प्रधानन्यायाधीशको सिफारिसको प्रतिरक्षा गर्दै रविले भने “संविधान अनुसार गरेको सिफारिसमा जग हँसाई नगरौँ”
काठमाडौं : वरियताक्रम मिचेर प्रधानन्यायाधीशको सिफारिसबारे कडा आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिरक्षा गर्दै संविधानले गरेको व्यवस्था अनुसार सिफारिस भएको दाबी गरे। पार्टीको प्रशिक्षण कार्यक्रममा उनले संविधानमा रहेको व्यवस्था अनुसार गरेको निर्णयलाई आफ्नो सुविधा अनुसार व्याख्या गर्न नपाइने तर्क गरे।
उनले सरकारले असंवैधानिक काम गर्यो, विधि मिच्यो भनेर आलोचना भए पनि यो संविधान अनुसारै भएको र वर्तमान संविधान बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा समेत नरहेको भन्दै उनले संविधान अरूले लेखे पनि त्यसको भावना रास्वपाले बोकेको तर्क समेत गरे।
उनले यसमा संविधानमा रहेको समावेशी प्रतिनिधित्वको प्रावधान र वर्तमान मन्त्रिपरिषद्को प्रतिनिधित्वलाई उदाहरण दिएका थिए। तर उनले आफ्नो सम्बोधनभरि संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे भने केही बोलेनन्।
“मूर्धन्य र राजनीतिक दलका व्यक्तिहरूले परम्परा बाहिर गएको भनेर आलोचना भइरहेको सुनेको छु। ६ जना न्यायाधीशलाई संवैधानिक परिषद्मा किन सिफारिस गरेको? छ जनाको साटो संविधानमा वरिष्ठतम जो हो उसलाई छान्नुपर्ने लेखेको भए संवैधानिक परिषद्को बैठक समेत बस्नु पर्दैनथ्यो। ६ जनाको नाम सिफारिस रास्वपाको सरकारले गरेको हैन” उनले सम्बोधनमा भने।
संवैधानिक परिषद्का ६ सदस्यमध्येबाट आफ्नो पक्षमा बहुमत पुग्न नसक्ने देखेर सरकारले अध्यादेशबाट ६ मध्ये प्रधानमन्त्री जता उभिएर ३ सदस्य पुग्छन् त्यही बहुमत हुने व्यवस्था गरेको थियो। यसबारे भने रवि प्रवेश गरेनन्।
उनले आफ्नो पार्टीको वरिष्ठ नेता प्रधानमन्त्री भएर गएपछि सिफारिस भएर आएका नामहरूमध्येबाट प्रधानन्यायाधीशको चयन हुन्छ भनेर नाम छान्नेको तर्क गरे। उनले यदि यो प्रक्रिया गलत हो भने संविधान संशोधनको बहस चलिरहेको र संविधान संशोधन गर्न भने।
उनले बहुमतको पुरानै परम्परामा जाने हो भने भने ६ जनाको बैठकमा अहिले पनि भागबन्डामा चलिरहेको हुने दाबी गर्दै रास्वपा भागबन्डामा विश्वास नगर्ने पार्टी भएको तर्क समेत गरे।
“सर्ट लिस्टमा आइपुगेकामध्ये एक जना छान्ने भनेर विधिले भनेको र त्यही विधि र संविधान मानेर एक जनाको नाम सिफारिस गरेको हो” उनले सम्बोधनमा भने “न्यायालयको विषयलाई चर्चा र विवादको विषय बनाएर चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ? यो जगहसाईँ मात्र हुन्छ।”
वैशाख २७, २०८३ आइतबार १९:४५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।