कामीरिता शेर्पा ३२औँ पटक सगरमाथाको शिखरमा, तोडे आफ्नै रेकर्ड

कामीरिता शेर्पा ३२औँ पटक सगरमाथाको शिखरमा, तोडे आफ्नै रेकर्ड

काठमाडौं : प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले  ३२औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

आज बिहान १०:१२ बजे उनले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेका हुन्। 

यो उपलब्धिसँगै उनले विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोड्दै नयाँ इतिहास रचेका छन्।

सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामीरिता विगत तीन दशकदेखि निरन्तर हिमाल आरोहणमा सक्रिय छन्। ५६ वर्षीय शेर्पाले कठिन मौसम, जोखिमपूर्ण मार्ग र भौगोलिक चुनौतीलाई चिर्दै आरोहण क्षेत्रमा अद्वितीय धैर्यता र साहस प्रदर्शन गर्दै आएका छन्।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन्। यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ। आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट ट्रेकका अनुसार उनी सगरमाथाको सफल आरोहण गरेर सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ ओर्लिरहेका छन्।

विश्वभर ‘एभरेस्ट म्यान’ का रूपमा चिनिएका कामीरिताले सगरमाथा, केटू, मनास्लु र ल्होत्से जस्ता ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन्। एकै सिजनमा पाँच पटकसम्म सगरमाथा आरोहण गरिसकेका उनी हरेक पटक आफ्नै रेकर्ड तोड्दै आइरहेका छन्।

नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका कामीरिता नेपाली हिमाल पर्यटनका वैश्विक प्रतीक हुन्। उनको यो अभूतपूर्व सफलताले विश्वभर नेपालको गौरव बढाउनुका साथै पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थपेको छ।

जेठ ३, २०८३ आइतबार १२:४४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।