ग्राफिक डिजाइनर दिब्याको प्रसव पीडा र खुसी : बेहोसीमै रोएँ, बेहोसीमै हाँसें

ग्राफिक डिजाइनर दिब्याको प्रसव पीडा र खुसी : बेहोसीमै रोएँ, बेहोसीमै हाँसें

दिब्या बज्राचार्य सिनियर ग्राफिक डिजाइनर हुन्। नेपाल भाषाका कविता र लघुकथा लेखनमा पनि सक्रिय दिब्याले अहिले यल किड्स च्यानल अन्तर्गत बच्चाका लागि चित्र सिकाउने र कथा एनिमेसन गरिरहेकी छिन्।

२०५७ सालमा कला सिक्ने क्रममा भेट भएका झम्सिखेलका कृष्णमान सिंहसँग दिब्याको विवाह भयो। यो जोडीको विवाहलगत्तै बच्चा जन्माइहाल्ने प्लान थिएन। तर अचानक गर्भवती भएपछि करिअरको चिन्ताले दिब्यालाई केही समय निकै सतायो।

सुत्केरी हुनुअघि लामो समय अस्पताल बसिन र प्रसवका धेरै अनुभव गरिन् उनले। बच्चा पाउनुअघि धेरै पीडा भोगेकी दिब्यालाई अहिले दुई छोरी देख्दा जीवनका रंगीन खुसीहरु मात्रै छाएको अनुभव हुन्छ।

उनलाई लाग्छ, आमाको सहनशीलता प्रसवका पीडाले निर्धारण गर्ने रहेछ। यति ठूलो पीडा पनि सहन सक्ने आमाहरु साँच्चै महान् छन्। दिब्याले आफ्नो प्रसव पीडा र खुसीलाई उकेरामार्फत यसरी व्यक्त गरिन्ः

२०५७ सालमा झम्सिखेलका कृष्णमान सिंहसँग मेरो प्रेम विवाह भयो। हामी दुवैले ललितकला क्याम्पसबाट बिएफए पास गरेका छौं। विवाह भएको ६ महिनापछि म अचानक बिरामी भएँ। ठूली भाउजु र म कुपण्डोलस्थित डा सुशीला श्रेष्ठको क्लिनिकमा देखाउन गयौं। पिसाब जाँच्दा थाहा भयो, म गर्भवती भएकी रहेछु। यो खबरले भाउजु निकै खुसी हुनुभयो। तर म आफैं भने खुसी हुन सकिनँ।

भर्खरै काम सुरु गर्न थालेकी थिएँ। कस्ता-कस्ता सपना बोकेर योजनाहरु बनाइरहेकी थिएँ। यति छिट्टै बच्चा पाउने मेरो सोच नै थिएन। अब ९ महिनासम्म कहीँ जान नपाउने बन्देज हुने भयो भन्ने चिन्ता लाग्न थालेको थियो। त्यतिबेला मेरो दिमागमा ‘छोराछोरी पाउनु भनेको ४/५ वर्ष खेर जानु हो। आफ्नो पेसा, स्वतन्त्र हिँड्ने चाहनामा बञ्चरो हान्नु जस्तै हो’ आयो।

बाटोभरि भाउजुले मलाई धेरै सल्लाह दिनुभयो, अब ९ महिनासम्म आफूलाई कसरी हेरचाह गर्ने भनेर। मेरो दिमागमा चाहिँ अर्कै कुरा खेलिरहेको थियो। एक शब्द नबोली टाउको मात्र हल्लाएँ। हामी दुवै मेरो माइती घर पुग्यौं। 

भाउजुले मेरो आमालाई सबै कुरा सुनाउनुभयो। तर मेरो निन्याउरो अनुहार देखेर आमाले कुरा मेरो बुझ्नुभयो अनि कडा स्वरमा भन्नुभयो, ‘छोरी, भगवानले चाहेर पनि यस्तो मौका सबैले पाउँदैन। यो बच्चालाई केही गर्यौ भने तिमीलाई पाप लाग्छ।’

आमाका यी शब्द मेरो दिमागमा मात्र होइन, मुटुमै ठोक्कियो। दिमागमा अलिकति बत्ती बल्यो। मनले उज्यालो बाटो भेट्टायो। राति श्रीमान्संग सोधें, ‘के गर्ने, मेरो मनमा कुरा खेलिरहेको छ, भविष्य सम्झेर डर लागिरहेको छ। हामी आफ्नो खुट्टामा उभिएको धेरै भएको छैन। आफ्नो सन्तानलाई सुनौलो भविष्य दिन नसकेर पछुतो हुने पो हो कि?’

उहाँले पनि आमा र भाउजुको कुरालाई स्वीकार गर्नुभयो। उहाँको सन्तान मोह देखेपछि मन हलुका बनाएर सन्तानलाई यो संसार देखाउने निर्णय गरें र राति आरामले सुतें। 

०००
गर्भवती भएको सात महिनासम्म मलाई खासै गाह्रो भएन। अफिस पनि टेम्पोमा जान्थें। कहिलेकाही हिँडेर पनि जान्थें।

माइती जाँदा पनि आमा, भाउजु, दाइहरुले मलाई मनपर्ने खाना खुवाउनुहुन्थ्यो। श्रीमान्, सासु-ससुरा, जेठान-जेठानीको पूर्ण सहयोग थियो। 

त्यसबेला जेठानी र मेरो नै आठौं महिना चलिरहेको थियो। आठ महिना टेकेदेखि मलाई सुत्यो कि श्वास फुलेर सुत्नै गाह्रो हुन थाल्यो। त्किया जति मोटो राखेर सुते पनि ऐंठन हुने। बिहान भएपछि भने केही नहुने।

दुई/तीन हप्ता सहेरै बिताए। अफिसमा बस्दा पनि श्वास फेर्न गाह्रो हुन थाल्यो। हिँड्दा पनि स्वाँ-स्वाँ आउने, हात गोडा पनि सुन्निन थाल्यो। सबैले डाक्टरकहाँ जानसल्लाह दिए। म र श्रीमान् डाक्टरकहाँ गयौं। डाक्टरले बेस्सरी गाली गरे।

डाक्टरले भने, ‘सात महिना हुँदै प्रेसर हाई भइसकेकोले गाह्रो काम नगर्नु, आराम गर्नु भनेर पठाएको थिएँ। किन आराम नगरेको। अब आजै अस्पताल भर्ना होऊ। ब्लड प्रेसर निकै बढेको रहेछ।’

डाक्टरले भनेअनुसार हामी दुवै प्रसूति गृह गयौं। आफू ८ महिनाकी गर्भवती हुँदाहुँदै पनि जेठानीले मलाई खाना पकाएर हस्पिटलमै ल्याइदिनुहुन्थ्यो।

त्यो दिने सबै चेकअपपछि मलाई धेरैथरी औषधि खुवाइयो। श्रीमान् बाहिर निस्कनेवित्तिकै मलाई फेरि बिसन्चो भयो। एकै चोटी धेरै बान्ता भयो। त्यसपछि के भयो मलाई यादै छैन। बिहान होस आउँदा म हस्पिटलकै बेडमा थिएँ। अगाडि श्रीमान् हुनुहुन्थ्यो। 

श्रीमान्ले भन्नुभयो, ‘डाक्टरका अनुसार अब डेलिभरी नभएसम्म अस्पतालमै बस्नु पर्छ रे। प्रेसरले बच्चा बढ्न सकेको छैन रे।’ अब म अस्पताल नै बस्नुपर्ने भयो।

अस्पताल बस्दा मैले धेरै कुरा सिकें, धेरै अनुभव गरें।

०००
अस्पतालमा आफन्त, साथीहरु भेट्न आउँथे। राति मलाई कुर्न मेरा चारै जना भाउजु पालैपालो आउनुहुन्थ्यो। बेडबाटै बागमती खोला बगेको देखिन्थ्यो। म रमाउथेँ। घनघोर वर्षा हुँदा, हुरी आउँदा, टिलिक्क घाम चर्किंदा त्यही झ्यालबाटै नियाल्थें र समय बिताउँथें। 

एनेक्स ‘ए’ थियो वार्डको नाम। एउटा तलामा ४/५ वटा कोठा, एउटा कोठामा चार वटा बेड थिए। एनेक्सभरि नै एउटा-एउटा घतलाग्दा कथा बोकेका महिला थिए।

कोही तीन जना छोरी पाइसकेपछि पनि छोराको आशले ४५ वर्षमा सुत्केरी भएका महिला, त्यो पनि चारै पटक पनि सर्जरी गरेर बच्चा निकाल्दा घाउ निको नभएका। कोही अप्रेसन गर्ने पैसा नभएर पेटमै मरेको बच्चा निकालेर बसेका।

मेरो अगाडि बस्ने एक जना दिदी त तेस्रो पटक छोरी पाउँदा सासु–ससुरा र लोग्नेले हेर्न नआएको भन्दै दिनभरि रोएर बस्थिन्। पहिलो पटक छोरो नै पाउन ज्योतिष ल्याएर अस्पतालमै पूजा गराउने परिवार पनि त्यहीं भेटें।

यस्तैयस्तै घटनाको बीचमा मेरो समस्या भने अर्कै थियो। सबै दिदीबहिनीको समस्या देख्दा त मलाई आफ्नो समस्या सानो लाग्थ्यो। 

राति गार्ड दाइ आउनुहुन्थ्यो- बहिनी अहिलेसम्म यतै? भन्दै हाँसेर जानुहुन्थ्यो। कति गर्भवती प्रवस पीडा सहन नसकेर ३/४ दिन बसेर जान्छन्, कोही सात दिनमा डिस्चार्ज हुन्छन्। नयाँ-नयाँ डाक्टर आउँछन्, मेरो पेट छाम्छन्- बच्चा सानो छ, डेलीभरी समय भएको छैन, बल्ल सात महिना त भयो भन्छन्। अनि म कागज देखाइदिन्थें, अब ९ महिना हुन लाग्यो भनेर। अजीव-अजीवका घटना भए अस्पताल बस्दा। 

०००
त्यस दिन बिहानैदेखि पानी परिरहेको थियो। दिनभरि मनमा एक खालको खुल्दुली भइरहेको थियो। साँझ ७ बजे श्रीमान् आउनुभयो निथ्रुक्कै भिजेर। उहाँ आउने बित्तिक्कै मैले भनें, ‘डाक्टरले दिनुभएको डेलिभरीलाई चाहिने इन्जेक्सन तल रेफ्रिजेरेटरमा राखदिनूस है।’

मेरो कुरा सुनेर श्रीमान झर्कनुभयो। श्रीमान् त रिसाएर घर पो जानुभयो। त्यस रात अगाडिको बिरामीको कुरुवा दिदीसँग पनि मेरो झगडा पर्यो, हामी सुत्ने ठाउँ ओगटेकोले। त्यो रात म राम्ररी सुत्नै सकिनँ। अलिअलि निद्रा लाग्दा पनि के-के सपना देखें। 

सपना देख्दादेख्दै म झसंग बिउँझिएँ। जुरुक्क उठेर शौचालय जान खोज्दा महिनावारी भएको बेलाको जस्तो तातो तरल बग्न थाल्यो। पानी बगेको जस्तो छ, छिट्टै डाक्टर बोलाउँछु भनेर भाउजु बाहिर जानुभयो। मुटु ढुकढुक भइरहेकै थियो। डाक्टरले भने, अब बिहानै सर्जरी गर्नुपर्छ, बच्चालाई पेटमा पानी पुगेन भने कठिनाइ आउन सक्छ।

व्यथा लाग्दा राख्ने कोठामा त झनै सकस हुने रहेछ। दिदी-बहीनीहरु ऐया र आत्था मात्र गरिरहेका। नर्सहरुले ठूलो स्वरमा चिच्याउने गर्भवतीलाई नानाथरी गाली समेत गर्दा रहेछन्। औषधि गन्हाएर बस्नै गाह्रो। दिनभरि सर्जरीको प्रतीक्षा गर्दागर्दा बेलुका ७:३० मा बल्ल मेरो पालो आयो।

०००
कठिन अवस्थामा अस्पताल मन्दिर हो भने डाक्टर भगवान। अपरेसन थिएटरमा पुगिसकेपछि डाक्टरले बेहोस हुने इन्जेक्सन दिए। मेरो वरिपरि २/३ जना डाक्टर थिए। इन्जेक्सनले विस्तारै निद्रा लाग्न थाल्यो। तर मैले सबै डाक्टरले कुरा गरेको सुन्न भने सकिरहेकी थिएँ। 

डाक्टरले पेट चिरेको महसुस पनि गरिरहेकी थिएँ। ३/४ पटक नै चिरेको जस्तो भान भयो। त्यसपछि पेटमा बेस्सरी घोलेको जस्तो अनुभव भयो। एक छिनपछि बच्चा निस्कियो भनेर बोलेको पनि सुनें र बच्चा सानो छ भनेको पनि सुनें। साथै बच्चा नरोएको भन्दै डाक्टरले कुरा गरेको पनि सुनें।

म बेहोसीमै धेरै रोएँ। मलाई बच्चा बाँच्ला जस्तै लागेन। त्यसैले बच्चाको सुख दिन सकिनँ भनेर श्रीमानसँग माफी पनि मागें। एकछिनको लागि मैले संसार त्यागें।

केही बेरपछि एकदमै सानो स्वरमा बच्चाको रुवाइको आवाज आयो। म पनि नयाँ जीवन पाएको जस्तो अनुभव गर्दै बेहेसीमै खुसी भएँ। त्यसपछि के भयो याद भएन।

भोलिपल्ट बिउँझिदा म अर्को अँध्यारो चिसो कोठामा पल्टिरहेको थिएँ। छेउमा बच्चा खोजें, पाइनँ। मैले बच्चा खोजेको जस्तो लागेर नर्सले बच्चालाई दुई दिन अर्कै रुममा राखिने जानकारी दिइन्। नर्सले बच्चाको तौल कम भएर मात्रै हो, डराउनु पर्दैन भनेपछि अलि ढुक्क भएँ। 

केही दिनपछि छोरीलाई आफ्नो काखमा राख्न पाउँदा म यति खुसी भएँ कि यो संसारमा छोरी बाहेक केही चाहिँदैन, पूरा जिन्दगी नै यसैलाई समर्पित गर्छु जस्तो लाग्यो। श्रीमानले पनि वार्डमा मिठाइ बाँड्नुभयो। एक जना बहिनीले हाम्रो छेउमा आएर भनिन्, ‘छोरी पाउँदा मिठाइ बाँडेकोमा धन्यवाद। छोरी पाउँदा यसरी मिठाइ बाँड्नेको मन महान हुन्छ, तपार्इंहरुको जोडी देखेर धेरै खुसी लाग्यो। जीवनको गोरेटोमा कहीँ कतै भेटियो भने नबिर्सनुहोला।’

२० दिनको अस्पताल बसाइपछि हाम्रो जीवनमा खुसीले बास गर्यो। 

०००
जेठी छोरीको पालामा जति दुःख-कष्ट भोगें कान्छी छोरीको पालामा भोग्नु परेन। मेरो स्वास्थ्य, बच्चाको तौल पनि राम्रो भयो। समयमै डेलिभरी पनि भयो। आधा मात्र बेहोस पारेकोले सर्जरीमा पनि मैले कुनै कष्ट महसुस गर्नु परेन।

अहिले मेरी कान्छी छोरी १३ वर्ष र जेठी छोरी १९ वर्षका भए। दुवैको स्वास्थ्य राम्रो छ।

हरेक महिलाको आ-आफ्नै प्रसवका पीडा हुने रहेछन्। मेरी आमाले भने जस्तै आमा बन्नु महिलाको लागि सबैभन्दा ठूलो वरदान हो। अहिले म छोरीहरु हेर्दै दंग छु।

यो पनि

२० भदौ, २०७८, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।