दोषी ठहरिए कानूनबमोजिम सजाय भोग्न तयार छु: पल शाह

दोषी ठहरिए कानूनबमोजिम सजाय भोग्न तयार छु: पल शाह

काठमाडौंः एक नाबालिगमाथि यौन शोषण गरेको आरोप लागेका पल शाहले आफूमाथि लगाइएको आरोप नियोजित र षड्यन्त्रपूर्ण भएको बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै केही अडियो क्लिप पनि सार्वजनिक गरेका छन्।

उनले आफूविरुद्ध जाहेरी दिने नाबालिगले लगाएको सबै आरोप गलत भएको र यसको प्रमाण आफूसँग भएको भन्दै केही अडियो क्लिप सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'केही दिनअगाडि प्रसारित अडियो क्लिपमा ....* द्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ।'

यस्तै उनले जाहेरीमा उल्लेख भएका अन्य आरोपहरू पनि गलत भएको स्पष्टिकरण दिएका छन्। उनले आफू यस प्रकरणमा दोषी ठहरिए कानूनबमोजिम सजाय भोग्न तयार रहेको पनि बताएका छन्।

उनले जाहेरी दिने नाबालिगलाई चार जना व्यक्तिले प्रयोग गरेको र नियोजित ढङ्गले षड्यन्त्र गरेको भन्दै नाम समेत उल्लेख गरेका छन्। पलका अनुसार उनीविरुद्ध षड्यन्त्र गर्नेहरूमा उनका साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाई रहेका छन्।

* जाहेरी दिने नाबालिगको नाम उल्लेख भएको हुँदा हटाइएको

१२ फागुन, २०७८, ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।