निर्देशक सुदर्शन प्रहरी नियन्त्रणमा : बलात्कार कसुरमा भागिरहेका पललाई लुकाउन मतियार बनेको आरोप

निर्देशक सुदर्शन प्रहरी नियन्त्रणमा : बलात्कार कसुरमा भागिरहेका पललाई लुकाउन मतियार बनेको आरोप

काठमाडौँ : नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि फरार भइरहेका अभिनेता पल शाहसँग निरन्तर सम्पर्कमा देखिएपछि फिल्म निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा परेका छन्।

थापा चार दिनदेखि फरार भइरहेका पलले अभिनय गरेको फिल्म 'म यस्तो गीत गाउँछु-२' का निर्देशक हुन्। अहिले सो फिल्म रिलिज भइरहेको छ। जाहेरी दर्तापछि पलले प्रहरीमा आफैँ आत्मसमर्पण गर्ने दाबी गरिए पनि उनी लुक्दै आफ्नो पक्षमा माहौल बनाउन सक्रिय छन्।

जाहेरी परेको भोलिपल्ट फेसबुकमा घटनालाई प्रभावित पार्ने गरी अडियो सार्वजनिक गराएका उनलाई लुकाउन प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पूर्याउनेहरुलाई प्रहरीले खोजी सुरु गरेको अनुसन्धानमा संलग्न स्रोतले बतायो। सोही अनुसन्धामा थापा फरार आरोपीको  निरन्तर सम्पर्कमा देखिएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

मुलुकी अपराध संहितामा कुनै अपराधको आरोप लागेका ब्यक्ती लाई भगाउने वा लुकाउने काम गरेको पुष्टि भएमा त्यस्ता ब्यक्ती लाई समेत कारबाही हुने प्रावधान उल्लेख छ।

संहिताको दफा ३६ मा मतियार हुन नहुने उल्लेख छ। त्यसमा कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गाउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमको सहयोग पुर्याउने ब्यक्ती लाई मतियार मानिने उल्लेख छ।

आपराधिक षड्यन्त्रमा संलग्न भएर कसुर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसको विरुद्ध कसुर गरिएको मानिने र कसुरको आधा सजाय हुने व्यवस्था छ।

संहिताको दफा २८ बालबालिकाबाट गराएको कसुरमा उमेर पुगेकालाई सजाय हुने व्यवस्था छ। सो दफामा कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसुर गर्न लगाएको रहेछ भने त्यसरी कसुर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तो कसुर गरे सरह सजाय हुने उल्लेख छ।

सो प्रावधान अनुसार पलका पूर्व म्यानेजर कृष्ण जोशीले गरेको दाबी पुष्टि भएमा उनी समेत कारबाहीको दायरामा आउने देखिन्छ। उनले पललाई फसाउने षड्यन्त्र गरेको मात्रै नभई हत्या गर्ने समेत योजना बनाएको दाबी गरेका छन्।

यसै गरी दफा ३१ मा दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसुर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसुरको सजाय हुने उल्लेख छ।

दफा ३३ मा आपराधिक षड्यन्त्र गर्न नहुने उल्लेख छ। कसैले कुनै आपराधिक षड्यन्त्र गर्न हुँदैन भन्ने उल्लेख छ।

दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कसुर गर्न वा गराउन मन्जुर गरी कुनै एक जना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरूले कुनै कार्य गरेमा निजहरूले आपराधिक षड्यन्त्र गरेको मानिनेछ।

आपराधिक षड्यन्त्र बमोजिमको कसुर गरेको भए त्यस्तो कसुर गरे सरहको सजाय हुने उल्लेख छ।

१४ फागुन, २०७८, १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।