रवि लामिछानेलाई तत्काल पक्राउको माग गर्दै गृहमा उजुरी गर्ने युवराज को हुन् ? 

रवि लामिछानेलाई तत्काल पक्राउको माग गर्दै गृहमा उजुरी गर्ने युवराज को हुन् ? 

काठमाडौं : नागरिकताको वैधता सम्बन्धी परेको उजुरीमा निर्णय नै नगरी निर्वाचन आयोगले तामेलीमा राखेपछि गृह मन्त्रालयमा शुक्रवार उजुरी पर्यो। उजुरीमा लामिछानेले सरकारी निकायहरूलाई गुमराहमा राखेर खारेज भइसकेको नागरिकता प्रयोग गरी दल दर्तादेखि प्रतिनिधि सभाको उम्मेदवार समेत बनेकाले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ।

उजुरी दर्ता गरेका हुन् समाजवादी केन्द्र नेपालमा प्रमुख युवराज सफलले। उनले गृह सचिवलाई सम्बोधन गर्दै दिएको उजुरीमा लामिछाने अमेरिकी नागरिक हुन् या नेपाली भन्ने समेत नखुलेको दाबी गर्दै उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ।

मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले मन्त्रालयको गुनासो शाखामा लामिछानेविरुद्ध छानबिनको माग गर्दै निवेदन आएको पुष्टि गरे।

'उहाँको नागरिकताको विषयमा छानबिनको माग गर्दै निवेदन परेको छ। निवेदनको दाबी र प्रमाणका आधारमा मन्त्रालयले प्रक्रिया अगाडि बढाउँछ' उनले उकेरासँग भने।

लामिछानेको नागरिकताको विषयमा निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। उजुरीमा उनीसँग नेपाली नागरिक नभएकाले उनको उम्मेदवारी खारेज गर्न माग गरिए पनि आयोगले छानबिन गर्न समय नपुगेको भन्दै निवेदनमा गरिएको दाबी हो या हैन भन्नेमा प्रवेशै नगरी टुङ्ग्याएको थियो।

दर्ता भएको उजुरी :

श्रीमान् गृह सचिव ज्यु

गृह मन्त्रालय

सिंहदरबार ,काठमाडौँ ।

विषय :  आवश्यक छानबिन गरी कानुनअनुसारको हदैसम्मको कारबाही गरी पाउँ ।

महोदय ,

उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा पार्टीका तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले आफूसँग भएको अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको तथा नेपालमा पनि अमेरिकी नागरिकता त्याग गरी नेपाली नागरिकता पुर्न प्राप्ति सम्बन्धी कुनै प्रक्रिया पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गर्दा र प्रतिनिधि सभाको उम्मेदवार हुँदा समेत पुरानै नागरिकता पेस गरेको कुरा उनी स्वयमले स्वीकार गरेका छन्। 

विदेशी नागरिकता त्यागेको दाबी गरेता पनि विदेशी नागरिकता त्यागेको र नेपाली नागरिकता पुर्न प्राप्ति गरेको कुनै प्रमाण पेस गर्न सकेका छैनन्। अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमन विभागको समस्या समाधान भएपछि अरू कुनै प्रक्रियामा आफू नगएको कुरा उम्मेदवार लामिछानेले सार्वजनिक रूपमा स्वीकार गरेका छन्। 

निज लामिछानेले दल दर्ता गर्दाखेरि समेत निर्वाचन आयोगलाई समेत गुमराहमा राखी दल दर्ता गरेको देखिन्छ भने प्रतिनिधि सभाको उम्मेदवार हुँदा समेत उनले पहिलाकै नागरिकता पेस गरेका छन्। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै एक हप्ताअघि राजकुमार पाण्डेले चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन्।  

नेपाल नागरिकता ऐन ,२०६३ को दफा १० (१) मा – कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः कायम नरहने  कुरा उल्लेख छ। साथै नेपाल नागरिकता नियमावली २०६३ ले भने विदेशी  नागरिकता  लिएर नेपालको नागरिकता त्याग गर्नेबारे नेपालको निकायलाई  जानकारी दिनुपर्ने  व्यवस्था गरेको छ। 

जसमा नेपालको  नागरिकता त्याग्न चाहेमा  निज नेपालभित्र बसेको भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष र  विदेशमा बसेको भए सम्बन्धित  नेपाली राजदूत ,वा नेपाली नियोग प्रमुख वा  महावाणिज्य दूत  वा वाणिज्य दूत समक्ष नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति संलग्न गरी सूचना दिनुपर्ने र सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा  लेखी पठाउनुपर्ने र नागरिकता खारेजी प्रक्रिया थाल्ने कुरा उल्लेख छ। 

अमेरिकी नागरिकता लिँदा पनि उनी कानुन अनुसार नेपाली नागरिकता खारेजी प्रक्रियामा नगई नेपाली नागरिकता  आफूसँगै राखेका थिए। हाल आएर मौखिक रूपमा अमेरिकी नागरिकता त्याग गरेको भनेर सार्वजनिक रूपमा भने पनि त्याग गरेको आधिकारिक कागजात पेस गर्न सकेका छैनन्। 

साथै उनले अमेरिकी नागरिकता त्याग्न  २ हजार ३ सय ५० अमेरिकी डलर तिरेको भनी रसिद सार्वजनिक गरेता पनि त्यहाँपछिको प्रक्रियाको बारेमा केही बताएका छैनन्।  अतः उल्लेखित कसुर गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति लामिछानेलाई तत्काल पक्राउ गरी कानुन बमोजिमको हदैसम्मको कारबाही गर्न माग गर्दै श्रीमान् सचिव ज्यु एवं गृह मन्त्रालय समक्ष उजुरी पेस गरेको छु। 

यस निवेदन उपर आवश्यक कारबाही गरी सो को जानकारी निवेदकलाई दिनुहुनेछ भन्ने विश्वास समेत लिएको छ। साथै दण्डहीनता ,कानुनी राजको सिद्धान्तलाई पालना गर्न समेत यहाँहरूबाट पहल हुनेछ भन्ने मेरो ठम्याई रहेको छ। धन्यवाद

निवेदक  

युवराज सफल

समाजवादी केन्द्र नेपाल    

यी पनि,

९ मंसिर, २०७९, २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।