्लेख गरिएको अप्रेसनको लक्ष्य चरेस बोकेर जाने नेपाली पक्राउ गर्ने मात्र थिएन। चरेस उत्पादन हुने देश, नेपालबाट चरेस मगाउने देश, नेदरल्याण्डसम्मको सिन्डिकेट र त्यसबीचमा ट्रान्जिट बन्नसक्ने देशमा उनीहरुको नेक्सस सबै पहिल्याएर जालो नै भत्काउने थियो।

त्यसैले जो काठमाडौँ विमानस्थलबाट चरेस बोकेर जाँदै थियो, उसको सुटकेसमा चरेस छ भन्ने थाहा पाउँदापाउँदै पनि हामीले पक्राउ गरेनौँ। ऊ नेपालमै पक्राउ परेको भए नेदरल्याण्डमा रहेको समूह जसले नेपालबाट चरेस मगाउँछ, त्यो त फेला नै पर्दैनथ्यो।

चरेस बोक्ने त भरिया नै हो। एउटा समाते अर्को भरिया प्रयोग गरेर उनीहरुले चरेस त मगाइहाल्छन्। समूह नै भत्काएपछि पनि एउटा समूह नै नष्ट भयो नि।

यो चाहिँ संगठित अपराधको जालो भत्काउन अपनाइने प्रहरी अप्रेसनको मोडल हो। तर यस्तो अप्रेसनमा रिक्स टन्नै छ। अझ नेपालमा हुने जोखिमको कुरै नगरौं। अन्य देशमा यस्तो खालको प्रहरी अप्रेसन गर्दा हुनसक्ने भुलचुक या जोखिम हेरेर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको सुरक्षा गर्ने कानुन हुन्छ। नेपालमा छैन। जति यस्ता अप्रेसन भए ती सबै व्यक्तिगत जोखिमममा हो।

यही अप्रेसनमा यदि हामीले चरेस सुटकेसमा बोकेर हिँडेको व्यक्तिबारे जानकारी हुँदाहुँदै पक्राउ नगरेर छाड्यो भन्ने सूचना बाहिरिएको भए 'हेमन्त मल्ल त चरेस तस्करलाई छाड्दो रहेछ' भन्थे होलान्। अनि मबारे अनुसन्धान गर्न कुनै कमिटी बन्थ्यो। चरेस छ भनेर जानाजान छाडेको त हो। छाड्नुको कारण अर्कै थियो। अब त्यो समितिलाई कारणबारे कुनै चासो नहुन पनि सक्छ। मल्लले छाडेको हो/हैन सत्य-तथ्य बुझ्नु भनेर कार्यक्षेत्र तोकियो भने उसले हेर्ने चरेस थियो कि थिएन? जानकारी थियो कि थिएन अनि पक्राउ नगरी जान दिएको हो हैन भन्ने मात्र हेर्ने त हो।

तीनै कुरा हो भन्ने आउँछ। अनि म दोषी भइनँ त?
त्यो अप्रेसनको उद्देश्य चरेस तस्कर छाड्ने हैन, अन्तर्राष्ट्रिय समूह नै ध्वस्त गर्ने हो भनेर बुझ्ने कसले?

धन्न यो केसमा त कमसेकम चरेस त फेला पर्यो नि। केही केसहरु यस्ता पनि छन् जहाँ चरेसै गायब भएका छन् बीचमै। काठमाडौँमा १० किलो चरेस बोकेर हिँडेकोलाई पच्छ्याउँदै जाँदा लक्षित देशमा पुग्दा जम्मा ६ किलो चरेस मात्र फेला परेको घटना पनि छ।

त्यस्ता अप्रेसनमा चरेस बाटोमै हराए पनि विभिन्न देशका तस्कर समूह पक्राउ परेकाले अन्तर्राष्ट्रिय एजेन्सीहरुले निकै प्रशंसा गरेका छन्। कसैले पनि चार किलो बेचेर खायो प्रहरीले भनेनन्।

नेपालमा भएको भए के भन्थे होलान्! सम्झँदै सिरिङ्ग भइन्छ।

OOO
केही अपराधको प्रकृति यस्ता हुन्छन् की त्यसमा प्रहरी आफैं अपराधीझैँ नबनी सञ्जाल भत्काउनै सकिँदैन। अन्डरकभरमा बसेर अनुसन्धान गर्ने विधिमा त यो अनिवार्य नै हो।

अन्डरकभरमा काम गर्दा कहिले अपराधी जस्तै बन्ने हो। कहिलेकाँही कारोबारीझैँ पनि बन्नुपर्छ। अब त्यही संवादलाई प्रमाण मानेर प्रहरीलाई चरेस कारोबारी भनेर मुद्दा चलाउने हो भने कसले काम गर्छ अन्डरकभरमा?

त्यो बेलाको कति स्टिङ अप्रेसनमा भएका कुरा सुन्यो भने सिधै जेल हाल्छन्। कतिपय केसमा प्रहरीले पैसा खाने कुरा गर्ला, मैले हाकिम मिलाउँछु भन्लान्, परिआए कसैलाई ठोक्दिन्छु भन्लान्।

अब अपाराधीको मन जित्न, नजिक बनाउन फिल्डमा खटिएकोले जे पनि भन्न सक्छ। तर किन भन्यो भनेर हो नि हेर्ने। पूरै प्रहरी नै बनेर यो पनि हुन्न। त्यो पनि सक्दिनँ भन्यो भने कसरी पत्याउँछन् अपराधीले? कतिपय केसमा समूह नै पक्राउ गर्न प्रहरी नै त्यो समूहमा सदस्य भएर काम गरिरहेको हुन्छ।

फिल्डमा हुनेले के कुरा गरिरहेको छ, कतिपय कुरा माथिल्लो तहकालाई थाहा नहुन पनि सक्छ। तर फिल्डमा खटिएकालाई त विश्वास गर्नुपर्यो। जिम्मेवारी लिन सक्नुपर्छ। विश्वास नगरे अनि उसले गरेको काममा कुनै भुलचुक हुँदा जिम्मेवारी नलिए हाकिमले आदेश दियो भनेकै आधारमा कसले जोखिम मोल्छ? प्रहरीको कतिपय अप्रेसनमा के गर्यो भन्नेको महत्व हुँदैन। किन गर्यो भन्ने हेर्ने हो। नियत असल हो/हैन? हेर्ने यही हो।

विदेशतिर संगठित अपराधमा धेरै अधिकार प्रहरीमा हुन्छ। तर नेपालमा त्यो छैन। अनुसन्धानमा खटिएका प्रहरीले किन त्यस्तो गर्यो भनेर हेर्ने र संरक्षण गर्ने कानुन नहुँदा अन्डरकभर र स्टिङ अप्रेसनबाट उत्पन्न हुनसक्ने जोखिम व्यक्तिगत हुन्छ। सधै संगठन र देशका लागि व्यक्तिले जोखिम मोल्दैन।

कुनैकुनै काम कानुन विपरीत हुनेगरी हुन्छन्। जस्तो माथिकै घटनामा चरेस बोकेर हिँडेको व्यक्ति नपक्रिई छाड्नु त अपराध हो नि। तर त्यसको नियत त सफा थियो। नतिजा पनि आयो।

अपराधको जालो तोड्न कहिलेकाहीँ अपराधी नै बन्नुपर्छ। प्रहरीले बदमासी नै नगर्ने होइनन्। केहीले गर्छन् पनि। जिम्मेवारीको दुरुपयोग गर्ने र जोखिम मोलेर देशका लागि काम गर्नेबीचको काम छुट्याउन के गर्यो हैन, किन गर्यो भनेर हेर्ने र सोही अनुसारको दण्ड या पुरस्कार दिने प्रष्ट कानुन हुनुपर्छ।

नेपालमा लागुऔषधकै कुरा गर्ने हो भने कारोबारी पक्राउ गर्ने मात्रै हैन, आयात र वितरण नियन्त्रणको जिम्मेवारी पनि हो। तर अधिकांश केस हेर्दा विमानस्थलमै पक्राउ गरेका बढी हुन्छन्। अब कोही हेरोइन या अफिस या अन्य केही बोकेर नेपालमा बिक्री गर्न आएको छ र उसलाई विमानस्थलमै पक्राउ गर्यो भने नेपालमा रहेको उसको जालो त खुल्दैन नि।

उसलाई केही नगरी विमानस्थलबाट बाहिर निस्कन दिएर ऊ कहाँ-कहाँ जान्छ, को-कोसँग भेट्छ सबै अनुगमन गर्यो भने ल्याएको ड्रग्स पनि समातिन्छ अनि समूह पनि भत्कन्छ। अर्को समूह बनाउन त समय लाग्छ।

तर, असल नियतले यस्तो गर्दा व्यक्तिगत लान्छना लाग्ने लगायतका जोखिमले गर्दा विमानस्थलमै समात्यो, टन्टै सक्कियो भन्ने मानसिकता बढिरहेको छ। यो राम्रो हैन।

३३ किलो सुन तस्करी अनि निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धानमा खटिएका प्रहरीमाथि जे व्यवहार भयो नि, त्यसपछि गम्भीर प्रकृतिका अपराधको अनुसन्धान त्यति भएका छैनन् नि। यसको कारण त्यसको नकारात्मक परिणाम पनि हो।

यस्ता अप्रेसन घट्नु भनेको आपराधिक संगठन बलियो हुनु हो।

त्यसैले, अब नियत हेरेर परिआए संरक्षण पनि गर्नसक्ने कानुन बनाउने हो या जेसुकै होस् भनेर अहिलेकै अवस्थामा बस्ने त्यो नीति निर्माण गर्ने र नेतृत्वमा रहेकाले बुझ्ने कुरा हो।

तर, अहिले जसरी जोखिम मोल्न नचाहने प्रवृत्ति बढेको छ र अहिले जस्ता खालका अपराध मात्र बाहिर देखिएका छन्। यसले भोलि पहिल्याउनै कठिन हुने खालका अपराध नहोला भन्न सकिन्नँ।

ब्याचका पुराना अंक

क्रमशः

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

२० साउन, २०७८, २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।