पल शाहविरुद्ध गैँडाकोट प्रहरीमा पनि पर्‍यो बलात्कारको जाहेरी

पल शाहविरुद्ध गैँडाकोट प्रहरीमा पनि पर्‍यो बलात्कारको जाहेरी

काठमाडौँ : अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी परेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जुन नाबालिगले पलविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् उनैले इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दर्ता गरेकी हुन्।

जाहेरीमा २०७७ चैत ७ मा गैँडाकोटको एक होटेलमा पलले आफूलाई बलात्कार गरेको दाबी गरिएको छ। म्युजिक भिडियोको सुटिङका क्रममा गैँडाकोट आएका बेलामा शाहले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

गत बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भएको जाहेरीमै गैँडाकोटको एक रिसोर्टमा बलात्कार गरेको उल्लेख थियो।

तनहुँमा दर्ता भएको जाहेरीमा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगे काजी, सम्राट् चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाका बखत बाल यौन दुरुपयोग भएको उल्लेख छ।

२०७८/०१/१४ गते साँझ ७ बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्ल गण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित पलको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था राती १२ बजेतिर निज पलले बलात्कार गरेको दाबी गरिएको थियो।

जाहेरीमा २०७७/०९/१० गते पोखरा स्थित होटेल प्राइममा र मिति २०७७/१२/०७ गते गैँडाकोट रिसोर्टमा बलात्कार गरेको दाबी गरिएको थियो। तनहुँमा परेको जाहेरीका आधारमा प्रहरीले उनलाई आइतबारै नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

१५ फागुन, २०७८, १६:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।