नागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

नागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा उल्लेखित विवरणले उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखाएको छ।

नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै परेको उजुरीबारे निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आयोगमा स्पष्टीकरण पत्र बुझाएका थिए।

पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्।

यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन नदिएको पुष्टि भएको छ।

स्पष्टीकरणमा आफूले नागरिकता ऐन २०६३ मा रहेको 'विदेशी नागरिकता लिएमा सम्बन्धित निकायमा जानकारी दिनुपर्ने कानुनी प्रावधान अनुसार जानकारी नदिई अमेरिकी र नेपाली नागरिक भएर बसेको र नेपाल फर्किएर अमेरिकी नागरिकको कानुनी हैसियत छाडेकाले पुन नेपाली नागरिकता लिनै नपर्ने उनको तर्क देखिएको छ।

स्पष्टीकरण पत्रमा खुलाए अनुसार उनी २०१४ फेब्रुअरी २५ मा अमेरिकी नागरिक बने। उनको दाबी अनुसार  उनी कहिल्यै अमेरिका नफर्कने गरी सन् २०१७ मा नेपाल फर्किए। नेपाल फर्किएको मिति भने एकै देखिएको छैन।

२०१८ मे १८ मा उनले अमेरिकाको नागरिकता र राहदानी औपचारिक रूपमा नेपाल स्थित: अमेरिकी राजदूतावास मार्फत परित्याग गर्ने आवेदन दिए अनि २०१८ जुन २८ मा अमेरिकी नागरिकको कानुनी हक सकियो।

यसले उनी सन् २०१४ देखि २०१८ जुन २८ सम्म अमेरिकी नागरिक रहेको उनले आयोगमा बुझाएकै स्पष्टीकरण पत्रले पुष्टि गर्छ।

रविको तर्क नागरिकता त्यागेकै छैन किन नयाँ लिनु !

आफ्नो नागरिकताको वैधताबारे प्रश्न उठाउँदै निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आफूले नेपाली नागरिकता नै नत्यागेकाले नयाँ निकाल्ने प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्।

आफू अमेरिकी नागरिक बने पनि नेपाली नागरिकता त्याग्न निवेदन नदिएको र सरकारले पनि खारेज नगरेकाले आफ्नो पुरानै नागरिकताको प्रमाण पत्र सक्रिय रहेको उनको तर्क देखिन्छ।

उनले स्पष्टीकरणमा आफूले नागरिकता ऐन २०६३ को दफा १० को प्रक्रियामै नगएको दाबी गरेका छन्।

दफा १० को उपदफा १ मा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको 'नेपाली नागरिकता कायम रहने छैन' उल्लेख छ।

उनले स्पष्टीकरणमै आफू सन् २०१४ मा अमेरिकी नागरिक बनेको स्वीकार गरेका छन्।  

उपदफा २ मा नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि सूचना दर्ता गरेको मितिदेखि नेपाली नागरिकता कायम नरहने उल्लेख छ।

उपदफा २ अनुसार उनी अमेरिकी नागरिक बनेपछि अमेरिकास्थित दूतावासमा उनले जानकारी दिनुपर्ने कानुनी दायित्व पुरा गरेनन्। उनले उलङ्घन गरेको कानुनी दफा उल्लेख गर्दै आफ्नो नागरिकता सक्रिय रहेको दाबी गरे।

'नेपाली नागरिकता प्रमाण पत्र वैधानिक रूपमा त्यागेको थिइन र न त नेपाल सरकारले मेरो नागरिकता प्रमाण पत्र रद्द नै गरेको छ,' पत्रमा लेखिएको छ'म विदेशमा छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नागरिक नै हुँ भन्नेमा द्विविधा छैन।'

नागरिकता रद्द, बदर वा कायम नरहेको व्यक्ति पुनः नेपालमा बसोबास गर्न आएमा नागरिकता पुनः कायम गरी पाउँ भनी निवेदन दिनु पर्ने तर आफूले निवेदन दिएर रद्द नगराएको र सरकारले पनि रद्द नगरेकाले पुनः नागरिकता प्राप्त गर्नु पर्ने अवस्था नरहेको उनको तर्क छ।

उनले आफ्नो नेपाली नागरिकताका आधारमा कानुन बमोजिम नेपालमा बैङ्किङ कारोबार, स्थायी लेखा नं., मतदाता परिचय पत्र तथा नेपाली नागरिक भएका नाताले पाउने सम्पूर्ण सेवा सुविधा लाभहरू उपभोग गरिरहेको, २०७६ मा जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्याको दुरुत्साहन मुद्दा प्रक्रियामा आफूलाई नेपाली नागरिककै रूपमा स्वीकार गरेको उनको दाबी छ।

आफूले कहिल्यै नेपाली नागरिकता परित्याग नगरेको, नागरिकतालाई नेपाल सरकारले रद्द वा बदर नगरेको, सन् २०१८ मैँ विदेशी राहदानी त्यागी स्वदेश फिर्केर आएकाले आफ्नो नागरिकता सक्रिय नै रहेको उनको तर्क छ।

कानुनको 'अपव्याख्या'

अधिवक्ता सरोज अधिकारीलाई उनले निर्वाचन कार्यालयमा बुझाएको स्पष्टीकरण पत्रको ब्यहोरा सुनाउँदा उनले' कानुनको अपव्याख्या गरिएको र स्पष्टीकरण पत्रले नै उनको नागरिकता वैध नभएको पुष्टि भएको बताए।

'नेपालको नागरिकता ऐनमा नेपाली नागरिक एकै पटक दोहोरो नागरिक बनिरहन सक्ने कुनै सुविधै दिएको छैन,' अधिवक्ता अधिकारीले भने' कानुनमा नागरिकता खारेज हुने प्रक्रियामा नगएकाले मेरो नागरिकता खारेज भएको छैन भन्ने कानुनको अपव्याख्या मात्र हो।'

अधिकारीका अनुसार नेपालीले कुनै अन्य देशको नागरिकता लिएमा त्यसबारे सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिने दायित्व सम्बन्धित नागरिक रहेको र सो दायित्व पुरा नगरेर मैले जानकारी नगराएकाले मेरो नागरिकता सक्रिय छ भन्न मिल्दैन।

नेपालीले दोहोरो नागरिकता लिए लगत्तै नेपालको नागरिकता निष्क्रिय हुने र त्यसलाई सक्रिय गराउन नागरिकता ऐनको दफा ११ र नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिका अनुसारको प्रक्रिया पुरा हुनै पर्ने उनले बताए।

'कुनै नेपालीको दोहोरो नागरिकता रहेको खुले लगत्तै उसको नेपाली नागरिकता निष्क्रिय हुन्छ। रेकर्डबाट हट्छ। त्यसलाई सक्रिय बनाउन कानुनी प्रक्रिया पुरा गर्नै पर्छ,'  अधिवक्ता अधिकारीले भने' रविजीको हकमा नेपालमा स्थायी बसोबास र अमेरिकी नागरिकता त्यागेको देखिन्छ। तर जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन दिएर नयाँ प्रमाण पत्र जारी भएर सरकारी दर्ता किताबमा दर्ता भएको नदेखिएकाले कानुनी रूपमा पुरानो नागरिकताको प्रमाण पत्र सक्रिय हुन सक्दैन।'

रविले स्पष्टीकरणमा लेखेको २ झुट

रविले आयोगमा दिएको स्पष्टीकरणको एक बुँदामा अमेरिकी नागरिकता त्यागेर नेपाल आएको दाबी गरेका छन्।

जबकी स्पष्टीकरणका अन्य बुँदामा उनले नेपालबाटै अमेरिकी नागरिकको कानुनी हक त्याग्ने प्रक्रिया अगाडि बढाएको उल्लेख गरेका छन्।

उनी नेपाल आउँदा अमेरिकी नागरिकको हैसियतमा नातेदार भिसामा आएका थिए। यदि उनले अमेरिकी नागरिकता त्यागेर नेपाल आएका भए कसरी अमेरिकी नागरिकको हैसियतमा नेपाल आए ?

नेपाल कहिले आएको भन्ने मिति पनि उनले ढाँटेका छन्। उनले आफू सन् २०१७ मा नेपाल आएको दाबी गरेका छन्। जबकि उनले सन् २०१६ मा नेपाल टेलिभिजनमा प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रम चलाइसकेका थिए।

२०१६ मे १ मा प्रशारित कार्यक्रमका सञ्चालक छन् रवि। तर उनले सन् २०१७ मा नेपाल आएको दाबी गरेका छन्।

त्यो भन्दा अगाडि उनले न्युज २४ टेलिभिजनको स्टुडियोमा बसेर सबैभन्दा लामो टक शो चलाएका थिए। यसले उनी सन् २०१७ मा नभई सन् २०१५ मै नेपाल आएको देखिन्छ। उनले सन् २०१५ मै नेपाली पासपोर्ट निकालेको पुष्टि भइसकेको छ।

उनले बुझाएको स्पष्टीकरण

अध्ययन र रोजगारीको सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेको र त्यहाँ बस्दै जाने क्रममा सोही मुलुकको स्थायी बसोबास अनुमति (पी.आर.) तथा २५ फरबरी २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेकी थिए।

तर मैले आफ्‌नो नेपाली नागरिकता प्रमाण पत्र वैधानिक रूपमा त्यागेको थिइन र न त नेपाल सरकारले मेरो नागरिकता प्रमाण पत्र रद्द नै गरेको छ।

मेरो जन्म थलोको रगत मेरो नशा नशामा थियो र छ। म विदेशमा छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नागरिक नै हुँ भन्नेमा द्विविधा छैन।

परदेशको बसाई र भोगाइबाट केही पाठहरू सिकेर म सन् २०१७ मा अब कहिल्यै नफर्किने निधो गरी अमेरिकाबाट आफ्नो मातृभूमि नेपाल फर्की आए र प्रारम्भिक दिनमा रोजगारीका लागि न्युज २४ टिभीमा काम गर्नका लागि सम्बन्धित निकायबाट कार्य अनुमति लिनका लागि निवेदन दिएकोमा १ वर्षे कार्य अनुमति प्राप्त गरेको, पछि कार्य अनुमति नवीकरणका लागि मैले निवेदन दिँदा सो निवेदन प्रक्रिया मै रहेकै अवस्थामा १८ मे २०१८ मा मैले आवश्यक प्रक्रियाहरू पुरा गरी विदेशी मुलुक संयुक्त राज्य अमेरिकाको नागरिकता र राहदानी औपचारिक रूपमा नेपाल स्थित: अमेरिकी राजदूतावास मार्फत परित्याग गर्ने आवेदन दिएकोमा, संयुक्त राज्य अमेरिकाको Overseas Citizens Services, Department of State ले ६/२८/ २०१८ मा (प्रतिलिपि संलग्न) मेरो निवेदन स्वीकार गरी मैले अमेरिकाको नागरिकता परित्याग गरेको भनी पत्र समेत दिएको छ।

अतः सो उप्रान्त मसँग नेपालको बाहेक अन्य कुनै मुलुकको नागरिकता नरहेको ब्यहोरा सादर निवेदन गर्दछु।

त्यसै गरी नेपालको नागरिकता सम्बन्धी कानुनी व्यवस्था बमोजिम समेत मेरो नेपाली नागरिकता कायमै रहेको छ

नेपाल नागरिकता ऐन, २०६३ मा देहाय बमोजिमको व्यवस्था रहेको पाइन्छ दफा १० : नेपाली नागरिकता कायम नरहने

(१) नेपालको कुनै नागरिकले आफखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको 'नेपाली नागरिकता कायम रहने छैन।

(२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन।

(३) दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन ।

(५) नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानुन बमोजिम निर्णय गर्नेछ।

दफा ११: पुनः नेपाली नागरिकता कायम हुने

कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेकी निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो

निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ। नेपाल नागरिकता नियमावली, २०६३ मा देहाय बमोजिमको व्यवस्था रहेको पाइन्छ।

नियम १० निर्णय गर्ने अधिकारी:

ऐनको दफा १० को उपदफा (५) बमोजिम नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छ छैन भन्ने प्रश्न उठेमा सोको निर्णय मन्त्रालयले गर्नेछ। नियम ११ पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधि :

(१) ऐनको दफा १० बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजले पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम बमोजिमको अधिकारीले साबिककै नागरिकताको विवरणसहितको नेपाली नागरिकता प्रमाणपत्र जारी गर्नेछ ।

माथि उल्लेखित कानुनी व्यवस्थाहरू हेर्दा कुनै नेपाली नागरिकले विदेशको नागरिकता प्राप्त गरेको जानकारी गराएमा वा नेपाल सरकारले स्वयं जानकारी पाएमा त्यस्तो व्यक्तिको नागरिकता रद्द, बदर वा कायम नराख्ने अवस्था आउने देखिन्छ । तर मेरो हकमा न त नेपाल सरकारले मेरो नागरिकता रद्द वा बदर गरेको छ न त मैले आफ्नो नागरिकता त्याग गरी पाउँ भनी कहिल्यै कुनै निवेदन नै दिएको थिए।

अतः नागरिकता ऐन २०६३ को दफा १० बमोजिम रद्द, बदर वा कायम नरहेको व्यक्ति पुनः नेपालमा बसोबास गर्न आएमा निजले दफा ११ बमोजिम नागरिकता पुनः कायम गरी पाउँ भनी निवेदन दिनु पर्ने हो।

तर मेरो हकमा दफा १० को प्रक्रियामा नै नगएको अवस्थामा दफा ११ को प्रक्रिया गई पुनः नागरिकता प्राप्त गर्नु पर्ने अवस्था नै नरहेको स्पष्ट पार्न चाहन्छु।

यसरी ऐनको दफा ११ को प्रक्रियामा गई मैले पुन नागरिकता प्राप्त नगरेकोले म नेपाली हो वा विदेशी हो भन्ने प्रश्न उठाई दिएको उजुरी उल्लेखित कानुनी व्यवस्था विपरीत रहेको छ।

यसैगरी, आज भन्दा ५ वर्ष अघि मेरो नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्कालीन अमेरिकी राहदानी र राष्ट्रियता फिर्ता बुझाएको सूचना मिति २०७५/०३/०६ मा अध्यागमन विभागमार्फत गृह मन्त्रालयमा पेस गरेको थिएँ।

गृह मन्त्रालयको अध्यागमन तथा सीमा प्रशासन शाखाले मिति २०७५।०३।०७ मा प्रेस काउन्सिललाई लेखेको पत्र (पत्र संख्या: अ. सी. । ०७४-७५ च.नं. २२६४) मा सो ब्यहोरा खुलाई प्रस्ट पारिएको छ।

त्यसै गरी, मेरो विरुद्ध परेको उजुरीमाथि छानबिन गरी प्रेस काउन्सिल नेपालले मिति २०७५।०३।०७ मैँ प्रकाशित गरेको सार्वजनिक महत्त्वको प्रेस विज्ञप्ति (प. स. च.नं. २४७७७०७४।०७५) ले पनि मैले २०७५२०३०६ गते नै अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको तथ्यलाई थप पुष्टि गरेको छ।

यसबाहेक मेरो नेपाली नागरिकताका आधारमा कानुन बमोजिम न मैले नेपालमा बैङ्किङ कारोबार, स्थायी लेखा नं., मतदाता परिचय पत्र तथा नेपाली नागरिक भएका नाताले पाउने सम्पूर्ण सेवा सुविधा लाभहरू उपभोग गरिरहेको छु भने विभिन्न सङ्घसंस्थाको संस्थापक तथा सदस्य समेत रहिआएको छ भने २०७६ सालमा जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्याको दुरुत्साहन मुद्रामा मसँग बयान लिँदा, जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा, चितवन जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ को उपदफा (ख) को प्रयोग नगरी दफा ६८ को प्रयोग गरी मु.नं. (०७६-०१-००४७ चितवन जिल्ला अदालत) को मुद्दामा मिति २०७३।०५।०५ गते थुनछेकको आदेश गरेको, त्यसै गरी उच्च अदालत पाटन, हेटौडा इजलासले मुलुकी फौजदारी संहिताको दफा ७३ नं. अन्तर्गत आदेश गर्दा होस वा चितवन जिल्ला अदालतले मिति २०७६।१०।०५ मा अन्तिम फैसला गर्दा होस या जिल्ला सरकारी वकिल कार्यालय चितवन, उच्च सरकारी वकिल कार्यालय हेटौडा मार्फत महान्यायाधिवक्ता कार्यालयले मेरो विरुद्ध माथिल्लो अदालतमा पुनरावेदन नगर्ने निर्णय गर्दा समेत मलाई नेपाली नागरिककै रूपमा स्वीकार गरेको समेतबाट मेरो नेपाली नागरिकताका बारेमा उजुरीमा उठाईका विषय झुट्टा हुन भन्ने प्रस्ट छ।

नागरिकता भनेको व्यक्तिको अस्तित्वसँग गाँसिएको हुन्छ । कुनै पनि व्यक्ति बिना नागरिकता रहन सक्छ भन्ने कुरा सभ्य समाजले सोच्न समेत सक्दैन । Universal Delaration of Human Right (मानव अधिकारको विश्वव्यापी घोषणा) १९४८ को धारा १५ समेतले प्रत्याभूत गरेको हक तथा मेरो नागरिकता बारे गृह मन्त्रालयले समयमै जानकारी पाई अध्यागमन विभागमा मैले पेस गरेको निवेदन र प्रमाणका आधारमा प्रेस काउन्सिललाई लेखि सोही बमोजिम कारबाही गरेको।

अड्डा अदालतबाट नेपाली नागरिक भनी व्यवहार गरी निर्बाध रूपमा नेपालीले उपभोग गर्ने हक, अधिकार, सुविधा उपभोग गरिरहेको अवस्थामा गलत मनसाय साथ प्रेषित उजुर प्रयोजनहीन रहेको हुँदा खारेज भागी रहेको छ।

यस प्रकार आज भन्दा ५ वर्षअघि नै यस विषयमा प्रश्न उठ्दा छानबिन गरी टुङ्गो लागिसकेको  मैले नागरिकताको विषयलाई लिएर कुनै पनि निकायमा जवाफ दिनु परेको थिएन।

निर्वाचन आयोगको निर्वाचन कार्यक्रम अनुसार दाबी विरोधको समय सकिसकेको अवस्थामा मेरो चुना माहौल सकारात्मक हुँदै गएको महसुस गरी बद्नियतपूर्ण ढङ्गले कानुनी आधार बिना मेरो योग्यतामाथि प्रश्न उठाई गरिएको सो उजुरी एक षड्यन्त्र मात्र हो ।

अतः मैले कहिल्यै पनि नेपाली नागरिकता परित्याग नगरेको, मेरो नागरिकतालाई नेपाल सरकारले बदर नगरेको, मैले सन् २०१८ मैँ विदेशी राहदानी त्यागी स्वदेश फिर्केर आएको नेपाली नागरिक भएको अवस्थामा नेपालको कानुनले नागरिकता विहीनताको परिकल्पना समेत नगरेको हुँदा मेरो राष्ट्रियतामाथि उठाइएको प्रश्न नेपालको संविधान र प्रचलित अन्य कानुनहरू समेतको विपरीत रहेको हुँदा उक्त उजुरी खारेज भागी भएको सादर निवेदन गर्दछु।

साथै सम्बद्ध प्रमाणहरू यसै निवेदन साथ संलग्न गरेको छु ।

संलग्न प्रमाणहरू :

(क) गृह मन्त्रालयको अध्यागमन तथा सीमा प्रशासन शाखाले मिति २०७५।०३।०७ मा प्रेस काउन्सिललाई लेखेको पत्र (पत्र संख्या: अ. सी. 1०७४-७५ च.नं. २२६४) प्रतिलिपि

(ख) मिति २०७५।०३।०७ मा प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको सार्वजनिक महत्त्वको प्रेस विज्ञप्ति (प.सं. च.नं. २४७७५०७४।०७५ को प्रतिलिपि

(ग) अध्यागमन विभागमा मैले मिति बि.स. २०७५।०३।०६ मा पेस गरेको निवेदन को प्रतिलिपि

घ) Overseas services department of state को सन. ०६/२८/२०१८ को पत्र

(ङ) चितवन जिल्ला अदालतको मिति २०७६/५/९ को आदेशको प्रतिलिपि

बोधार्थ: निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ ।

भवदीय,

रवि लामिछाने

प्रतिनिधि सभा सदस्य उम्मेदवार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २

रवि प्रकरणमा उकेराको फलोअप

१९ मंसिर, २०७९, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।