उकेरा मन्थन

तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी

नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ।


नाम र दामका लागि जे गर्न पनि राजी हुने 'अचेत' सेलिब्रिटीको त के कुरा गर्नु! त्यसैले 'सचेत' सेलिब्रिटीकै प्रशंगबाट लेख सुरु गरेँ।

जो समाजप्रति सचेत देखिन्छन् ती सेलिब्रिटीहरूसँग नेपालको चलचित्र उद्योगका पाटाहरूबारे चर्चा हुँदा कुनै न कुनै प्रशंगमा अभिनेत्री श्रृषा कार्कीको नाम आइहाल्छ।

सेलिब्रिटी अनि उनीहरूसँग जोडिने समाचारको प्रशंगमा त यो नाम छुट्दै छुट्दैन। भित्री कारण अनेक हुनसक्छन्। देखिएको आत्महत्याको कारण- उनको अर्धनग्न तस्बिर सार्वजनिक हुनु नै थियो।

चलचित्र क्षेत्रमा उदाउँदै गरेकी एक अभिनेत्रीको आत्महत्याले यो क्षेत्रलाई तरंगित बनायो। कलाकारहरू 'श्रृषा कार्कीलाई न्याय दे' भन्दै ब्यानर बोकेर सडकमा उत्रिए। 

घटना आत्महत्या नै थियो। त्योबेला आत्महत्या गर्न बाध्य बनाउँदा हुने कानूनी कारबाहीको पाटो प्रष्ट थिएन। कलाकारहरू एकजुट भएर सडकमा उत्रिएर दबाब दिँदा कारबाही प्रक्रिया अगाडि बढेको थियो। 
खैर परिणाम सुखद् आएन। तर त्यसले पत्रकारिता जगतमा एक प्रकारको शुद्धिकरण भने सुरु गर्योए नै। मनोरञ्जनको नाममा जे सामग्री पनि ग्राह्य हुन्छ भन्ने पत्रकारहरूको मानसिकतामा धक्का दियो त्यसले। 

'ए यस्तो सम्म हुनसक्दो रैछ है' भनेर सचेत गरायो पत्रकारिता जगतलाई।

अर्को प्रशंग।

प्रभावमा पारेर तीन नाबालिगको यौन शोषण गरेको आरोप लाग्यो कलाकार तथा गायक प्रकाश ओझामाथि। उनका गीतहरू हिट थिए। अनि टेलिचलचित्रमा पनि प्रशंसनीय अभिनय गरिरहेका थिए। परिचित कलाकार भइसकेका थिए नै।

कला यात्राको सफल खुट्किलामा पुगेका बेलामा उनले आफूसँगै काम गर्ने कलाकारको यौन शोषण गरेको सार्वजनिक भयो। उनले खिचेका नग्न तस्बिर र भिडियो लिक भयो। 

अभिनेत्री कार्कीको समयमा जस्तो त होइन तै पनि कला क्षेत्र यो घटनामा पनि उद्वेलित भयो। 'प्रकाश ओझा मेरो मुटुमा छन्' भन्ने हिम्मत कुनै कलाकारले गरेनन् त्योबेलामा। फ्यान त उनका पनि थिए। तर कसैले 'वि लभ प्रकाश ओझा' भनेर अपराधको बचाउमा उत्रिएनन्। 

उनलाई १० वर्ष कैद सजाय भयो। कैद सजाय भोगेर सार्वजनिक भएपछि पनि पुरानै पेशामा फर्कने प्रयास नगरेका हैनन् उनले। तर उनलाई समाज र कला क्षेत्रले स्वीकार गरेन। गुमनाम भए।

उनीबाट जो पीडित भएकी थिइन् उनले पछि आत्महत्या गरिन्। ‍ओझाले त अपराध गरेका थिए, त्यसैले समाजबाट अस्वीकृत हुनु सामान्य हो। तर कला क्षेत्रले ती पीडित युवतीलाई पनि स्वीकार गरेन। 

उनले संघर्ष गर्दै गइन्। एकमोडमा जीवनदेखि हार खाँदै आफैँले आफ्नो जीवनको अन्त्य गरिन्।

OOO
चार वर्ष अगाडिको कुरा।

यूट्युवमा भिडियो हेर्दै जाँदा 'द स्टोरी टेलर' भन्ने च्यानलमा टक्क नजर अड्कियो। त्यो भिडियोमा गायिका मीना सिंहले आफ्नो आठ वर्षको उमेरमा भारतदेखि नेपाल फर्किएर गरेको कहालीलाग्दो संघर्ष अनि नेपालको गायन क्षेत्रमा प्रवेश गरेपछि संगीतकारहरूबाट भोगेका यौन दुर्व्यवहारका कथा भनेकी थिइन्। 

त्यो बेलामा विश्वव्यापी रूपमा महिलामाथि हुने यौन दुर्व्यवहार अझ विशेष कला क्षेत्रमा भइरहेका यौन दुर्व्यवहारका घटनाहरू 'मिटु' अभियानका रूपमा सार्वजनिक भइरहेका थिए।

मीनाले भनेकी थिइन्, 'समाजमा सम्मानजनक स्थानमा पुगेका संगीतकारहरू पनि गीत गाउने बहानामा गायिकाहरूको गोप्य अंग नै ताक्ने रहेछन्। मानसिक यातना दिन हिजो स्टुडियोमा फलानो साधन भेटिएको रहेछ। तिमीलाई पो शंका गरेको छ समेत भन्थे। प्रेसर दिन ‘उसले मसँग शारीरिक सम्बन्ध राखिसकेकी छ’ भनेर मेरो बारेमा अफवाह फैलाएका रहेछन्। दिनहुँ यस्ता कुरा सुन्न थालेपछि म डिप्रेसनमै पुगेँ।’

गायिका सिंहको कुराले मन चसक्क भयो।

उनको गीत सुनिरहन्थे। तर उनको संघर्षको पाटोबारे जानकार थिइनँ। मेरो नजरमा उनको स्टोरी पर्दा, एक वर्ष बितिसकेको थियो। तर यूट्युवबाट बाहिर कतै उनको स्टोरीको प्रभाव देखिएन।

उनको त्यो पाटो किन छापामा नल्याउने? नागरिकमा काम गर्ने स्मृति ढुंगानालाई आग्रह गरेँ शुक्रवारका लागि लेख्न। उनी तयार भइन्। छलफलपछि उनको सिङ्गल स्टोरीको योजनालाई बृहत् बनाए शुक्रवारका अनिल यादवले।

उनले नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेका गायिका एन्जिला रेग्मी, प्रविशा अधिकारी, सरु गौतम अनि सुशीला पाठकको तीतो अनुभव समेटे मीनाको स्टोरीसँगै।

एन्जिलाले भनेकी थिइन्, 'उहाँ हार्मोनियमसँगै बस्नुभयो। गीत सुनाउनुभयो। मलाई गाउन भन्नुभयो। त्यतिबेरसम्म ठीकै लागिरहेको थियो। एकछिनपछि हात समातेर आफूतिर तान्नुभयो अनि काखमा बस्न भन्नुभयो। म त ट्वाँ परेँ। बाउसमान मान्छेको नियत मैले बुझिहालेँ।'

प्रविशा अधिकारीको अनुभव यस्तो थियो, 'मैले रेकर्डिङका क्रममा छोएर बोल्न खोज्ने संगीतकारहरू भेटेको छु। हात लाएर बोल्न खोज्छन्। छोएरै बोल्नुपर्छ भन्ने हुन्छ र? मलाई त यस्तो पच्दै–पच्दैन। उसले कुन नियतले छुन खोजिरहेको छ भन्ने कुरा थाहा भइहाल्छ।'

स्टोरी प्रकाशित भएपछि तरंग आयो संगीत क्षेत्रमा। तर त्यो तरंग परिवर्तनसम्म पुग्न सकेन। 

स्टोरीमा यौनदुर्व्यवहार गर्ने संगीतकारलाई सांकेतिक रूपमा बुझाइएको थियो। नाम उल्लेख थिएन। पीडितको नाम उल्लेख थियो। यसमा हाम्रो चुक भयो। लेख्नुपर्ने पीडकको नाम।

संगीत क्षेत्रमा भएको अपराध सार्वजनिक भएपछि त्यसविरुद्ध संगीत क्षेत्रका प्रभावशालीहरू सक्रिय होलान् भनेको त उल्टो 'हाम्रो क्षेत्रको बेइज्जत गरे' भन्दै ती गायिकालाई बहिष्कार अभियान चलाए। 

धन्न त्यसले धेरैको करिअरमा नकारात्मक असर परेन। प्रविशा त अहिलेकी हिट गायिका हुन्। 

स्टेज कार्यक्रमका नाममा कलाकारले भोगेका यौन दुर्व्यवहारबारे दोस्रो समाचार प्रकाशित भयो। तर सुधारको संकेत आएन। बहस भएन। तेस्रो स्टोरी रंगमञ्चमा भइरहेको यौन दुर्व्यवहारबारे प्रकाशित भएपछि त्यो क्षेत्रमा हलचल भने भयो।

संगीत क्षेत्रको समाचार लेख्दा पीडितको पहिचान खुलाएर पीडकको लुकाउँदा उल्टो प्रभाव परेको पाठ सिक्दै रंगमञ्चको समाचारमा पीडकको नाम खुलाएर पीडितको नाम उल्लेख गरेनौँ। तर कानुनी चुनौती आएको हकमा सामना गर्न पर्याप्त प्रमाण भने थिए।

करिब आधा दर्जन यस्तै यौन पिपासुको नाम आएका थिए त्यो बेलामा। तर केही पीडित पछि हट्दा नाटक निर्देशक सुनिल पोखरेल, राजकुमार पुडासैनी अनि राजन खतिवडाबारे मात्रै लेखियो। 

पीडितले 'नाइँ' भन्दा जो-जसको कर्तुत खुलाउन सकिएन ती अहिले आदर्शका गफ दिँदै हिँडेको देख्दा झनन हुन्छ। अब पीडितले नै 'भो' भनेपछि हामीले गर्नसक्ने के नै थियो र!

खतिवडा र पुडासैनी संलग्न संस्थाबाट अलग हुन बाध्य भए। तर नेपाली नाट्य क्षेत्रको लिजेन्ड मानिने सुनिलमाथि नैतिक कारबाही समेत भएन। उल्टो उनलाई नाट्य क्षेत्रले विस्तारै स्वीकार गर्दै गयो।

चौथो श्रृङ्खलामा नेपाली फिल्म क्षेत्रमा हुने यौन शोषण र यौन दुर्व्यवहारबारे खोजी सुरु भयो। अन्तरंग कुराकानीमा केही महिला कलाकारले आफूले भोगेका यस्ता घटना खुलाएका थिए। ती प्रकाशित पनि भए अन्तर्वार्ताका बीचमा। 

तर घटना एकमुष्ट नहुँदा त्यसको प्रभाव परिरहेको थिएन। चाम्रो नेपाली मनोरञ्जन क्षेत्र एक-दुईको स्टोरीमै झस्किहाल्ने सम्भावना पनि थिएन।

रिपोर्टिङको क्रममा कलाकार, निर्देशक अनि यस्ता-यस्ता व्यवसायीहरूको नाम आए कि छक्कै परियो। उच्च तहका व्यावसायिक घरानाका पीआर म्यानेजरहरू चासो राख्दै फोन पो गर्न थाले।

त्यो स्टोरी पूरा नहुँदै म शुक्रवारबाट अलग भएँ। स्टोरीको अनुसन्धान अगाडि बढ्न सकेन।
OOO
अहिलेको प्रशंग।

नाबालिग गायिकाको बलात्कार गरेको अभियोगमा चर्चित अभिनेता पल शाह प्रहरी हिरासतमा छन्। ‌ओझापछि यसरी कुनै कलाकारमाथि उजुरी परेको यो दुर्लभ घटना थियो। 

कला क्षेत्रका बदमासीबारे करिअर हेर्दै वयष्क कलाकार समेत पीडा पिएर बसिरहेको बेला एक नाबालिगले करिअर र भविष्यको नतिजा नहेरी गरेकी निर्णय स्वागतयोग्य हो।

तर यो घटना प्रहरी कार्यालयसम्म जाहेरीका रूपमा पुग्नुअगाडि कला क्षेत्रका चल्तापूर्जामाझ गोप्य भने थिएन घटना। 

कतिले मिलाउन मध्यस्थकर्ताको भूमिका खेले भने कतिले बार्गेनिङको टुल्स बनाउने प्रयास गरे। कतिपय थाहै नपाए जस्तै गरेर बसिरहे।

जब घटना जाहेरीको रूपमा प्रहरी कार्यालय पुग्यो त्यसपछिको अवस्था झन् टिठलाग्दो देखियो। केही मौन बसे, केही पल शाह निर्दोष हुन् भनेर अनुसन्धानै प्रभाव पार्नेगरी सक्रिय भए। न 'श्रृषा'को समयको एकता देखियो कलाकारमाझ, न प्रकाश ओझाको पालाको झैँ समवेदना नै।

'प्रेमीले मेरो भावनाको खेलवाड गर्यो ' भन्दै मिडियामा धुरुधुरु रोएको पूजा शर्माको अनुहार फनफनी घुम्न थाल्यो। अनि उनैले अहिले 'पल शाह जिन्दावाद' भनेर नारा लगाएको, जाहेरी दर्तापछि फरार भएका पलको फोटो प्रिन्ट भएको टिसर्ट लगाएर 'पल र पूजाको मुटु एकै हो, कसैले छुट्याउन सक्दैन' भनेका दृष्य झल्झली आए। 

वयष्क एक प्रेमीले वयष्क प्रेमिका पूजालाई धोका दिँदा घृणा भरिने उनको मनमा एक नाबालिगसँग प्रेम सम्बन्धको बहानामा कानुनले बर्जित गरेको शारीरिक सम्बन्ध बनाउने पलप्रति कसरी माया भरिन सक्यो होला? 

दिमाग रनन मात्र बनायो।

पलको पक्षमा आँसु बगाउने आँचल शर्मा, पलको पक्षमा वकालत गर्दै हिँडेका फिल्म निर्देशक सुदर्शन थापा लगायतका अनुहार फनफनी घुमे। अनि समाजमा हुने यस्तै घटनामा क्रान्तिकारी स्टेटमेन्ट दिने केकी अधिकारीहरूको बसेको स्वर देखेर छक्क परेँ।

केकीले त केही समयअगाडि कपाल खौरिएकी थिइन् महिला सशक्तिकरण भन्दै। पीडित नाबालिगको पक्षमा बोल्दा महिला सशक्तिकरण हुने हो कि कपाल खौरिँदा उनै जानुन्।

यता 'जस्टिस फर पल' भन्दै नारा लगाउने फ्यान देखेर हासो लाग्छ। 

हिजो यौन दुर्व्यवहार भोगेका ती गायिकाहरूले यी नाबालिगबारे के धारणा राखेका होलान् भनेर यसो सर्सर्ती हेर्दा केही फेला परेन।

हिजो 'मलाई यस्तो भएको थियो' भन्ने ती कलाकार अनि ती रंगकर्मीको सामाजिक सञ्जाल चहारेँ। अहँ केही भेटिनँ। 
खिन्न लाग्यो।

OOO
जाहेरी परेपछि सार्वजनिक भएको अडियोले बलात्कार हो या सहमतिमा सम्बन्ध भन्नेमा केही अन्यौल बढाएको छ नै। वयष्कहरूको समूहमा एक नाबालिगलाई राखेर बनेका योजना सार्वजनिक हुँदा कतै पललाई फसाइयो कि भन्ने लाग्छ पनि ती सुन्दा।

तर यदि त्यो संवाद १८ वर्ष कटेकी कुनै युवतीको भए घटनाक्रम अर्कै हुनसक्थ्यो। तर पलविरुद्ध जे जाहेरी परेको छ, त्यसको कानुनी पाटो हेर्दा पल र उनका समर्थक र शुभेच्छुकको दाबी गलत हुन्छ नै। 

नाबालिगको रुपमा जाहेरी स्विकार भएकाले अहिले पल र ती नाबालिगबीच सहमतिमा सम्बन्ध भएको हो या होइन भन्ने कानुनी प्रश्नै होइन। 

नाबालिगको रुपमा जाहेरी स्विकार भएकाले कानुनका नजरमा उनको कति जना प्रेमी थिए, उनी कोसँग लिभिङ टुगेदरमा बस्थिन् जस्ता प्रश्नको महत्त्व छैन। 
कानुनले खोज्ने पहिलो उत्तर हो- 'नाबालिगसँग वयष्क उमेरका पललले यौन सम्बन्ध राखेको हो वा होइन?'

पहिल्यै सार्वजनिक भएको अडियोको संवादमा पलले 'म तिमीसँग विवाह गरेर खुसी हुन सक्दिनँ। मेरो अर्कै प्रेमीका छ' भन्दा ती नाबालिगले 'म तपाईसँग विवाह गर्दा खुसी हुन्छु' भनेबाट नै ती नाबालिग विश्वास टुटिसकेको अवस्थामा जडिने व्यावहारिक सम्बन्धको कुनै अर्थ हुन्न भन्ने ठम्याउन सक्ने उमेरकी हैनन् भन्ने सहजै देखिदैन र? 

उनी पलप्रति क्रेजी रहेको त देखिन्छ। तर कुनै नाबालिग क्रेजी भइन् भनेर उनीसँग मन मिलेको बेलामा सहवास गर्ने अनि मन नमिलेको बेलामा छाड्ने छुट कानुनले दिएको छैन।

कानुनका नजरमा नाबालिगसँग सहमतिमै यौन सम्बन्ध भयो भने पनि त्यो बलात्कार ठहरिन्छ। अडियोको स्वर पलको हो होइन या यी दुवैबीच शारीरिक सम्बन्ध भएको हो होइन त्यसको छिनोफानो अनुसन्धान गर्ने प्रहरी अनी तथ्य र प्रमाण हेर्ने अदालतबाट होला नै।

दोस्रो कानुनी पक्ष ती १८ वर्षभन्दा कम उमेरको हो या होइन?

शारीरिक परीक्षण या जन्मदर्ता प्रमाणको आधारमा उनको उमेर ठम्याउन कुनै समस्या छैन अहिले। 

नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ। उनी नाबालिग पनि हैनन् र सहमतीमै भएको सम्बन्धलाई बलात्कारमा लगेर जोडेको हो भने झुटो जाहेरी दिनेलाई कारबाही हुने कानुन पनि छ नेपालमा।

जाहेरी दर्ता भइसकेको अवस्थामा अनुसन्धान प्रभावित पार्न र आफ्नो पक्षमा सहानुभूतिको माहोल बनाउन पलले सामाजिक सञ्जाल फेसबुकबाट अडियोहरू सार्वजनिक गर्नु र उनीनिकट भनेर चिनिएकाहरू उनको पक्षमा उभिनुले भने घटनालाई गम्भिर बनाएको छ नै। 

फ्यानको बलमा पल जोगिन खोज्नु सामान्य नै हो। नाबालिगको बलात्कार गरेको अपराधमा को जेल जान चाहन्छ र!  त्यसैले पल र उनका परिवार सकेसम्म यो अभियोगबाट जोगिने प्रयास गर्छन् नै।

तर वयष्क सेलिब्रिटी अनि उनका फ्यान यी तथ्यमा कन्भिन्स नहुनु छक्क पर्ने दृष्य हुन्। प्रहरी अनुसन्धान र अदालतबाट अन्य निर्णय र आदेश नआएसम्म पीडित नाबालिग हुन्। त्यसैले एक नाबालिगको पक्षमा उभिनुको साटो बलिया बयष्क पलको पक्षमा उभिनु सहज दृष्य पक्कै हैन।

हिजो निर्मला पन्तको न्याय माग्न 'जस्टिस फर निर्मला' ह्यासट्याग सेयर गर्नेहरू आज 'जस्टिस फर पल शाह' भन्ने ह्यासट्यागमा रमाउनु कति जायज होला?

तर नेपाली मनोरञ्जन क्षेत्रका हस्तीहरूको मानसिकता यस्तै देखियो। पर्दामा देखिने उनीहरूको क्रान्तिकारी छवि साबुनको फोका मात्र हो भन्ने उनीहरूले नै पुष्टि गरिरहेका छन्। 

सेलिब्रिटीहरू पीडितको पक्षमा होइन नाफा-घाटा हेरेर पक्ष-विपक्षमा उभिन्छन् भन्ने त हिजो अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र फिल्म निर्देशक तथा अभिनेता भुवन केसीबीच दुर्व्यवहारको घटना सार्वजनिक हुँदा भुवनको पक्षमा देखिएको माहोलले नै पुष्टि गरेकै थियो।

केसी फिल्म निर्माता हुन्। उनको विरुद्धमा बोल्नु भनेको उनले बनाउने फिल्ममा अभिनय गर्ने, गाउने, निर्देशन गर्ने, लेख्ने लगायतका अवसरबाट वञ्चित हुनु हो। साम्राज्ञीको विपक्षमा बोल्दा त उनले के नै गर्न सक्छिन् र!

अहिले पनि त्यस्तै दृष्य दोहोरियो। पाँच दिन लुकेर, अनुसन्धान प्रभावित पार्दै नाबालिगको चरित्र हत्या गराउँदै, परिचितहरू प्रहरी नियन्त्रणमा पुगेपछि बाध्य भएर सरेन्डर गरेका पलको पक्षमा देखिएको दृष्यले नेपाली सेलिब्रिटी अझै धेरै 'श्रृषा'को पर्खाइमा छन् भन्ने देखायो।

के नेपाली रंग क्षेत्रको चरित्र यस्तै हो त? कमजोरको पक्षमा हुने वकालत केवल पर्दाका लागि मात्रै हो त?

तत्काल यो उत्तरबाट हाम्रा मनोरञ्जन क्षेत्रका धेरै पूजा र सुदर्शनहरू जोगिए पनि भोलिका दिनमा कहिँ न कहिँ उनीहरुले यसको उत्तर त दिनैपर्छ।

म त्यही उत्तर आउने समयको पर्खाइमा छु।

पल प्रकरणमा उकेरा निगरानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

महिला हिंसाविरुद्ध 'सडक नाटक' गर्दाको अनुभव: 'मलाई प्रहार गर्नेहरूलाई टोक्न, भुत्ल्याउन मन लागिरहेको हुन्छ'

चरा खुला आकाशको विम्ब हो। चरा स्वतन्त्रताको प्रतीक हो। चरा उँचाइको विम्ब हो। चरा उडानको विम्ब हो र चरा सबैसबै संङ्कुचन, द्वेष, बाध्यता र शोषित....

रविमाथि उठेका कानुनी प्रश्नबारे स्वतन्त्र पार्टीका प्रवक्ता भन्छन् 'जनताले अनुमोदन गरिसके, अब यसबारे किन बोल्नुपर्‍यो?'

उकेराले यी कानुनी प्रश्नहरूबारे लामिछानेसँगै कुरा गर्ने प्रयास गरेका थियौँ। तर उनी सम्पर्कमै नआएपछि यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालसँग कुरा गर्‍यौँ। ढकालको उत्तरले....

संसारलाई झुक्याउने किट्टियाको फोटोग्राफीमा पहिल्यैदेखि 'कन्भिन्स्ड' थिएनन् फोटोपत्रकार चन्द्रशेखर कार्की

अस्वाभाविक प्रकाश र कोलाज इफेक्ट (तस्बिरहरू जोडिएको) हुनसक्ने आकलनपछि अल्पाइनम्याग्ले यसबारे खोज गरेको रहेछ। जसमा किट्टियाले सार्वजनिक गरेको चारमध्ये तीन फोटो म्यानिप्युलेट गरिएको तथ्य अगाडि....

निर्वाचन डायरी: काठमाडौंका मतदान केन्द्रमा 'लाइन' कम भएको अधिकांशको अनुभव

मतदान गर्न पुग्नेले यसपालि सहज रूपमा मतदान गरेको पनि बताए। मतदानका लागि लामो 'लाइन' नभएकाले सहज भएको मतदाताको भनाइ थियो। बानेश्वर क्याम्पस मतदान केन्द्रमा मतदान गरेर....

पाँच वर्ष पछुताउनु नपर्ने गरी मताधिकार प्रयोग गरौँ

आज हामी मतदाताले मतदानमार्फत जस्तो जनादेश दिन्छौँ आगामी पाँच वर्षको दृश्य त्यस्तै नै हुनेछ। योजना भएकालाई मत दिएर संसद्मा पठाए विकासको शिलान्यास हुनसक्छ, अनुशासितलाई पठाए....