छुटेको एउटा त्यस्तो क्लु, जसले छोरीमैयाँको अनुसन्धान सफल पारिसक्थ्यो

छुटेको एउटा त्यस्तो क्लु, जसले छोरीमैयाँको अनुसन्धान सफल पारिसक्थ्यो

परिवारले १० वर्षदेखि एउटै प्रश्न सोधिरहेको छ- छोरीमैयाँ खै? तर यसको जवाफ अझै कसैले दिन सकेको छैन। एक दशकअघि जैसिदेवलस्थित घरबाट निस्केकी ५१ वर्षीया छोरीमैयाँ महर्जन त्यसपछि घर फर्किनन्। यो विषयमा विस्तृत रिपोर्टिङका क्रममा पछिल्लो अंकमा हामीले प्रभावशाली व्यापारी दीपक मल्होत्राकी बहिनी निक्की सिंहमाथि अपहरण तथा शरीर बन्धकको गम्भीर अभियोग लगाएर थुनामा राखी छानबिन गरिएको तर प्रमाण भने फितलो राखिएकोबारे चर्चा गरेका थियौँ। अनुसन्धान बयानमुखी थियो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न छोरीमैयाँ खैको जवाफ थिएन। 

ठोस प्रमाण प्रस्तुत गर्न सकिएको भए यो जटिल केस पार लाग्थ्यो। के हुनसक्थ्यो त ठोस प्रमाण? 

मोबाइलको आइएमइआई नम्बर। अर्थात् इन्टरन्यासनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बर। सजिलो भाषामा बुझ्नु पर्दा यो तपाईँको मोबाइल उपकरणको नम्बर हो जुन हरेक मोबाइलको अलगअलग हुन्छ। 

अपराध अनुसन्धानमा यसको प्रयोग कसरी हुन्छ भन्ने बारे बुझ्न एकैछिन हामी तपाईँलाई यो घटनाभन्दा  एक वर्षअघि २०६७ सालतिर लाँदैछौँ।

त्यतिबेलाको एउटा ठूलो समाचार थियो- भरतपुर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण। 

नागरिक दैनिकले उनको अपहरण माओवादीले गरेको समाचार दिए पनि त्यसको पुष्टि हुन सकेन। यसमा पेसेवर अपराधीको हात भएको पछि खुल्यो र यो अनुसन्धानमा सघाएको थियो यही आइएमइआई नम्बरले। 

यसको अनुसन्धान गरेको थियो महानगरीय प्रहरी अपराध महाशाखाले। अपहरणकारीले फिरौती माग्दा इन्टरनेटमार्फत भिओआइपीबाट कल गर्ने गर्थ्यो। 

अपहरणकारीले फिरौती स्वरुप सुनको माग गर्यो। केही बार्गेनिङपछि तीन किलो सुनमा डिल भयो। अपहरणकारीले सुन लिएर भारतको उत्तर प्रदेशमा आउन भन्यो। 

सुन बोकेर भारत गए महाशाखाकै तत्कालीन प्रहरी नायब निरीक्षक दीपेन्द्र अधिकारी।

सुन कहाँ छाड्ने भन्ने विषयमा अपहरणकारीसित पटकपटक कुराकानी भयो। सुन अपहरणकारीले भनेको ठाउँमा छाडियो र अपहरणकारीले डा. भक्तमानलाई मुक्त गरे।

त्यही सुन छाड्ने विषयमा भएको कुराकानीकै एउटा क्लुले यो अनुसन्धानलाई टुङ्गोमा पुर्याउन सघायो। 

त्यतिबेला यसको अनुसन्धानमा संलग्न अधिकारीका अनुसार भएको के रहेछ भने अरु बेला भिओआइपीमा कुरा गर्ने अपहरणकारीले एक पटक चाहिँ मोबाइलबाटै कुरा गरेको रहेछ। बस्, त्यही क्लु काफी भयो। 

नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्यो। अपहरणकारीले गरेको कलको मोबाइल नम्बरको आइएमइआई नम्बर भारतीय प्रहरीले महाशाखालाई पठाइदियो। त्यो आइएमइआई नम्बरको मोबाइलमा प्रयोग भएका भारतीय नम्बर र त्यसका प्रयोगकर्ताको नाम फेला पर्यो। त्यसबाट नेपाली मोबाइलमा पनि सम्पर्क भएको भेटियो। 

त्यसपछि सबै केलाउँदा यो अपहरणमा भारतीय नागरिक रोहित पाहिवाल अग्रवाल र नेपाली नागरिक भीमसेन पण्डित समूह संलग्न भएको खुल्यो। प्रहरीले पाहिवाललाई भारतबाटै पक्राउ गरेर नेपाल ल्यायो। 

०००
२०६७ सालबाट अब लागौँ, गएको भदौको अर्को एउटा बहुचर्चित घटनातर्फ। संखुवासभामा भएको ह्रदयविदारक सामूहिक हत्या। 

धेरैलाई याद हुनुपर्छ, सिआइबीसहितको टोलीले गरेको यो अनुसन्धानको सुरुमा समाचार आएका थिए- एकै जनाले पाँच जनाको हत्या चिर्पटले हानेर गरे। प्रहरीले लोकबहादुर कार्कीलाई अभियुक्तका रुपमा सार्वजनिक पनि गर्यो। 

तर, त्यसको केही दिनमै प्रहरीले थप चार जनालाई पनि यो घटनामा संलग्न भएको आरोपमा सार्वजनिक गर्यो। अन्ततः असोज १७ गते पाँच जनाविरुद्ध कर्तव्य ज्यान र चोरीको मुद्दा दर्ता गर्यो। यसमा फैसला हुन बाँकी छ।

एक जनाले अपराध गरेकोबाट पाँच जनाले गरेको टुङ्गोमा पुग्नलाई प्रहरीले सघाएको थियो त्यही मोबाइलमा हुने आइएमइआई नम्बरले। 

सुरुमा अनुसन्धान गरिरहेको प्रहरी अन्यौलमा परेको थियो- पाँच/पाँच जनाको विभत्स हत्या। घरमा भएको सम्पति जस्ताको तस्तै छ। उनीहरुले लगाएको गहना पनि चोरी भएको छैन। कसले, किन मार्यो?

विस्तृत अनुसन्धानका क्रममा खुल्यो, मृतकमध्ये एक रन्जना कार्कीले चलाउने कालो रङको ओप्पो मोबाइल गायब थियो। त्यतिबेला यो मोबाइल कसले लगेको केही खुलेन। 

प्रहरीले लोकबहादुर कार्की एक्लैले हत्या गरेको पत्रकार सम्मेलनमार्फत बतायो। 

तर, प्रहरीले रन्जनाले चलाउने गरेको मोबाइल नम्बरको आधारमा त्यसको आइएमइआई नम्बर भने निगरानीमा राखिरहेको थियो। 

एक दिन अचानक उक्त आइएमइआई नम्बरको मोबाइल एक्टिभ भयो। त्यो मोबाइलमा अर्कै दुई वटा नम्बरका सिम प्रयोग भएको देखियो। 

बस्, क्लु पुगिहाल्यो। त्यो नम्बरमा प्रयोग भएका सिमका आधारमा त्यो मोबाइल संखुवासभा १ (१७ वर्षका भएकाले बाल बिज्याइँकर्ताको रुपमा उनको नाम मुद्दाका कागजपत्रमा गोप्य राखिएको छ) ले चलाएको खुल्यो। उसलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि हत्यामा पाँच जनाको संलग्नता भएको खुल्यो। 

०००
माथिका दुई वटा प्रतिनिधि उदाहरणले के स्पष्ट पार्छ भने कुनै पनि मोबाइलको आइएमइआई नम्बरबाट त्यो मोबाइलमा पहिले कुन-कुन सिम प्रयोग गरियो भन्ने थाहा हुन्छ। अपराधका धेरै अनुसन्धानमा यसले सघाएको छ। 

अब हामी लागौँ छोरीमैयाँको केसतर्फ। 

छोरीमैयाँ हराएको दिन राति ८ बजेतिर रोमन अङ्ग्रेजीमा ‘म मनकामनामा छु, साथी पनि छ, पर्सि आउँछु’ लेखिएको एसएमएस दुई पटक छोरीमैयाँकी कान्छी छोरी सुधाको मोबाइल नम्बरमा आएको थियो। 

परिवारको दावी छ- यो छोरीमैयाँले पठाएको हुनै सक्दैन। 

किन?

किनभने छोरीमैयाँलाई अङ्ग्रेजीमा टाइप गर्न आउँदैन। उनले कहिले पनि एसएमएस गर्दिन थिइन्। त्यसैगरी उनको नोकिया मोबाइलको डिस्प्ले पनि बिग्रिएको थियो, टाइप गरेको देखिन्न थियो।

परिवारको शंका छ- अर्कै मानिसले छोरीमैयाँको मोबाइलको सिम निकालेर फरक मोबाइलबाट यो मेसेज गरेको हुनुपर्छ। 

यो शंकालाई प्रमाणित गर्ने एउटै उपाय थियो मोबाइलको आइएमइआई नम्बर।

छोरीमैयाँको मोबाइल नम्बरको सिम त्यो दिन फरक-फरक दुई वटा आइएमइआई नम्बरमा एक्टिभ भएका थिए? थिए भने त्यो आइएमइआई नम्बरको मोबाइलमा अरु कुन-कुन सिम प्रयोग भएका थिए? ती सिम कसले चलाउँछन्?

यति क्लु भेटिएको भए अनुसन्धानले अर्कै मोड लिइसक्थ्यो! अहिलेसम्म छोरीमैयाँ खै भन्ने प्रश्न अनुत्तरित रहँदैनथ्यो।

नेपाल टेलिकमले सघाएन

आइएमइआई नम्बर खुलाउने प्रयोजनका लागि काठमाडौँ जिल्ला अदालतले आदेश पनि दिएको थियो। तर नेपाल टेलिकमले २०७० जेठ १२ गते काठमाडौँ जिल्ला अदालतलाई पत्र लेख्दै ‘नेपाल टेलिकमको हालको प्रविधिमा आइएमइआई नम्बरबाट मोबाइल नम्बर पत्ता लगाउने प्रविधि नभएको र निकट भविष्यमा यस्तो प्रविधि आउने’ बताइयो। 

के साँच्चै २०७० सालसम्म आइएमइआई नम्बरबाट कुन मोबाइलमा कुन-कुन सिम प्रयोग गरियो भन्ने थाहा पाउने प्रविधि नेपाल टेलिकमसित थिएन त? यसबारे हामीले जानकारहरुसित केही सोधखोज गर्यौँ। 

मिति : २०६९ माघ १० गते।

२३ वर्षीया नवविवाहित रन्जना घिमिरे काठमाडौँको नयाँ बानेश्वरबाट बेपत्ता भइन्। छोरीमैयाँको मुद्दा चर्किरहँदा नै यो घटना भएको हो। कहाँ गइन् केही पत्ता लागेन। परिवार प्रहरीकोमा पुगे। विवाह गरेको एक हप्तामै हराएकीले उनीहरुलाई ज्वाइँप्रति शंका थियो। गायब पारिएको भन्थे। 

अपराध महाशाखाबाट हृदय थापा (हाल लागुऔषध नियन्त्रण ब्युरोमा एसएसपी) ले यसको अनुसन्धानको नेतृत्व गरेका थिए। थापाका अनुसार आइएमइआई नम्बरले यसको अनुसन्धानमा सघाएको थियो। 

कल डिटेल अनुसार परिवारसँग सम्पर्कविहीन हुनुअगाडि रन्जनाले आफ्नो मोबाइलबाट बुबासँग कुरा गरेको देखियो। त्यतिबेला उनको लोकेसन थानकोट क्रस हुँदै थियो। 

आइएमइआई नम्बरबाटै हराएको भोलिपल्ट रन्जनाको मोबाइल दाङमा अन भएको देखियो। रन्जनाको मोबाइलको सिम भने चितवनमा सक्रिय देखियो। 

कोही केटासँग गएको पो हो कि भन्ने एङ्गलबाट अनुसन्धान गरियो। दाङमा रन्जनाको मोबाइल चलाउनेलाई पक्राउ गरियो। ड्राइभरी पेशाका ती व्यक्तिले आफूले मुग्लिङको पुलमा मोबाइल भेट्टाएको बयान दिए। 

पुलको बीचमा चप्पल, झोला र कागजपत्र थियो। के रहेछ भनेर हेर्दा मोबाइल भेटियो। सिम निकालेर त्यहीँ राखेर मैले मोबाइल चलाएको हुँ भन्यो उसले। 

रन्जनाको मोबाइलको सिम चलाउने भने अर्कै ड्राइभर परेछ। उसले त्यही झोलामा सिम देखेपछि सिममा पैसासैसा होला भनेर आफूले प्रयोग गरेको बयान दियो। 

५/६ सय जनासँगको विस्तृत सोधपुछ पछि हृदय थापाको टिम रन्जनाले मुग्लिङको पुलबाट आत्महत्या गरेको निश्कर्षमा पुग्यो। इच्छाविपरीत गरिएको बिहे यसको कारण बताइयो। 

उनको लाश भने फेला परेन।

'रन्जनाले आत्महत्या गरेको ठाउँ पहिल्याउन हामीलाई त्यो बेला उनको मोबाइलको आइएमइआई नम्बरले सघाएको थियो। त्यो बेला अनुसन्धानमा आइएमइआई नम्बरको प्रयोग आइसकेको थियो,' थापाले भने।

इन्टरपोलको यल्लो नोटिसमा भने अझै पनि रन्जना घिमिरे मिसिङको सूचीमा कायमै छ। 


२०६९ को यो केसको अनुसन्धान आइएमइआईबाट पनि भएको हुनाले त्यतिबेला यो प्रविधि भएको देखिन्छ। 

‘पहिलेदेखि थियो प्रविधि’

नेपालमा मोबाइल फोन सुरु भएको सन् १९९९ मा हो। त्यतिबेला देखिनै नेपाल टेलिकमले आइएमइआई नम्बरमा कुन सिम प्रयोग भएको हो भन्ने कुरा थाहा पाउने प्रविधि भएको  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए। 

‘मोबाइल फोन नेपालमा आएदेखि नै मोबाइलको आइएमइआई नम्बरमा कुन सिम प्रयोग भएको थाहा पाउने प्रविधि पनि भित्रिएको हो,’ अधिकारीले भने, ‘त्यो बेलादेखि नै हामीले थाहा पाउँथ्यौँ। तर प्रविधि भने समय अनुसार फेरिएको छ। हेर्ने तरिका फरक छन्।’ 

‘यो कुनै नौलो प्रविधि हैन’, उनले थपे, ‘यो मोबाइलकै एउटा फिचर हो। मोबाइल आउने बित्तिकै यो सिस्टम स्वतः आएको हो।’ 

हामीले अपराध अनुसन्धानमा संलग्न केही अनुभवीसित सोध्ने क्रममा उनीहरुले आइएमइआई नम्बर र मोबाइल नम्बरको अनुसन्धान २०७० सालसम्म भइसकेको दावी गरे। 

गम्भीर घटनामा मात्र नभई चोरीका घटनामा समेत यो प्रविधि उपयोग भएको पाइन्छ। २०६८ सालमा नारायणी स्टिलको सामान अज्ञात नम्बरको ट्रकले चोरी गायब हुँदा पनि ड्राइभरले प्रयोग गरेको मोबाइलको सिम प्रयोग भएको आइएमइआई नम्बरबाट पत्ता लागेको थियो। 

त्यसो भए यो केसमा किन टेलिकमले ‘हाल त्यस्तो प्रविधि नभएको र निकट भविष्यमा हुनसक्ने’ जवाफ दियो? प्रश्न अनुत्तरित छ। 

यदि यो आइएमइआई नम्बर पत्ता लाग्थ्यो भने त्यो दिन छोरीमैयाँको मोबाइलको सिम कसको मोबाइलमा प्रयोग भएको थियो भन्ने सजिलै थाहा हुन्थ्यो र यसले अनुसन्धानलाई सहज बनाउँथ्यो। तर त्यो बेला नेपाल टेलिकमका अधिकारीले आइएमइआई नम्बर दिन नसकिने पत्र किन पठाए? उकेराको खोजी जारी छ।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

 

अघिल्ला शृ‌ंखला

२० मंसिर, २०७८, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।