पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

काठमाडौं : टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्। उनै शाह यतिबेला नाबालिग बलात्कार जस्तो जघन्य अपराधमा मुछिएका छन्। 

अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेको छ। जाहेरीमा दावी गरिए अनुसार उनले पोखरा र चितवनको होटेलमा लगेर ती नाबालिगलाई बारम्बार बलात्कार गरे। 

एकै कार्यक्रममा सहभागी हुन एकै गाडीमा बस्दा यौन दुर्व्यवहार गरेको, रक्सी खाएर सुतेको कोठामा आएर करणी गरेको, कामको म्युजिक भिडियोको सुटिङमा जाँदा होटेलमा जबर्जस्ती करणी गरेको लगायतका दावी जाहेरीमा उल्लेख छ।

०००
केही समययता अभिनेता शाह एक नाबालिग गायिकासँगको प्रेम सम्बन्धका कारण सञ्चारमाध्यममा गसिपको पात्र बनिरहेका थिए। उनले ती गायिकालाई यौन शोषण गरेको आरोपहरु बाहिरिएका थिए। ती आरोपलाई पुष्टि गर्न भन्दै विभिन्न सञ्चारमाध्यमले पक्ष र विपक्षमा वकालत गर्ने होडबाजी नै देखियो। 

नायक शाह र ती बालिकाबीचको कुराकानी भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना गम्भीर बन्दै गयो।

शाहमाथि ललाइ–फकाइ, विवाहको आश्वासन देखाएर यौन हिंसा गरेको आरोप बाहिरिए। ती गायिकालाई आफ्नो बयान फेर्न बाध्य बनाउने काम पनि शाह निकटका केही सञ्चारकर्मी तथा उनका शुभचिन्तकले गरेको देखियो। सञ्चारकर्मीका रुपमा रहेका केही केस मिलाउनै सक्रिय देखिए।

पछिल्लो समय ती गायिकासँगको सम्बन्धलाई स्वीकारेको अडियो सार्वजनिक भएपछि शाह त्यो अडियोको आवाज आफ्नो नरहेका दावी गरिरहेका थिए। आफ्ना व्यावसायिक प्रतिद्वन्द्वीहरुले ती किशोरी गायिकालाई उक्साएर आफूमाथि विभिन्न आरोप लागाएको उनको दावी थियो। 

यही विषयमा उकेराले नेपालको कानुन अनुसार के प्रावधान छ? घटना पुष्टि भए के हुनसक्छ? यस विषयमा बालबालिका तथा महिला अधिकारका विषयमा वकालत गर्ने व्यक्तिहरुको मत बुझ्ने कोसिस गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार उजुरी परिसकेको अवस्थामा प्रहरीले बजारमा सार्वजनिक भएका अडियो विधि–विधान प्रयोगशालामा टेस्ट गराउने छ। र, शारीरिक चेकजाँचका साथै गोपनीयतालाई केन्द्रमा राखेर प्रहरीले कारबाही गर्नेछ।

‘प्रहरीमा उजुरी परेको छ। अब हामी प्रक्रियागत रुपमा जान्छौं,’ केसीले भने, ‘हामीलाई ती नायकसँग जोडिएको विषयमा खोजतलास गर्न बाटो खुलेको छ।’

मञ्जुरीमा समेत राख्न पाइँदैन शारीरिक सम्बन्ध 
नेपालको विद्यमान कानुनअनुसार श्रीमान्–श्रीमतीबीच नै पनि मञ्जुरी विना यौन क्रियाकलाप गर्न नपाइले उल्लेख छ। यस घटनामा बालिकासँगको सम्बन्ध रहेका कारण नेपालको कानुनले त्यसलाई बलात्कारको संज्ञा दिएको मानव अघिकार आयोगका पूर्वआयुक्त तथा अधिवक्ता मोहना अन्सारी बताउँछिन्।

‘नेपालको कानुनले वैवाहिक सम्बन्धमा भएकाबीच पनि सहमति विना राखिने यौन सम्बन्धलाई बलात्कार भनेको छ,’ अन्सारी भन्छिन्, ‘१८ वर्षभन्दा कम उमेरकी महिलासँग उसको मञ्जुरी अनुसार नै यौन सम्बन्ध राखेको भए पनि त्यो बलात्कार हो। यसमा दोधारमा रहनुपर्ने अवस्था म देख्दिनँ।’

ती गायिकासँग कानुनी उपचारका लागि अग्रसर हुने अधिकार सुरक्षित रहेको अन्सारी बताउँछिन्। उनका अनुसार प्रहरीले सार्वजनिक भएको अडियोकै आधारमा समेत कारबाही गर्नसक्ने अवस्था थियो। तर उजुरी नै कुरेर बस्नु प्रहरीको गम्भीर कमजोरी हो।

‘प्रशस्त कुराहरु बाहिरिएको हुँदा प्रहरीले त्यसैको आधारमा पनि कारबाही गर्नसक्ने थियो,’ अन्सारी भन्छिन्, ‘तर अब उजुरी परिसकेको छ।  कानुनी प्रक्रियामा जान्छ। प्रहरीले निष्पक्ष भएर काम गर्नेछ भन्ने विश्वास छ।’

यदि शाहमाथि लगाइएको बलात्कारको आरोप प्रमाणित भएमा उनलाई कानुनले तोके बमोजिमको १० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ।

मुद्दाको कारबाहीको क्रममा बलात्कृत महिलासँग सम्बन्धित जानकारीहरू गोप्य राख्नुपर्छ। बलात्कार घटनाको प्रचार–प्रसारको क्रममा पीडितको वास्तविक नाम र फोटो सार्वजनिक गर्न हुँदैन भन्ने नेपालको कानुनमा रहेको अन्सारी बताउँछिन्।

बलात्कारको मुद्दाको उजुरीदेखि फैसला कार्यान्वयनसम्मको कारबाहीको क्रममा पीडितले अनुरोध गरेमा कानुन कार्यान्वयन गर्ने निकायहरूले पीडितको वास्तविक नामको सट्टामा काल्पनिक नाम वा संकेतको प्रयोग गर्ने गरी गोपनीयता कायम गराउनुपर्ने उल्लेख छ।

तर, कानुनमा भएजस्तो गोपनीयता भने यस घटनामा रहेको छैन। कानुन अनुसार बलात्कार भएको प्रमाणका लागि पीडितले नुहाउन नहुने, घटनास्थलको प्रकृति बदल्न नहुने, लुगा धुनु नहुने र स्वास्थ्य परीक्षण नगरी यौन सम्बन्ध राख्न नहुने अन्सारी बताउँछिन्।

‘सार्वजनिक भएका अडियो, पीडितको बयान र घटनाको अध्ययन गरेर प्रहरीले मुद्दा चलाउने छ,’ अन्सारीले उकेरासँग भनिन्।

समाजको मानसिकता अझै फेरिएन
समाजको मानसिकताका कारण ती गायिकाले बेलैमा आवाज उठाउन सक्ने अवस्था नरहेको महिला अधिकारकर्मी सरिता तिवारी बताउँछिन्।

‘हामी ठूलै मान्छेलाई त आफूमाथि भएको यौन हिंसाबारे बोल्न समस्या हुन्छ। निकै पटक सोच्नुपर्छ। यहाँ त नाबालिगको कुरा छ,’ तिवारी भन्छिन्, ‘बेलैमा किन गएन, मन मिल्दा जे पनि स्वीकार्य हुने, मन नमिलेपछि बलात्कार? जस्ता कुरा उठिरहेका छन्। यो बेतुकको कुरा हो। पीडितले आफू पीडामा परें भन्ने महसुस गरेर जुनसुकै बेला पनि खुल्न सक्छ।’

पीडितको गोपनीयतामाथि भएको हल्लाखल्ला भर्त्सनायोग्य भएको तिवारी बताउँछिन्। उनी भन्छन्, ‘पीडितलाई न्याय दिनभन्दा पनि थप पीडा दिन समाज हावी भएको देखिन्छ यो घटनामा।’

अडियो सार्वजनिक भइसकेपछि गोपनीयता कायम गर्न पहल

केन्द्रीय बाल न्याय समिति गोपनियता भंग गराउने व्यक्ति तथा सञ्चारमाध्यममाथि कारबाहीको लागि महानगरीय प्रहरीसँग सहकार्यमा रहेको छ।

‘गोपनीयता हनन् भएको छ। महानगरीय प्रहरीसँग सहकार्य गरेर गोपनीयता हनन् गर्नेमाथि कारबाही गर्न हामीले पत्राचार गरिसकेका छौं। सम्बन्धित व्यक्ति तथा सञ्चारमाध्यमलाई समेत हामीले सूचना पठाएका छौं,’ केन्द्रीय बाल न्याय  समितिका सचिवालय सदस्य विधान खनियाँ भन्छन्, ‘व्यक्तिको हकमा प्रहरी र सञ्चारमाध्यमका हकमा प्रेस काउन्सिलले कारबाही गर्छ।’

कानुनको विश्वासमा कलाकार 
अभिनेत्री केकी अधिकारी यस घटनालाई नजिकबाट हेरिरहेको बताउँछिन्। उनका अनुसार संवेदनशील विषय भएकोले पनि कलाकारहरु बोलिहाल्न सकेका छैनन्। प्रहरीमा उजुरी परिसकेको अवस्थामा कानुनले अन्तिम फैसला नगर्दासम्म बोल्नु उचित नहुने उनको भनाइ छ।

‘कानुनले के भन्छ, हामी त्यसको पक्षमा रहन्छौं। समाज पनि पीडितले न्याय पाउनुपर्छ भन्नेमा हामी कलाकार छौं,’ उनी भन्छिन, ‘संवेदनशील विषयमा हावाका भरमा बोल्ने कुरा हुँदैन। हामी कानुनको विश्वासमा छौं।’

संघहरुलाई छैन चासो
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का संघमा नायक शाहसँग जोडिएको कुनै गुनासो नआएको बताउँछन्।

‘गुनासो आए पनि हामीले छलफल गरेर मेलमिलाप गराउने हो,’ उनी भन्छन्, ‘कुनै गुनासो आएको छैन। हामीले त्यसमा केही गर्न सक्दैनौं।’

बलात्कार जस्तो जघन्य अपराधको विषयमा संघले पनि कानुनी प्रक्रियाकै बाटोमा पठाउने उनी बताउँछन्। 

त्यस्तै गायक संघका अध्यक्ष शिव हमाल पनि चलचित्र कलाकार संघको कुरामा सहमत छन्। ‘हामीले गायक–गायिकाको हकहितमा बोल्ने हो,’ उनी भन्छन्, ‘अब व्यक्तिगत मामिलामा हाम्रो भन्नु केही छैन। कानुन छ, जे गर्छ कानुनले गर्छ।’

रंग पत्रकारको हैसियत देखाउने घटना
पल शाह र पीडित भनिएकी गायिकाको पक्ष–विपक्षमा पछिल्लो समय रंग पत्रकारहरु लागिपरेका छन्। केही पत्रकारहरु गायिकालाई मनाउन पोखरा नै पनि पुगेका थिए भने केही पीडितले न्याय पाउनुपर्छ भन्नेमा देखिन्छन्।

रंग पत्रकार सामिप्य तिमल्सिना पत्रकार आ–आफ्नो स्वार्थमा रहेका कारण वास्तविकता बाहिर नआएको बताउँछन्।

‘रंग पत्रकार तीन किसिमका छन्। एक पकेट पत्रकार छन्। तिनीहरु पक्षमा लेख्छन्। अर्को जमात विपक्षमा छ। र, अर्को चाहिँ सम्बन्ध बिग्रन्छ भनेर मौन छन्,’ उनी भन्छन्, ‘यस घटनाले हाम्रो रंग पत्रकारको हैसियत देखाएको छ। अहिले जे भइरहेको छ, त्यो गलत छ। पत्रकारिता निष्पक्ष हुनुपर्छ।’

तिमल्सिनाका अनुसार ठोस प्रमाण पत्रकारसँग पनि नभएका कारण उनीहरुले लेख्न नसक्ने अवस्था रहेको छ । नाम चलेका रंग पत्रकारले रे–रेका कुरा सुने पनि ठोस प्रमाण नहुँदा लेख्न नसकेको उनको दावी छ।

‘रे–रेको भरमा धेरै कुरा सुनिन्छ। तर ठोस प्रमाण नहुँदा निष्पक्ष लेख्नेहरुले पनि लेख्न सकिरहेका छैनन्,’ तिमल्सिनाले उकेरासँग भने।  

निष्पक्ष अनुसन्धान गर्छौं : नेपाल प्रहरी
प्रहरी प्रवक्ता केसी भन्छन्, ‘जबरजस्ती करणी सम्बन्धी कानुनले तोके बमोजिमको प्रक्रियाबाट नै हामी अघि बढ्छौं।’

शारीरिक परीक्षण लगायतका प्रक्रिया पूरा गरी सार्वजनिक भएका सामग्रीहरु अध्ययन गर्ने उनले उकेरासँग बताए।

‘हामी निष्पक्ष रुपमा प्रक्रियागत काम–कारबाही अघि बढाउँछौं,’ उनी भन्छन्, ‘सम्बन्धित मान्छेले नै उजुरी दिइसकेपछि हामीले काम–कारबाही गर्न बाटो खुल्यो।’

प्रहरी आफैंले सार्वजनिक भएका प्रमाणका आधारमा किन कार्य गर्न सकेन? भन्ने जिज्ञासामा केसी भन्छन्, ‘हामीले हल्लाको पछि लागेर सम्बन्धित मान्छेलाई यस्तो रे हो भनेर सोध्न सक्दैनौं। उहाँहरुले उजुरी नदिएसम्म हामीले केही गर्न मिल्दैन।’

बालिका आफैं वा उहाँको संरक्षकले उजुरी दिएपछि मात्र प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने उनले बताए। ‘कतिपय केसमा प्रहरी आफैंले पनि काम कारबाही सुरु गर्नसक्छ। तर गोपनीयता जोडिएको केसमा प्रहरी अघि सर्न मिल्दैन। प्रहरीमाथि नै उल्टै मानहानिको चार्ज लाग्न सक्छ। अब जाहेरी परेको छ। कानुनी रुपमा काम गर्छौं।’

११ फागुन, २०७८, २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।