रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्‍यो, अब अदालत जान्छु'

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्‍यो, अब अदालत जान्छु'

रवि लामिछानेको नागरिकता अवैध भन्ने मिडियाबाट थाहा पाएको हुँ। नेपाली नागरिक नभई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नपाउने कानुनी प्रावधानबारे म जानकार छु। यदि उनको नागरिकता नै अवैध हो भने उनी कसरी उम्मेदवार बन्न सक्छन्? त्यसैले म कानुनी प्रक्रियामा जाने निर्णयमा पुगे।

पहिला गृह मन्त्रालयमा उजुरी दिने विचार गरेको थिए। यसबारे निर्वाचन आयोगले हेरिरहेकाले मैले केही समय कुरेँ। तर आयोगले यसलाई ढिसमिस पारिदियो। के निर्णय भएको हो सार्वजनिक गरेन। यो भनेको नागरिकको अधिकारको हनन हो।

अनि मैले मङ्सिर ६ गते गृह मन्त्रालयको गुनासो शाखामा उजुरी दिएँ। तर दर्ता भएन। दर्ता ९ गते मात्रै भयो। लामो प्रक्रिया लगाइदिए मन्त्रालयका अधिकारीले दर्ता गर्न। यसैबिच मैले गृह सचिवलाई पनि भेटेँ। सचिवले कानुन हेरेर अघि बढ्छौँ भन्नुभयो।

अहिले नागरिकता शाखामा त्यो निवेदन पुगेको छ आवश्यक छानबिन गृहले गर्ला। उता गृहको प्रक्रिया छँदै छ। दोहोरो नागरिकता वैध हो कि अवैध हो?, खारेज भएको नागरिकता ब्युँतनेबारे नागरिकता नियमावली र निर्देशिकामा उल्लेखित कानुनी प्रक्रिया पुरा नगरे पनि पुरानै नागरिकता वैध हुन्छ कि हुन्न? यदि वैध हुने भए ठिकै छ। अवैध हुने हो भने अवैध नागरिकता प्रयोग गरेर कुनै व्यक्तिले कानुनी हक उपभोग गरिरहेको छ भने उसलाई के हुन्छ?

कोही दोहोरो नागरिक बनेर आफ्नो पहिचान लुकाएर नेपालमा आएर नेपाली हुँ भन्दै पुरानो नागरिकताको आधारमा राहदानी बनाउने लगायतका गतिविधि गर्छ भने उसलाई कानुन अनुसार सजाय हुन्छ कि हुन्न?

यी प्रश्न अदालतबाटै निरूपण भयो भने भोलिका दिनमा नजिर बस्ने थियो। त्यसैले गृहको प्रक्रियासँगै म यो मुद्दा बोकेर सर्वोच्च अदालत जाने तयारीमा छु।

यो कुनै व्यक्ति केन्द्रित कानुनी प्रक्रिया र मुद्दा हैन। यो नेपाली नागरिकले मात्र उपभोग गर्न पाउने कानुनी अधिकार गैर नेपालीले पनि प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने मूल प्रश्न हो? सामान्य नागरिकको हकमा पनि यो आकर्षित हुन्छ नै।

अहिले जो व्यक्ति विरुद्ध प्रश्न उठेको छ उनी सामान्य नागरिक मात्र रहेनन् नेपालको कानुन बनाउने प्रतिनिधि सभा सदस्य भइसके। उनले राजनीतिक दल दर्ता गरेर सभापति भएका छन्। नागरिकताको सवाललाई राष्ट्रवादी नेपालीले अनदेखा गर्न सक्दैनन्।

शक्तिमा पुगेपछि आफ्ना कमजोरी र अपराध ढाकछोप  गर्नाले नै नेपालको अवस्था यस्तो भएको हो। कसैले चुनाव जित्दैमा उसको गैर कानुनी कामलाई ढाकछोप गर्न मिल्दैन, सकिँदैन। यसबारे म अन्तिमसम्म कानुनी लडाई लड्ने तयारीमा छु। यदि कसैले दोहोरो नागरिकता लिएको छ अनि उसले नेपाली नागरिकको रूपमा समेत कानुनी गतिविधि गरेको छ भने के हुन्छ यसबारे कानुनी नजिर बसोस् भन्ने मेरो उद्देश्य हो।

(समाजवादी केन्द्रका नेता सफलसँग उकेराले गरेको कुराकानीमा आधारित)

यी पनि,

११ मंसिर, २०७९, १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।