भेटघाटको दौडधुपमा गृहमन्त्री रवि, बिहानै प्रधानमन्त्री भेटेर एमाले अध्यक्ष ओलीको आँगनमा घाम ताप्न पुगे

भेटघाटको दौडधुपमा गृहमन्त्री रवि, बिहानै प्रधानमन्त्री भेटेर एमाले अध्यक्ष ओलीको आँगनमा घाम ताप्न पुगे

काठमाडौँ : शनिवार सार्वजनिक बिदाको दिन बिहानैबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी भएका उनी अहिले पार्टीको तर्फबाट एक्लै मन्त्री बनेका छन्। मन्त्रीपरिषद् समेत गठन हुन नसकेको बेला रवि राजनीतिक भेटघाटमा सक्रिय भएका हुन्।

उनी शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीबिच भेट भएको तस्बिर सार्वजनिक भए पनि भेटको प्रसङ्ग भने खुलेको छैन। राहदानी तथा नागरिकता वितरण प्रणाली सहज बनाउनेबारे उनले छलफल गरेको र प्रधानमन्त्री प्रचण्डले शान्ति सुरक्षा व्यवस्थापनमा ध्यान दिन भनेको दाबी सार्वजनिक भएका छन्।

रविसँगको भेटघाटपछि प्रचण्ड औपचारिक कार्यक्रमहरूमा सहभागी हुन चितवन गए। रवि भने क्वाटर नफर्किई सिधै बालकोट गए एमाले अध्यक्ष ओलीलाई भेट्न। प्रचण्डसँग उनले जुन पोसाकमा भेटेका थिए ओलीसँग पनि त्यही पोसाकमा भेटेकाले उनी बालुवाटारबाट सिधै बालकोट गएको देखिन्छ।

बालकोटमा बरन्डामा बसेर घाम ताप्दै ओली र लामिछानेबिच छलफल भएको थियो। यी दुवैको भेटको तस्बिर सार्वजनिक भए पनि छलफलको विषय भने सार्वजनिक भएको छैन।

उनको भेटघाटलाई नागरिकता र राहदानी विवाद सुल्झाउन राजनीतिक समर्थन खोजेको रूपमा समेत हेरिएको छ। २५ गते राष्ट्रपतिले संसद् अधिवेशन बोलाएकी छिन्। उता सर्वोच्च अदालतमा रविको नागरिकता र राहदानीबारे कानुनी प्रश्न उठाउँदै परेको रिटको सुनुवाइ छ। यस अगाडि पुस ६ मा सर्वोच्चले तत्काल उनलाई निलम्बन गर्ने आदेश नदिई दुवै पक्षलाई छलफलमा बोलाउने र रिटकर्ताले मागे अनुसारको आदेश किन नदिने भनेर कारण सोधेको थियो। त्यसको पेशी पुस २२ गते छ।

१६ पुस, २०७९, १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।