भो, पीडितलाई टेलिभिजनमा ल्याएर नरुवाऊ

भो, पीडितलाई टेलिभिजनमा ल्याएर नरुवाऊ

खैरो आँखा तर निर्दोष। अग्लो अनि हट्टाकट्टा शरीर। २४ वर्षीय क्याम्रोन ह्यारिन २०२१ अप्रिलतिर टिकटकमा भाइरल भए। ती भाइरल भिडियो अदालतमा सुनुवाइका समयमा खिचिएका थिए।

युनाइटेड स्टेटको एक राज्य फ्लोरिडामा सन् २०१८ ताका क्याम्रोनको कार रेसमा दुर्घटना हुन पुग्यो। जेब्राक्रसिङमा बाटो काट्ने क्रममा २१ महिने बालिका र उनकी आमालाई ठक्कर दिँदा दुवैको घटनास्थलमै मृत्यु भएको थियो। उनले झण्डै १ सय ६० माइल प्रतिघन्टाको गतिमा कार चलाएका थिए। २१ वर्षको उमेरमा क्याम्रोन पक्राउ परे।

उनलाई अदालतले २४ वर्षको जेल सुनाएको छ। उनी अहिले जेलमै छन्। क्यामरोन जेलबाट रिहा हुँदा ४५ वर्षका हुनेछन्। 

उनी सेलिब्रेटी हैनन्। एक सामान्य मानिस थिए। तर उनको सुन्दरताले धेरैलाई मख्ख बनायो। अपराधी भए पनि उनीप्रति मानिसहरुको सहानुभूति जाग्यो। धनी परिवारको सुन्दर केटो जेल पर्दा उनका फ्यानले अन्य अपराधीसँग तुलना गर्न थाले।

हेर्दै डरलाग्दा, शरीरभरि ट्याटु खोपेकादेखि आफ्नै आमा-बाउ मारेका अपराधीसँग त्यही सुन्दर र निर्दोष आँखा भएका क्यामरोनलाई राख्न नहुने उनका फ्यानको माग थियो। जेलभन्दा बाहिरी दुनियाँमा आफू भाइरल भएको कुरा क्यामरोनलाई भने थाहा छैन।

विशेष गरेर किशोरावस्थाका टिकटक युजर्स एकदमै आक्रमक तरिकाले क्यामरोनको रिहाइका लागि निस्किए।

फ्यानले टिकटकमा भाइरल हुने बित्तिकै क्यामरोनको घरमा चिठ्ठी पठाउन थाले। सुरुमा त उनकी आमा खुसी भइन् तर किशोर-किशोरीको उग्रपनाले हद पार गर्यो। क्यामरोनको घरमै जाने, उनको फियोन्सेलाई धम्क्याउने, स्कुलमा सँगै पढेका साथीहरुलाई घेर्ने लगायतका गतिविधि क्यामरोनका फ्यानले गर्न थाले।

सामाजिक सञ्जालमा एकाउन्ट ह्याक गर्नेदेखि पीडितलाई झनै पीडा दिने काम उनीहरुले गरे। ट्विटरले क्यामरोनको नाम भएका झण्डै १० हजार खाता डिलिट समेत गर्यो। अभियान नै चलाए क्यामरुन रिहाइका लागि। रिहाइका लागि संकलन गरिएको हस्ताक्षर देखेर प्रहरीको नै होस उडेको थियो। 

अन्त्यमा, क्यामरोनकी आमाले 'यो सबै बन्द गर, मेरो छोरो अपराधी हो, उसले कानुन अनुसार सजाय पाउनैपर्छ' भनेपछि मात्रै यो मुद्दा केही मत्थर हुन पुगेको थियो। 

अहिले अभिनेता पल शाह प्रहरीसँग लुकेर बसेका छन् बलात्कारको जाहेरीपछि। एकपछि अर्को अडियो बाहिरिएपछि  पलको बचाउमा उनका फ्यान लागिपरेका छन्। सामाजिक सञ्जालमा 'ए फलानाले फसाएको रैछ' भन्ने प्रतिक्रिया बढ्दो छ। 

कानुन अनुसार नाबालिगको पहिचान गोप्य राख्नुपर्नेमा स्टार टेलिभिजन प्रिजेन्टर पीडितको अन्तर्वार्ता बजाएर बसेका छन्। 

किशोर-किशोरीको हुलमुलमा आफूलाई बौद्धिक भन्ने विषाक्त मानसिकता बोकेकाहरु पनि होमिएका छन्। पल प्रकरणमा आ-आफ्नो स्वार्थको झण्डा गाड्न तत्पर छन्।

कोभिडको समयमा अधिकांश कलाकार मस्त सुत्दा पलले चन्दा दिएका थिए। धेरै स्कुलमा पुगेर कपडा, कापी, कलम बाँडेका थिए। आफूले कमाएको रकमको केही प्रतिशत समाजसेवामा लगाउने बाचा गरेका थिए।

केही सञ्चार माध्यमले त उनलाई नेपाली समाजका लागि रियल हिरो समेत बनाउन भ्याए। भारतका सोनु सुदसँग तुलना गरे। भगवान बनाए। कोभिडकै समयमा उनलाई सम्मान र प्रमाणपत्र लिन भ्याइ-नभ्याइ थियो।

अहिले पलका अनुयायीहरु त्यही समाजसेवाको बखान गरिरहेका छन्। त्यो बेलामा उनले सामाजिक काम गरेका हुन् पनि। तर अब अब ती कुराले उनीमाथि लागेको गम्भीर आरोपको ढाकछोप गर्न सक्दैन।

आइडल पनि अपराधमा संलग्न हुन सक्छन्। उनका फ्यान, साथीभाइ, आफन्त, शुभचिन्तक सबैले यो स्वीकार्नैपर्छ। यतिबेला पल अभिनेता हैनन्, नाबालिग गायिकालाई फकाएर यौन सम्बन्ध राख्ने आरोपी हुन् जो प्रहरीको खोजीको सूचीमा छन् र फरार छन्। 

आफैंले पुष्टि गरिदिए आरोप
पलले सामाजिक सञ्जालमा ६ वटा अडियो सार्वजनिक गरे। उनले त्यहाँ योजनाबद्ध रुपमा आफूलाई फसाएको बताउन खोजेका थिए। तर ती श्रव्य सामग्री ध्यान दिएर सुन्ने हो भने उनले आफैं आरोप पुष्टि गरेका छन्। 

प्रहरीका लागि ती अडियो पलका बयान हुन्।  दुईबीच शारीरिक सम्बन्ध भएको पक्का सबुत हुन्।

यहाँ को साथीले कसरी धोका दियो, कसले कसको काँधमा राखेर बन्दुक चलायो भन्नेले केही अर्थ राख्दैन। नाबालिगसँग सहमतिमै या जबर्जस्ती जसरी भए पनि पलको शारीरिक सम्बन्ध भयो या भएन भन्ने मात्र हो कानुनले हेर्ने। उनले राखेका अडियोले हो भन्ने देखाउँछ।

साथीको धोका र गद्धारीमा फ्यानहरु इमोसनल हुन सक्लान्। तर त्यसको के अर्थ! कानुनले यसलाई प्रमाणका रुपमा लिन सक्छ। यो प्रकरणमा के, कसरी, कुन अवस्थामा, सहमति या जबर्जस्ती भन्ने नै हुन्न। नाबालिकासँग सम्बन्ध भयो या भएन मात्र हो अदालतले हेर्ने हो। 

पीडितलाई मानसिक यातना दिन बन्द गरौं
जाहेरी परेपछि पल आफैं प्रहरीको सम्पर्कमा पुगेका भए सजाय कम हुनसक्थ्यो। तर उनी भागे। भाग्नुको मतलब अपराध स्वीकार्नु हो। 

उनी भागेकै बेला सामाजिक सञ्जालमा सक्रिय छन्। केही युट्युबरलाई अन्तर्वार्ता दिएर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका छन्। 

केही मिडिया पललाई हैन, उल्टो पीडितलाई प्रश्न गरिरहेका छन्। शंका गरिरहेका छन्। रुवाउँदै अन्तर्वार्ता लिइरहेका छन्। यसले ती नाबालिगमा मानसिक दबाब बढाइरहेको देखिन्छ।

सामाजिक सञ्जालका विभिन्न ग्रुपमा पीडितलाई लिएर ट्रोलहरु बनिरहेका छन्। सबैले पलको भविष्य बिगार्न चलखेल गरेको, योजनाबद्ध रुपमा फसाइएको टिप्पणी गरिरहेका छन्। धन्न ती पीडित पल जत्तिकै नाम चलेकी गायिका हुन्। नत्र चर्चाका लागि भन्ने शब्द पनि थपिन सक्थ्यो।

कतिपय महिलावादी भन्न रुचाउनेहरुले समेत ती नाबालिग गायिकामाथि नकारात्मक टिप्पणी गर्दै उनका परिवारले दिएको संस्कारमाथि प्रश्न उठाइरहेका छन्।

सञ्जालमा उनीहरुका स्टेज कार्यक्रम रद्ध गरिएकोदेखि सबैबाट बहिष्कारमा परेका समाचाररु आइरहेका छन्। यो भनेको अपराधभन्दा आइडल ठूलो हुनु हो। आइडलले पनि अपराध गर्न सक्छन् भन्ने बुझाउन नसक्नु हो।

१३ फागुन, २०७८, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।