भाइरल भिडियोले खुलाएको मोडलिङ क्षेत्रको भयावह चित्र, अझै पनि पीडितमाथि शङ्का गर्ने कि सहयोग !

भाइरल भिडियोले खुलाएको मोडलिङ क्षेत्रको भयावह चित्र, अझै पनि पीडितमाथि शङ्का गर्ने कि सहयोग !
सांकेतिक तस्बिर : https://hers-magazine.com

काठमाडौँ : मनोरञ्जन क्षेत्रमा हुने यौन दुराचारका घटनाबारे लामै समयदेखि बहस हुँदै आए पनि यही क्षेत्रका अधिकांश व्यक्तिहरू भने उल्टो आरोपीको पक्षमा उभिने गरेको देखिन्छ। फिल्म क्षेत्र, रङ्गमञ्च अनि गायन क्षेत्रमा हुने गरेका यौन दुर्व्यवहार र केही बलात्कारका घटना सार्वजनिक भएका छन्। तर ती घटनाका अधिकांश आरोपीहरू त्यही क्षेत्रमा सक्रिय नै रहे। उनीहरू न कानुनी रूपमा दण्डित भए न सामाजिक रूपमा नै।

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा अभिनेता पल शाह पुर्पक्षका लागि कारागारमा पुगेका छन्। तर यो बिचमा नाबालिगसहित पहिला शाहको विपक्षमा बयान दिएकाहरू अदालतमा पुग्दा उनी निर्दोष हुन् भन्न थालेका छन्। फिल्म क्षेत्रका अधिकांश कलाकारहरू अहिले पनि शाहकै पक्षमा बोल्न छाडेका छैनन्।

यहीबिचमा बुधवार टिकटकमा मोडलिङ क्षेत्रमा संलग्न एजेन्सीका प्रमुखले बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भयो। यसले मनोरञ्जन क्षेत्रमा हुने गरेका यौन दुर्व्यवहार र दुराचारबारे सञ्जालमा पुन छलफल सुरु भएको छ।

टिकटकमा राखेको भिडियोमा युवतीले उनलाई बलात्कार गर्ने व्यक्तिको पुरा नाम लिएकी छैन। तर उनले इन्स्टाग्राममा राखेको भिडियोमा भने उनी मनोज पाण्डे भएको उल्लेख गरेकी छिन्। उनी ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका प्रमुख रहेको खुलेको छ।

युवतीले सार्वजनिक गरेको भिडियोमा उल्लेख भए अनुसार उनले सानैमा केही फिल्ममा अभिनय गरेकी थिइन् र नायिका हुने सपना थियो उनको। त्यसका लागि उनले हाउस अफ प्यासनमा अडिसन दिइन्। अडिसनमा उनी छानिइनन्। तर अडिसनको तस्बिर सार्वजनिक भएपछि उनलाई मोडल एजेन्सीबाट फोन आयो।

उनको भनाई अनुसार पाण्डेले फोन गरेर फोटोसुटको अफर गरे। फोटोग्राफरले फोटो खिचे पाण्डेले उनलाई पाँच हजार दिए। पाण्डेले नै उनलाई 'ब्युटीपेजेन्टहुँदै छ सहभागी होऊँ' भनेर अफर गरे। उनी सहभागी भइन् र फस्ट रनर अप पनि भइन्।

कार्यक्रम सकिएपछि आयोजकले उनलाई कार्यक्रमको सक्सेस पार्टी आयोजना गरेको भन्दै एभरेस्ट होटेलमा बोलाए। उनी होटेलमा पुग्दा पाण्डे मात्र थिए। अन्य आएका थिएनन्। त्यहाँ बस्दा पाण्डेले वेलकम ड्रिङ्क भनेर लेमनेड अफर गरे। लेमनेड खाएको १०-१५ मिनेटपछि नशा लागेझैँ भएपछि घर जान्छु भन्दा मिडियाले के भन्छ भनेर पाण्डेले नै 'कार्यक्रममा सहभागी हुने कसैले बढी ड्रिङ्क गरे राख्न होटेलमा कोठा लिएको गएर आराम गर पछि म बोलाउँला भनेर कोठामा पठाएको भिडियोमा भनिएको छ।

कोठामा घरीघरी होस् खुल्ने गरेको र बिहान पाँच बजे होस् खुल्दा आयोजक पाण्डे आफूसँगै खाटमा नाङ्गै सुतिरहेको उनले भिडियोमा उल्लेख गरेकी छिन्।

आफू ठुलो स्वरमा रुन थालेपछि पाण्डेले 'तैँले नै भनेर भएको हो' भन्दै उल्टो आरोप लगाएको र पछि नग्न तस्बिर र भिडियो खिचेको छु भनेर ब्ल्याकमेल गरेर ६ महिनासम्म यौन शोषण गरेको भिडियोमा उल्लेख छ।

त्यो घटनाको ट्रमाले आत्महत्याको प्रयास गरेपछि आफ्नो प्रेमीले थाहा पाएपछि उनलाई सबै घटना भनेको र त्यसपछि पाण्डेको कार्यालयमा गएर सबैलाई राखेर टेक्स्ट मेसेज, अडियो रेकर्ड सबै सुनाएपछि प्रेमी रिसाएर पाण्डेलाई कुटेको उल्लेख गरेकी छिन्।

भिडियोमा उल्लेख भए अनुसार उनी त्यो बेलामा १६ वर्षको थिइन्। उनले टिकटकमा २४ वटा भिडियो राखेकी थिइन्। पछि टिकटकले उनको भिडियो हटायो। तर अहिले सामाजिक सञ्जालभरि ती भिडियोहरू भाइरल भएका छन्।

भिडियोको दाबी कति सत्य ?

घटनाबारे भिडियोमार्फत सबै सार्वजनिक भएकाले हामीले पीडित युवतीलाई सम्पर्क गरेनौँ। इन्स्टाग्राममा राखेको भिडियोमा उनले पाण्डेको नाम लिएकाले उकेराले यसबारे प्रतिक्रियाका लागि पाण्डेसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। बारम्बार प्रयास गर्दा पनि उनको मोबाइलबाट सम्पर्क हुन सकेन भन्ने सन्देश मात्र आइरह्यो।

भिडियोमा दाबी गरिए अनुसारको कार्यक्रम भएको हो या हैन भनेर खोज्दा २०७१ भदौ १७ मा सेनाको आर्मी अफिसर क्लबमा ‘मिस ग्लोबल इन्टरनेशनल’ को चौथो शृङ्खला आयोजना भएको र त्यसमा ती युवती संलग्न रहेको पुष्टि भयो। कार्यक्रममा २४ जना सहभागी थिए जसमा ती युवती फस्ट रनर अप भएको समेत  कार्यक्रमको तस्बिरबाट पुष्टि हुन्छ।

कार्यक्रम आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी नै रहेको र त्यसका प्रमुख पाण्डे रहेको समेत पुष्टि हुन्छ। यसैबिच यस घटनाबारे अनलाइनखवरका तत्कालीन फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राखे। युवतीले उनको नाम लिएकी छैनन्। तर सञ्जालमा पाण्डेसँगै उनलाई समेत दोषी भनेर तस्बिर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया लेखेका छन्।

उनको प्रतिक्रियाले युवतीले भिडियोमा दाबी गरे जस्तै पाण्डेले उनलाई मोडलिङको फोटो खिचाउन अनलाइनखवरको स्टुडियोमा ल्याएको र पछि पाण्डेको कार्यालयमा ती युवती र अर्का युवक पुगेर झगडा भएको पुष्टि हुन्छ।

पौडेलले सामाजिक सञ्जालमा मोडलिङ सम्बन्धी फोटो खिच्ने आफ्नो पेसा रहेको र भिडियोमा दाबी गरे अनुसार ती युवतीको तस्बिर आफू काम गर्ने कार्यालयको स्टुडियोमा खिचेको लेखेका छन्। कार्यालयको स्टुडियोमा तस्बिर खिचेर सो बापतको पारिश्रमिक एजेन्सीसँग लिए। ६-७ महिनापछि पाण्डेको कार्यालयबाट एक जना भाइले झगडा भइरहेको भनेर फोन गरेपछि पुग्दा युवती भेटेको उनले लेखेका छन्। 

'म इभेन्ट र मोडलिङको फोटो खिच्ने गर्छु। एजेन्सीले क्लाइन्ट ल्याएपछि एजेन्सीसँग आफ्नो पारिश्रमिक लिएर फोटो खिचेर दिने मेरो काम हो। मैले कार्यालयको स्टुडियोमा ती युवतीको  फोटो खिचेको हुँ' उकेरासँगको कुराकानीमा पौडेलले भने 'होटेलको घटना के भयो मलाई जानकारी भएन। बुधवार भिडियो हेरेर मात्रै थाहा पाएको हुँ। होटेलमा फोटो/भिडियो खिच्ने म हैन। उनले भिडियोमा मैले खिचेको भनेको पनि छैन। तर मलाई किन दोषी भनेर यसमा जोड्ने प्रयास भएको हो बुझ्न सकेको छैन। कार्यालयमा झगडा भएको भनेपछि म विचतिर पुगेको पनि हो। त्यसपछि उनले मलाई सम्पर्क पनि गरिनन्। म पनि आफ्नै काममा लागे।'

उनले यस प्रकरणबारे अनुसन्धान शुरु भए र आफुले सहयोग गर्न सक्ने भए तयार रहेको प्रतिक्रिया समेत दिए।

'स्टुडियोमा फोटो खिच्दा र कार्यालयमा झगडा हुँदा म थिए। यसबारे मैले कुनै निकायमा बोल्दा उनलाई न्यायका लागि सहयोग पुग्छ भने म तयार छु,' उनले भने' तर म संलग्नै नभएको र युवतीले पनि नभनेको विषयमा मेरो नाम जोड्नु भएन। एकलाई न्याय दिन जो घटनामा संलग्नै छैन उसलाई यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा जोडेर सामाजिक दण्ड दिनु जायज हो र?'

भिडियोमा युवतीले भनेको 'पाण्डेले होटेलको कोठामा बलात्कार गरेको र निरन्तर ६ महिना यौन शोषण गरेको' पक्ष प्रहरी अनुसन्धानमा मात्र पुष्टि हुनसक्ने विषय हो। भिडियोमा उनले त्यो बेलाको प्रमाण पेन ड्राइभमा रहेको तर ट्रमाबाट बाहिर आउन सबै डिलेट  गरेको उल्लेख गरेकी छिन्। यदि उनीसँग त्यो पेन ड्राइभ भएमा प्राविधिक रूपमा मेटाइएका सामाग्री रिकभर हुन पनि सक्छन्। 

हामी प्रक्रियामा छौँ : प्रहरी प्रवक्ता

सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै केही प्रयोगकर्ताहरूले नेपाल प्रहरीलाई ट्याग गरेर छानबिन गरेर दोषीलाई कारबाही गर्न माग समेत गरिरहेका छन्। यस विषयमा प्रहरीले के गरिरहेको छ त ? उकेराको जिज्ञासामा केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले यस घटनालाई गम्भीर रूपमा लिएर छानबिनको प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको बताए।

'जुन भिडियो आएको छ त्यो निकै संवेदनशील छ। यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र आन्तरिक रूपमा बुझ्ने प्रक्रिया पनि सुरु गरेका छौँ,' प्रहरी प्रवक्ता केसीले भने' अहिले हामी पीडित युवतीसँग सम्पर्क गर्ने प्रयासमा छौँ। तर सम्पर्क हुन सकेको छैन। उहाँबारे कसैलाई जानकारी भए, कोही सम्पर्कमा हुनुहुन्छ भने हामी सहयोगका लागि आग्रह समेत गर्छौँ। प्रहरीलाई सहयोग गर्नुस्। '

५ जेठ, २०७९, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।