विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

वेलकम एड्भरटाइजिङ कम्पनीमा फाइनान्स हेडको रुपमा कार्यरत नीता पौडेल काठमाडौंको मुख्य केन्द्र न्युरोडको झोंछेमा जन्मिइन्, हुर्किइन्।

नेवार समुदायका साथीहरुसँग बिन्दास बाल्यकाल बिताएकी नीताको जीवन विहेपछि भने पूरै परिवर्तन भयो। आमा, बुबा र दाजुहरुबाट पुलपुलिएकी नीताले संयुक्त परिवारमा विहेपछि सोच्दै नसोचेको व्यवहार भोगिन्।

गर्भवती हुँदा घर-परिवारमा आफ्नो समस्या राख्न नसक्दा भोकभोकै सुत्नु परेको पीडा पनि छ उनीसँग। त्यस्तै छोराको पालामा आफैं बिरामी भएर बच्चा र आफूले भोगेका दुःख पनि धेरै छन्।

तर, अहिले छोरी र छोराको सिर्जनात्मक प्रगति देख्दा भने उनमा खुसीको सीमा छैन। गर्भवती हुँदा आफूले भोग्नु परेको पीडा र बच्चा हुर्केपछिको खुसीलाई नीताले उकेरामार्फत यसरी पोखिन्ः

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो साथी-संगत नेवार समुदायमा थियो। जात्रा, नखत्यामा म पनि सामेल हुन्थें। इन्द्रजात्रामा त राति अबेरसम्म साथीहरुसँग घुमिन्थ्यो। निकै रमाइलो थियो त्यो समय।

०००
बिकम पढ्र्दै गर्दा घरबाट विहेको कुरा चल्यो। निर्मल पौडेलजीकी भाउजु माग्न आउनुभएको थियो। विहेको लागि धेरै कर गर्नुभयो। २२ वर्षकै उमेरमा निर्मलजीसँग मेरो विहे भयो।

१६ जनाको ठूलो परिवारमा म कान्छी बुहारीको रुपमा भित्रिएँ। डुलेर खाइरहेको मलाई कान्छी बुहारीको रुपमा जिम्मेवारी निभाउन निकै सकस भयो। घरमा बसिरहँदा डिप्रेसनमै जान लागें की भन्ने महसुस समेत भयो।

न्युरोडमा जन्मेकी मलाई त्यतिबेलाको बानेश्वर कहाँ हो कहाँ जस्तै लाग्यो। बानेश्वरलाई त्यतिबेलासम्म काठ नै भनिन्थ्यो। राति झ्याँङमा स्याल कराउँथ्यो। रात परेपछि सधैं रुन्थें। मेरो अवस्था बुझेर श्रीमानले हरेक दिन न्युरोड लगिदिनुहुन्थ्यो। त्यहाँ पुगेपछि भने दंग पर्थें।

०००
विहे गरेको एक वर्षमै गर्भवती भएँ। म पहिलेदेखि साकाहारी थिएँ। बाहिरको पनि केही नखाने। गर्भवती भएपछि मलाई निकै सकस भयो।

डाक्टरले दिएको समय नजिकिंदै गर्दा सेतो पानी बग्न थाल्यो। साह्रै डरलाग्यो। जेठानी दिदीलाई भनें। म सासु, श्रीमान् र जेठानीसँग प्रसूति गृह पुग्यौं। त्यहाँ ३२ जना जति सुत्केरी महिला कराइरहेको, रोइरहेको देखें। त्यो देखेर म एकदमै नर्भस भएँ, डर लाग्यो। म त यहाँ बस्दै बस्दिन भनेर तल्लो पेट समातेर चार तलाबाट भाग्दै हस्पिटलको पारि पुगें। पछिपछि सासु र श्रीमान् पनि मलाई लखेट्दै हुनुहुन्थ्यो। उहाँहरुले हामी तिमीलाई एक्लै छोड्दैनौं भनेपछि बल्ल भित्र वार्डमा आएँ। रातभरि रोएर बिताएँ।

बिहानको ४ बजे दुख्न सुरु भएको मेरो पेट ६ बजेपछि त सहनै नसक्ने गरी दुख्यो। करौंतीले रेट्दा पनि यस्तो दुखाइ हुँदैन होला। साढे ९ बजेतिर एकदमै गाह्रो भयो। म ट्वाइलेट जाँदै-आउँदै गर्दै थिएँ। पौने १० बजेतिर ट्वाइलेट गएर फर्कंदा त ‘बच्चाको टाउको देखिइसकेछ’ भन्दै नर्सहरु दगुरेर आए। उनीहरुले तुरुन्तै छोरीलाई निकाले। म दंग परें किनकी मैले छोरीकै रहर गरेको थिएँ।

घरमा प्रायः सबैको पहिलो सन्तान छोरा नै थिए। कान्छो छोराको चाहिँ छोरी जन्मी भनेर ससुरा हेर्न समेत आउनु भएन। त्यो पल मेरा लागि निकै पीडादायी थियो। पछि सासु र ससुराकै मनपर्ने नातिनीमा मेरै छोरी भइन्।

त्यतिबेलासम्म हाम्रो घरमा छोरा र छोरीबीच भेदभाव थियो। छोराहरुको जन्मदिन भव्य रुपमा मनाइन्थ्यो भने छोरीको मनाइँदैनथ्यो। मैले छोरी एक वर्ष हुँदा जन्मदिनको पार्टी आयोजना गरेर छोरा-छोरीबीचको विभेद तोडें। दसैंमा छोराहरुलाई सानै भए पनि पहिला टीका लगाइन्थ्यो। मैले जो ठूलो छ, उसले पहिला टीका लगाउँछ भनेर नियम नै बसालें। मलाई छोराछोरीप्रति हुने भेदभाव मन पर्दैनथ्यो।

छोरी ३ वर्षकी भएपछि स्कुल जान थालिन्। घरमा बसिरहँदा मनमा धेरै कुरा खेल्ने र आफूले पढेको पनि खेर जाने डरले श्रीमानको वेलकम एड्भरटाइजिङ कम्पनीमा फाइनान्स हेडको रुपमा काम गर्ने थालें। जुन अहिले पनि निरन्तर छ।

०००
छोरी ५ वर्षकी भएपछि दोस्रो पटक गर्भवती भएँ। पहिलो पटक गर्भवती हुँदा स्याहार र खाना नपुगेर दुःख पाए भने दोस्रो पटक आफ्नै स्वास्थ्यले गर्दा दुःख पाएँ।

प्रेगनेन्सीको दौरानमा युरिन इन्फेक्सन भएर १०४/१०५ डिग्री ज्वरो आउने। एक पटक त १०६ डिग्री ज्वरो आएर ज्वरो नाप्दा थर्मोमिटर नै फुट्यो। ज्वरो नघटेर एन्टिबायोटिक नै खानु प¥यो। नियमित दिनको ४ पटक एन्टिबायोटिक औषधि खाँदा पनि ज्वरो कन्ट्रोलमै नआउने, खान केही नहुने र छटपटीले पेट पोल्ने भयो।

६ महिना भएपछि डा कुन्डुले हरेक हप्ता अल्ट्रासाउन्ड गर्न बोलाउनु भयो। पेटमा बच्चा ८ महिनाको हुँदासम्म पनि ‘यो बच्चा नजन्माए पनि हुन्छ, घर-परिवारमा सल्लाह गर’ भन्नुहुन्थ्यो। हरेक पटकको अल्ट्रासाउन्डमा बच्चा बटारिएर बसेको देखिन्थ्यो। बच्चाको एउटा खुट्टा र हात नै देखिंदैनथ्यो। डाक्टरले बच्चा नर्मल छैन भन्थे। म भने पेटभित्र ८ महिना बच्चालाई राखिसकें, जस्तो बच्चा जन्मे पनि अब उसैलाई स्याहार गरेर जीवन बिताउँछु भन्थें।

नेपालमा चिकित्सकले बिरामीलाई के खाने, के नखाने, के गर्नुपर्छ भन्ने चाहिं नसिकाउने रहेछ। अहिले कस्तो छ थाहा छैन तर मेरो पालामा भने महिनौं एन्टिबायोटिकको भरमा बच्चा पेटमा राखें तर के खाएको छ भनेर सोधनी समेत भएन। मलाई डाहा र छटपटी हुन्थ्यो। मेवा यति धेरै खान्थें की कुरै नगरौं। पछि पो थाहा भयो, प्रेगनेन्सीमा मेवा खानु नहुने रहेछ। एन्टिबायोटिक र मेवाले पेटको बच्चालाई असर गर्दोरहेछ।

डाक्टर कुन्डुले मेरो केसलाई एकदमै क्रिटिकल रुपमा लिनुभएको थियो। त्यही कारण उहाँले मोबाइल नम्बर, घरको नम्बर पनि दिएर केही भयो भने फोन गरिहाल्नु भन्नुभएको थियो।

मेवा धेरै खाएर पेट एकदमै ठूलो भएको थियो। जसले पनि ३÷४ वटै बच्चा छ कि क्या हो भन्थे। सानो कदको म पेट ठूलो हुँदा उभिन पनि सक्दिनथें। उभिँदा पछाडिबाट सपोर्ट चाहिन्थ्यो। उठाउन पनि एक जना मान्छे चाहिन्थ्यो। मेवा धेरै खाएर पेटमा पानी भरिएको थियो।

०००
२०५८ सालमा टेलिभिजनबाट हरेक शनिबार महाभारत प्रसारण हुन्थ्यो। महाभारत एक्लै कोठामा बसेर हेर्दै थिएँ। एक्कासि अप्ठ्यारो भएर आयो। उठ्छु भन्छु सक्दिनँ। बेडमै पानी बगिसकेछ। माटाको गाग्री फुटेजस्तै ह्वाह्वारी पानी बग्यो। २० किलोको डसना पूरै भिज्यो। कोठा नै पोखरी जस्तै भयो। कोठामा भरिएको पानी देखेर तुरुन्तै मलाई पाटन हस्पिटल लगियो।

डाक्टर कुन्डु सहित १३ जना सिनियर डाक्टर बसेर मेरो अप्रेसन गरे। ढाडमा नशा नभेटेर दुई सय ठाउँमा सियोले घोचेको दाग अझै छ। पछि नाडीमै इन्जेक्सन दिए। त्यो समयमा एक्कासि मेरो शरीरमा भिटामिन र हेमोग्लोबिन कम देखियो। तुरुन्तै ब्लड मगाएर, भिटामिन दिएर अप्रेसन गरियो। मैले भगवानलाई सम्झिरहें।

अप्रेसन गरेर छोरालाई निकालियो। छोराको दुवै हात-खुट्टा देखेर डा. कुण्डु भुईंमा थचक्क बसेर रुनु भयो। ‘नीता, यो तिम्रो मात्र छोरा होइन, मेरो पनि छोरा हो’ भनेर डा कुण्डु रुनुभयो।

बच्चाले १० दिनसम्म आँखा नै खोलेन। अब छोराले आँखा नदेख्ने भयो भन्ने लाग्यो। ११औं दिनमा छोराले पुलुक्क हेर्यो। देब्रेपटिको आँखा कन्चटमा देखिन्थ्यो। फेरि मलाई ज्वरो आयो। त्यसैले मैले दूध खुवाउन सकिनँ।


 
बच्चा दुई महिनाको भइसक्यो तर उसको विकास नै केही भएन। चिकित्सककोमा कति लगियो। कुपोषणको बच्चा जस्तै पेटसम्म ठूलो र हिपबाट तल सबै सुकेको। जे खाए पनि पेटमा नअड्ने। डाक्टरहरुले पनि यो बच्चा नर्मल छैन मात्र भन्थे।

छोराको कुरामा श्रीमान्-श्रमितीबीच झगडा पनि सुरु हुन थाल्यो। डा पुष्पराजलाई देखाएपछि मलाई हल्का महसुस भयो। उहाँले एन्टिबायोटिकले कमजोर भएको छ, पाँच वर्षपछि आफैं ठिक हुन्छ भन्नुभयो। तर डा. पुष्पराजले पनि औषधि भने दिनुभएन।

श्रीमानले बच्चा यस्तो छ, औषधि पनि नदिने डाक्टरकहाँ छोरा जँचाउन लग्यो भन्नुहुन्थ्यो। तर म डाक्टरको कुरामा ढुक्क थिएँ। ७ वर्षपछि उठ्दा लड्न छाड्यो र खाएको पनि अड्न थाल्यो। त्यसपछि छोरालाई सरोस शिशु स्याहार मन्टेश्वरीमा हालें। राम्ररी टाउको अड्याउन नसक्ने, हातले केही समात्न नसक्ने, आखा बांगो तर उसको दिमाग तेज थियो।

मेरो छोरालाई अरु बच्चाका अभिभावकले सुस्त मनस्थितिको बच्चा भन्दारहेछन्। उसलाई अरुसँग किन राखेको भन्नेहरु पनि छन्।

बच्चालाई चाँदबागमा राखें। ४ कक्षापछि क्लास टिचरले तपाईंको छोरालाई हेर्न सक्दैनौं भनेपछि त्यहाँबाट निकालेर ५ कक्षामा इन्टरनेसनलमा होस्टेलमा राख्ने निर्णय गरें। त्यो मेरो एकल निर्णय थियो।

घर–परिवार, आफन्तले कस्तो आमा, माया पनि नभएको समेत भने। तर मैले कसैको कुरामा ध्यान दिइनँ। मलाई छोरा बनाउनुथियो। यदि मैसँग राखेको भए ऊ मसँग निर्भर हुन्थ्यो। मलाई विश्वास थियो, आमा नै होइन भन्नेलाई छोरा सक्षम बनाएर देखाउनु थियो। होस्टेलमा राखेपछि लेख्न, लुगा लगाउन सक्ने भयो। पछि विस्तारै उसका सबै कुरा परिवर्तन हुँदै नर्मल बन्दै गयो।

९ कक्षा पढ्ने बेला होस्टेलबाट निकालेर ओलम्पिया स्कुलमा राखें। त्यहीँबाट एसएलसी पास गर्यो। उसले ब्रिटीस स्कुलबाट १२ कक्षा उत्तीर्ण भयो। अहिले ऊ रिजेश पौडेलको नामले आर्टिकलहरु लेख्छ। फिल्ममा रुचि भएकोले भारत गएर फिल्म सम्बन्धी पढ्ने तरखरमा छ मेरो छोरा। छोरी रीजा पौडेल भने वेलकम एड एजेन्सीमै व्यस्त छिन्।

मेरो जस्तो प्रसव पीडाको अनुभूति कसैले गर्न नपरोस भन्ने चाहन्छु। तर, मैले जति दुःख पाए पनि छोरा-छोरीको सिर्जनात्मक काम देख्दा अहिले दंग छु।

यो पनि

साउन १०, २०७८ आइतबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।