नेपाली फिल्ममा गरिमाको सेकेन्ड इनिङ्स, 'बाटुलो जुन'मा भुवनसँग जोडी

नेपाली फिल्ममा गरिमाको सेकेन्ड इनिङ्स, 'बाटुलो जुन'मा भुवनसँग जोडी

काठमाडौं : विदेश पलायन भएपछि लामो समय नेपाली फिल्म क्षेत्रबाट टाढिएकी अभिनेत्री गरिमा पन्त फेरि अभिनयमा फर्किएकी छन्।

झण्डै नौ वर्षको अन्तरालपछि उनी भुवन केसीको निर्देशनमा बनिरहेको फिल्म ‘बाटुलो जुन’मार्फत पुनः पर्दामा देखिन लागेकी हुन्। २०७४ मा प्रदर्शनमा आएको फिल्म ‘स्काउट’पछि उनलाई दर्शकले पर्दामा देख्न पाएका थिएनन्।

सोझी र भलाद्मी अभिनेत्रीको छवि बनाएकी पन्तलाई फिल्म बाटुलो जुनको अन्तिम चरणको छायांकन सेटमा प्रवेश गराइएको छ। निर्देशक केसीले उनलाई बेल्जियमबाट बोलाएर फिल्ममा अभिनय गराएको चर्चा छ। गरिमाको जोडीका रूपमा निर्देशक केसी आफै रहेका छन्। 

गरिमाले आफू नेपाली फिल्ममा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन्। "क्यामेरा, सेट अनि अभिनयसँगको पुनः भेट," उनले लेखेकी छन्, "केही समयको अन्तरालपछि फेरि एउटा सुन्दर कथामार्फत यहाँहरू माझ आउँदै छु। सधैँझैँ यहाँहरूको माया, साथ र आशीर्वादको अपेक्षा राखेको छु। यो अवसरका लागि सम्पूर्ण ‘बाटुलो जुन’टिमप्रति हृदयदेखि नै आभारी छु।"

२०७३ मा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेपछि उनी नेपाली फिल्म क्षेत्रबाट टाढिएकी थिइन्। विवाहपश्चात् बेल्जियममै बसोबास गर्दै आएकी छन्। गरिमालाई १२ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘झोला’ले थप चर्चामा ल्याएको थियो।

त्यसअघि उनको फिल्म ‘निखिल दाइ’, ‘जीवन मृत्यु’, ‘प्रीतिको फूल’, ‘दिदी भाइ’, ‘मनले मनलाई छुन्छ’, ‘सुन्दर मेरो नाम’हुँदै पछिल्लो फिल्म ‘स्काउट’ रहेको थियो। जुन फिल्म व्यापारको दृष्टिकोणबाट असफल रहे।

दसैंको अवसर पारेर आगामी असोज ३० गते प्रदर्शन हुने तय गरिएको ‘बाटुलो जुन’ले गरिमाको दोस्रो इनिङ्सलाई कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ। लामो समयपछिको उनको यो कमब्याक नेपाली दर्शकका लागि भने सर्प्राइज चाहिँ बनेको छ। 

जेठ १, २०८३ शुक्रबार १८:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।