अदालतमा पुर्‍याइएको थियो सिडिआरको अपुरो प्रमाण

अदालतमा पुर्‍याइएको थियो सिडिआरको अपुरो प्रमाण

त्यो दिन उनको मोबाइलबाट २३ पटकसम्म सम्पर्क भएको देखिन्छ। र, अदालतमा पेस भएको मिसिलमा रहेको कल डिटेल रेकर्ड अनुसार लोकेसन देखिएकामध्ये सबै लोकेसनले ‘न्यु बानेश्वर १८ एम’ देखाएको छ, जुन उनको घरलाई कभर गर्ने नेपाल टेलिकमको टावर हो।

निकीले नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बर चलाउँथिन्।

राति ११ बजेर ३ मिनेटमा ५ मिनेट भएको कुराकानीमा भने यो टावर देखिएको छैन। ‘न्यु बानेश्वर १८ एम’को ठाउँमा त्यतिबेला ‘न्यु बानेश्वर’ मात्र देखिएको छ।

के यसले उनी घरबाट बाहिर कतै भएको देखाउँछ?

हामीले कल डिटेल रेकर्ड र मोबाइल टावरबारे अनुसन्धान गर्ने केही विज्ञसँग सोधखोज गर्यौँ। उनीहरुको राय थियो, ‘यकिन भन्न सकिँदैन।’

नेपाल प्रहरीमा कल डिटेलसम्बन्धी अनुसन्धानमा जानकार एक अधिकारीले भने, ‘काठमाडौँ घना बस्ती भएको ठाउँ हो। त्यसैले गाउँमा जस्तो धेरै ठाउँ एउटै टावरले ओगट्नै पर्छ भन्ने हुँदैन।’

के एउटै घरका फरक-फरक कोठामा छुट्टै टावर देखिन सम्भव छ त?

‘सम्भव छ’, उनी भन्छन्।

दिउँसो १ बजेर १२ मिनेटमा पनि निकीको मोबाइलले टावर ‘नयाँ बानेश्वर’ नै देखाएको छ, राति ११ बजेर ३ मिनेटको जस्तै।

त्यतिबेला उनले कोसित कुरा गरेकी थिइन् त?

मोबाइल नम्बर छोरीमैयाँकी कान्छी छोरी सुधाको देखिन्छ।

‘हो, मैले निकीलाई मोबाइलमा कल गरेकी थिएँ’, सुधाले भनिन्, ‘त्यतिबेला हामी जनसेवा प्रहरी कार्यालयमै थियौँ।’

आमा घर नफर्किएपछि उनीहरु जनसेवामा मौखिक उजुरी गर्न गएका थिए।

जनसेवाका प्रहरी इन्चार्ज हेमकुमार थापालाई एकचोटी निकी आन्टीलाई यहीँबाट फोन गर न त भनेपछि आफूले ह्यान्डस फ्रीमा राखेर मोबाइलबाट कुरा गरेको सुधाको भनाई छ। 

निकी दिनभर घरैमा थिइन् त?


दिनभर भएका २३ कलमध्ये लोकेसन देखिएको छ- ‘नयाँ बानेश्वर १८ एम’  र ‘नयाँ बानेश्वर’ मात्र।

तर, बयानमा भने उनले बहिनी रेखा श्रेष्ठसँग बिहान ११ बजेदेखि ३ बजेसम्म न्युरोड, काठमाडौँ मल घुमेको बताएकी छिन्।  

ततिम्बा बयानमा पनि छोरीमैयाँकी जेठी छोरी सुभद्राले पहिलो पटक फोन गर्दा बबरमहलमा आइपुगेको तर न्युरोडबाट फर्कँदै गरेको हुँदा न्युरोडमा छु भनेको, त्यसको करिब आधा घण्टापछि दोस्रो पटक फोन गर्दा घरमा नै भएको दावी गरेकी छिन्।

सुन्नुस्

तर, दिउँसो ३ बजेर ४ मिनेटमा र ३ बजेर ३९ मिनेटमा भएको कलको डिटेल रेकर्डमा निकीको लोकेसन देखिएको छैन। यस कारण उनले सही बोलेकी हुन् वा झुटो, ठम्याउन सकिँदैन।
 
सिडिआरमा लोकेसन किन देखिएन?
मुद्दा कमजोर बनाउन लोकेसन मेटाएर अदालतमा कल डिटेल रेकर्ड लगिएको आरोप छोरी सुधाको छ।

यसको तथ्य पत्ता लगाउन हामीले कल डिटेल रेकर्डमा अनुसन्धानमा पोख्त केही प्रहरी अधिकारी (बहालवाला र निवर्तमान समेत) सित कुरा गर्यौँ।

सिडिआर (कल डिटेल रेकर्ड) को ‘रअ’ फाइलमा विभिन्न प्यारामिटर हुन्छन्। यसलाई पढ्न र हेर्ने बित्तिकै बुझिने बनाउन क्लिनअप गर्नुपर्छ।

क्लिनअप गरिसकेपछि सामान्यतया: त्यसमा सात वटा कोलम हुन्छन्। अघिल्ला दुई कोलममा फोन नम्बर हुन्छ।

सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’

तर, रअ डेटा निकालेर क्लिनअप गर्दा यही क्रममा नगरेको पनि हुनसक्छ।

यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको लोकेसन अन्तिम वा त्योभन्दा अघिको लहरमा देखिन्छ।

अदालतमा प्रस्तुत गरिएको सिडिआरमा दुई वटा लोकेसनको कोलम हुनुपर्नेमा एउटा मात्र राखिएको देखिन्छ। र, त्यसमा निकीले कल गरेको बेलाको मात्र लोकेसन देखाइएको छ, कल रिसिभ गरेको बेलाको लोकेसनको कोलम पूरै उडाइएको छ।

टेक्निकल इन्भेस्टिगेसनमा पोख्त अधिकारीहरुको एकमत छ, ‘जसको सिडिआर निकालिएको हुन्छ, उसले फोन उठाएको बेला (रिसिभ गर्दा) को पनि लोकेसन आउँछ, कल गरेको बेलाको पनि  लोकेसन आउँछ।’

त्यसो भए अदालतमा एउटा कोलम पूरै गायब भएको सिडिआर किन प्रस्तुत गरियो त?

दुई सम्भावना छन्-

एक, थाहा नभएर।

दुई नियतवश।

यदि फोन आएको र गरेको दुवै समयको लोकेसन भएको सिडिआर हुने हो भने निकीले बोलेको अर्को झुट पनि टेक्निकल इन्भेस्टिगेसनबाट पक्रन सकिन्छ।

निकीले पहिले भनेकी थिइन्, छोरी सुधाले दिउँसो ३ बजेतिर फोन गर्दा उनी न्युरोडमा थिइन्।

पछि उनले त्यसलाई सच्याएर आफू बबरमहल भएको र न्युरोडबाट फर्केको हुनाले न्युरोड भनेको बयान दिएकी छिन्।

शृंखलाका क्रममा १० वर्षअघि यो केस अनुसन्धान हुँदा पुगेको सिडिआरको रअ फाइलसम्म हाम्रो पहुँच सम्भव भएको छ। त्यसलाई विश्लेषण गर्दा दिउँसो ३ बजेर ४ मिनेट ५२ सेकेन्डमा निकीलाई छोरीमैयाँको घरको ल्यान्डलाइन नम्बरबाट फोन गरेको देखिन्छ, त्यतिबेला उनको टावर देखिन्छ, ‘न्यु बानेश्वर १८ एम।’

यो त्यही टावर हो जहाँ निकी अधिकांश समय देखिन्छन्। अर्थात् यो उनी घरमा रहेको बेला देखिने टावर हो।

त्यसैगरी दोस्रो पटक छोरीमैयाँको घरको ल्यान्डलाइन नम्बरबाट ३ बजेर ३९ मिनेट ४१ सेकेन्डदेखि एक मिनेट २८ सेकेन्ड कुरा हुँदा पनि निकीको टावर उही देखिन्छ- ‘न्यु बानेश्वर १८ एम।’

निकीले  बहिनी रेखा श्रेष्ठसँग बिहान ११ बजेदेखि ३ बजेसम्म न्युरोड, काठमाडौँ मल घुमेको बताएकी छिन्। तर त्यो अवधिमा निकीको मोबाइल टावर नयाँ बानेश्वरभन्दा बाहिर देखिएकै छैन।

दिउँसो १ बजेर १२ मिनेटमा उनको टावर नयाँ बानेश्वर देखिएको छ, त्यसपछि रातिसम्म कि ‘नयाँ बानेश्वर १८ एम’ देखिएको छ कि ‘नयाँ बानेश्वर।’

यसले निकीले आफू घरबाहिर गएको कुरा ढाँटेको हो कि भन्न सकिने आधार टेक्निकल इन्भेस्टिगेसनले दिन्छ। तर यसै भन्न सकिन्न। किनभने दिउँसो १ बजेर १२ मिनेटपछि एकै पटक ३ बजे मात्र कल भएको छ। यो बीचको अवधिमा उनी कतै बाहिर गएको तर फोनमा सम्पर्क नभएको हुनसक्छ। 

प्रहरीकहाँ पुगेको सिडिआर जहाँ कल गरेको र कल आएको दुवै लोकेसन देखिन्छ (बायाँ) र अदालत पुर्याइएको एउटा मात्र लोकेसन देखिने सिडिआर (दायाँ)

त्यसबाहेक निकी साँच्चिकै बहिनीसँग घुम्न गएको हो कि होइन भन्ने विषय उनकी बहिनी रेखा श्रेष्ठसँग बयान लिएर गर्न सकिन्थ्यो। उनको भनाइलाई रेखाको मोबाइलको सिडिआर रेकर्ड मगाएर भेरिफाइ गर्न सकिन्थ्यो। तर प्रहरीले यस्तो अनुसन्धान गरेको मिसिलमा देखिँदैन।

छोरीमैयाँको मोबाइल लोकेसन कहाँ देखिन्छ?


यो त भयो निकीको मोबाइल नम्बरको लोकेसन। हराएकी छोरीमैयाँको मोबाइल नम्बरको लोकेसन चाहिँ कहाँ देखिन्छ त?

कुनै व्यक्ति हराएको वा अपहरणमा परेको उजुरी पर्ने बित्तिकै सबैभन्दा पहिला अनुसन्धान टेक्निकल पक्षबाट गरिन्छ। त्यसलाई म्यानुअल अनुसन्धानले सघाउँछ।

त्यसैले यो घटनामा पनि प्रहरीले छोरीमैयाँको अवस्था पत्ता लगाउन टेक्निकल इन्भेस्टिगेसन गरेको थियो।

छोरीमैयाँ बिहान ८ बजेतिर घरबाट निस्किएपछि टेकुसम्म श्यामकाजी श्रेष्ठले मोटरसाइकलमा छाडिदिएका थिए। त्यसपछि उनको अवस्था के थियो, उनी कता गए पुष्टि हुन सकेको छैन।

टेक्निकल इन्भेस्टिगेसनले भने यस्तो देखाउँछ- उनलाई श्यामकाजीले टेकुमा छाडेपछि उनी बिहान ८ बजेर १३ मिनेटमा सुन्धारा पुगेकी थिइन्।

छोरीमैयाँको मोबाइलमा एउटा फोन त्यो समय आएको थियो, जुन म्यानुअल अनुसन्धानले उनको ग्राहकले गरेको देखाइसक्यो।

त्यसपछि ८ बजेर ३२ मिनेटमा उनले घरको ल्यान्डलाइनमा फोन गरेको देखिन्छ, जुन छोरी सुधाले उठाएकी थिइन्। सुधाका अनुसार आमाले आफू निकीकहाँ जान लागेको र घरमा छ कि छैन भनी मोबाइलमा कल गरी सोधिदिन भनेकी थिइन्।

निकीका दाजु दीपक मल्होत्रा सोध्छन्, 'निकी र छोरीमैयाँ मिल्ने साथी हुन्। छोरीमैयाँले आफै फोन नगरेर किन छोरीलाई फोन गरिदिन भनिन्? यो शंकास्पद छ।'

छोरीमैयाँ पत्ता लगाउन भएको मैनबत्ती र्याली। फाइल फोटो : बिकिल स्थापित

छोरीमैयाँलाई नम्बर थिचेर फोन गर्न नआउने र स्पिड डायलबाट फोन गर्ने गरेको सुधाको दावी छ।

त्यतिबेला छोरीमैयाँको मोबाइलको लोकेसन देखिन्छ- ‘नयाँ बानेश्वर १८ एम।’

निकीको घरमा पनि यही टावर देखिने हो।

आमा सधैंझैँ नियमित समयमा घरमा नफर्किएपछि जेठी छोरी सुभद्राले घरको ल्यान्डलाइन नम्बरबाट छोरीमैयाँको मोबाइलमा सम्पर्क गर्छिन्, १२ बजेर ३२ मिनेटमा १६ सेकेन्ड र १२ बजेर ३४ मिनेटमा ९ सेकेन्ड।

सुभद्राका अनुसार दुवै पटक फोन उठेर केही नबोल्ने बाहिरको आवाज मात्र आउने भएको थियो।

सिडिआरले यो दुई वटा कलमा दुई वटा लोकेसन देखाएको छ। पहिलोमा ‘नयाँ बानेश्वर’, दोस्रोमा ‘नयाँ बानेश्वर १८ एम’।

यी दुवै टावर निकीको मोबाइलमा पनि उनी घरमा हुँदा देखिएको छ।

दिउँसो १ बजेर ४ मिनेटमा २२ सेकेन्ड सम्पर्क पाकोको एउटा ल्यान्डलाइन नम्बरमा भएको देखिन्छ। त्यसमा पनि लोकेसन ‘नयाँ बानेश्वर १८ एम’ नै देखिन्छ। 

सुभद्राका अनुसार यो फोन पाकोमा रहेको फाइनान्सबाट गरिएको थियो- त्यो दिन छोरीमैयाँ आउँछु भनेर नआएका कारण सोध्नका लागि।

१ बजेर १२ मिनेटमा फेरि घरको ल्यान्डलाइन नम्बरसित २२ सेकेन्ड सम्पर्क भएको छ, जसको टावर फेरि पनि ‘नयाँ बानेश्वर १८ एम’ नै देखिन्छ।

१ बजेर ३२ मिनेटमा श्रीमान् शिवकृष्ण महर्जनको मोबाइल नम्बरबाट छोरीमैयाँको मोबाइल नम्बर डायल भएको छ। त्यतिबेला १७ सेकेन्ड सम्पर्क पनि भएको छ। यसमा पनि टावर ‘नयाँ बानेश्वर १८ एम’ नै देखिन्छ।

परिवारले मोबाइल र ल्यान्डलाइनबाट गरेका कुनै पनि कलमा छोरीमैयाँले बोलेकी थिइनन्।

सुधा भन्छिन्, ‘आमाको मोबाइल केही दिनअघि खसेर डिस्प्ले बिग्रेको थियो। त्यसैले कसको कल आएको छ पनि थाहा नहुने अनि उठाउने कि काट्ने कुन कीले गर्ने थाहा नभएर काट्न खोज्दा उठेको हो कि भन्ने हाम्रो अनुमान छ।’

दिउँसो साढे १ बजे श्रीमान् शिवकृष्णसित सम्पर्क भएपछि छोरीमैयाँको मोबाइल लामो समयसम्म कसैसित सम्पर्क भएको देखिँदैन।

एकै चोटी कान्छी छोरी सुधाको मोबाइलमा राति ७ बजेर ५३ मिनेटमा १ सेकेन्ड सम्पर्क भएको देखिन्छ। अदालतमा प्रस्तुत गरिएको सिडिआरमा त्यसको लोकेसन देखाइएको छैन। के थियो यसको रहस्य ?

- प्रजु पन्तको सहयोगमा

(हामीले विज्ञसित गरेको सोधखोज र सिडिआरको रअ डेटामा  त्यो सम्पर्कबारे के जानकारी पायौँ, त्यसबारे विस्तृत जानकारी #ChhoriMaiyaKhai को अर्को शृंखलामा

 

२८ साउन, २०७८, १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।