गृहमन्त्री रविको व्यक्तिगत सुरक्षामा पार्टी महामन्त्री ढकालका आफन्त प्रहरी मगाइयो

गृहमन्त्री रविको व्यक्तिगत सुरक्षामा पार्टी महामन्त्री ढकालका आफन्त प्रहरी मगाइयो
शुक्रवार प्रहरी प्रधान कार्यालयको निरिक्षणका लागि पुगेका लामिछानेलाई स्वागत गर्दै आइजिपी धिरजप्रताप सिंह।

काठमाडौँ : उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको शपथ खाएदेखि नै रवि लामिछानेले प्रहरीमा नाताभन्दा पनि क्षमता, सम्बन्ध भन्दा पनि योग्यताको आधारमा जिम्मेवारी दिने दाबी गर्दै आएका छन्। शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणमा पनि त्यही दोहोर्याए।

सरुवा, बढुवा र वृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मूल्याङ्कनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने दाबी गरे।

उनले सरुवा र बढुवासँगै जिम्मेवारी क्षमताको आधारमा दिने दाबी गर्दै सरुवा र बढुवाका लागि नेताको घर नधाउन चेतावनी समेत दिए। तर अवसरका लागि नेतासँग परिचय हुनै पर्ने अवस्थालाई उनैले निरन्तरता दिए आफ्नो व्यक्तिगत सुरक्षा अधिकृतको छनौटबाट।

कुनै व्यक्तिको सुरक्षा चुनौती अनि त्यसलाई व्यवस्थापन गर्न क्षमताको आधारमा व्यक्तिगत सुरक्षा अधिकृत(पिएसओ) खटाउने नीति भए पनि अधिकांश पिएसओहरु नेताको रुचीका आधारमा खटिने गरेका छन्।

जसमा सुरक्षा चुनौती छ भन्ने देखिन्छ सोही अनुसार सङ्गठनले २-२ वर्षमा क्षमता परीक्षण गरेर पिएसओ अदल बदल गर्ने नीति पनि छ। तर सुरक्षाभन्दा व्यक्तिगत काम र सुरक्षा सङ्गठनभन्दा आफूप्रति लोय पिएसओ राख्ने प्रचलनले २ वर्ष हैन २० वर्षदेखि एक नेताको सुरक्षामा एकै प्रहरी अधिकृत खटिइरहेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम भट्टराई अनि झलनाथ खनालको पिएसओ वर्षौँदेखि एकै प्रहरी अधिकृत खटिएका छन्।

लामिछानेले पनि त्यसैलाई पच्छ्याउने सङ्केत गरेका छन् पार्टीका नेता निकट ब्यक्ती लाई आफ्नो पिएसओमा खटाउन लगाएर। उनी चितवन-२ मा उम्मेदवार बनेदेखि नै सुरक्षा विष्लेशण गरेर सरकारले उनको सुरक्षामा खटाएको पिएसओको स्थानमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल निकट प्रहरी अधिकारीलाई आफ्नो पिएसओका लागि झिकाएका छन्। जानकारस्रोतका अनुसार यसमा ढकालले नै विशेष चासो राखेका थिए।

स्रोतका अनुसार उनी उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक विष्णु हरि फुयाँल, सई हरि बस्नेत र प्रकाशचन्द भट्टलाई खटाएको थियो।

जानकारस्रोतका अनुसार लामिछाने उपप्रधान तथा गृहमन्त्रीको सरकारी क्वाटरमा सरेपछि लामिछानेको सचिवालयबाट मन्त्रीको पिएसओका लागि भनेर असई अनुप ढकालको नाम गयो। अनुप मुकुलका पारिवारिक सदस्य हुन्।

मन्त्रीको सचिवालयबाटै नाम आएपछि प्रधान कार्यालयको सुरक्षा निर्देशनालयमा सोही अनुसारको निर्देशन गयो र बिहीबारबाट ढकाल लामिछानेको पिएसओका रूपमा खटिन थालिसकेका छन्।

'पिएसओ खटाउने भनेको व्यक्ति मात्रै हैन सो व्यक्तिको क्षमता पनि हेरिन्छ। हेरिनैपर्छ। तर जसले पिएसओ पाउँछन् उनीहरूले प्रहरी अधिकारीको क्षमता हेरेर खटाउनै दिँदैनन्,' प्रधान कार्यालयका एक अधिकारीले भने' मन्त्रीज्यूलाई फलानो व्यक्ति चाहिएको छ पठाउनु भनेर आदेश आएपछि व्यक्तिगत सुरक्षामा कमजोर अधिकारी भए पनि पठाउनै पर्छ।'

प्रहरी निरीक्षक फुयाँल भने हेडक्वार्टर फर्किसकेका छन् भने सई हरि बस्नेतसमेत हेडक्वार्टर नै फर्कने तयारीमा छन्।  उनको स्कर्टिङमा भने पुरानै सुरक्षा समूह खटिएका छन्। बदलिएका छैनन्। उनको व्यक्तिगत सुरक्षामा सेना समेत खटिने गरेको छ।

१५ पुस, २०७९, २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।