एउटा ‘शून्य’ले उठाएको विवाद

एउटा ‘शून्य’ले उठाएको विवाद

राजधानीबाट एक दशकदेखि हराइरहेकी महिला छोरीमैयाँ महर्जनबारे यो शृंखलाको हिजोको अंकमा हामीले प्रहरीले छानबिनको क्रममा यो केसको पृष्ठभूमि गैरकानुनी रुपमा खेलिने ढुकुटीको जालोले जेलिएको फेला परेकोबारे उल्लेख गरेका थियौँ। 

प्रहरीले त्यो जालोलाई चिर्ने कुनै प्रयास गरेन। जालो छ भन्ने सतही विवरणमै अनुसन्धान अल्झिएको छ। यसलाई चिर्न प्रहरीले पीडित परिवारले नै असहयोग गरेको आरोप पनि लगाएको छ जसलाई परिवार मान्न तयार छैन।

छोरीमैयाँ ठूलो धनराशिको कारोबारमा संलग्न रहेको भन्ने तत्कालीन सहसचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा बनेको छानविन समितिको प्रतिवेदनमा पनि देखिएको छ। अनुसन्धान उनको लेनदेनमा केन्द्रित भयो। 

यो बीचमा लिइएका बयानहरुमा पटकपटक ‘ढाँटेको’ देखिएपछि व्यवसायी दीपक मल्होत्राकी बहिनी निक्की मल्होत्रा सिंह पनि प्रहरीको निगरानीमा थिइन्। उनले छोरीमैयाँ हराएको दिन केके गर्नुभयो भनी सोधिएको प्रश्नको बेग्लाबेग्लै समयमा बेग्लाबेग्लै जवाफ दिएकी थिइन्। 

त्यस्तै छोरीमैयाँको परपुरुषसित सम्बन्ध रहेको देखाउन उनले एउटा स्केच बनाउन लगाएकी थिइन् जसलाई उनी बाहेक अरु कसैले देखेको पुष्टि गर्न सकेनन्। 

परिवारले भने सुरुमा निक्कीलाई शंका नगरेको कान्छी छोरी सुधा बताउँछिन्। ‘प्रहरीकोमा खबर नगर्नू, एक दुई दिनमा फर्किहाल्नुहुन्छ नि, एक्सिडेन्ट भयो कि अस्पतालमा खोज्नू’ जस्ता कुरा ‘निक्की आन्टी’ले बताउँदा पनि उनीहरुको सुरुको शंका उनीप्रति थिएन। 

हराएको भोलिपल्ट म आफैं तिमीहरुकहाँ आउँछु भनेर नआउँदा पनि उनीहरुले निक्की आन्टीलाई खासै शंकाको दृष्टिले हेरेनन्। 

तर, पछि भने उनीहरुको शंका निक्कीप्रति नै धेरै हुन गयो। आखिर किन त?

गएको साउनमा जैसिदेवलस्थित छोरीमैयाँको घरमा हामीले सोध्यौँ, के आधारमा शंका गर्नुभएको? 

सुधाले केही आधार बताइन्- हराएको थाहा पाउने बित्तिकै प्रहरीलाई नभन्नू भनेर उहाँले किन भन्नुभयो?

अर्को आधार थियो, ‘आर्थिक कारोबारबारे प्रहरीलाई केही पनि नभन्नू भनेर उहाँले किन भन्नुभयो?’

उनका अनुसार एक दिन घरमै आएर निक्कीले उनीहरुलाई आर्थिक कारोबारको बारेमा प्रहरीलाई केही नभन्न आग्रह गरेका थिए। 

‘आमा हराएको तीन दिनपछि निक्की आन्टी घरमै आउनुभएको थियो। कोठामै बसेर उहाँले ३०/३५ लाख लिएको छु। पुलिसलाई नभन्नू, अहिले ढुकुटीमा फसिरहेको छ, पछि सबै फिर्ता दिन्छु भन्नुभएको थियो,’ उनले भनिन्। 

सुधालाई हनुमानढोकामा भएको एउटा घटना याद छ। सोधपुछका क्रममा इन्स्पेक्टर अर्जुन केसीले निक्कीलाई छोरीमैयाँसित कारोबार कति छ भनेर सोधेका थिए। 

निक्कीले सुरुमा इन्कार गरिन्। एक पैसा पनि नलिएको दावी गरिन्।

तर जब प्रहरीले छोरीमैयाँको घरबाट बरामद गरिएको उनको हस्तलिखित डायरी उनका सामु राखेर ‘यो के हो त निक्की जी?’ भनेर सोध्यो, तब उनको रङ उड्यो। 

सुधाका अनुसार डायरी देखेर निक्की छक्क परेकी थिइन्। उनले डायरीलाई ध्यान दिएर हेरिन् अनि सुस्तरी बोलिन्, 'पैसा लिएको हो तर ५० होइन ५ लाखमात्र हो।’ 

सुरुमा इन्कार गरेर पछि स्वीकार गरेको विषयमा नै शंका लाग्छ सुधालाई। 

शून्य अंकको विवाद

योसँगै छोरीमैयाँ काण्डमा शून्य अंकको विवाद पनि थपिन पुग्यो। वास्तवमा हेर्दा मात्र शून्य जस्तो लागे पनि कुनै अंकका पछाडि शून्य रहन पुग्यो भने यसले ठूलै अन्तर पार्छ। 

५ को पछाडि रहेको शून्य अंकले ४५ लाख रुपैयाँ फरक पार्थ्यो। अहिले पनि यो ठूलै रकम हो। १० वर्षअगाडि त यसको भ्याल्यु झन् धेरै हुन्थ्यो। 

छोरीमैयाँको डायरीमा अशुद्ध व्याकरणका साथ  ‘निक्कीलाई ५० लाख दिएको छ’ लेखिएको थियो। 

तर, झट्ट हेर्दा ५ को पछाडि शून्य थपिएकोझैँ देखिन्थ्यो। 

हेर्नूस् डायरी-

यो विवादको निरुपण गर्न डायरीलाई प्रहरीको फरेन्सिक ल्याबमा पठाइयो। २०६९ वैशाख १४ गते त्यसको रिपोर्ट त आयो, तर जता पनि व्याख्या गर्न मिल्ने खालको। 

हस्ताक्षर पहिचानका सबै विधिहरु अपनाएको भनिएको परीक्षणमा उक्त ५० मा देखिएको शून्य र डायरीका अन्य पेजहरुमा लेखिएका शून्यको विश्लेषण गरिएको रिपोर्टमा उल्लेख छ। 

प्रतिवेदनको निश्कर्ष छ- डायरीका अरु पेजहरुमा लेख्ने व्यक्तिले नै त्यो शून्य पनि लेखेको हो। शैली उस्तै छ। अर्थात् प्राविधिक भाषामा ‘कमन अथरसिप’। 

प्रकाश खत्री र उदय जबराको हस्ताक्षर रहेको रिपोर्टले त्यो डायरीमा लेख्ने एकै व्यक्ति हो भन्ने प्रष्ट भयो। 

तर, सोही रिपोर्टमा अर्को एउटा कुरा पनि छ। त्यसमा भनिएको छ- कालो मसीको बलपेनले ५० लेखिएको छ। तर ५ र ० एउटै कलमले लेखिएको हो कि होइन भनेर भन्न सकिन्न। यद्यपि, युभी र आइआर लाइटमा त्यसले एउटै किसिमले रियाक्ट गरेको छ। 

यसलाई वादी र प्रतिवादी दुवैले आ-आफ्नै हिसाबले व्याख्या गर्नसक्ने भए। 

५० मा ५ र ० एउटैले लेखेको हो भन्दा पनि भयो। दुई वटा अंक एकै कलमले लेखिएको हो कि होइन भन्ने प्रष्ट राय दिइएको छैन भन्दा पनि भयो। 

अदालतमा पनि यो विषयमा प्रश्न उठ्यो। उदय जबरालाई सोधियो- एउटै कलमले लेखिएको हो/होइन यकिन राय दिइएको छैन भन्नुभयो। पुनः प्राविधिक रुपले यकिन गर्नसक्ने अवस्था छ कि छैन?

जवाफमा उनले भने, 'हाल उपलब्ध प्रयोगशालामा भएको उपकरणबाट यकिन राय दिन नसकिएको व्यहोरा उल्लेख गरिएको छ।' 

अर्को प्रश्न सोधियो, '५ अंकको पछाडि ० भएको सम्बन्धमा तपाईँहरुको प्राविधिक परीक्षणबाट के-कस्तो परिणाम आउँछ वा सो सम्बन्धमा अरु कुनै परीक्षण गर्ने अवस्था छ कि छैन?'

उनले भने, 'मिति २०६९ वैशाख १४ गतेको परीक्षण प्रतिवेदनको बुँदा नम्बर १ र बुँदा नम्बर ३ मा उल्लेख भएअनुसार हाल प्रयोगशालामा भएको प्रविधिले यकिन राय दिन नसक्ने भनी उल्लेख गरिएको छ।' 

यस्तो छ रिपोर्ट-

पुरा रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुस्। 

कहाँबाट आयो ५० लाख?

सामान्य काम गर्ने छोरीमैयाँको परिवारसित अरुलाई सापटी दिनका लागि कहाँबाट ५० लाख रुपैयाँ भयो भन्ने प्रश्न पनि उठ्यो। 

तर, परिवारसित यसको जवाफ पनि छ। 

छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जन नेपाल राष्ट्र बैंकमा कम्प्युटर सुपरभाइजर थिए। ३० वर्ष सेवा अवधि पूरा गरी पेन्सन पाउने क्रममा उनले करिब ४४ लाख रुपैयाँ पाएका थिए। नेपाल राष्ट्र बैंकबाट लेखिएको पत्र समेत उनीहरुले प्रहरीलाई बुझाएका थिए। 

त्यसैगरी उपकारी सहकारीका तीन वटा स्टेटमेन्ट बुझाइएको छ जसमा क्रमशः ४२ लाख, ९६ लाख र ३० लाखको कारोबार देखिन्छ। 

छोरीमैयाँले ठूलो रकमको कारोबार गर्थिन् भन्ने यसबाट पनि प्रष्ट हुन्छ। 

तर, के निक्कीसित छोरीमैयाँको ठूलो रकमको कारोबार थियो त?

निक्की आफैंसित यसबारे सोध्ने हाम्रो प्रयास सफल हुन सकेन। गत भदौको एक दिन उनीसित भेट्ने समय उनका दाजु दीपक मल्होत्राले मिलाए पनि अन्तिम समयमा ‘अस्वस्थ भएको’ कारण देखाउँदै रद्द गरियो। 

भदौमा मल्होत्राले आफ्नी बहिनीसित छोरीमैयाँको कारोबार हुने गरेकोमा शंका व्यक्त गरे। ‘त्यति ठूलो रकम मुखको भरमा कसैले दिन्छ होला, न कागज छ न प्रमाण’, उनले भने। 

आफ्नो छोरा अमेरिका पठाउनका लागि निक्कीले ५ लाख रुपैयाँ चाहिँ छोरीमैयाँसँग लिएको र त्यो उनले प्रहरीको रोहवरमा फर्काइसकेको मल्होत्राको दावी थियो। 

छोरी सुधा भने कति पनि रकम नपाएको दावी गर्छिन्। 

मल्होत्रा भन्छन्, ‘आमा हराएको केही दिनमा उनीहरुले ५ को ठाउँमा ५० डिमान्ड गर्न थाले। ५ को अंकमा ० थोप्लो राखेर ५० बनाइएको थियो।’

मल्होत्राको आरोप छ, 'उनीहरुले आमा खोज्नतिर ध्यानै दिएनन्। खाली ५० लाखको लागि टर्चर गर्न थाले।’  

सुधाका अनुसार ५० लाख एकमुष्ट दिएको नभएर १०/१५ लाख गरी दिइएको थियो। हामीले कागज नगरी किन पैसा दिएको भनेर भन्दा फिर्ता गरिहाल्छ नि भनेर आमाले भनेको उनी बताउँछिन्।

रकमको विवादकै कारण यो घटना भएको निश्कर्षमा प्रहरी पुग्यो। तर प्रहरीसित न रकम दिएको प्रमाण थियो, न लिएको। न छोरीमैयाँ कहाँ छ भन्ने नै उसको अनुसन्धानमा देखिएको थियो। 

अनुसन्धान गर्ने प्रहरी फेरिए

निक्कीलाई केन्द्रमा राखेर अनुसन्धान हुँदै थियो। तर परिवारसित निकट सम्पर्कमा रहेर अनुसन्धान गर्ने प्रहरी भने पछि देखिएनन्। 

सुधासहित परिवारलाई अचम्म लाग्यो। के हो भनेर बुझ्दा थाहा भयो, अनुसन्धान  अन्तिम चरणमा आएपछि अनुसन्धान गरिरहेका प्रहरी अचानक फेरिएछन्।

आखिर किन अनुसन्धान गर्दागर्दै प्रहरीलाई हटाइयो। यसबारेमा थप जानकारी भोलिको #ChhoriMaiyaKhai शृंखलामा। 

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

१४ मंसिर, २०७८, १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।