पलविरुद्ध किन तनहुँ पुग्यो बलात्कार जाहेरी ?

पलविरुद्ध किन तनहुँ  पुग्यो बलात्कार जाहेरी ?

काठमाडौँ : अभिनेता पल शाह काठमाडौँमा बस्छन्। उनी विरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिका कास्कीमा। तर जाहेरी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भयो। किन ? यो प्रकरणबारे जानकार प्रहरी अधिकारीका अनुसार करिब एक महिना नाबालिग बालिकाका परिवार जिल्ला प्रहरी कार्यालय कास्कीमै जाहेरी दर्ताका लागि पुगेका थिए।

प्रहरीले नाबालिग गायिकाका परिवारसहित एक घण्टा काउन्सिलिङ गरेको थियो। एसपीको कोठामा प्रहरी छलफलमा थियो भने बाहिर जाहेरी लेखिइराखिएको थियो।

प्रहरीसँग छलफल चलिरहँदा ती नाबालिक गायिकाको फोन बजेको बज्यै गरिरहेको थियो। उनी फोन उठाएर कसैसँग कुरा गरिरहेकी थिइन्। जानकार श्रोतका अनुसार जाहेरीकर्ताको दाबी अनुसारत तनहुँमा पलले एक साथीको घरमा ती नाबालिक गायिकाको बलात्कार गरेका थिए।

घटनास्थल तनहुँ भएकाले उतै अनुसन्धान हुने भएकाले कास्की प्रहरीले पहिला तनहुँमा गएर जाहेरी दर्ता गर्न सुझाव दिएको थियो। तनहुँ नजाने भए कास्कीमै जाहेरी दर्ता गर्न सकिने र कास्कीले तनहुँमा पठाउने भनेको थियो।

'परिवारले सबै कुरा भनेको थियो। तर फोन आएको आयै गरेपछि हामी एक छिनमा आउँछौँ भनेर बाहिरिए,' स्रोतले भन्यो' पछि भोलि आउँछु भनेका थिए तर आएनन्। जाहेरीमा हस्ताक्षर भएको थिएन।'

सार्वजनिक भएको अडियो अनुसार उनीहरू प्रहरी कार्यालयमाहुँदा फोन गर्नेहरू पल अनि केही पत्रकारहरू थिए। उनीहरूले जाहेरी दर्ता अगाडि भेट्न आग्रह गरेका थिए।

उनीहरूको आग्रह अनुसार ती गायिकाको परिवार र पलको समूहबिच भेट भयो। उनको बुबाले समेत पललाई भेटे। पलले गल्ती भएको भन्दै कानुन अनुसार विवाह गर्न योग्य उमेर भएपछि विवाह गर्ने वाचा गरे तर लिखित कागज गर्न मानेनन्।

विवाह नै गर्न राजी भएपछि परिवार प्रहरी कार्यालयमा नफर्किई घर गए। गायिका केही दिन पोखरामा बसेर काठमाडौँमा फर्किइन्। काठमाडौँमा फर्किएपछि माहौल आफ्नो पक्षमा आएको भन्दै पलले गायिकालाई वास्ता गर्न छाडेपछि उनले पलसँगको सम्बन्धबारे लेखेको पुरानो स्टाटसलाई कोट गरेर चाँडै वास्तविकता खोल्ने लेखेपछि पुन पल उनको सम्पर्कमा आएका थिए।

पल शाहविरुद्ध उजुरी आए अनुसन्धान गर्न तयार छौँ : कास्की प्रहरी

फेसबुक स्टाटस आएपछि पलले मेसेन्जरमा मेसेज पठाए' के भयो तिमिलाई फेरी एक्कासि? मैले हामीले सल्लाह गरे अनुसार सबै गरिराकै छु नि हैन र ?, म त यता बिजी भएर पो हो त तिमीलाई टाइम दिन नपाएको। सबै कुरा मिलाउँदै त छु नि मैले।'

ती गायिकाले 'तपाईँको फेमिली र मेरो फेमिली राखेर छिटो डिसिजन गर्न आग्रह गर्दै मेसेन्जरमा मेसेज पठाएकी थिइन्। त्यसैको प्रतिउत्तरमा पलले' भोलिसम्म सबै काम हुन्छ। मैले दुर्गेश र कृष्णलाई सबै म्यानेज गर्न भनेको छु' भनेका छन्।

तर पलले इग्नोर गर्दै गए। उनी ती गायिकासँगको सम्बन्धका कारण ड्यामेज भएको इमेज म्यानेज गर्न रियालिटी शोहरुमा सक्रिय हुन थाले। यहीबिच उनले अभिनय गरेको 'म यस्तो गीत गाउँछु-२' को प्रमोसनमा लागे।

यहीबिचमा पलको अडियो लिक भयो मिडियाबाट। समाचारको खण्डन गराउन मध्यरात पलले ती गायिकालाई एक युट्युब च्यानलमा जवर्जस्ती इन्टरभ्यु दिन लगाए।'

अभिनेता पल शाहविरुद्ध तनहुँमा दर्ता भयो बलात्कारको जाहेरी

एक वयस्क उमेरका अभिनेताले एक नाबालिगलाई विवाहको प्रलोभन देखाएर गरेको यौन शोषण सार्वजनिक भएपछि पलको आलोचना बढ्दै थियो। उनले फेसबुकमा अपिल राखेर 'आफ्ना प्रतिष्पर्धीहरुले उचालेको, अडियोमा भएको आवाजै नक्कली भएको, आफुसविरुद्ध नाबालिगलाई प्रयोग गरेको' जस्ता दाबी गरे।

ती गायिका आफुसविरुद्ध जान सक्ने भन्दै उनले आफैँसँग राखेका थिए। मङ्गलवार उनी पोखरा घर गएर फ्रेस हुने भन्दै पलको पञ्जाबाट उम्किएर पोखरा पुगेपछि घर सल्लाह अनुसार बुधवार तनहुँ गएर प्रहरीमा जाहेरी दिइन्।

११ फागुन, २०७८, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।