यौन हिंसामा पनि भाइरल हुने लोभ !

यौन हिंसामा पनि भाइरल हुने लोभ !

काठमाडौँ : मनोरञ्जन क्षेत्रमा यदाकदा आङ नै सिरिङ्ग बनाउने कहालीलाग्दा खबरहरू बाहिरिन्छन्। जसले छोटो समयका लागि तरङ्ग ल्याउँछ र छिट्टै सेलाउँछ। घटना बाहिरिएलगत्तै आन्दोलन हुन्छ, विभिन्न संघ-संस्थाले र्याली निकाल्छन्। महिला आयोगदेखि अन्य महिलावादी संघ-संस्थाको ध्यानाकर्षण बाहिरिन्छ। 'आई एम विथ पीडित' भन्दै सामाजिक सञ्जालमा ह्यासट्याग सुरु हुन्छ। तर घटनाको टुङ्गिनु अगाडि नै  सबै गुपचुप भइसक्छन्।

घटना सामाजिक सञ्जालमा छाइरहेसम्म अधिकांश पीडितको वरपर हुन्छन्। अटेन्सन सिकरहरु झुन्ड बनाउन थाल्छन्। जब घटना पुरानो हुँदै जान्छ, पीडित एक्लै पर्छन्। 

यसअघिको नाबालिग गायिका बलात्कारको घटनालाई उदाहरण मान्ने हो भने पनि मनोरञ्जन क्षेत्रमा यस्ता कहालीलाग्दा घटना केही दिनको आक्रोश मात्रै बन्ने गरेको पुष्टि हुन्छ। अझ त्यो केसमा त केही कलाकारहरू पीडककै पक्षमै खुलेर लागेका थिए।

मनोविद् मिनाक्षी दाहाल भन्छिन्, ‘दुई दिनमा सबैले भुलिहाल्छन्। जिन्दगीमा घाम-पानी त भइहाल्छ। अपराध गर्नेको मनोबल यस्ता भाइरल प्रवृत्तिले झनै बढाएको छ।'

करिअरको डर, परिवार-समाजको डर र यस्ता धेरै डरहरुले शारीरिक तथा मानसिक बलात्कारका कुरा बाहिर निस्कन मुस्किल पर्ने मनोविद्हरू बताउँछन्। जसले साहस जुटाउँछ उसको आत्मविश्वास आफ्नै क्षेत्रकाले कमजोर बनाउने प्रयास गर्छन् पहिला।

मनोविद् दाहाल भन्छिन्, 'निकै हिम्मत गरेर पीडितहरू बोल्छन्। तर त्यो परालको आगोजस्तो भइदिन्छ। एकैछिन पोल्छ, अपराधीहरू छटपटाउँछन् तर छिट्टै निभ्छ। उनीहरू पहिलेभन्दा धेरै आरामले बस्छन्।'

अहिलेको भाइरल घटना

हालै एक युवतीले आठ वर्षअघि आफूमा भएको यौन हिंसा र बलात्कारका बारेमा मुख खोलिन्। सानै उमेरदेखि नायिका बन्ने सपना बुनेकी उनले पाहुना लगायत केही फिल्ममा बाल कलाकारको रूपमा मुख्य भूमिका समेत निर्वाह गरिसकेकी छन्।

बाल्यकालमै फिल्ममा नायिका बन्ने चस्का पसेकी उनले छिट्टै चर्चा कमाउने अनि फिल्ममा अभिनय गर्ने बाटोका रूपमा सौन्दर्य प्रतियोगितालाई रोजिन्। मोडल बनेपछि फिल्ममा पाइला चाल्न सजिलो हुने उनको धारणा थियो।

ती युवतीको भनाइ अनुसार, सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेले सक्सेस पार्टीको नाममा एभरेस्ट होटेलमा बोलाई बेहोस बनाएर बलात्कार गरे। होस खुलेपछि २० हजार दिएर तिम्रै इच्छा अनुसार शारीरिक सम्पर्क गरेको भने।

फोटो-भिडियो खिचेर राखेको, कसैलाई भन्यो भने सार्वजनिक गरिदिन्छु भनेर धम्की दिए। ब्याल्कमेल गरे। यसरी झन्डै ६ महिनासम्म पाण्डेले पीडित युवतीलाई बलात्कार गरे।

६ महिनासम्म नग्न फोटो भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै बलात्कार गरेको उनले बताएकी छन्। त्यस्तै डिल्लीबजारमा रहेको एक मोडलिङ एजेन्सीका सञ्चालकले समेत आफूलाई बलात्कार गरेको उनको भनाइ छ।

आत्महत्याको प्रयास समेत गरेकी ती युवती मानसिक रूपमा बिछिप्त हुँदै बोलेका कुराहरूले धेरै मानिसलाई आक्रोशित बनायो। यही कन्फ्रेसनका कारण विभिन्न क्षेत्रमा लुकेर बसेका यौन पिपासुहरूको पर्दा निरन्तर खुलिरहेको छ। सौन्दर्य प्रतियोगिताका सञ्चालकबाट बलात्कारमा परेको युवतीकै कुरा सुनेर अर्की दुई युवतीले पनि पाण्डे विरुद्ध मुद्दा दर्ता गराएका छन्।

ती युवतीको कन्फेसनकै कारण ७ वर्षअघि विद्यालयका प्राध्यानाध्यापकबाट बलात्कृत युवतीले सामाजिक सञ्जालमा आफ्ना पीडा सुनाइन्। त्यस्तै बिहे गर्छु भन्ने आश्वासन दिएर बलात्कार गरेका वाइल्ड लाइफ फोटोग्राफर समेत यो मुद्दामा मुछिएका छन्। अन्य पीडितहरू पनि बिस्तारै खुल्दै आउने वातावरण यति बेला सबै क्षेत्रमा बनिरहेको छ।

चर्चित हुने लोभले यौन दुर्व्यवहारको जोखिम

खलनायकको भूमिकामा आफूलाई स्थापित गराइरहेका कलाकार प्रशान्त ताम्राकार मोडलिङ र फेसन उद्योगका लागि पुरानो नाम हो। उनी महिला मात्रै मोडलिङमा जमिरहेका बेला पुरुषको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फेसन शोमा सहभागी हुने पुरुष मोडल पनि हुन्।

अहिलेको घटना बाहिरिनुभन्दा अघि उनीसँगको अन्तर्वार्तामा यो क्षेत्रलाई महिलाले चर्चा कमाउने छोटो बाटोका रूपमा लिने गरेको बताएका थिए। उनले भनेका थिए, 'नेपालमा पुरुष मोडलहरू पनि धेरै छन्। उनीहरू चर्चामा आउन आफैँ मिहिनेत गर्छन्। लामो समय सङ्घर्ष गर्छन्। तर महिलाहरू आउने बित्तिकै चर्चित हुन्छन्। स्टारडम जति छिट्टै कमाउँछन् उति सजिलै गुमाउँछन्। अन्य मानिसहरूबाट प्रयोग हुन्छन्, दुर्व्यवहारमा पर्छन् र यो क्षेत्रमा टिकिरहन सक्दैनन्।'

कतिपय अवस्थामा चर्चा कमाउने छोटो बाटोको रूपमा जे गर्न पनि तयार हुने मानसिकताले पनि यो क्षेत्रमा यौन हिंसा भइरहेको उनको भनाइ थियो।

त्यस्तै पुरानै कुराकानीको सिलसिलामा गायिका ज्योति मगरले पनि ताम्राकारको जस्तै कुरा गरेकी थिइन्। उनले भनेकी थिइन्, 'हामीमा चर्चा कमाउन जे गर्न पनि तयार हुने मानसिकता छ। मैले छोटो लुगा नलगाउने हो भने दर्शकहरू स्टेजमा मलाई हेर्न आउँदैनन्। दर्शक नआउने हो भने आयोजकले मलाई बोलाउँदैन।'

नाम नबताउने सर्तमा फिल्मका एक निर्देशकले पनि उस्तै कुरा गरे। उनले भने, 'हामीलाई यो क्षेत्रमा यौन हिंसाका घटना धेरै थाहा भइरहेको हुन्छ। तर जबसम्म पीडितले यस्ता कुरा लुकाउँछन्, हामी जान्ने भएर बोल्न मिल्दैन। उनीहरूकै आफ्ना विभिन्न सर्तका कारण आफैँ हिंसाको सिकार भइरहेका हुन्।'

पर्दामा देखिने चमकधमक बाहिरका मानिसलाई थाहा हुँदैन। ती निर्देशकले भने, 'एक पटक चर्चित हुन पाए, सेलिब्रेटी बन्न पाए पत्रकारले अन्तर्वार्ता लिन्छन्, चर्चित भइन्छ भन्ने भ्रम छ। त्यही भ्रमका कारण धेरै किशोर-किशोरी मनोरञ्जन क्षेत्रमा आउँछन्। राम्रो हातमा परे राम्रा कलाकार बन्छन्, नराम्रा हातमा परे यौन दुर्व्यवहारको सिकार बन्छन्।'

पाँच हजारको कमाइ, पचास हजारको खर्च

मनोरञ्जन क्षेत्रको अर्को तितो यथार्थ उनीहरूको कमाइ र उनीहरूले जिउने जीवनशैलीबिचको अन्तर रहेको बताउँछिन्, मनोविद् दाहाल।

उनी भन्छिन्, 'फेसन अनुसार चल्नैपर्ने, ठाउँ अनुसार खानैपर्ने। झिलिमिली र रात्रिकालीन मनोरञ्जनमा झुम्नुपर्ने। कसैले निर्माण गरेको स्ट्याण्डर्ड हैन तर पनि यसलाई फलो नगर्नेहरू मनोरञ्जनको क्षेत्रभित्र नपरौँला भन्ने सोचाइ राख्छन्। जसले गर्दा उनीहरू बाध्य भएर सजिलो र छोटो बाटो रोज्छन्।'

मनोविद् दाहालले थपिन्, 'घर-परिवारबाट युवा अवस्थामा टाढिँदै जानु, चर्चाको भोकमा जे गर्न पनि तयार हुनु र खर्च धान्न जस्तो काम पनि गर्नुपर्ने अवस्थामा पुग्नु मनोरञ्जन क्षेत्रमा यौन हिंसाको सुरुवात हो। सुरुमा सहमतीमै यौन सम्बन्ध राखे पनि बिस्तारै उनीहरू ब्ल्याकमेलको सिकार हुन्छन्। केही समयअघि मात्रै एक चर्चित गायिकाको नग्न फोटो बाहिरिनु यसैको एक कारण हो।'

ती गायिकाले आर्थिक अवस्था राम्रो केटा साथी बनाएकी थिइन्। सहमतिमै शारीरिक सम्बन्ध भएको र त्यो समयमा फोटो भिडियो खिचिएको रहेछ। जब दुईबिच असमझदारी पैदा भयो, गायिकाले ती केटालाई छाडिछिन् र अर्को केटोसँग सम्बन्ध अगाडि बढाइछिन्।

केटोले उनको नग्न तस्बिर सामाजिक सञ्जालमा राखिदिएछ। ती गायिका मानसिक स्वास्थ्य सुधारका लागि विभिन्न चिकित्सक हुँदै अध्यात्मसम्म पुगिन्। उनको अवस्था अहिले राम्रो छ।

राष्ट्रका गहनाको दोहोरो चरित्र

पछिल्लो समय नेपाली मनोरञ्जन क्षेत्रमा भएका यौन अपराधका घटनाहरू सार्वजनिक हुने क्रम बढेको छ। यौनहिंसा विरुद्धको विश्वव्यापी अभियानको प्रभावमा केही महिला कलाकारहरूले अन्तर्वार्तामा आफू यौन हिंसामा परेको घटना सुनाएका थिए। तर उनीहरू पीडितको नाम खुलाउन हच्किए।

यहीबिचमा केही गायिकाहरूले साहस गरेर अवसर दिने बहानामा यौन दुर्व्यवहार गर्ने सङ्गीतकारहरूको पोल खोले। तर सङ्गीत क्षेत्रका हस्तीहरू उल्टै गायीकाहरुविरुद्ध मोर्चामा कस्सिएपछि यो त्यतिकै सामसुम भयो। दोषीले सामाजिक दण्ड समेत पाएनन्।

बौद्धिकहरूको क्षेत्र मानिने रङ्गमञ्चका तीन हस्तीबारे पीडितले सार्वजनिक गर्दा केही समय आरोपीहरू लोकलाजका लागि निष्क्रिय झैँ देखिए। तर पछि नाट्य क्षेत्रले उनीहरूलाई सहजै स्विकार्यो।

स्टेज कार्यक्रमको प्रलोभन, विदेशको कार्यक्रममा लैजाने प्रलोभनमा पारेर आयोजकहरूले गरेको यौन दुर्व्यवहारबारे निक्की कार्की लगायतकाले सार्वजनिक गरे पनि ती पनि त्यत्तिकै सेलायो।

अरू त अरू भुवन केसी विरुद्ध चर्चित नायिका साम्राज्ञीलक्ष्मी शाहले घटना सार्वजनिक गर्दा पनि चलचित्र क्षेत्रका हस्तीहरूमा यौन दुर्व्यवहार र यौन हिंसाबारे चेतना पसेन। उनीहरू उल्टै केसीको पक्षमा मोर्चा कसेर सामाजिक सञ्जालमा सक्रिय भए।

अभिनेता पल शाहविरुद्ध एक नाबालिग गायिकाको परिवारले बलात्कारको किटानी जाहेरी दर्ता गरेपछि चलचित्र क्षेत्रका धेरैको मखुन्डो उघारियो र उघारिने क्रम जारी छ।

पूजा शर्मा, सुदर्शन थापाहरू  त फिल्म चलाउने लोभमा बलात्कार जस्तो गम्भीर आरोपमा प्रहरी हिरासतमा रहेका शाहको पक्षमै लागे। वसुन्धरा भुसाल अनि किरण केसीले बलात्कार आरोपी पलको अनुहारमा आफ्नो छोराको अनुहार देखेर कठै भने। उनीहरूले ती नाबालिगको मुहारमा आफ्नो छोरीको अनुहारै देखेनन्। जसको परिणाम अदालतमा पुगेर धेरैको बकपत्र बदलियो।

मनोरञ्जन क्षेत्रले साहस जुटाएर आफूमाथि भएको अपराध खुलाउँदा उनैलाई होस्टायल बन्न बाध्य बनायो। अहिले प्रहरी अनुसन्धानमा रहेको आठ वर्ष पुरानो बलात्कारको घटना पनि मनोरञ्जन क्षेत्रसँगै जोडिएको छ।

मोडलिङ अनि सौन्दर्य प्रतियोगिताको क्षेत्रमाथि पहिल्यैबाट औँला उठिरहेकै हो नि। यो केसपछि भने औँला मात्रै हैन कानुनका दफा नै उठेका छन्।

केही कलाकार पीडितको पक्षमा सामाजिक सञ्जालमा पोखिएका छन्। तर अधिकांश कलाकार अझैँ मौन छन्। 'पीडितलाई होस्टायल बनाउन सकिने सही समयको पर्खाइमा रहेको' झैँ सङ्केत गरिरहेको छ उनीहरूको मौनताले।

तर पुन त्यस्तो नहोस्। होस्टायल बन्नेक्रम ती नाबालिगको केससँगै बिलाएर जाओस्।

११ जेठ, २०७९, १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।