प्रहरी हिरासत पुगेका पल शाहको रिक्वेस्ट' प्लिज सर मलाई फिल्म हेर्न दिनुस् न'

प्रहरी हिरासत पुगेका पल शाहको रिक्वेस्ट' प्लिज सर मलाई फिल्म हेर्न दिनुस् न'

काठमाडौँ : नाबालिगको बलात्कार गरेको आरोपमा सात दिनका लागि न्यायिक हिरासतमा पुगेका पल शाहले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई एक पटक आफ्नो फिल्म हेर्न दिन आग्रह गरेका छन्।

पाँच दिनसम्म लुकेर थाकेपछि आफैँ प्रहरीमा आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका उनलाई प्रहरीले पक्राउ पुर्जी दिएर आवश्यक अन्य कानुनी प्रक्रिया पुरा गरेर आजै जिल्ला अदालत तनहुँमा लगेको थियो।

अदालतबाट प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ। अदालत लैजानु अगाडि प्रहरीले उनीसँग सामान्य सोधपुछ गरेको थियो। सोधपुछमा उनले आफू निर्दोष भएको प्रमाणहरू रहेको दाबी गर्दै केही व्यक्तिको नाम लिएर उनीहरूले फसाउने षड्यन्त्र गरेको दाबी गरेका थिए।

प्रहरीले उनलाई उनीमाथि लागेको आरोपबारे जानकारी गराउँदै दुबै पक्षको प्रमाण हेरेर अनुसन्धान गर्ने आश्वासन दिएको थियो। अभिनेता जस्तो व्यक्ति जाहेरी पर्नासाथ हाजिर नभएर किन भागेको भन्ने प्रहरीको जिज्ञासामा उनले आफूले अभिनय गरेको चलचित्र रिलिज हुने भएकाले त्यसलाई नकारात्मक असर नपरोस् भनेर लुकेर बसेको बताएको स्रोतले बतायो।

उनले आफू कहाँ लुकेर बसेको हो सो भने खुलाएका छैनन्। कुरा गर्दागर्दै उनले प्रहरी अधिकारीलाई'मलाई आफ्नो फिल्म हेर्न मन छ। फिल्म हेर्ने अनुमति दिनु न' भनेर आग्रह गरेका थिए। उनी अभिनीत' म यस्तो गीत गाउँछु' अहिले हलहरूमा प्रदर्शन भइरहेको छ।

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई उसको स्वास्थ्य गम्भिर भएर उपचारका लागि अस्पताल भर्ना हुने, आफन्त र कानुन व्यवसायी भेट्ने बाहेक अन्य सुविधा पाउँदैन।

१५ फागुन, २०७८, १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।