कभर स्टोरी

ChhoriMaiyaKhai शृंखला- ११

एक दशकसम्म 'मिस कल' नसुल्झाउने अनुसन्धान


रातो ठूलो बुट्टे सारी लगाएर जैसिदेवल नजिकै रहेको आफ्नो घरबाट निस्केपछि ५१ वर्षीया छोरीमैयाँ महर्जन फर्किइनन्। त्यसपछि के भयो भन्ने प्रश्नको जवाफ १० वर्ष पुग्न लागिसक्दा पनि पाइएको छैन।

हाइप्रोफाइल व्यापारिक घराना दीपक मल्होत्राकी बहिनी निक्की सिंह जोडिएको यो केसको फाइल अहिलेसम्म पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा छ।

निक्की विरुद्धको अपहरण तथा शरीर बन्धक मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतमा पुगेर टुङ्गिइसकेको छ र तीनै तहको अदालतले सोधेको छ- यस्तो गम्भीर अभियोग लगाउनका लागि प्रमाण खै? यता उनका तीन छोरीले अझै पनि आफ्नो प्रश्नको जवाफ पाएका छैनन्- हाम्री आमा खै? अनुसन्धान गर्नेहरुले अझै देखाउन सकेका छैनन्- छोरीमैयाँ खै? 

झण्डै एक दशकपछि फेरि सामाजिक सञ्जालमार्फत चर्चामा आएको यो केसको गहिराइसम्म पुग्न हामीले यसअघि #ChhoriMaiyaKhai सिरिजका १० अङ्कमार्फत विभिन्न पाटोबारे विस्तृत विवरण प्रस्तुत गरेका थियौँ। 

सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ। 

त्यसभन्दा अगाडि अघिल्ला १० वटा सिरिजले खुलाएका केही महत्त्वपूर्ण विषय एक पटक फेरि नियालौँ।

कल डिटेल रेकर्डको रहस्य

२०६८ फागुन १६ गते बिहान करिब ८ बजेतिर बानेश्वर जान्छु भनेर निस्किएकी छोरीमैयाँ महर्जनलाई छोरी सुभद्राका साथी श्यामकाजी श्रेष्ठले आफ्नो मोटरसाइकलमा टेकुसम्म छाडेका थिए। त्यसपछि उनलाई कसैले देखेको प्रमाण प्रहरीले पत्ता लगाउन सकेको छैन। त्यसपछि उनको स्थिति उनको मोबाइलको कल डिटेल रेकर्ड (सिडिआर) बाट हेरिएको छ। तर अदालतमा पूरा सिडिआर पुगेको देखिन्न।

घरबाट निस्केको १५/२० मिनेटमै छोरीमैयाँले आफ्नो मोबाइलबाट घरको ल्यान्डलाइनमा फोन गरी आफू निकीको घरमा जान लागेको, उनी घरमा छिन् कि छैनन् सोधिदिन भनेको छोरी सुधाको दावी छ। र, छोरी सुधाले ल्यान्डलाइनबाट निकीको मोबाइलमा कुरा गरेको पनि सिडिआरमा देखिन्छ। महत्त्वपूर्ण कुरा, त्यतिबेला छोरीमैयाँ र निकी दुवैको मोबाइलको लोकेसन एउटै ठाउँमा देखिन्छ। तर अदालतमा पुर्‍याइएको सिडिआरमा निकीले फोन रिसिभ गर्दाको लोकेसन गायब बनाइएको आरोप छोरीमैयाँको परिवारको छ। यसले फोन रिसिभ गर्दा निकी कहाँ थिइन् भन्ने लोकेसन देखिन्न। जबकि हाम्रो पहुँचमा आएको सिडिआरमा भने फोन रिसिभ गर्दाको लोकेसन पनि देखिन्छ। अदालतमा पुर्‍याइएको सिडिआरमा कसले छेडखानी गर्‍यो, खुलेको छैन। 

प्रहरीले लिएको बयान र सिडिआरले देखाएको तथ्य ‘म्याच’ भएको छैन। यसो किन भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान समेत गरेको छैन। 

छोरीमैयाँले निकीलाई फोन गरिदेउन भन्दै घरको ल्यान्डलाइनमा फोन गरेपछि कान्छी छोरी सुधाले निकीको मोबाइलमा फोन गरेको दावी उनको छ। तर, कल डिटेल रेकर्डमा भने सुधाले निकीलाई फोन गरेको नभई निकीको मोबाइलबाट छोरीमैयाँको घरको ल्यान्डलाइन नम्बरमा सम्पर्क भएको देखिन्छ। 

त्यसैगरी छोरीमैयाँ हराएकै दिन जेठी छोरी सुभद्राले निकीलाई मोबाइलमा दिउँसो ३ बजे अनि साढे ३ बजेको आसपासमा दुई पटक फोन गरेको बयान छ। तर सिडिआरमा ती फोन पनि निकीको मोबाइलबाट छोरीमैयाँको ल्यान्डलाइन नम्बरमा भएको देखिन्छ। 

निकीको ‘झुट’

छोरीमैयाँ हराएको दिन तपाईँ कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्नमा निकीले पटकपटक झुट बोलेको सिडिआरबाट देखिएको छ। 

निकीले त्यो दिन आफू बहिनी रेखा श्रेष्ठसित न्युरोड घुम्न गएको र बाटोमा हुँदा सुभद्रासित फोनमा कुरा भएको दावी गरे पनि सिडिआरमा भने त्यो दिन दिनभर उनको लोकेसन नयाँ बानेश्वर मै देखिन्छ। छोरीमैयाँको मोबाइलको लोकेसन पनि त्यो दिन साढे १ बजेसम्म नयाँ बानेश्वरमै देखिन्छ। अर्थात् दुवैको मोबाइल लोकेसन एकै ठाउँमा देखिन्छ। तर निकीले भने छोरीमैयाँ आफ्नो घरमा नआएको र आफूले नभेटेको दावी गर्छिन्। 

त्यो रहस्यमय एसएमएस

हराएको दिन साढे १ बजेपछि छोरीमैयाँको मोबाइल अफ भएको हुन्छ। एकै पटक त्यो मोबाइलबाट कान्छी छोरी सुधाको मोबाइलमा राति ७ बजेर ५३ मिनेटमा एउटा एसएमएस आउँछ जसमा रोमन लिपिमा आफू मनकामनामा साथीसित भएको र पर्सि आउने कुरा उल्लेख हुन्छ। 

एसएमएस आएपछि परिवार अझ आत्तिन्छ। किनभने छोरीमैयाँलाई मोबाइलमा टाइप गर्न आउँदैन थियो। कल समेत स्पिड डायलमा थिचेर गर्ने गरेको दावी छ परिवारको। त्यतिमात्र होइन, छोरीमैयाँको नोकिया मोबाइलको डिस्प्लेसमेत केही दिनअघि खसेर बिग्रिएको थियो। डिस्प्ले नदेखिने भएकोले त्यो मोबाइलबाट नभई अर्कैबाट एसएमएस पठाइएको शंका परिवारको छ। 

परिवारका अनुसार छोरीमैयाँलाई न मोबाइलमा एसएमएस टाइप गर्न आउँथ्यो, न पढ्न। तर त्यो एसएमएस छोरी सुधाको मोबाइलमा आएको १९ मिनेटमै छोरीमैयाँको मोबाइलमा एउटा एसएमएस पठाइएको थियो, जसमा रोमनमै लेखिएको थियो- मनकामना भनेर एसएमएस आयो भन्ने सुनेँ। नानीछोरी कता हो, कसरी त्यहाँ पुग्यौ? हामी चिन्तित छौँ, छिटो फोन गर। 

हामीले खोज्ने क्रममा यो एसएमएस पठाउने चिरञ्जीवी सापकोटाले त्यतिबेला उनी छोरीमैयाँकी ग्राहक रेणु रिमालको जावलाखेल, कुमारीपाटीस्थित घरमा भाडामा बस्ने गरेको र उनकै आग्रहमा त्यो एसएमएस पठाएको दावी गरे। तर १९ मिनेटमै छोरीमैयाँको एसएमएस आएको कुरा रेणु रिमाललाई कसरी थाहा भयो भन्ने कुरा भने खुलेन। किनभने रेणु र उनका पति दुवैको मृत्यु भइसकेको रहेछ। हराएको दिन पनि बिहान छोरीमैयाँ र रेणुको कुरा भएको सिडिआरले देखाउँछ। 

अनुसन्धानकर्मीले न छोरीमैयाँको मोबाइलबाट आएको एसएमएसको लोकेसन पत्ता लगाउन सक्यो, न आइएमइआइ नम्बर नै। 

हल्लाहरु

यो बीचमा छोरीमैयाँबारे विभिन्न किसिमका हल्ला फैलिए/फैलाइए। कोही भन्थे, हराएको दिन साँझ न्युरोडमा देखिएकी थिइन्। कोही भन्थे, उनी त जापानमा देखिइन्। 

एउटा हल्ला भने अलि धेरै नै फैलिएको थियो- छोरीमैयाँसँगै उनको फ्याक्ट्रीमा काम गर्ने एक जना भारतीय पनि हराएको (उनी पोइल गएको) र उनीहरु भारतमा भएको। हामीसँग कुरा गर्ने क्रममा निकीका दाजु दीपक मल्होत्राले पनि यो कुरालाई निकै जोड दिएका थिए। 

भारतीय नागरिक हराएको बारे प्रहरीले नै जानकारी दिएको भन्दै प्रहरीलाई उद्‍धृत गर्दै राष्ट्रिय दैनिकहरुमा समाचार आएका थिए। त्यतिबेला प्रकाशित नागरिक दैनिकको अनलाइन संस्करणमा यो समाचार पढ्न सकिन्छ।

यद्यपि प्रहरीको अनुसन्धानमा भने उनीसँगै काम गर्ने कुनै पनि भारतीय नागरिक रहेको र हराएको देखिएको छैन। छोरीमैयाँले आफ्नो फ्याक्ट्रीको एम्ब्रोइडरी (बुट्टा बनाउने) काम रुस्तम अन्सारीलाई गराउँथिन्। उनको भारतमा घर छ। 

यो शृंखलाका क्रममा हामीले रुस्तमलाई पनि भेट्टायौँ। उनी जैसिदेवल नजिकै अझै त्यही काम गर्दै बसिरहेका छन्। ‘इन्डिया गएको भए तपाईँले मलाई आज यहाँ भेट्नुहुन्थ्यो?’ परिवार छ, बाल-बच्चा छन्, पर्व-चाडमा त घर जानुपर्छ नि,’ उनले भनेका थिए। 

यस्तो हल्लाको सुरुवात निकी आफैंले गरेकी थिइन्। सुरुमा उनले छोरीमैयाँसँगै आफ्नो घरमा ‘एक जना करिब ४०/४५ वर्षको, कालो, हेर्दा नेवार जस्तो देखिने, गाई पाल्ने, फोहरी, जंकी पाराको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको, गालामा खत भएको व्यक्ति आउने गरेको’ बताएकी थिइन् र त्यही अनुसारको स्केच पनि प्रहरीकहाँ बनाउन लगाइएको थियो। पछि नेवार जस्तो हैन, मुस्लिम केटा जस्तो भन्न थालियो। प्रहरीले स्केच अनुसार खोजे पनि कतै त्यस्तो हुलियाको मान्छे फेला पर्न सकेन। 

भारतको लिंक जोडेर अनुसन्धान गरिरहेको प्रहरी त्यतिबेला झस्कियो, जब कल डिटेल विश्लेषणका क्रममा हराउनुअघि छोरीमैयाँको मोबाइलबाट भारतीय नम्बरमा कल गएको र हराइसकेपछि भारतीय नम्बरबाट छोरीमैयाँकी छोरीको नम्बरमा ‘मिसकल’ भएको देखियो। 

के थियो यसको रहस्य? यसबारे विस्तृत जानकारी #ChhoriMaiyaKhai शृंखलाको भोलिको अङ्कमा।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'

सुरुवाती दिनहरुमा म हिन्दी गीतहरु गुन्गुनाउँथें। तर चर्चामा आएको चाहिँ नारायणगोपालकै गीतबाट हो। वि.सं. २०४४ सालतिरबाट नारायणगोपालको गीत गाउन थाल्ने बित्तिकै म सबैको नजरमा पर्न....

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।  अहिलेका पुस्ताले....

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन

केही दिनसम्म रिहर्लसल गरिसकेपछि भक्तराज गीत सुनाउन वि.सं. २०४६ मंसिर १९ गते दिउँसो १ बजेतिर धुम्बाराहीस्थित गोपाल योञ्जनको घर  पुगे। गोपाल योञ्जनको बैठक कोठा सबैभन्दा....

वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

उकेरालाई विशेष स्रोतले युनिफाइड केन्द्रीय अस्पतालमा मिति सकिएको एक्स–रे गर्ने फिल्म’ अनि सिटी स्क्यान गर्दा प्रयोग गरिने सुई प्रयोग भइरहेको सूचना दिएको थियो। एक महिनाको निरन्तर....

के निक्कीलाई उन्मुक्ति दिन अभियोग गम्भीर तर प्रमाण फितलो पारिएको हो ?

२०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनलाई प्रहरीले मल्होत्राकी बहिनी निक्की भनिने सुरक्षा सिंहविरुद्ध किटानी जाहेरी दिन लगायो। अपहरण तथा शरीर बन्धकको कसुरमा दिइएको....