पीडित नाबालिकाको पहिचान खुलाउनु दण्डनीय, एक पत्रकारलाई भएको थियो पाँच महिना जेल

पीडित नाबालिकाको पहिचान खुलाउनु दण्डनीय, एक पत्रकारलाई भएको थियो पाँच महिना जेल

काठमाडौँ : अभिनेता पल शाहविरुद्ध प्रहरीमा एक नबालिका गायिकाले बलात्कारको जाहेरी दर्ता गरेपछि पनि उनको नाम र तस्बिर सार्वजनिक गर्ने क्रम रोकिएको छैन।

पीडित पक्ष बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर शाहविरुद्ध जाहेरी दर्ता भइसकेको छ। कानुन अनुसार बलात्कार पीडितको पहिचानै खुलाउन पाइँदैन। नाबालिगकाको हकमा अझ कानुनी प्रावधान कडा छ।

पीडित नबालिका र पलको सम्बन्धबारे धेरै अगाडिबाटै चर्चा सुरु भए पनि तीन दिन अगाडि अडियो सार्वजनिक भएपछि पललाई कारबाहीको दबाब बढेको थियो। बुधवार जाहेरी दर्ता गर्दा कानुन अनुसार पीडित परिवारको पहिचान खुल्ने विवरण गोप्य राख्न जाहेरीकर्ताको नाम 'तकुमार' अनि पीडितको नाम -ब्यास १२ उल्लेख गरिएको छ।

यस अगाडि नाबालिगकाको बलात्कारसम्बन्धी एक घटनामा पीडितको पहिचान खुलाउँदा अदालतबाट सजाय समेत तोकिएको छ।

जेठ २१ गते बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गरेको भन्दै सुर्खेत जिल्ला अदालतले ‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक दाङको तुलसीपुर उपमहानरपालिका–३ का एग्गेबहादुर बुढा मगर पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।

साक्षीहरू खुल्दा प्रभावमा परेर पीडितले न्याय पाउन अप्ठ्यारो हुनसक्ने अवस्थामा पीडित मात्रै हैन साक्षीहरूको पहिचान समेत गोप्य राख्न पाउने कानुनी प्रावधान छ। यस्तोमा बन्द इजलासमा सुनुवाइ र बकपत्र समेत हुनसक्छ। प्रहरीले रानीबारी हत्याकाण्डको अदालती प्रक्रिया यही कानुनी अधिकारको प्रयोग गरेर बन्द इजलासमा सुनुवाइ गराएको थियो।

११ फागुन, २०७८, २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।