उकेरा कोलम

चौथो अंगमा राम भट्टराई : प्रेस काउन्सिलमा देखाइने पत्रिका बिक्रीको विवरण सबै झुटा हुन्

राम भट्टराई


तस्बिर : कृष्पा श्रेष्ठ ।

मैले पत्रिका बिक्री-वितरण (सर्कुलेसन) विभागमा काम गरेको २०४९ सालदेखि हो। त्यतिबेला भर्खर निजी क्षेत्रको दैनिक पत्रिका कान्तिपुर खुलेको थियो। सुरुवाती दिनमा कान्तिपुरले आफैं पत्रिका बिक्री गर्दैनथ्यो। मिराज भन्ने विज्ञापन एजेन्सीबाट पत्रिका बिक्री हुन्थ्यो। त्यही समयमा नै म मिराजमा काम गर्थें।

दुई/तीन महिनापछि कान्तिपुर आफैंले पत्रिका बिक्रीको लागि सर्कुलेसन विभाग खडा गर्‍यो। त्यसमा काम गर्ने भएँ म। त्यतिबेलाका लगानीकर्ता श्याम गोयन्काको एक प्रतिनिधि र म थियौं। पछि धेरैमा काम गरियो। सबै दैनिक पत्रिकाले आफ्नै सर्कुलेसन विभाग खडा गरे। पत्रिका बिक्री गर्न विभिन्न योजनाहरु ल्याइन्थ्यो।

स्किम दिँदै, ग्राहक बनाउँदै
देशमा बहुदल आएपछि पत्रिका खुल्न स्वतन्त्र भएका थिए। धेरै पत्रिका निस्कने क्रममा थिए। साप्ताहिक पत्रिकाको आफ्नै छाप थियो। ती पत्रिकाका आफ्नै ग्राहक हुन्थे। तर पनि पत्रिका भनेको गोरखापत्र हो भन्ने छाप नेपाली समाजमा परेको थियो। हामीले कान्तिपुरमा काम गर्दा पत्रिका निस्कनुअघि नै ग्राहक बनाउँदै हिँडेका थियौं।

पत्रिका भनेकै गोरखापत्र बुझिने समयमा ग्राहक बनाउनु सहज काम थिएन। मान्छेहरुलाई कन्भिन्स गराउन गोरखापत्रले सरकारको गुणगान मात्र गाउँछ। निजी पत्रिकाले सरकारको विरोध पनि गर्छ, कमीकमजोरी पनि औंल्याउँछ भन्दै ग्राहक बनाउँथ्यौँ। यो भनाइलाई धेरैले पत्याए पनि। सधैं सरकारको गुणगान मात्र पढेर दिक्क भएकाहरु निजी क्षेत्रको पत्रिका आउँदैछ भनेपछि खुसी पनि देखिन्थे।

वार्षिक ग्राहक बनाउँदा हामीले हरेक ग्राहकलाई डिस एन्टेना दिन्थ्यौँ। त्यसले पत्रिकाको बजारमा निकै काम पनि गर्‍यो। झन्डै तीस वर्ष सर्कुलेसनमा काम गर्दा स्किमहरु बदलिए। काम गर्ने तरिका धेरै बदलियो।

पत्रिका बेच्नेहरु तीनथरी हुन्थे। खुद्रा व्यापारी, हकर, स्टेट सेलहरु जसले पत्रिकाको हेडलाइन पढेर चोकचोकमा बसेर बेच्थे। त्यो समयमा बिहान ९ बजेसम्म र बेलुकी ५ बजेपछि पत्रिका बिक्री हुन्थ्यो।

पत्रिका सबैभन्दा धेरै बिक्री हुने न्युरोडको पिपलबोट नै थियो। हाम्रो खटाइ पनि त्यही अनुसार हुन्थ्यो। तर एकै ठाउँबाट पत्रिका बिक्री गर्दा पाठकसम्म पुग्न सकिएन। गाली नै खान थालियो। एक उदाहरण– एउटा पत्रिकामा काम गर्दा एक जना ग्राहक बुढानीलकण्ठको हुनुहुन्थ्यो। पत्रिका नपुगेको १० दिन भएछ। मलाई खोज्दै आउनुभएछ कुट्छु भनेर। धन्न म त्यो दिनमा अफिस थिइनँ र जोगिएँ। अफिसका साथीहरुले सम्झाएर पठाउनु भएछ।  

पिपलबोटबाट मात्रै बिक्री हुने पत्रिकाहरु पछि उपत्यकाका २२ स्थानमा झार्न थालियो। पत्रिका स्किमले भन्दा पनि समाचारले नै हो बिक्री हुने तर पनि ग्राहक बनाउन स्किमले धेरै राम्रो काम गर्थ्यो। स्किम दिँदा समय अनुसार दिइन्थ्यो। आधा दर्जन पत्रिकामा काम गरियो। डिस एन्टेनाबाट सुरु भएको स्किम घरसम्म पुग्यो।

उपत्यका बाहिर सार्वजनिक यातायात र हवाइजहाजबाट पत्रिका जान्थ्यो। काममा इमानदारिता थियो त्यो बेलामा। मेसिन बिग्रेर पत्रिका ढिलो निस्कँदा हामीले अघिल्लो दिनको पत्रिका पनि पुर्‍याइदिन्थ्यौं। गोरखापत्रभन्दा सर्भिसमा हामी अघि थियौं।

राजाका क्षेत्रीय भ्रमणहरु भइरहन्थे। त्यहाँ पत्रिकाका स्टलहरु राखिन्थ्यो। त्यस्ता स्टलहरु राखेपछि मैले के थाहा पाएँ भने, काठमाडौँमा हजार ग्राहक बनाउनुभन्दा कुनै जिल्लामा १० ग्राहक बनाउनु गाह्रो काम हो। त्यस कारण शैक्षिक स्तर, त्यहाँको आर्थिक अवस्था हेरेर जिल्लामा ग्राहक बनाउनेलाई अलि धेरै कमिसन दिनुपर्छ। यो नियम लागू भयो पनि।

पत्रिकाहरुको क्षेत्रीय कार्यालय खुल्न थाले। क्षेत्रीय कार्यालय खोल्नुका दुई प्रमुख कारण थिए, एक पत्रिका बिक्री गराउनु र अर्को आफ्नालाई जागिर लगाउनु। बाहिर भन्दा विकेन्द्रीकरण गरेको भनिन्थ्यो। तर समाचारको हिसाबले भने विकेन्द्रीकरण भएका थिएनन्। अहिलेसम्म पनि भएका छैनन्।

स्थानीय समाचारलाई पहिलेदेखि उति महत्व दिइएन। तर विभिन्न स्थानमा प्रेस खुलेपछि त्यहीँको समाचार र राष्ट्रिय स्तरका समाचार मिलाएर दिनुपर्थ्यो। जसले गर्दा पत्रिकाका कार्यालयलाई नै सहयोग पुग्थ्यो। तर लगानीकर्ताहरुले यतातर्फ ध्यान दिएनन्।

पत्रिका बिक्रीको लागि अन्य पत्रिकाको तुलनामा मूल्य घटायौं पनि। सबैले आफ्नै कम्पनी हो जसरी काम गर्थे। पत्रिका घर-घर पुर्‍याउने साइकल ब्वाइको पिकनिक परेको बेला लगानीकर्ताहरु समेत जान्थे। कामदारले समेत आफ्नै कम्पनी ठान्ने वातावरण थियो।

स्किममा जे बजारमा नयाँ छ सोही दिइन्थ्यो। रेडियोदेखि प्रेसर नाप्ने मेसिनसम्म प्रदान गरियो। एउटा पत्रिकाले बम्पर उपहारमा घर ल्याएको थियो। ४५ हजार ग्राहक बनेपछि एक जनालाई दिने। त्यो स्किम आएको ९ महिनामा १५ हजार ग्राहक पनि बनेका थिएनन्। त्यहाँ म गएपछि साइकल ब्वाइहरु र ग्राहक बनाउनेको समन्वयमा ४५ हजार ग्राहक बनाइयो पनि।

पत्रिका बेच्न अनेक ‘टेक्निक’
समाचार लेख्नेले लेखेपछि पाठकसम्म पुर्‍याउने जिम्मा सर्कुलेसनको भयो। प्रकाशन गरेर र लेखेर मात्रै हुँदैन, पाठक समक्ष पत्रकारलाई चिनाउने त सर्कुलेसन नै हो। हामीले राम्रो गरी पत्रिका झुन्ड्याउने पसललाई पुरस्कृत पनि गर्‍यौं। क्याची हेडलाइन छ भने पत्रिका बेच्न सजिलो पनि हुन्थ्यो।

समाचारको हेडलाइन, विचार पृष्ठका लेखकहरुको नामले पनि पत्रिका बिक्री हुन्थ्यो। किशोर नेपाल नारायण ढकाल, खगेन्द्र संग्रौलाहरुको लेख बढी रुचाउँथे पाठकले।

एउटा ठूलो मिडियासँग छुट्टिएको पत्रिकाबाट पाठकले धेरै आशा गरेका थिए। त्यस कम्पनीका लगानीकर्ता, त्यहाँ आबद्ध पत्रकारहरुको छाप नेपाली समाजमा राम्रो परेको थियो। त्यो बेला हामीले रु. २ सय २५ मा तीन महिनाको लागि ग्राहक बनायौं। कुनै-कुनै दिन त १५ सयसम्म पनि ग्राहक बने। हामीले तीन महिनामा ४५ हजार ग्राहक बनायौं।

कामभन्दा चाकडी गर्ने हावी भए
सुरुवाती चरणमा पत्रिकामा काम गर्ने सबै कर्मचारीले एकअर्कालाई आदर गर्थे। साहुहरुले पनि जुनसुकै तहका कर्मचारीलाई पनि समान व्यवहार गर्थे। पछि-पछि साइकल ब्वाइहरुलाई हेप्न थालियो। पहिले त उनीहरुको पिकनिकमा सँगै बसेर खान्थे पनि। स्थाई पनि गरिएको थियो। जसले गर्दा काममा उत्प्रेरण जाग्थ्यो। तर पछि व्यवहार फेरियो। साहुसँग कर्मचारीको प्रत्यक्ष भेटघाट हुन छाड्यो।

कर्पोरेट मिटिङ भन्न थाले। ती मिटिङमा विभागका हाकिमहरु जाने भए। हाकिमहरुले आफ्नो पत्रिकाको सत्य अवस्था भन्दा गाली खाने भए। उनीहरुको जागिर धरापमा पर्ने भयो। मालिक जेमा खुसी हुन्छन्, रिझाउन त्यस्तै व्यवहार गर्न थाले। जसले गर्दा पत्रिकाको बजारले गति लिन सकेन।

कम्पनीको स्तर थाहा हुने, विज्ञापन दिने आधार पनि पत्रिका बिक्री नै हो। तर साहुहरुले यसलाई महत्व दिएनन्। सायद हामीले पनि बुझाउन सकेनौँ होला। उहाँहरुले ७७ जिल्लामा पत्रिका पुग्छ भन्नुहुन्छ तर पुग्दैन। राष्ट्रिय स्तरकै पत्रिका हरेक जिल्लामा पुग्दैनन् अझै पनि।

समाचार लेख्ने अधिकार हो भने समाचार सबैले पढ्न पाउनु पनि अधिकार हो। राष्ट्रले चौथो अंग मानेपछि सोही अनुसार काम हुनुपर्ने हो। तर भएको देखिँदैन। यसो भन्दैगर्दा पत्रिकाका लगानीकर्तालाई मात्र दोष दिएको होइन। विज्ञापन वितरणमा पनि गडबड गरिएको छ। सरकारी कर्मचारीले विज्ञापन दिँदा कमिसन लिने भए। प्रोफेसनालिजम भएन, विज्ञापन वितरण गर्दा। विज्ञापन लिँदा सरकारको तलब खाएका कर्मचारीलाई कमिसन दिनुपर्छ। मिडियाको प्रमुख आम्दानी भनेको २० प्रतिशत पत्रिका बिक्री र बाँकी विज्ञापन नै हो तर विज्ञापनमा स्वस्थ प्रतिस्पर्धा नहुँदा पत्रिकाहरु डुबेका छन्।

अनलाइनले गर्दा पत्रिका बिक्री घटेको होइन
प्रविधिले धेरै फड्को मार्‍यो। हातहातमा स्मार्ट फोन भए। समाचार थाहा पाउन पत्रिका कुरिराख्न परेन। हातहातमा समाचारको पहुँछ छ अहिले। तर सबैले अनलाइन नै पढ्छन् भन्ने छैन।

विश्वमा टप टेन पत्रिकाहरु कुनकुन देशमा निस्कन्छ भनेर मैले गुगलमा खोजेको थिएँ। जापान, भारत र चीन रहेछ। हो, उनीहरुको जनसंख्या धेरै छ तर प्रविधि पनि त हाम्रोमा भन्दा राम्रो छ नि। तर पनि त्यहाँ पत्रिका पढिन्छन्। हाम्रोमा किन पढिँदैन त?

महामारी र देशलाई संकट परेको बेला समाचारहरु अझ बढी दिनुपर्छ। हतासिएका व्यक्तिहरुले सूचना थाहा पाउन खोज्छन् तर हाम्रा ठूला मिडियाले त पत्रिका बन्दै गरे। मिडियालाई कसरी राज्यको जिम्मेवार निकाय मान्ने? अप्ठ्यारो परेको बेला जसोतसो चल्नुपर्ने हैन र?

धेरैले अनलाइनले गर्दा पत्रिका बिक्री नभएको मान्छन् तर यो उम्किने बाटो हो। अनलाइनमा आउने समाचार र अनलाइनले सर्कुलेसन गर्ने तरिकाभन्दा फरक तरिकाले समाचार बनाउने र बिक्री गर्ने गरौँ न किन चल्दैनन् पत्रिका? समाचार डेप्थ छैनन् मैले पाठकको हिसाबले भन्दा। अर्को बिक्री राम्रो छैन।

पत्रिका होइन, स्किम बिक्री
समाचारमा प्रोफेसनालिजम हरायो। नेपाली मिडिया स्वस्थ प्रतिस्पर्धा गर्नभन्दा पनि रिसले खुलेका हुन्। एउटा पत्रिकाले आफू विरुद्ध लेख्यो भने अर्काे पत्रिका खुल्ने पनि भए। अहिले अनलाइन पनि प्रोफेसनल तरिकाले खुलेका छैनन्। माध्यम बनाएका छन् मिडियालाई। मिडियाको शक्ति हुन्छ। निरन्तर लेखेर छाप पार्न सक्यो भने  पाठकले विश्वास गर्छन्। विज्ञापनकर्ताले विज्ञापन नदिएर सुखै पाउँदैन।

उदारहणको लागि ठूला व्यापारिक घरानाका एक व्यक्तिले सबैभन्दा ठूलो पत्रिकालाई विज्ञापन दिँदैनथे तर पत्रिकाको बिक्री र जनतामा पारेको छापले पुनः त्यही विज्ञापन दिन पर्‍यो। अर्को त्यस्तै ठूलो मिडियालाई पनि ठूलो कम्पनीले विज्ञापन दिएको थिएन तर नदिई सुखै पाएन। बिक्रीले पनि प्रभाव पार्छ विज्ञापनमा।

समाचार पढ्नेले मात्र किन्ने होइनन्, नपढ्नेलाई पनि पढाउने काम हो सर्कुलेसनको। तर अहिले पत्रिका बिक्री भएको छैन, स्किम बिक्री भइरहेको छ। यस्तो हुनुमा पत्रिकाका साहुदेखि सम्पूर्ण टिम नै दोषी छन्।

सर्कुलेसनमा हुने खर्च होइन, लगानी हो। तर खर्च भनेर बुझियो जसले गर्दा घाटा भइरहेको छ। कुनै पत्रिकाले खर्चै गरेर भए पनि कुनै हिमाली क्षेत्रमा पत्रिका पुर्‍याउँछ भने त्यहाँबाट सरकारी विज्ञापन ल्याउन सहज हुन्छ। तर यहाँ त अगाडिको भाग मात्रै हेरिन्छ, किन पठाउने त्यो ठाउँमा पत्रिका भनिन्छ।

मिडिया साहुले हनुमान खोज्न थाले। आइस्यो, गइस्यो भनेर प्रशंसा गाइदिनुपर्ने। कर्मचारीले पनि साहुले खोजे अनुसार चाकडी गर्ने भए। साहुहरु चाकडीमा रमाएर बसे, पत्रिका बिक्री घटेको घट्यै भयो। म दावीका साथ भन्छु, प्रेस काउन्सिलमा देखाइने पत्रिका बिक्रीको सबै विवरण झुटा हुन्। कोरोनाअघिसम्म ३ लाख पत्रिका छापिन्थे। साप्ताहिक समेत गरेर भाग लगाए संख्या आइहाल्छ।

अनलाइनमा पनि सर्कुलेसन विभाग हुनुपर्छ
अनलाइनमा बजार व्यवस्थापक, पत्रकार र प्रशासन रहेका हुन्छन्। सर्कुलेसन छैन। झट्ट सुन्दा सर्कुलेसन किन चाहियो भन्ने पनि लाग्न सक्छ तर यसो होइन। समाचार लेखेर मात्रै कसैले पढ्दैन। समाचार पढाउने पनि हो। पढे पढ, नपढे नपढ भनेर हुँदैन। समाचार पाठकसम्म पुर्‍याउने अनेक टेक्निक हुन्छन्। उदाहरणको लागि कुनै इन्टरनेट सुविधा दिने कम्पनीसँग सम्झौता गरेर कुनै एक अनलाइन केही समय चलाउँदा एक घन्टाको इन्टरनेट फ्री गर्न पनि सकिन्छ।  

मैले सर्कुलेसन विभाग किन चाहिन्छ भनेको भने, केही समयअघि एक अनलाइनले  समाचार किनेर पढून् पाठकले भन्ने तरिका अपनाउन थालेको थियो तर त्यो सफल भएन। बजारमा कसरी समाचार पाठक समक्ष पुर्‍याउने जानेनन् उनीहरुले।

कुनै न्युज एप बनाएर आठ÷दस वटा अनलाइनसँग सम्झौता गरेर विभिन्न शीर्षकका समाचारहरु राख्न पनि सकिन्छ। हाम्रो पात्रो जस्तो भन्न खाजेको हैन। एउटा एप ओपन गर्ने वित्तिक्कै कुन अनलाइन पढ्ने पनि अप्सन होस्। सामाजिक सञ्जालको भरमा समाचार पढिन्छन् तर यो दीर्घकालीन उपाय होइन। छुट्टै एप हुन जरुरी छ।

सँगै पत्रिका बिक्री पनि बढाउन सकिन्छ। त्यसमा साहु र मिडिया व्यवस्थापकले गम्भीर भएर काम गर्नैपर्छ।

चौथो अंगका पुराना श्रृंखला

(कान्तिपुर, नयाँ सडक, नयाँ पत्रिका, नागरिक दैनिक तथा अन्नपूर्ण पोस्टका पूर्व सर्कुलेसन विभाग प्रमुख रहेका भट्टराई अहिले न्युज हबका संस्थापक छन्। उनीसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : जब डेनमार्कको टोली नै नेपाल आयो

कुनै केसको अनुसन्धानमा आन्तरिक निर्णयको आधारमा पनि हुन्छ। अनि देशअनुसार अनुसन्धान पद्धतीका प्रक्रियाहरू अनौठा पनि हुन्छन्। कुनै- कुनै प्रक्रिया देख्दा त हामी नै छक्क पर्छौँ।....

चौथो अङ्गमा प्रकृति अधिकारी : शिक्षा पत्रकारिता लेनदेनमा फस्यो, पत्रकार ‘हण्डी’  खाने भए

शिक्षा डाइरेक्टरहरू कार्यक्रममा जान्थे। शिक्षा डाइरेक्टरले नै प्रधानमन्त्रीको शुभकामना सन्देश पढेर सुनाउँथे। भोलिपल्ट श्री ३ सरकारको 'स्पिच' भनेर गोरखापत्रमा छापिन्थ्यो। शिक्षा डाइरेक्टर र प्रधानाध्यापकको स्पिच....

मोहन जसले कीर्तिपुरका तीन शहीदकाे शव लुकाए

जङ्गबहादुरलाई यही चित्त बुझेन। माछा सुकाउनाले आफ्नो दरबारमा ‘झिँगा’ आएको भन्दै ती पुजारीहरूको बस्ती नै स्थानान्तरण गरिदिए। विष्णुमतीको किनारमा पठाए। देउला पुजारीहरूको थातथलो राणाको भयो।....

मिडियाकर्मी सरिताश्री ज्ञवालीको प्रसव पीडा र खुसी : पहिलोपालि लात्ती हानेको अनुभव गर्नै पाइन 

मिडियाकर्मीको यात्रा सुरु गर्दै उनले नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम ‘म्युजिक प्लस’मा काम गर्न थालिन्। उनको परिवारले मिडिया क्षेत्र त्यति रुचाएको थिएन। परिवारले अमेरिका पढ्न जाने....

१९ हजार बालबालिका बेहोस बनाउने डाक्टर

तर नआत्तिनुस्, यो कुनै गलत काम होइन। उनी एनेस्थेसियोलोजिष्ट हुन्। अर्थात् चिकित्सा विज्ञानको यस्तो विधा जसले बिरामीलाई बेहोस बनाउने काम गर्छ।  हुन त चिकित्सकले बेहोसीको....