प्रहरीले दिनभर पच्छ्यायो भाइरल भिडियोका आरोपीत, हदम्याद बाधक बन्दा सकेन पक्राउ गर्न

प्रहरीले दिनभर पच्छ्यायो  भाइरल भिडियोका आरोपीत, हदम्याद बाधक बन्दा सकेन पक्राउ गर्न

काठमाडौँ : मोडलिङ सम्बन्धी एजेन्सी चलाइरहेका मनोज पाण्डेले होटल एभरेस्टमा बोलाएर बलात्कार गरेको दाबीसहित बुधवार बेलुका सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो भाइरल भयो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ' खसी बाजी राख्नेलाई समात्ने, यस्तो गम्भीर घटनामा केही नगर्ने' भन्दै नेपाल प्रहरीलाई मेन्सन हुन थाल्यो।

प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालय अनि उपत्यका अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी अधिकारीको सल्लाहमा अनुसन्धान सुरु भयो। बिहीबार दिउसोबाट। आरोपी पाण्डे कता छन् भन्ने खोजी सुरु भयो। सँगै पीडितसँग सम्पर्क गर्ने प्रयास पनि भयो। अर्को प्रहरी टोली कानुनी परामर्शमा सक्रिय भयो।

पाण्डे र भिडियो सार्वजनिक गर्ने युवतीबारे अनुसन्धानमा जुटेको टोलीले उनीहरूको अवस्थाबारे पर्याप्त सूचना सङ्कलन गर्यो। प्रहरीले खोजी सुरु गर्दा पाण्डे काठमाडौँ बाहिर देखिए। बेलुकातिर उनी काठमाडौँ आइपुगेको देखियो।

कानुनी परामर्शमा खटिएको टोलीले सरकारी वकिलको कार्यालयदेखि सङ्गठनकै कानुनबारे जानकार सदस्यहरूसँग गरिरहेको परामर्श निष्कर्षमा नपुगेसम्म पाण्डेको खोजीमा रहेको प्रहरी टोली निरन्तर निगरानीमा थियो।

सार्वजनिक भएको भिडियोमा दाबी गरे अनुसार यो घटना सात वर्ष अगाडिको थियो। कार्यक्रम भएको मिति हेर्दा २०७१ भदौ १७ को देखियो। भिडियोमा दाबी अनुसार कार्यक्रम सकिएपछि सक्सेस पार्टीको बहानामा उनलाई होटेलमा बोलाएर बलात्कार भएको थियो।

पाण्डेलाई नियन्त्रणमा लिन तयार भएको टोलीलाई तत्काल ब्याक हुन निर्देशन आयो। कारण थियो हदम्याद। घटनाको बेला उनको उमेरबारे भिडियोमा उल्लेख गरे अनुसार उनको उमेर थियो १६।

२०७४ असोज ३० मा आएको मुलुकी अपराध संहिता सम्बन्धी ऐनले नाबालिगको उमेर बढाएर १८ बनाएको थियो। जुन समयमा ती युवतीको बलात्कार भयो भनिएको छ त्यो समयमा कायम रहेको मुलुकी ऐनले बालिगको उमेर १६ उल्लेख गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ अनि बालबालिकासम्बन्धी ऐन दुबैमा बलात्कार सम्बन्धी कसुरबारे उजुरी दिने हदम्याद तोकेको छ। नाबालिगको हकमा बालिग भएको एक वर्षभित्रमा जाहेरी दिन सकिने र बालिगको हकमा घटना भएको एक वर्षभित्रमा जाहेरी दिनु पर्ने हदम्याद उल्लेख छ।

भाइरल भिडियोले खुलाएको मोडलिङ क्षेत्रको भयावह चित्र, अझै पनि पीडितमाथि शङ्का गर्ने कि सहयोग !

माल्भिकाले माफी माग्दै नारीवाद र यौन हिंसाका सबै प्लेटफर्मबाट टाढा हुने घोषणा गरिन्

सामाजिक सञ्जाल प्रयोगकर्ताले चरित्र हत्या गरेको भन्दै पौडेलले ब्युरोमा दिए उजुरी

मुलुकी अपराध संहिताको दफा ३७ मा उल्लेख हदम्याद सम्बन्धी व्यवस्थामा संहितामा कुनै कसुरमा कुनै कसुरका सम्बन्धमा व्यवस्था गरिएको उजुर गर्ने हदम्याद त्यस्तो कसुरको षड्यन्त्र, उद्योग वा मतियारको सम्बन्धमा समेत लागु हुने उल्लेख छ।

संहिताको दफा २२९ मा उल्लेख भए अनुसार हाडनाता करणीको सम्बन्धमा हदम्याद तोकिएको छैन। सो सम्बन्धी उजुरी जहिले पनि दर्ता हुनसक्छ। तर जवर्जस्ती करणकी हकमा घटना भएको एक वर्षभित्र जाहेरी दर्ता हुनुपर्ने उल्लेख छ।

भिडियोमा दाबी गरे अनुसार पीडितको हकमा यी दुवै हदम्याद नाघिसकेको देखियो। हदम्याद नाघेको जाहेरी लिएर अनुसन्धान गर्ने अधिकार प्रहरीलाई नभएकाले बिहीबार पाण्डेको खोजीमा लागेको प्रहरी टोली ब्याक भएको थियो।

'सामाजिक सञ्जालमा आएका सबै भिडियो हेरेँ। निकै संवेदनशील विषय हो यो,' महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले भने' आन्तरिक अनुसन्धान सुरु गरिसकेका पनि छौँ। तर आरोपीलाई नियन्त्रणमा लिने अनि पीडितसँग जानकारी लिन हदम्यादको समस्या देखिएपछि अहिले हामी कानुनी परामर्शमा छौँ।'

उनले आन्तरिक रूपमा प्रहरीले गर्ने अनुसन्धान भने जारी नै रहने औपचारिक अनुसन्धान भने हदम्यादबारे कानुनी परामर्शमा निस्कने सुझावपछि मात्रै अगाडि बढ्न सकिने बताए। महिला तथा बालबालिका सम्बन्धी अपराधबारे बहस पैरवी गर्दै आएकी अधिवक्ता राधिका खतिवडा हदम्याद, क्षेत्राधिकार र हकदैयालाई हेरेर मात्रै मुद्दाले औपचारिकता पाउन सक्ने बताउँछिन्।

हदम्याद अर्थात् कानुनमा घटना भएको यति समयभित्र उजुरी आउनुपर्ने भनेर तोकिएको अवधि। क्षेत्राधिकार अर्थात् सो अपराधबारे अनुसन्धान गर्ने सक्ने अधिकार प्राप्त, हकदैया अर्थात् सो अपराध भएको हो भनेर उजुरी दिन कानुनी रूपमा हकप्राप्त व्यक्ति।

'अहिले सामाजिक सञ्जालमा आइरहेको भिडियो हेरे। त्यहाँ उल्लेख भएको मिति र अपराधको प्रकृति हेर्दा हदम्याद नाघिसकेको देखिन्छ,' उनले भनिन्' हदम्याद नाघेको हकमा जाहेरी लिन सक्ने विशेष कानुनी प्रावधान छैन।'

बिहीबार युवतीले टिकटकमा नयाँ भिडियो राख्दै सोधेकी छिन्' कस्तो नियम हो के यो नेपालको ?'

५ जेठ, २०७९, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।