दस वर्षपछि एक्कासि कसरी चर्चामा आयो छोरीमैयाँ केस ?

दस वर्षपछि एक्कासि कसरी चर्चामा आयो छोरीमैयाँ केस ?

टिङ!

असार ३० गते सुधा महर्जनको मोबाइलले फेसबुक मेसन्जरमा नयाँ मेसेज आएको संकेत दियो। 

त्यो दिन सुधा अलि फूर्सदमा थिइन्। उनले फेसबुकमा थुप्रिएका अन्य मेसेजतिर पनि नजर लगाइन्। 

‘मेसेज रिक्वेस्ट’मा केही मेसेज थुप्रिएका रहेछन्। 

‘क्यान वी मिट?’

फेसबुकमा फ्रेन्ड पनि नरहेकी, चिन्दै नचिनेकी महिलाको मेसेज देखेर उनी झसंग भइन्। कता-कता मनमा चिसो पस्यो। नचिनेको व्यक्तिको मेसेज आउँदा मनमा चिसो पस्न थालेको धेरै भइसक्यो उनलाई। 

‘हाउ डिड यु नो मी?,’ सुधाले अङ्ग्रेजीमै जवाफ फर्काइन्। 

उताबाट एउटा भिडियोको लिंक आयो जसमा उनी आफ्नी दिदीसित देखिएकी थिइन्। आठ वर्षअघि युट्युबमा अपलोड भएको यो भिडियोमा उनी नारा लगाइरहेको देखिन्छिन् जसले पछिल्लो समयमा निकै भ्युज पाइरहेको छ। 

भिडियोको शीर्षक छ- छोरीमैयाँ महर्जन कहाँ छिन्?

त्यो बेला उनी यही प्रश्न बोकेर सडकसम्म उत्रिएकी थिइन् परिवारसँगै। एक दशकदेखि सुधासहित उनका दुई दिदी, बुबा अनि परिवारका अरु सदस्यले यही प्रश्न सोध्दै आएका छन्। तर जवाफ अझै आएको छैन।

०००
१६ फागुन २०६८।

५१ वर्षीया छोरीमैयाँ महर्जन रातो ठूलो बुट्टे सारी लगाएर, एउटा हाते झोला बोकेर जैसिदेवल नजिकै रहेको आफ्नो पाँच तल्ले घरबाट सधैंझैं बिहान ८ बजेतिर निस्किइन्। 

त्यो दिन छोरीका साथी श्यामकाजी श्रेष्ठ उनकै घरमा आएका थिए। उनैले छोरीमैयाँलाई टेकुसम्म छाडिदिन्छु भने। छोरीको साथी न हो! उनी मोटरसाइकल पछाडि बसिन्। 

घरबाट निस्किएको आज ३ हजार ४ सय ५१ दिन भयो। तर छोरीमैयाँ अझै घर फर्किएकी छैनन्। 
अनुसन्धान नभएको होइन। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा अनि केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गर्यो यो केसको।

तर, अहिलेसम्म न उनको सास भेटिएको छ, न लाश। कतै फर्किहाल्छिन् कि! परिवारसँग बाँकी छ त धमिलो आश मात्र। 

‘हाम्री आमा खै?’

आमाको खोजीमा प्रहरी प्रशासनले त्यति चासो नदेखाएपछि ‘हाम्री आमा खै?’
लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए छोरीमैयाँका छोरीहरु। सुरुका केही समय सडकमा प्रदर्शनदेखि दबाब समूहको रिले अनसनसम्मका गतिविधि भए। गृह प्रशासन तातेझैं देखियो।

त्यो समयमा मिडियामा एकदमै विशेषस्थान पाएको हाइप्रोफाइल केस नै बनेको थियो यो। काठमाडौंको मध्यसहरबाटै एक महिला हराउनु आफैंमा गम्भीर विषय त थियो नै, यसमा जोडिएका नामहरुले पनि के केसलाई हाइप्रोफाइल बनायो।

छोरीमैँया हराएसँगै यो केसमा जोडिन आइपुगिन् व्यवसायी दीपक मल्होत्राकी बहिनी निकी (सुरक्षा) सिंह। सुरक्षाको नामसँगै राज्यका विभिन्न अंगमा प्रभाव पार्न सक्षम दीपकको नाम पनि जोडिने नै भयो। 
निरन्तर प्रदर्शनपछि सरकारले छानविन समिति गठन गर्यो। यता महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर दुवै सक्रिय भए।

प्रहरीले निकीलाई पक्राउ गर्यो। 

प्रदर्शन रोकिए। अदालती प्रक्रिया सुरु भयो। विस्तारै छोरीमैयाँका समाचारहरु मिडियाबाट हराउन थाले। उनको परिवारका सदस्यका लागि मात्र चासो बनिन् छोरीमैयाँ।

अन्यको मन शान्त भए पनि छोरीहरुको मन उस्तै उद्देलित थियो। कुनै नयाँ व्यक्ति सम्पर्कमा आउँदा आमाबारे केही जानकारी आयो की भनेर उनीहरुको मन सिरिङ्ग बनाइरहन्थ्यो।

त्यसैले त अचानक नचिनेको मान्छेले भेट्नुपर्यो भन्दै फेसबुकमा मेसेज पठाउँदा सुधाको मन सिरिङ्ग भएको थियो। उनी डराइन् पनि। खै किन हो, अझै पनि असुरक्षित महसुस हुन्छ रे उनलाई। 

उनले मेसेज पठाउनेको प्रोफाइल चेक गरिन्, 'सृजना खड्का, संवाददाता,  इकागजडटकम।’

‘यत्रो वर्षपछि पत्रकारले किन खोजी गरे मलाई,’ फेरि अर्को शंका। 

भेट्ने कि नभेट्ने?

सुधाले केही वर्ष अगाडिसम्म छोरीमैयाँ खोज्न सक्रिय रहेको दबाब समूहका विश्वासयोग्य दाइहरुसित सल्लाह गरिन्। उनीहरुले भेट भनेपछि एउटा क्याफेमा भेटिन् सृजनालाई। र, साउन ९ गते एउटा फिचर स्टोरी आयो- १ वर्षे छोरीमा १० वर्षदेखि हराइरहेकी आमा खोजिरहेकी सुधा। 

त्यसो त केही दिनअघिदेखि नै अपरिचित मान्छेहरुको मेसेज आउनेक्रम बढेको थियो उनलाई। तर उनले भेउ पाउन सकेकी थिइनन्, १० वर्षपछि यो सब किन भइरहेको छ?

सोसल मिडियाको शक्ति

अनलाइन मिडियाका सञ्चारकर्मीलाई १० वर्षअघि हराएकी छोरीमैयाँको घटना सम्झन बाध्य बनाउने काम गरेको थियो सोसल मिडियाले। 

‘सोसल मिडियामा छोरीमैयाँ महर्जनलाई न्याय खोई भनेर भिडियोहरु भाइरल भएको देखेँ’, सृजनाले उकेरासँग भनिन्, ‘यो घटना हुँदा म त्यस्तै कक्षा ११/१२ मा पढ्थेँ। मलाई यसबारे पत्रपत्रिकामा पढेको याद आयो।’

१० घन्टासम्म आमा नआउँदा त कस्तो तनाव हुन्छ भने १० वर्षसम्म आमा नआउँदा छोरीमैयाँका छोरीहरुलाई कस्तो भयो होला? यही सोच्दै उनी सुधासँग म्यासेन्जरमा जोडिन पुगेकी थिइन्। 

सोसल मिडियामा #JusticeForChhorimaiyaMaharjan ह्यासट्यागको प्रयोग बढ्दै गइरहेको थियो। यो विषयमा बनेका पुराना भिडियोहरुले समेत हजारौं भ्युज बढाइरहेका थिए। 

गुगल ट्रेन्ड्सका अनुसार जुलाई महिनाको दोस्रो सातादेखि युट्युबमा यो विषयमा खोज्ने क्रम एक्कासि बढेको देखिन्छ। युट्युबमात्र होइन; फेसबुक, इन्स्टाग्राम, टिकटकदेखि ट्विटरसम्म यो विषय उठिरहेको छ अहिले। 

छोरीमैयाँ खै श्रृंखला

तर, छोरीमैयाँको परिवार बेखबर थियो यी सबैबारे। अपहरण तथा शरीर बन्धकमा चलेको मुद्धा जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेर आठ महिनाअघि नै टुंगिसकेको थियो। तीनै तहको अदालतबाट निकी सिंहले सफाइ पाइसकेकी थिइन्, अपहरण र शरीर बन्धकको अभियोगबाट।

एकाएक अभियान सुरू भएको देखेर छोरीमैयाँका परिवार छक्क परे। यता सफाइ पाइसकेको आरोपी तनावमा।

छोरीमैयाँ खोजी दबाब समूह हुँदै परिवारसँग निकट रहेका बिकिल स्थापितका अनुसार सबैभन्दा पहिला यो विषय महिला मात्रको फेसबुक ग्रुप उमेन्स रुम रिलोडेड (डब्ल्युआरआर) मा उठेको रहेछ। महिला हिंसाको विषयमा स्वभाविक रुपमा महिलाको चासो र चिन्ता बढी हुन्छ नै। त्यो समूहका सदस्यहरुले ह्यासट्याग प्रयोग गरी यो विषयलाई खुला रुपमा उठाउन थाले। यो क्रम पुरुष मात्रको मेन्स रुम रिलोडेड (एमआरआर) मा पनि सुरु भयो। 

विस्तारै अन्य सोसल मिडियाका प्रयोगकर्ताको पनि ध्यान खिच्यो यसले। मिसगाइडेड नेपाली, र्यान्डम नेपाली, आनन्द नेपाल जस्ता इन्फ्लुएन्सर युट्युबरहरुले यसबारे भिडियो बनाउन थाले, जुन राम्रै संख्यामा हेरिए। 

सामाजिक सञ्जालमा छोरीमैयाँको खोजी भइरहेको थियो। १२ वर्षअघिकी मिस नेपाल जेनिशा मोक्तान एक्कासि आरोपितको पक्षमा उभिइन् इन्स्टाग्राममा। 

जेनिशा अपहरण तथा शरीर बन्धककी आरोपित निकी (सुरक्षा) की बुहारी हुन् उनी। जेनिशाका पति दिकेश मल्होत्रा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा र इबिसु ज्वेलर्सकी निर्देशक सविता मल्होत्राका छोरा हुन्। 

उनले इन्स्टाग्राममा अक्षर मात्र भएका आठ वटा पोस्ट एकै चोटी पोस्ट गर्दै आफूलाई बित्थामा यो केसमा मुछिएकोमा गुनासो गर्दै लेखेकी थिइन्, ‘यो केसका बारेमा केही तथ्य राख्छु।’

जेनिशा समाजमा प्रभाव पार्न सक्ने सेलिब्रिटी जो निकीको पारिवारिक सदस्य पनि। उनी निकीको पक्षमा उभिएपछि पक्ष-विपक्षमा बहस सुरु हुनु स्वभाविक नै हो।

उनले आफ्नो पोस्टमा राखेका केही प्रश्न यस्ता थिए-

-हाम्री आन्टी निकीले अपहरण गर्ने योजना बनाएको भए (छोरीमैयाँ) की छोरी आफैंले आमा (छोरीमैयाँ) आउँदै छिन् भनेर फोनमा भनेकी छिन्। छोरीलाई थाहा छ, आफ्नोमा आमा आउन लागेकी छिन्, किन गर्छिन्?

-निर्दोष हुँदाहुँदै पनि हाम्री आन्टी २४ दिनसम्म प्रहरी हिरासतमा बसिन्, विदेश जान रोक लगाइयो, फौजदारी अभियोग लगाइयो। यही दबाब र बेइज्जतीका कारण परिवारमा यति तनाव भयो कि उनका पति हार्टअट्याक भएर बिते। उनका १२ वर्षका छोरालाई पुलिसमा बोलाएर बयान लिइयो। आरोपकै कारण उनले सबै गुमाइन्। 

छोरीमैयाँ श्रृंखलाको अडियो-१

-निकी सिंहले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म सबै अदालतबाट सफाइ पाइन्। निकी र हराएकी छोरीमैयाँबीच ५ लाख रुपैयाँको कारोबार थियो। बाहिर हल्ला भए जस्तो ५० लाखको होइन। यो फरेन्सिकबाट पनि प्रमाणित भइसकेको विषय हो। त्यो पैसा महर्जन परिवारले प्रहरीको रोहबरमा फिर्ता पाइसके। 

-मेरो ससुरा ( दीपक मल्होत्रा) ले निर्दोष बहिनीलाई सहयोग गरेका हुन्। ५ लाखका लागि उनले नराम्रो गर्दैनन्। उनले पावरको मिस युज गरेको भए २४ दिनसम्म आफ्नी बहिनी लकअपमा कोचिँदैन थिइन्। उनले कानुनी प्रक्रियामा कुनै व्यवधान पुर्याएका छैनन्। 

उनका लागि यो पोस्टले ब्याकफायर भयो। त्यसमा यति आलोचना गरिएका कमेन्ट आए की बाध्य भएर उनले सबै पोस्ट नै डिलिट गरिन्। तर सामाजिक सञ्जालमा पोस्ट भएका सामग्री प्रयोगकर्ताले डिलिट गर्दैमा कहाँ हराउँछ र? यो पनि हराएन।

कमेन्ट अफ भएको प्रियंकाको भिडियो

जेनिशापछि अर्की सेलिब्रिटी हामफालिन् आरोपी निकीको पक्षमा। उनी हुन् प्रियंका कार्की। प्रियंका पनि आरोपितकै परिवारको सदस्य।

निकी प्रियंकाकी आफ्नै सानीआमा हुन्। 

प्रियंकाले आफ्नो व्यक्तिगत युट्युब च्यानलमा आएर  केसको व्याख्या र विश्लेषण गरिन्। उनले केसको फाइल आफूसँग रहेको भन्दै त्यसका केही बुँदाहरु प्रस्तुत गरिन्। 

प्रियंकाले पनि जेनिशाकै जस्तो तर्क गरिन्। फरक के थियो भने, जेनिशाको पोस्टमा भावना बढी थियो, प्रियंकाको भिडियोमा मुद्दाको फैसला र केही कागजपत्रबारे विश्लेषण र तर्क पनि। नकारात्मक प्रतिक्रियाका कारण जेनिशाले पोस्ट डिलिट गर्नुपरेझैं समस्या नआओस् भनेर होला उनले पहिल्यै आफ्नो भिडियोको कमेन्ट भने अफ गरेकी थिइन्। 

यी दुई सेलिब्रिटीको पोस्टले सामाजिक सञ्जालभित्रै घुमिरहेको विषयलाई पुन: छलफलमा ल्याइदियो। १० वर्षपछि चासो बढायो, साँच्चै छोरीमैयाँ कहाँ छिन्!

आरोपी निकीको तर्फबाट जेनिशा र प्रियंकाले तथ्य भनेर जे-जे दावी गरे त्यसको जवाफ छ भन्छन् छोरीमैयाँको परिवार। यसले अब एक दशक अगाडि मल्होत्रा परिवार र महर्जन परिवार जसरी पक्ष-विपक्षमा उभिएका थिए, १० वर्षपछि अवस्था त्यतै फर्कने बनायो। 

तर, दुई परिवारको द्वन्द्वमा मुल प्रश्नको जवाफ भने अझै रहश्यमै छ- आखिर छोरीमैयाँ छिन् चाहिँ कहाँ?

०००
घटनाको दिन भएको के थियो? प्रहरीले कसरी अनुसन्धान गर्यो? अनुसन्धानमा कुन-कुन पाटो सफल देखिए, के-के भयो कमजोरी? यो केसमा कस्ता ‘पावर प्ले’ हरु गरिए/गराइए?, आरोप के-के छन्, प्रतिवाद के-के छन्?

यी अनुत्तरित प्रश्नको खोजी गर्न १० वर्षअघिको यो केसलाई हामी मिहिन रुपमा केलाउने प्रयास गर्दैछौं #ChhoriMaiyaKhai सिरिज अन्तर्गत  हरेक दिन उकेरामा।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा।)

 

२५ साउन, २०७८, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।