ढुकुटीको जालोमा जेलिएको केस जसको अनुसन्धानमा प्रहरी बन्यो लाचार

ढुकुटीको जालोमा जेलिएको केस जसको अनुसन्धानमा प्रहरी बन्यो लाचार

झण्डै एक दशकअघि राजधानीबाट बेपत्ता भएकी ५१ वर्षीया छोरीमैयाँ महर्जनको अवस्था अझै अज्ञात छ। हाइप्रोफाइल व्यापारी दीपक मल्होत्राकी बहिनी निकी सिंह जोडिएको यो केसको रहस्य पुनः खोतल्ने क्रममा गत हप्ता हामीले सुरुमा यसलाई प्रहरीले खासै ध्यान नदिएकोबारे चर्चा गरेका थियौँ। 

परिवार र सरोकारवालाको दबाबका बीच प्रहरीले अनुसन्धान ढिलै भए पनि अगाडि त बढायो, तर फितलो अनुसन्धानले पोइल गएको हल्लालाई आधार बनाएर ‘परपुरुषसँग सम्बन्ध रहेको’ निश्कर्ष निकाल्यो, जुन पछि पुष्टि हुन सकेन। त्यसैगरी भारतीय कनेक्सन पनि पुष्टि गर्न सकिएन।  

सडकबाट दबाब बढ्दै जाँदा प्रहरीले छोरीमैयाँको परिवार र उनका निकट व्यक्तिहरुप्रति अनुसन्धान थाल्यो। यो क्रममा खुल्यो ढुकुटीको कनेक्सन। 

ढुकुटी एउटा गैरकानुनी आर्थिक कारोबार हो। त्यसताका ढुकुटी खेल्ने निकै हुन्थे। ढुकुटी निश्चित संख्यामा तोकिएका व्यक्तिहरु मिलेर खेलिन्छ। खेलको नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्छ। यो ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमाझ दामासाहीले बाँडिन्छ। 

अन्तिममा ढुकुटी खानेलाई फाइदा हुन्छ। तर अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा पूरै रकम डुब्ने खतरा हुन्छ। 

कति रकमको ढुकुटी खेल्ने भन्ने विषय खेल्ने समूहका सदस्यहरुको रकम निकाल्न सक्ने क्षमतामा निर्भर हुन्छ। ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ। 

त्यस्तै आपसी विश्वासका भरमा प्रत्येक सदस्यले आफ्नो रकम नियमित किस्ताका रूपमा बुझाउनुपर्ने हुन्छ। यसमा फेरि ढुकुटी सञ्चालकको नियत खराब भए पनि रकम डुब्ने नै भयो। गैरकानुनी काम भएकोले यसको कुनै लिखत पनि हुँदैन। त्यसैले विश्वासमा संकट आएपछि ढुकटी डुब्ने खतरा हुन्छ। 

१५ देखि ५० जनासम्मको समूहमा खेलिने यो खेलमा कोही भाग्यो, कसैले डुबायो भने पनि आफू डुबेको कुरा स्वीकार गर्ने खासै भेटिन गाह्रो हुन्छ। 

ढुकटीका कारण अपराधको संख्या बढ्न थालेपछि पाँच वर्षअघि मात्रै बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गरी औपचारिक रुपमै ढुकुटी खेल्नुलाई गैरकानुनी बनाइएको हो। ऐनमा ढुकुटीको कारोबार भन्नाले एक आपसमा रकम उठाई सहमतिका आधारमा आलोपालो गरी रकम लिने वा दिने गरी गरेको कारोबारलाई सम्झनुपर्छ भनिएको छ। 

ऐनको दफा १४ (क) ले कसैलाई पनि ढुकुटीको कारोबार गर्न वा गराउन रोक लगाएको छ। उल्लंघन गरे बिगो अनुसार एक वर्षदेखि नौ वर्षसम्म कैदका साथै बिगो भराई बिगो बमोजिम जरिवानाको समेत व्यवस्था छ। 

छोरीमैयाँको यो केस पनि ढुकुटीको यस्तै जालोमा फसेको छ। तर त्यतिबेला भर्खर ढुकुटी व्यापक हुन थालेको अवस्था थियो र यस्तो कानुन पनि थिएन। सहमतिका आधारमा खेलिने र जुवा ऐनभित्र पनि नपर्ने भएकोले कानुनी रुपमा यसको सम्बोधन भएको थिएन। यद्यपि त्यतिबेला पनि यसलाई गैरकानुनी नै मानिन्थ्यो र पीडितहरु खासै खुल्दैनथे। 

परिवारले ‘असहयोग’ गरेको आरोप

यो केसमा अनुसन्धानका क्रममा लिइएका बयानहरुले छोरीमैयाँ र निक्की दुवै ढुकटीको कारोबारमा संलग्न रहेको प्रष्ट हुन्छ। तर छोरीमैयाँको परिवारले भने यसबारे प्रहरीलाई कहिल्यै खुलेर कुरा गरेन। 

जुन दिन छोरीमैयाँ बेपत्ता भएकी थिइन्, त्यो दिन छोरीमैयाँको घरमा आउने र उनलाई टेकुसम्म छाडिदिने जेठी छोरीकी साथी श्यामकाजी श्रेष्ठले निक्कीले खेलाउने ढुकुटीमा छोरीमैयाँमार्फत रकम किस्ता तिरेर खेलेको बयान दिएका थिए। उनी त्यो दिन पनि ८ हजार ५ सय रुपैयाँ ढुकुटीको किस्ता बुझाउन नै जैसिदेवलस्थित छोरीमैयाँको घरमा आएका थिए। 

तर, न छोरीमैयाँका छोरीहरुले प्रहरीलाई ढुकुटीको बारेमा बताए, न निकीले नै। निकीले प्रारम्भिक सोधपुछका क्रममा ढुकुटी खेलाउँदिन भनेको रेकर्डमा छ। 

श्यामकाजीले दिएको बयान अनुसार त छोरीमैयाँकी जेठी छोरी सुभद्राले ढुकुटीको किस्ता तिर्न प्रहरीलाई किन भनेको भनेर रिसाएकी पनि थिइन्। 

निक्कीले पछि प्रहरीसँगको बयानमा भने ढुकुटी खेलेको स्वीकार गरेकी छिन्। तर अदालतमा भने ढुकुटी खेल्ने/खेलाउने गरेको छैन भनी बयान दिइन्।

छोरीमैयाँको परिवारले भने मिडियामा ‘छोरीमैयाँ ढुकुटीमा संलग्न नभएको’ स्पष्टीकरण दिइरह्यो। हेर्नूस् २०६९ माघ ४ गते (घटनाको लगभग एक वर्षपछि) नागरिक दैनिकमा छापिएको पाठक पत्र। 

त्यतिबेला यो केसको अनुसन्धानलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत घटनाको अनुसन्धानमा छोरीमैयाँको परिवारबाट ‘आवश्यक सहयोग नभएको’ आरोप लगाउँछन्। यद्यपि, परिवार भने त्यसलाई अस्वीकार गर्छ। 

‘ठूलो रकमको ढुकुटी कारोबार हुन्थ्यो भन्ने थाहा भयो,’ ती प्रहरी अधिकृत भन्छन्, ‘तर अनुसन्धान ढुकुटीतिर छिर्दै छिरेन। छिर्नै सकेन। को-कोसँग कति रकमको ढुकुटी खेलिन्थ्यो भन्ने जानकारी नै आएन।’

ढुकटीको कारोबार लगायतका विषयमा घरको ल्यान्डलाइनबाट कुरा हुने र त्यतिबेला ल्यान्डलाइनको कल डिटेल दिने सिस्टम नभएको पनि ती अधिकारीको दावी रह्यो। 

तर, यो केसको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थालिसकेपछि ल्यान्डलाइनको समेत कल डिटेल निकालिएको छ। नेपाल टेलिकमले २०६९ जेठ ८ गतेको पत्रबाट निकी र छोरीमैयाँको घर दुवैको ल्यान्डलाइनको कल डिटेल पठाएको भेटियो, जुन प्रारम्भिक अनुसन्धानकर्ताहरुले पाउन सकेका थिएनन्। 

परिवारको असहयोगका कारण नै ढुकुटी लगायतका अरु एंगलमा अनुसन्धान नै हुन नपाएको ती अधिकारीको जिकीर छ। 

‘अनि अनुसन्धान निकीतिरै केन्द्रित भयो, दायाँ-बायाँ लाग्न पाएन, अनावश्यक प्रेसर पनि दिइयो’, उनको आरोप छ। 

छानबिन समितिले देख्यो ढुकुटीमै समस्या

छोरीमैयाँको खोजतलास गर्न नागरिकस्तरबाट विभिन्न दबाबमुलक कार्यक्रमहरु भइरह्यो। यस क्रममा २०६९ साउन २५ गतेदेखि बसन्तपुर डबलीमा १२ घण्टे रिले अनसन पनि भयो। उक्त अनसनमा वर्तमान काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि सहभागी थिए। 

दबाब बढ्दै गएपछि सरकारले तत्कालीन सहसचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक परशुराम खत्री, सहअनुसन्धान निर्देशक निरजकुमार श्रेष्ठ र उपन्यायाधिवक्ता राजकुमार कोइराला सदस्य रहेको छानबिन समिति बनाएको थियो। अदालतमा मुद्दा चलिसकेको अवस्थामा बनाइएको यो छानबिन समितिले अनसनकारीलाई जुस खुवाई काम सुरु गरेर २०६९ भदौ २० गते प्रतिवेदन प्रस्तुत गरेको थियो। 

तर, लामो समयसम्म प्रतिवेदन सार्वजनिक गरिएन। छोरीमैयाँको परिवारले सूचनाको हक अनुसार निवेदन दिएपछि बल्ल उनीहरुलाई यसको नक्कल उपलब्ध गराइएको थियो। 

यो प्रतिवेदनले पनि ढुकुटीले अनुसन्धानमा प्रभाव पारेको उल्लेख गरेको छ। प्रतिवेदनमा लेखिएको छ, ‘धेरै व्यक्तिहरु ढुकुटी खेल्ने जस्तो गैरकानुनी कार्यमा संलग्न भएको पाइएको तर यस सम्बन्धमा यथेष्ट सूचनाको अभाव रहेको, संलग्न व्यक्तिहरुमा पनि खुलाउन नचाहने प्रवृत्तिले यससँग जोडिएर भएका र हुनसक्ने आपराधिक क्रियाकलापहरुमाथिको निगरानी तथा नियन्त्रणमा समस्या देखिएको। 

छानबिन समितिले बुझेका व्यक्तिहरुबाट पनि छोरीमैयाँ र निक्की सिंह ढुकुटीमा संलग्न रहेको भन्ने देखिन आएको नै उल्लेख छ। छानबिन समितिसितको बयानमा निक्कीले आफू ढुकुटी खेल्ने कार्यमा संलग्न रहेको भन्ने नै बताएकी थिइन्। 

समितिले ढुकुटी नियन्त्रणको लागि आवश्यक कदम चाल्न पनि सुझाव दिएको छ। 

बयानमा ढुकुटी

छोरीमैयाँको परिवारले उनी ढुकुटीमा संलग्न रहेको कुरालाई अस्वीकार गरे पनि बयानहरुले भने उनी ढुकुटीमा संलग्न रहेको प्रष्ट देखाउँछ। 

श्यामकाजी श्रेष्ठले छानबिन समितिलाई दिएको बयानमा १०/१० हजार राखेर १ लाख २० हजारको ढुकुटी खेलेको कुरा छोरीमैयाँले बताएको भन्दै आफूले पनि खेले सहकारीभन्दा सजिलो र कम ब्याज लाग्ने भनेको उल्लेख छ। उनले किस्ता वापत २० हजार दिएको र तेस्रो किस्ता बराबर ८ हजार ५ सय रकम बुझाउन घर गएको बताएका छन्। 

उनले भनेका छन्, ‘हनुमानढोकामा मलाई बुझ्ने क्रममा मैले ढुकुटीको किस्ता बुझाउन गएको भन्दा छोरी सुभद्राले मलाई ढुकुटीको किस्ता किन भनेको भनी रिसाइन्। किन हो मलाई थाहा भएन।’

त्यसैगरी मास्के थरकी एक महिलाले ३० जना मिलाएर ६० हजारको ढुकुटी, १० जना मिलाएर दुई तोलाको सुन ढुकुटी र २५ जना मिलाएर १५ लाखको ढुकुटी खेलाएको र त्यसमा निकी पनि रहेको बताएकी छिन्। त्यसमा ५/६ जना भागेर आफूलाई १५/२० लाख घाटा भएको बताउने उनले निक्की धेरै स्थानमा ढुकुटी खेल्ने गरेको बताएकी छिन्। 

त्यस्तै जोशी थरकी अर्की महिलाले पनि दुई वर्षअगाडि निक्कीसित १४ जना सहभागी भई ६ लाखको ढुकुटी खेलेको बताएकी छिन्। 

निक्कीकी बहिनी रेखा श्रेष्ठले पनि बयानमा दिदी बहिनी मिलेर रमाइलोको लागि ढुकुटी खेल्ने गरेको स्वीकार गरेकी छिन्। उनले निक्कीको नाममा छोरीमैयाँले न्युरोडतिर पनि ढुकुटी खेलेको छ भन्ने सुनेको छु भनेकी छिन्। 

अनुसन्धानमा के छ ?

यो घटनाको पृष्ठभूमिमा ठूलो रकमको गैरकानुनी ढुकुटी कारोबार देखिए पनि प्रहरीको अनुसन्धान भने त्यो पाटोमा प्रवेश गरेको छैन। जबकी, प्रहरीले यसभित्र पनि गहन अनुसन्धान गर्न आवश्यक देखिन्थ्यो।

प्रहरीले रकमको विवादमा छोरीमैयाँलाई निक्की सिंहले अपहरण तथा शरीर बन्धक बनाएको अभियोग लगाएको थियो। यो विवादमा छोरीमैयाँको घरमा भेटिएको एउटा डायरीमा लेखिएको शून्य अंकले थप विवाद कसरी ल्यायो, यसबारे विस्तृत जानकारी भोलिको भागमा।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

 

अघिल्ला शृ‌ंखला

१३ मंसिर, २०७८, १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।