सेन्ट लरेन्सका कोअर्डिनेटरले जब आफ्नै विद्यालयकी छात्रालाई 'विल यु बि माइ बेड पार्टनर?' भने

सेन्ट लरेन्सका कोअर्डिनेटरले जब आफ्नै विद्यालयकी छात्रालाई 'विल यु बि माइ बेड पार्टनर?' भने

काठमाडौंः विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आएका विद्यार्थीहरू विद्यालयकै युनिफर्ममा छन्।

सहभागी एक विद्यार्थीका अनुसार विद्यालयकी छात्रालाई कोअर्डिनेटर अधिकारीले एक-दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएका थिए। यस्तै अधिकारीले ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिने, क्याफेमा लगेर अस्वस्थ तरिकाले छुने गर्थे। 

ती विद्यार्थीले भने, 'आफ्नो दाइ अथवा भाइसँग बेञ्चमा सँगै बसेको छ भने पनि, 'नबस्, तिमीहरू त बेञ्चमै सेक्स गर्छौ' भन्थे।'

कोअर्डिनेटरले फेसबुकमा पनि किशोरीलाई दुर्व्यवहार गरेको ती विद्यार्थीले बताए। 'तिमीले मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको कमेन्ट गर्ने। 'विल यु बि माई बेड पार्टनर?', 'तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्यो' भन्थे', उनले भने।

विद्यार्थीहरूका अनुसार अधिकारी सामाजिक विषय पढाउँछन्।

अधिकारीले ती किशोरी भाग्न खोज्दा समेत समातेर दुर्व्यवहार गरेको प्रदर्शनमा सहभागी अर्का विद्यार्थीले बताए। 'साथी-साथी चल्दा चल्दै टच हुँदा पाइपै पाइपले हानेर विद्यार्थीलाई चाहिँ रेस्टिकेट गरे, टिचरले चाहिँ स्टुडेन्टलाई हान्न पाउने, हामीले चाहिँ विरोध गर्न नपाउने?', उनले प्रश्न गरे।

विद्यार्थीहरूका अनुसार सेन्ट लरेन्स विद्यालय प्रशासनले महिलामाथिको दुर्व्यवहार सहन नसकिने भनेर यसअघि नै विद्यार्थीहरूलाई सचेत गराए पनि भित्रभित्रै कोअर्डिनेटरबाटै दुर्व्यवहार भएको छ।

१० जेठ, २०७९, १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।