सामाजिक सञ्जालमा आएका यौन हिंसाका घटनाप्रति प्रहरी अग्रेसिभ, तीन घटनाका आरोपी पक्राउ, थप घटनाका पीडितलाई सम्पर्कमा आउन आग्रह

सामाजिक सञ्जालमा आएका यौन हिंसाका घटनाप्रति प्रहरी अग्रेसिभ, तीन घटनाका आरोपी पक्राउ, थप घटनाका पीडितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ : सौन्दर्य प्रतियोगिताको आयोजकबाट भएको बलात्कार र यौन शोषणबारे एक प्रतियोगीले सार्वजनिक गरेपछि यौन दुर्व्यवहारमा परेकाहरूले सामाजिक सञ्जालबाट आफ्ना अनुभव सार्वजनिक गर्ने क्रम बढेको छ। आठ वर्ष अगाडिको घटनामा प्रहरीले आरोपी पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

आरोप मनोज पाण्डेविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मानव बेचबिखनमा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको छ। आठ वर्ष पुरानो घटनाको पीडितले आफ्नो भोगाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन्।

टिकटक र इन्स्टाग्रामहुँदै सार्वजनिक भएको घटनाको पक्षमा माहौल बनेपछि प्रहरी अनुसन्धान अगाडि बढाउन राजी भएर आरोपीलाई पक्राउ गरेपछि बलात्कार र यौन हिंसामा परेका अन्य युवती र महिलाहरूले पनि आफ्ना अनुभव सार्वजनिक गरिरहेका छन्। जति घटना सार्वजनिक भएका छन् ती सबैलाई प्रहरीले निगरानीमा राखेर प्राथमिकता दिएको देखियो।

प्रहरीले पाण्डेसँगै सात वर्ष पुरानो बलात्कार घटनाका फरार राज खड्कालाई बिहीबार पक्राउ गरिसकेको छ। सामाजिक सञ्जालबाटै एक युवतीले आफूलाई विद्यालयका प्रिन्सिपलले बलात्कार गरेको घटना सार्वजनिक गरेकी थिइन्। ती युवतीले हदम्याद भित्रै आरोपीबारे प्रहरीमा जाहेरी दिए पनि उनी पक्राउ पेका थिएनन्।

पीडित युवतीका अनुसार इटहरीको ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले  उनलाई उपचारका लागि अस्पताल लैजाने भनेर होटेलमा लगेर बलात्कार गरेका थिए। त्यसपछि पनि उनले विद्यालयमै उनलाई पटक-पटक बलात्कार गरेका थिए। युवतीले खड्काबारे सोही बेला प्रहरीमा उजुरी दिइन् तर खड्का फेला परेनन्। सात वर्षको बिचमा पनि उनलाई प्रहरीले खोज्ने प्रयास समेत गरेन। घटना सार्वजनिक भएपछि प्रहरीले खोजी सुरु गर्यो।

उनी बिहीबार काठमाडौँको बानिया टारमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका खड्कालाई अनुसन्धानका लागि इटहरी पठाउँदै छ।

मङ्गलवार चाबहिलमा रहेको सेन्ट लरेन्सका २ जना शिक्षकमाथि छात्राहरूलाई यौन प्रस्ताव राख्दै सन्देश पठाएको सार्वजनिक भएको थियो। प्रारम्भमा विद्यालयका व्यवस्थापकहरूले विद्यालयमै कुरा मिलाउन खोजे पनि विद्यार्थी आन्दोलित भएपछि प्रहरीले पक्राउ गरेर लरेन्स कलेजका जनार्दन अधिकारी र राजनकुमार पौडेलमाथि यौन दुर्व्यवहारको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

इन्स्टाग्रामबाटै केही किशोरीहरूले वाइल्डलाइफ फोटोग्राफर सागर गिरीले गरेको यौन दुर्व्यवहार र बलात्कार प्रयासका घटनाहरू सार्वजनिक गरेका छन्। घर अनि होटेलमा भेट्न बोलाएर जवर्जस्ती यौन सम्बन्ध राख्न खोज्ने, संवेदनशील अङ्गहरूमा हात लैजाने जस्ता काम गरेको भन्दै इन्टाग्राममा गिरीविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनी चितवनको सौराहामा बस्छन्। तर यो घटनाबारे प्रहरीले पीडितसँग सम्पर्क गर्ने वा गिरीसँग सोधपुछ गर्ने प्रयास गरेको छैन।

चिकित्सक जेपी जैसवालमाथि अस्पतालमा उपचारका लागि आएका बिरामीको श्रीमतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। आफूमाथि जैसवालले पटक-पटक यौन दुर्व्यवहार गरेपछि उपचारका लागि आएका ती विदेशी महिला स्वदेश फर्किइन्।

उनको श्रीमान् निको भएर स्वदेश फर्किएपछि घटनाबारे जानकारी भएपछि उनी काम गर्ने नर्भिक अस्पतालमा इमेल गरेका थिए। तर उनीमाथि थप कारबाही केही भएन।

जैसवालले अस्पतालले आन्तरिक छानबिन गरेर सफाइ दिएको दाबी गरेका थिए। उनको यो भनाइले उनीमाथि लागेको आरोपको पुष्टि हुन्छ नै। यौन दुर्व्यवहारको घटनाबारे छानबिन गर्ने अधिकार अस्पताल प्रशासनसँग हैन प्रहरीमा छ। अनि दोषी हो या निर्दोष अदालतले भन्छ। तर यो केस कानुनी प्रक्रियामै गएन। नर्भिक अस्पतालका प्रमुख वसन्त चौधरी हुन्।

युवतीको आठ वर्ष अगाडिको घटना सार्वजनिक भएपछि जैसवालबाट पीडित अर्की युवतीले पनि उनीमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखिरहेकी छिन्।

उनले यही हो मेरो बलात्कारी डाक्टर भन्दै जैसवालको तस्बिर सार्वजनिक गर्दै घटनाबारे लेखेको लेख समेत सेयर गरेकी छिन्। उनले सेयर गरेको लेखमा उल्लेख भए अनुसार उनलाई चिकित्सक जैसवालले विवाहको प्रलोभनमा पारेर बलात्कार गरेका थिए। त्यो बेला उनको उमेर १६ वर्ष कटेको थियो।

बलात्कारबाट उनी गर्भवती भएपछि सन्तान पाइन्। घटनाबारे कानुन ब्यवसायीहरुसँग सल्लाह गर्दा यो बलात्कार हो नभनेकाले आफू तत्काल कानुनी कारबाहीमा जान नसकेको उनको तर्क छ। घटनाको नौ वर्षपछि मुद्दा लड्दा हदम्याद गइसकेकाले प्रक्रिया अगाडि बढाउन नसकेको उनले लेखेकी छिन्।

पछि छोरी र जैसवालको डिएनए परीक्षणबाट उनकै छोरी प्रमाणित भएपछि नाता कायम गराएर केही अंश लिएको उनले खुलाएकी छिन्।

बिहीबारै अर्की एक युवतीले सौन्दर्य प्रतियोगिताको आवरणमा भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेकी छिन्। झापाको दमकमा शङ्कर आर्ट फाउन्डेसनले गरेको मिस्टर एन्ड मिस कलेज २०२२ को एक प्रतियोगीले फाउन्डेसनका निर्देशक लालबहादुर शङ्करले च्याटमा पठाएका सन्देशसहित उनले गरेको दुर्व्यवहारको घटना सार्वजनिक गरेकी छन्।

सामाजिक सञ्जालमा केही सञ्चारकर्मीमाथि समेत यौन दुर्व्यवहार गरेको आरोप सार्वजनिक हुने क्रम बढेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसी सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका बलात्कार र यौन दुर्व्यवहारका घटनाबारे प्रहरी गम्भीर रहेको र ती सबै घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको बताए। जति पनि घटनाहरू अहिले आइरहेका छन् तीनका पीडितलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गर्दै उनले आरोपसँगै प्रमाण देखिएकाहरूलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याएको र अन्य आरोपहरूबारे अनुसन्धान भइरहेको उकेरासँग बताए।

'सामाजिक सञ्जालबाट सार्वजनिक भएका घटनाहरूको हामीले निगरानी गर्ने र थप बुझ्ने काम गरिरहेका छौँ। पीडितहरू प्रहरीको सम्पर्कमा आए हामीलाई अनुसन्धान गर्न थप सहज हुने थियो,' उनले भने' महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति प्रहरी सधैँ संवेदनशील छ। आरोपी पक्राउ गर्ने र केहीमाथि लागेको आरोपबारे छानबिन गर्ने क्रम भइरहेको छ।'

१२ जेठ, २०७९, १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।