काठमाडौँ : नाबालिग बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सम्पर्कहीन भएका अभिनेता पल शाह लुक्दै बसेका छन्। उनी आफ्नो कोठामा गएका छैनन्। आफैँ आत्मसमर्पण गर्ने आसमा थियो प्रहरी। तर त्यसको साटो उनी प्रहरीलाई छक्काउँदै भागिरहेका छन्।
उकेरा न्युज
फरार रहेको बेलामा विभिन्न युट्युब च्यानलमा अनुसन्धान प्रभावित पार्ने गरी उनी बयान दिन सक्रिय छन्। उनी परिचितहरूको सहयोगमा काठमाडौँभित्र लुकेर बसेको प्रहरीको निष्कर्ष छ।
पल चार दिनसम्म पनि भागेको भाग्यै गरेपछि अब उनलाई लुकाउनेहरूको खोजीमा प्रहरी खटिएको छ। यसमा नियमित सम्पर्कमा देखिएको र आश्रय दिनेहरू रहेका छन्। मुलुकी अपराध संहिता २०७४ ले भाग्न सघाउने र आश्रय दिने दुवै व्यक्तिलाई समेत कारबाही गर्न सक्ने कानुनी प्रावधान छ।
सोही प्रावधानमा टेकेर प्रहरीले पहिला भगाउन सघाएको आशङ्कामा फिल्म निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिएको छ। सो सूचीमा थप केही कलाकार र शाहसँग निकट देखिएकाहरू रहेको स्रोतले बतायो।
दोस्रो लिस्टमा पलविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको जानकारी पाउँदा-पाउँदै लुक्न आश्रय दिनेहरूको खोजी सुरु गरेको छ। प्रहरीले यो बिचमा पललाई लुकाउन सघाउने केही व्यक्तिबारे जानकारी पाएको छ। अब प्रहरी उनीहरूको खोजीमा जुटेको छ।
अपराध संहिताको दफा ९५ मा कसैले कुनै कसुरदारलाई जानीजानी पक्राउबाट वा कानुन बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिन नहुने उल्लेख छ। कसुरदार भन्नाले कुनै कसुरमा शङ्कास्पद रहेको,अभियुक्त बनाएको वा अदालतबाट दोषी ठहर भएकोलाई कानुनले कसुरदार मानेको छ।
आश्रय दिएमा जन्मकैद हुने कसुरदारको हकमा पाँच वर्ष कैद र ५० हजार जरिवाना, १० वर्ष कैद हुने कसुरदारको हकमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुनसक्छ। पलविरुद्ध दर्ता भएको जाहेरी अनुसार उनलाई अधिकतम १० वर्ष कैद हुनसक्छ। सो अनुसार उनलाई लुक्न आश्रय दिएमा तीन वर्ष कैद हुनसक्छ।
पति, पत्नी वा आमा, बाबु,छोरा-छोरी, भाइ-दिदी, बहिनी बाजे बज्यै नाति नातिनी सासू ससुरा बुहारी र ज्वाइँले लुकाएमा मात्रै सजाय हुन्न।
शाहको खोजीमा अहिले महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली खटिएको छ।
पल प्रकरणमा उकेरा निगरानी
२०७८ फागुन १४ गते १५:१० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।