नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

काठमाडौं : नेपाली नागरिकको रूपमा चितवन-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका रवी लामिछानेको कानुनी हैसियत गैर कानुनी देखिएको छ। 

उनले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानुनी प्रक्रिया सुरु गरे पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पुरा नगरेकाले नेपालको कानुनले उनलाई नेपाली नागरिक भनेर चिन्दैन। 

नियमावली अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता ब्युँतने देखिन्छ।

उकेराले प्राप्त गरेको प्रमाणले उनले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकको हैसियत खारेज गर्न निवेदन दिएको र त्यसैको आधारमा आफ्नो नेपाली नागरिकता ब्युँताउन अध्यागमन विभागमा निवेदन दिएकोसम्म देखिन्छ।

ऐन अनुसार उनले सो निवेदन दिएपछि विदेशी नागरिकको रुपमा खारेज भएको २०५० मा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बाट निकालेको नागरिकता ब्युँतिने प्रक्रिया सुरु भयो। तर उनले कानुन अनुसार पुरा गर्नुपर्ने प्रक्रिया भने पुरा गरेको देखिएन।

किनकी निवेदनको आधारमा मात्र खारेज भएको नागरिकता ब्युतदैन।  नागरिकता नियमावली २०६३ अनुसार खारेज भएको नागरिकता ब्युँताउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नयाँ प्रमाण पत्र निकाल्नुपर्थ्यो। तर उनले नयाँ प्रमाण पत्र निकालेको रेकर्ड कतै भेटिदैन।

आफुमाथि लाग्ने आरोप सप्रमाण खण्डन गर्ने रवीले समेत बुधबार दिउसँसम्म आफुले पाएको नागरिकताको प्रमाण पत्र सार्वजनिक गर्न सकेका छैनन्।

अमेरिकी नागरिकता त्यागेर खारेज भइसकेको नेपाली नागरिकता ब्युँताउने कानुनी प्रक्रिया नै पुरा नगरी उनले पुरानै नागरिकताको प्रमाण पत्र प्रयोग गरिरहेको  निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको पुरानै नागरिकताको प्रतिलिपिले समेत पुष्टि गर्छ।

कानुन सम्बन्धी जानकार अधिवक्ता एसके तिम्सिना नागरिकता सम्बन्धी ऐन २०६३  र नागरिकता नियमावली अनुसारको कानुनी प्रक्रिया पुरा गरेर खारेज भइसकेको नागरिकताको प्रमाण पत्र नब्युँताएसम्म सो व्यक्ति अनागरिक हुने बताए।

'नागरिकता ऐन २०६३ अनुसार कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपाली नागरिक स्वतः खारेज हुने प्रावधान छ', उनले भने त्यही ऐनमा विदेशी नागरिकता त्यागेर सोको जानकारी सम्बन्धित सरकारी कार्यालयमा गराएपछि नागरिकता ब्युँतने प्रक्रिया सुरु हुने र नागरिकता नियमावली अनुसार त्यसका लागि निवेदन दिएसँगै नागरिकता पाउन फारम भरेर नयाँ प्रमाण पत्र जारी भएपछि मात्रै खारेज भएको नागरिकता ब्युँतने कानुनी प्रावधान छ।'

रवीले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दा पेश गरेको नागरिकताको प्रतिलिपी।

अर्का अधिवक्ता सरोज अधिकारी पनि यदी विदेशी नागरिकता त्यागेर त्यसको जानकारी सम्बन्धित सरकारी कार्यालयमा गराएर नयाँ नागरिकता प्रमाण पत्र नलिए नागरिकता ब्युँतन नसक्ने बताउँछन्।

UKERAA EXCLUSIVE : नक्कली भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

'खारेज भएको नागरिकता ब्युँताउन नागरिकता ऐन र नागरिकता नियमावली अनुसारको सबै प्रक्रिया पुरा गर्नै पर्छ। त्यो प्रक्रिया पुरा नगरी कसैले खारेज भइसकेको प्रमाण पत्र प्रयोग गरेर कुनै गतिविधि गर्छ भने ती सबै गतिविधि गैर कानुनी हुन्छ' उनले भने।

अधिकारीको तर्क अनुसार पनि उनी बैध नेपाली नागरिक देखिएनन्। 

रवीले अमेरिका बसाइमा अमेरिकी नागरिकको कानुनी हैसियत लिएको उनले नै स्वीकार गरिसकेको विषय हो। सोही अनुसार उनले चार वर्ष अगाडि मात्र अमेरिकी नागरिकता त्यागेको पनि उनैले स्वीकार गरिसकेका छन्। उनले अध्यागमनमा बुझाएको पत्रले समेत उनी अमेरिकी नागरिक भएको पुष्टी हुन्छ।

नेपालमा दोहोरो नागरिकता लिनु गैर कानुनी भए पनि टेलिभिजन सञ्चालकको रुपमा उनले पाएको समर्थकको आडमा उनी कारबाही प्रक्रियाबाट जोगिए। तर नागरिकता ब्युँताउन अपनाउनुपर्ने कानुनी प्रावधान पुरा नगर्दा उनी निर्वाचनको मुखैमा संकटमा परेका छन्।

उनले आफ्नै कार्यक्रममा अमेरिकी नागरिकता त्यागेको प्रमाण पेश गर्दै ढाका टोपी लगाएको अनी ख्वाउटे अनुहार भएको नेपाली नागरिकता पाएको उल्लेख गरेका छन्। जुन नागरिकताको प्रमाण पत्र नयाँ हैन उही २०५० सालमा जारी भएको हो। उनको पुरानो नागरिकता उकेराले मंगलबार मध्यरात सार्वजनिक गरिसकेको छ।

नागरिकता खारेजीपछि पून पाउनसक्नेबारे नागरिकता नियमावली-२०६३ मा रहेको

उनले नागरिकता विवाद सम्बन्धमा बुधवार गरेको फेसबुक लाइभमा नागरिकताको नयाँ प्रमाण पत्र लिएकोबारे केही नबोली अदालतले नै निरूपण गरिसकेको विषय भएको दाबी गरे। 

उनले अदालतबाट नागरिकता सम्बन्धी समेत विवेचना भएर सेटल भइसकेको दाबी गरे पनि उनी विरुद्ध कुनै अदालतमा नागरिकता सम्बन्धी मुद्दा परेको खुलेको छैन। उनी एक पटक आफ्नै सहकर्मी सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेर अदालतबाट सफाइ पाएका थिए।

न्यायाधीश हेमन्त रावलले गरेको फैसलामा उनले आत्महत्या दुरुत्साहन गरेको हो या हैन भन्ने विवेचना मात्र गरिएको छ। उनले फेसबुकमा अदालतमा विवेचना भएको दाबी गरेको नागरिकताको प्रसङ्ग फैसलाभरि कतै उल्लेखै छैन। उनले पनि कुन अदालतबाट के विषयमा यो टुंगिएको हो खुलाउन सकेका छैनन्। यसले उनको दाबी सत्य देखाउँदैन। 

जिल्ला प्रशासनमा फाइलै छैन

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा लामिछानेको नागरिकता सम्बन्धी कुनै फाइल फेला नपरेको स्रोतले उकेरालाई जानकारी दियो।गृह मन्त्रालयमा रहने नागरिकता सम्बन्धी विवरणमा नेपालको कुनै पनि जिल्ला प्रशासन कार्यालयबाट उनले खारेज भइसकेको नागरिकता ब्युँताएर नयाँ प्रमाण पत्र लिएको रेकर्ड फेला परेको छैन। 

नागरिकता ऐनमा रहेको प्रावधान।

उनको नाममा २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागरिकताको कानुनी अवस्था खारेजै छ गृहको रेकर्डमा पनि।

अब के हुन्छ चितवनको उम्मेदवारी ?

यदि लामिछानेले नागरिकता नियमावली अनुसारको प्रावधान पुरा गरेर नागरिकताको नयाँ प्रमाण पत्र लिएको प्रमाण पेस नगरे उनको राजनीतिक यात्रा जोखिममा देखिन्छ। 

नेपालको कानुन अनुसार नेपाली नागरिकता नरहेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन्। तर यसको छिनोफानो गर्न निर्वाचन कार्यालयबाट उनले सात दिनको समय पाउनेछन्। 

यो बिचमा चितवन २ को निर्वाचन प्रक्रिया स्थगित नभए मतदान भइसक्ने छ। तर यस बिचमा उनले अमेरिकी नागरिकता त्यागेपछि नागरिकता ऐन र नियमावली अनुसारको प्रावधान पुरा गरेर नयाँ प्रमाण पत्र लिएको प्रमाणित नभएमा उनी सांसदमा निर्वाचित भए पनि उनको पद खारेज भएर पून निर्वाचन हुनसक्छ। 

निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन र उम्मेदवार सम्बन्धी कुनै विवाद आए आयोगले नभई संबैधानिक इजलासले टुंग्याउने संबैधानिक प्रावधान रहेको छ।

३० कात्तिक, २०७९, ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।