अमेरिकी नागरिकता छाड्नु अगाडि आबुधावी गएका रविले कुन राहदानी प्रयोग गरे?

अमेरिकी नागरिकता छाड्नु अगाडि आबुधावी गएका रविले कुन राहदानी प्रयोग गरे?

काठमाडौं : नागरिकता र राहदानीबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको मुद्दाको लिखित जवाफमा गृहमन्त्री रवि लामिछानेले आफूसँग अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी लिएको स्वीकार गरे। उनले सन् २०१५ मा नेपाली राहदानी लिएको स्वीकार गर्दै लिखित जवाफमा' राहदानी प्रयोग नै नगरेको' दाबी गरेका थिए।

उनले लिखित जवाफमा खुलाए अनुसार २०१८ मे १८ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकको हक सरेन्डर गरेका थिए।

त्यो भन्दा अगाडि नै उनी युएई गएका थिए एक नेपाली चेलीबारे रिपोर्टिङ गर्न।

उनले न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासँग आबुधावीबाटै लाइभ प्रसारण गरेका थिए २०१७ डिसेम्बर ५ मा।

त्यो बेलामा उनी अमेरिकी नागरिकै थिए। गोरखाकी अष्टमी गुरुङले आबुधावीमा आत्महत्या गरेपछि उनी रिपोर्टिङ गर्न आवुधावी पुगेका थिए।

तत्कालीन समयमा उनको यात्राबारे जानकार स्रोतले आवुधावी जाँदा उनले नेपाली राहदानी प्रयोग गरेका थिए। उनी सो समयमा काठमाडौँ विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्दै नेपाली नागरिकको रूपमा आवुधावी गएका थिए। तर अध्यागमन विभागसँग यसबारे जानकारी माग्दा जानकारी पाउन सकिएन।

यो पनि : UKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

अमेरिकी नागरिकको हक सरेन्डर गरेपछि उनी सन् २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया गएका थिए। यी दुवै देशमा उनी जाँदा नेपाली नागरिकको रूपमा सन् २०१५ मै निकालेको राहदानी प्रयोग गरेको प्रमाण उनकै फेसबुकमा उपलब्ध छ।

उनी सन् २०१९ जुन १ मा अस्ट्रेलियामा नेपाली विध्यार्थीहरु लैजाने कन्सल्टेन्सीको स्पोन्सर्डमा अस्ट्रेलिया गएका थिए।

अष्ट्रेलियाजाँदा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूसँगको अन्तर्क्रियामा 'रवि दाइ ट्रेनको भाडा महँगो भयो' भन्दै नेपाली विद्यार्थीले रवि लामिछानेसँग गरेको गुनासो भाइरल भएको थियो।

भिजिट भिसामा अमेरिका गएर उतै बसेका लामिछानेले सन् २०१४ फेब्रुअरी २१ मा अमेरिकी नागरिकता लिएका थिए। उनी सन् २०१५ मा अमेरिकी नागरिककै हैसियतमा नातेदार भिसामा नेपाल आएर अमेरिका जानु अगाडि २०५० फागुन १० मा जिल्ला प्रशासन काठमाडौँबाट निकालेको नागरिकता प्रयोग गर्दै आएको उनले नै स्वीकार गरिसकेका छन्।

यो पनि : रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट

लिखित जवाफबाटै उनी सन् २०१४ देखि सन् २०१८ सम्म नेपालको कानुनले छुट नदिएको दुई देशको नागरिकको हैसियतमा थिए।

नागरिकता मात्रै हैन सन् २०१४ मै उनले अमेरिकी राहदानी पाइसक्दा समेत उनले सन् २०१५ मा नेपाली राहदानी निकालेका थिए। सन् २०१५ मा नेपाली राहदानी निकालेको सर्वोच्चमा उनले वारेसमार्फत बुझाएको लिखित जवाफमा स्वीकार गरेका छन्।

उनको नागरिकता र राहदानीबारे सबैंधानिक र कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा परेको रिटको सुनुवाइ माघ ११ गते तोकिएको छ। सर्वोच्चले पेशी सार्न नमिल्ने गरी पेशी तोकेको हो।

यस अगाडि रिटकर्ताको माग अनुसार संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन। उसले पुस ६ को पहिलो पेशीमा कारण देखाऊँ आदेश जारी गरेको थियो।

पुस २२ को दोस्रो सुनुवाइमा अन्तरिम आदेश नदिई सात दिनभित्र अध्यागमन विभाग, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र निर्वाचन आयोगबाट रवि सम्बन्धित सक्कल फाइल मगाउने, माघ ११ भित्र दुवै पक्षका वकिलले लिखित बहस नोट पेस गर्न र पेशी नसर्ने गरी सुनुवाइ हुने आदेश जारी गरेको थियो।

रवि लामिछाने नागरिकता सम्बन्धी समाचार

३ माघ, २०७९, १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।