पल शाहविरुद्ध उजुरी आए अनुसन्धान गर्न तयार छौँ : कास्की प्रहरी

पल शाहविरुद्ध उजुरी आए अनुसन्धान गर्न तयार छौँ : कास्की प्रहरी

पोखरा : नाबालिग गायिकालाई यौन हिंसा गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध जाहेरी दिन गायिकाको परिवार जिल्ला प्रहरी कार्यालय कास्की पुगेको पुष्टि भएको छ। आफूलाई माया गर्छु र विवाहयोग्य उमेर पुगेपछि विवाह गर्ने भन्दै फकाएर यौन सम्बन्ध राखेको भन्दै गायिका र उनको परिवार करिब २५ दिन अगाडि परामर्शका लागि जिल्ला प्रहरी कार्यालयमा आएको डिएसपी सुन्दर तिवारीले उकेरासँग बताए।

उनले कास्की प्रहरीमा उजुरी नपरेको तर गायिका र उनको अभिभावक परामर्शका लागि भने आएको बताए। 'गायिका अभिभावकसहित कानुनी परामर्शका लागि कार्यालयमा आउनु भएको थियो। हामीले उहाँलाई सबै प्रक्रियाबारे जानकारी गराएका थियौँ। परामर्श लिएर जानुभएपछि उहाँहरू आउनुभएको छैन,' तिवारीले भने।

महिला तथा बालबालिकाविरुद्धको अपराधमा प्रहरीको शून्य सहनशीलताको नीति रहेको भन्दै उनले यस्ता प्रकारका घटनामा जाहेरी र पीडित परिवारको साथ महत्त्वपूर्ण हुने भन्दै पीडित परिवारका अभिभावकले चाहेमा प्रहरी अनुसन्धानका लागि सधैँ तयार रहेको उनले बताए।

'उहाँहरूलाई प्रहरीको सम्पर्कमा आइदिनुहुन हामी आग्रह गर्छौँ,' उनले भने' यस्ता घटनामा प्रहरी सधैँ संवेदनशील नै छ।'

सुटिङको क्रममा पोखरा गएको बेलामा होटलमा बस्दा अभिनेता शाहले जवर्जस्ती गर्न खोजेको र पछि प्रतिवाद गरेपछि छाडेको,पछि लागेको लाग्यै गरेर माया गर्छु,बिहे गर्छु भनेर शारीरिक सम्बन्ध बनाएपछि पछि धोका दिएको र प्रहरीमा उजुरी गर्न जाँदा परिवारहरूसाथ बसेर विवाह गर्ने वाचा गरेको नाबालिग गायिकाको अडियो सार्वजनिक भएको छ। अडियोमा गरिएको दाबी अनुसार त्यो बेलामा उनको उमेर साढे १६ मात्र थियो। नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतीमै समेत शारिरिक सम्बन्ध राख्नु बलात्कार हो।

अडियोमा उनले परिवारसाथ प्रहरी कार्यालयमा उजुरीका लागि जाँदा कार्यालयमा रहेका प्रहरी अधिकारीहरूले सबै प्रक्रियाहरू बुझाएर उजुरी दिए अनुसन्धान गर्ने भनेको तर पछि अभिनेता शाह काठमाडौँबाट २ जना पत्रकारलाई साथमा लिएर पोखरामा आएर परिवारसँग बसेर विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने भन्दै उजुरी नगर्न आग्रह गरेको बताएकी छिन्।

दोस्रो अडियोमा पल शाह, दुर्गेश थापा लगायतकाले पल र ती नाबालिग गायिकासँग छलफल गर्दा सम्बन्ध भए पनि गर्भ नबसेको र आफ्नै अर्को गर्लफ्रेन्ड समेत भएकाले समस्या हुने भन्दै शाहले माफी मागेको सुनिन्छ। उनले प्रेमी-प्रेमिकाविचको शारीरिक सम्बन्ध सामान्य हो भन्दै विवाह गर्दा आफू खुसी हुन नसक्ने बताएका छन् भने ती नाबालिग गायिकाले प्रेमिका छैन, विवाह गर्छु भनेर फकाएर रिलेसन राखेको बताएकी छिन्।

अडियो सार्वजनिक भएपछि शाहले सामाजिक सञ्जालमा लेख्दै यी सबै अफवाह भएको र अडियोमा भएको कुरा फिल्मको डायलग बोल्दाको वा नक्कली भएको हास्यास्पद दाबी गरेका छन्। अडियो सार्वजनिक हुने अघिल्लो दिनसम्म टेलिभिजन अन्तर्वार्तामा देखिएकी नाबालिग गायिका त्यसपछि सार्वजनिक भएकी छैनन्।

११ फागुन, २०७८, १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।