छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस

छोरीमैयाँको मोबाइलबाट आएको त्यो रहस्यमय एसएमएस

शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ। 

सुन्नस्

OOO

घर नफर्किएको दिन अर्थात् २०६८ फागुन १६ (तदनुसार २०१२ फेब्रुअरी २८) मा छोरीमैयाँको मोबाइलसित दिउँसो १ बजेर ३२ मिनेटमा श्रीमान् शिवकृष्ण महर्जनको मोबाइल नम्बरबाट १७ सेकेन्ड सम्पर्क भएको देखिन्छ। त्यतिबेला छोरीमैयाँ ‘नयाँ बानेश्वर’ क्षेत्रमा देखिन्छिन्। 

त्यसपछि एकै पटक राति ७ बजेर ५३ मिनेटमा कान्छी छोरी सुधाको मोबाइलमा सम्पर्क भएको सिडिआरमा देखिन्छ। जसको अवधि एक सेकेन्ड छ। र, अदालतमा प्रस्तुत गरिएको सिडिआरमा त्यसको लोकेसन देखिएको छैन। 

के थियो यसको रहस्य ?

यसतर्फ जानुभन्दा अघि अदालतमा प्रस्तुत गरिएको सिडिआरको बारेमा थप केही बुझौँ। 

अदालत पुगेको सिडिआरमा ‘गडबड’?

हामीले चौथो शृंखलामा पनि प्रष्ट पारेका थियौँ, अदालतमा प्रस्तुत गरिएको सिडिआर अपुरो थियो, त्यसमा निकीले उठाएको (रिसिभ गरेको) कलको लोकेसन देखाइएको छैन। उनले गरेको कलको लोकेसन मात्र देखाइएको छ।  

त्यसबाहेक अदालतमा पुगेको निकीको सिडिआर अध्ययन गर्ने हो भने आएको र गएको कलको रेकर्ड नै ‘गडबड’ देखिन्छ। 

नेपाल प्रहरीमा टेक्निकल इन्भेस्टिगेसनमा लामो समय काम गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, 'सिडिआरमा दुई वटा फोन नम्बर हुन्छ, एउटाले कल गरेको हुन्छ भने अर्कोले उठाएको हुन्छ। जहिले पनि सिडिआरको पहिलो कोलममा फोन गर्नेको नम्बर हुन्छ, दोस्रो कोलममा उठाउनेको। 

हामीले सिडिआरबारे जानकार अरु स्रोतहरुसँग पनि यसबारे बुझ्यौँ। उनीहरु पनि त्यसमा एकमत भए। 

तर, अदालतमा पुगेको निकीको सिडिआरमा भने हराएको दिन बिहान ८ बजेर ४१ मिनेटमा भएको फोन सम्पर्कमा पहिलो कोलममा ९८४१****६५ र दोस्रो कोलममा ९७७१४२***७६ नम्बर देखिएको छ। (गोपनीयतालाई ध्यानमा राख्दै बीचका नम्बरहरु सार्वजनिक गरिएको छैन)

यसको अर्थ हुन्छ, निकीको मोबाइलबाट छोरीमैयाँको घरको ल्यान्डलाइनमा सम्पर्क भएको छ। 

तर, यो सही होइन। हामीले हिजो फेरि त्यतिबेला ल्यान्डलाइन फोनबाट निकीलाई फोन गर्ने सुधालाई सोध्यौँ, 'तपाईँले फोन गर्नुभएको कि निकीले गरेको फोन उठाउनुभएको?'

‘मैले नै गरेकी हुँ,’ उनले भनिन्। 

‘झुक्किनुभएको त छैन नि, तपाईँले फोन गर्दा नलागेर निकीले चाहिँ कलब्याक गरेको हो कि?’

‘होइन, मैले नै गरेकी हुँ। म स्योर छु यसमा,’ सुधाको जवाफ। 

अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, अदालतमा गरिएको बकपत्र अध्ययन गर्दा पनि त्यो फोन सुधाले निकीको मोबाइलमा गरी ‘आमा आउँदै हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ’ भनेर सोध्न नै गरेको देखिन्छ।

त्यसैगरी अदालतमा पेस भएको सिडिआरमा दिउँसो ३ बजेर ४ मिनेटमा र ३ बजेर ३९ मिनेटमा भएको सम्पर्कमा पनि पहिलो कोलममा ९८४१****६५ र दोस्रो कोलममा ९७७१४२***७६ नम्बर नै देखिएको छ। यसरी हेर्दा यो बेला पनि निकीले नै आफ्नो मोबाइलबाट छोरीमैयाँको घरको ल्यान्डलाइन नम्बरमा कल गरेको हुनुपर्ने हो। 

छोरीमैयाँ महर्जन आफ्ना श्रीमान् शिवकृष्णका साथ। पारिवारिक फाइल फोटो

तर, सत्य यो होइन। 

त्यो दिन त्यतिबेला फोन गर्ने छोरीमैयाँकी जेठी छोरी सुभद्रा थिइन्। अदालतमै रहेको मिसिलमा पनि सुभद्राले नै फोन गरेको बयान छ। निकीले पनि आफूलाई फोन आएको बयान दिएकी छिन्, गरेको होइन। ततिम्बा बयानमा समेत निकीले आफूलाई फोन आएको बताएकी छिन्। 

यो गडबड कसरी भयो, स्पष्ट छैन। 

‘लोकेसन’ नदेखिएको ‘कन्ट्याक्ट’

राति ७ बजेर ५३ मिनेटमा कान्छी छोरी सुधाको मोबाइलमा छोरीमैयाँको मोबाइलबाट १ सेकेन्ड सम्पर्क भएको देखिन्छ। 

अदालतमा पुगेको सिडिआरमा यसमा छोरीमैयाँको लोकेसन ट्रेस भएको छैन। 

अनुसन्धानकर्तासमक्ष पुगेको सिडिआरमा पनि यसको लोकेसन हामीले देखेनौँ। 

किन यसको लोकेसन चाहिँ नदेखिएको हो त?

हामीले सिडिआर विश्लेषण र टेक्निकल इन्भेस्टिगेसनमा पोख्त केही जानकारहरुसँग यो विषयमा जिज्ञासा राख्यौँ। 

‘फोन नगरी एसएमएस मात्र पठाएको भए पनि एक सेकेन्डमात्र सम्पर्क भएको देखिन सक्छ’, उनीहरुको राय थियो। 

के त्यो एसएमएस नै आएको बेला थियो?

काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा लेखिएको छ, ‘सो दिन अन्दाजी ८ बजेको समयमा छोरीमैयाँको मोबाइलबाट सुधा महर्जनको मोबाइलमा रोमन लिपिमा ‘Ma manakamana ma chu sathi pani cha parsi aaochu’ भन्ने एसएमएस आएको देखिन्छ।’

अधिकार प्राप्त अधिकारीसमक्ष सुधाले बयान गर्ने क्रममा भनेकी छिन्, ‘राति करिब ८ बजेतिर मेरो मोबाइलमा आमाको मोबाइलबाट एसएमएस आएकोमा उक्त एसएमएस हेर्दा ‘म मनकामनामा छु, साथी पनि छ, पर्सि आउँछु’ भन्ने उल्लेख थियो। आमालाई अंग्रेजी टाइप गर्न नआउने हुँदा के-कसरी म्यासेज पठाएको होला भनी मलाई अचम्म लागेको थियो।’

सुधाका अनुसार आमा छोरीमैयाँको नोकिया कम्पनीको मोबाइलको डिस्प्ले बिग्रिएको थियो तर फोन डायल गर्ने र आवाज प्रष्ट सुनिने थियो। घटनाभन्दा दुई चार दिनअघि मात्र मोबाइल पानीमा परेर डिस्प्ले गएको उनको भनाइ छ। 

२०६९ साउन १४ गते काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्ने क्रममा सुधाले भनेकी छिन्, ‘मेरो मोबाइलमा जुन एसएमएस आएको थियो ...आमाको मोबाइलको डिस्प्ले बिग्रेकोले अर्कै मोबाइलबाट पठाएको हो।’

प्रहरीको फितलो अनुसन्धान 

हराइरहेकी महिलाको मोबाइलबाट आफू मनकामनामा रहेको भनी आएको एसएमएस एउटा ठूलो प्रमाण हो। तर प्रहरीले मिसिलमा यो एसएमएसको विवरण राखेको देखिँदैन। 

‘कल डिटेल रेकर्डसँगै प्रहरीले मिसिलमा एसएमएस डिटेल पनि संलग्न गर्नुपर्ने थियो,’ अनुसन्धानमा अनुभवी एक प्रहरी अधिकारीले भने, ‘मिसिङ वा किडन्यापिङ केसमा अनुसन्धानको सुरुवात नै भिक्टिमको मोबाइल लोकेसन, सिडिआर र एसएमएस डिटेलबाट गर्नुपर्ने हुन्छ।’

२०६९ वैशाख २१ गते तत्कालीन सहायक जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्कीले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ४४ वटा कागजात संलग्न गरिएको छ, जसमा कल डिटेल विवरण पनि छ। तर त्यसमा एसएमएस डिटेल विवरण छैन। 

एसएमएस आएको हो कि होइन?

प्रहरीले एसएमएस विवरण मिसिलमा नराखेकै कारण अदालत पनि अन्योलमा परेको देखिन्छ। 

२०६९ मंसिर २८ गते न्यायाधीश बालकृष्ण उप्रेतीले  एसएमएस पठाएको देखिन्छ कि देखिँदैन, देखिए सो एसएमएसको विवरण नेपाल टेलिकमबाट झिकाउन आदेश दिएका थिए। 

२०६९ माघ २३ गते काठमाडौँ जिल्ला अदालतले नेपाल टेलिकमलाई पत्र लेख्दै सोधेको छ, ‘छोरीमैयाँ महर्जनको ९८४१***६७१ को सिमकार्ड प्रयोग गरी  ‘म मनकामना साथीसँग छु भनी एसएमएस पठाएको देखिन्छ कि देखिँदैन?’

घटनाको ११ महिनापछि अदालतले यो पत्र लेखेको थियो। 

२०७० जेठ १२ गते नेपाल टेलिकमले यसको जवाफ दिँदै लेखेको छ- सिस्टममा तीन महिनाभन्दा पुराना एसएमएसहरु स्वतः मेटिने हुनाले एसएमएस डिटेल हेर्न नसकिने। 

अर्थात्, अनुसन्धानको एउटा मुख्य ‘क्लु’ हुनसक्ने छोरीमैयाँको मोबाइलबाट आएको एसएमएस नै आएको हो कि होइन देखिने गरी कुनै प्रमाण मिसिलमा संलग्न छैन। 

हामीले सुधालाई त्यो एसएमएसको फोटो, स्क्रिनसट केही छ कि छैन भनी सोध्यौँ।  

उनले त्यस्तो केही पनि नराखिएको जानकारी दिइन्। 

त्यतिबेला आफूले नोकिया ‘ई-५’ मोबाइल सेट चलाउने र त्यही मोबाइलमा एसएमएस आएको हुनाले त्यसमा हुनसक्ने उनले जानकारी दिइन्। 

छोरीमैयाँ खै श्रृंखला

तर, समस्या के पर्यो भने त्यो मोबाइल ब्याट्री बिग्रेका कारण ‘अन’ हुँदैनथ्यो।

‘ब्याट्री खोजेको पाउँदै पाइएन,’ उनले भनिन्। 

हामीले उनको मोबाइल लिएर बजारमा ब्याट्री खोजी गर्यौँ। धेरै ठाउँमा खोजिसकेपछि अन्ततः एक ठाउँमा भेट्टायौँ। 

मोबाइल ‘अन’ भयो।

र, भेटियो- एसएमएस। 

सुधाको मोबाइल सेटमा ‘मम’ नाममा सेभ भएको छोरीमैयाँ महर्जनको ९८४१***६७१ नम्बरबाट २०१२/०२/२८ तदनुसार २०६८ फागुन १६ गते राति ७ बजेर ५० मिनेटमा एसएमएस रिसिभ भएको छ। 

कल डिटेल रेकर्डमा भने राति ७ बजेर ५३ मिनेटमा कान्छी छोरी सुधाको मोबाइलमा छोरीमैयाँको मोबाइलबाट १ सेकेन्ड सम्पर्क भएको देखिन्छ। 

नेपाल टेलिकमको सर्भर कम्प्युटरमा रहेको घडी र मोबाइलको घडीको समय फरक पर्दा समयको यस्तो अन्तर देख्न सकिने टेक्निकल इन्भेस्टिगेसन गरिरहेकाहरु बताउँछन्। 

‘कहिलेकाहीँ त फोन गर्नेको मोबाइलको सिडिआरमा एउटा समय, त्यही फोन रिसिभ गर्ने मोबाइलको सिडिआरमा अर्कै समय देखिन्थ्यो’, पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारीले आफ्नो अनुभव सुनाए, ‘पछि यो टेलिकमको सर्भर विभिन्न कम्प्युटरमा रहने र हरेकको घडीको समय तलमाथि हुँदा फरक परेको देखियो। हामीले यो कुरा उठाएपछि सर्भरमा विन्डोज टाइम सिङ्क गरेर एउटै समय देखिने बनाइएको थियो।’ 

नेपाल प्रहरीका अनुसन्धानमा पोख्त बहालवाला केही अधिकारीहरुले सुझाए, ‘प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सुधाको मोबाइल पठाई एसएमएस आएको हो भनी प्रमाणित गर्न सकिने उपाय अझै बाँकी छ।’

काठमाडौँ जिल्ला अदालतले २०७१ सालमा  र उच्च अदालत पाटनले २०७३ सालमा अपहरण तथा शरीर बन्धक मुद्दामा निकी भन्ने सुरक्षा सिंहलाई सफाइ दिने फैसलामा एसएमएसको प्रसंग उल्लेख छैन। 

तर, २०७७ मंसिर २३ गते सर्वोच्च अदालतमा दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गर्ने क्रममा प्रकरण ४६ मा एसएमएसको प्रसंग उल्लेख गरेको छ। 

सर्वोच्चको फैसलामा एसएमएस कसले गरेको भन्ने तथ्यलाई यकिन साथ स्थापित गर्न सकेको नपाइएको उल्लेख छ। 

एसएमएस डिटेल प्रहरीकहाँ पुगेको थियो 

हामीलाई प्राप्त जानकारी अनुसार त्यतिबेला नै एसएमएसको डिटेल अनुसन्धान गरिरहेको प्रहरीकहाँ पुगेको थियो। 

तर, त्यसलाई मिसिलमा किन राखिएन, त्यो प्रष्ट छैन। 

शृंखलाका क्रममा हामीले पनि त्यतिबेलाको एसएमएस डिटेलको फाइलसम्म पहुँच पाएका छौँ। 

छोरीमैयाँको परिवारले छोरीमैयाँलाई अंग्रेजीमा टाइप गर्न नआउने र उनलाई नम्बर थिचेर डायल समेत गर्न नआउने भएकोले एसएमएस नगर्ने बताउँछिन्। त्यही भएर मनकामना छु भन्ने एसएमएस आमाले पठाएको होइन भन्ने उनीहरुको दावी छ। 

तर, हामीले पहुँच पाएको छोरीमैयाँको मोबाइलका एसएमएसहरु अध्ययन गर्ने क्रममा छोरीमैयाँको मोबाइल नम्बरबाट  नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बरमा एउटा मेसेज गएको देखिएको छ, जसमा अंग्रेजीमा लेखिएको छ- 4 dat.i cant take dis nymore i cant live lyk dis…

-प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा

(के थियो यो एसएमएसको रहस्य?  #ChhoriMaiyaKhai सिरिज जारी छ। अर्को भाग आइतबार प्रस्तुत हुनेछ।)

 

२९ साउन, २०७८, १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।