छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?

छोरीमैयाँको सम्पर्कमा आएका ती भारतीय नम्बरहरु कसका थिए ?

राजधानीबाट एक दशकदेखि बेपत्ता छोरीमैयाँ महर्जनको बारेमा हामीले सुरु गरेको यो शृंखलाको हिजोको अंकमा अघिल्लो शृंखलामा उठाएका केही नसुल्झिएका रहस्यहरुको बारेमा चर्चा गरेका थियौँ। 

छोरीमैयाँ हराएको केही दिनमै हल्लाहरु सुरु भइसकेका थिए। तीमध्ये एउटा हल्ला थियो- उनी पोइल गइन्, एक जना भारतीयसँग। अहिले भारतमा लुकेर बसिरहेकी छिन्। 

यो खाली हल्लामा मात्र सीमित भएन। किनभने प्रहरीलाई नै उद्धृतत गर्दै राष्ट्रिय दैनिकहरुले समेत एक भारतीयसँगै छोरीमैयाँ हराएकोबारे समाचारहरु लेखेका थिए। 

हल्लासँगै प्रहरीले त्यो पाटोको पनि तुरुन्त गहन अनुसन्धान गर्नुपर्ने थियो। तर प्रहरीले अनुसन्धानको चरणमा रहेका अपुष्ट कुरालाई सार्वजनिक गरेर हल्ला झन् फैलाउने काम मात्रै गर्यो। 

के साँच्चै छोरीमैयाँ हराउनुसँग भारतको केही सम्बन्ध छ त?

के छोरीमैयाँ भारतमा पहिले पनि गएकी थिइन्?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यो केसको अनुसन्धान थालेपछि छोरीमैयाँको भारतीय लिंकबारे थप सोधखोज गर्योस। त्यही क्रममा उनी २०५२ सालमा भारत गएर ७ दिनमा र २०५५ सालमा ४ दिनमा फर्किएको खुल्यो। 

कहाँ गएकी थिइन् त उनी?

अनुसन्धानमा खुलेअनुसार लक्ष्मी चौधरीकी छोरी रेखा चौधरीको विवाहमा सहभागी हुन छोरीमैयाँ भारतको आसामस्थित तीनचुथियामा गएकी थिइन् २०५२ सालमा।

त्यस्तै २०५५ सालमा पनि उनी भारत गएको खुल्यो, लक्ष्मीकै छोरी उमा चौधरीको विवाहका लागि। उनी भारतको पटनास्थित राजेन्द्रनगरमा गएकी थिइन्। 

छोरीमैयाँ हराएपछि प्रहरीले लक्ष्मीसँग पनि सोधपुछ गरेको थियो। उनी म्यान्मारबाट धेरै वर्षअघि नेपाल आएर काठमाडौं बसिरहेकी रहिछिन्। त्यतिबेला उनले टेकुमा महिलाका लागि नाइट सुट बनाउने काम गर्थिन् र त्यही क्रममा छोरीमैयाँसँग चिनजान भएको उनले बताइन्। 

आफ्नी छोरीको बिहेमा छोरीमैयाँ भारत गएको र त्यहाँ आफ्ना आफन्तहरुको घरमा बसेको उनले पुष्टि पनि गरिन्। 

तर, यो त धेरै पुरानो कुरा भयो। घटना हुनुभन्दा १३ वर्षअघिको।

छोरीमैयाँ हराएकी थिइन् २०६८ सालमा। अर्थात् सन् २०१२ को फेब्रुअरी २८ तारिखमा। त्यसको भोलिपल्ट बिहान १० बजेर १९ मिनेटमा तीन सेकेन्ड बिना आवाज छोरीको मोबाइलमा सम्पर्क भएपछि उनको मोबाइल स्विच अफ भएको भयै छ। 

अपहरण, बेपत्ता, हत्या जस्ता केसहरुमा प्रहरीले अनुसन्धानको सुरुवात नै पीडितको मोबाइल नम्बरको कल डिटेलबाट गर्छ। स्वभाविक रुपमा यो केसमा पनि छोरीमैयाँको मोबाइलका पछिल्ला केही महिनाका विवरण प्रहरीसामु पुग्यो। 

फोन नम्बर ९१८८***९९१। समय : राति ८ बजेर ४६ मिनेट। अवधि : २६ सेकेन्ड।

सोही फोन नम्बर। समय : राति ८ बजेर ५२ मिनेट। अवधि : ३ मिनेट २३ सेकेन्ड।

छोरीमैयाँ हराउनुभन्दा ४५ दिनअघि अर्थात् २०१२ जनवरी १४ तारिखमा यो दुई वटा कलमा अनुसन्धानकर्ताको ध्यान गयो। 

फोन नम्बरमा ९१ कन्ट्री कोड हुनुको अर्थ थियो- यो भारतीय मोबाइल नम्बर हो यो। छोरीमैयाँको मोबाइलबाट भारतीय मोबाइल एयरटेलको नम्बरमा यी कल गरिएका थिए। 

त्यो दिन मात्र होइन, त्यसपछि लगातार पाँच दिनसम्म अर्थात् १९ तारिखसम्म यो नम्बरमा हरेक दिन कुरा भएको देखिन्छ। एक दिन बिहान बाहेक अरु सबै दिन राति नै कुराकानी भएको कल डिटेलमा देखिन्छ। 

त्यसैगरी २०१२ जनवरी २२ अर्थात् हराउनु ३७ दिनअघि पनि एउटा अर्को भारतीय नम्बर ९५६***४१३ मा बिहान १ मिनेट २३ सेकेन्ड सम्पर्क भएको देखिन्छ।

कसलाई गरिएको थियो फोन ? 

छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन। 

त्यतिबेला अनुसन्धान प्रगति विवरणमा लेखिएको थियो, ‘छोरीमैयाँको कपडा सिलाउने क्रममा भारतीयहरु काम गर्ने भएकोले सोही व्यक्तिहरुसँग सम्पर्क भएको हुनसक्ने सम्भावना, अन्य थप कुराहरु केही नखुलेको।’

तर, छोरीमैयाँको परिवारका अनुसार उनीहरुको कारखानामा भारतीयहरु कोही पनि काम गर्दैनथे। 

उनले इम्ब्रोइडरी गर्न भारत घर भएका रुस्तम अन्सारीलाई काममा लगाउने गर्थिन्। अन्सारी हराएका थिएनन्। प्रहरीले जैसिदेवल नजिकै पसल रहेका अन्सारी र त्यहाँ काम गर्नेहरुबारे पनि सोधपुछ गरेको थियो। 

२०६९ वैशाख १० गते प्रहरीले अन्सारीलाई सोधपुछ गर्दा उनले बयानमा भनेका थिए, ‘कामको सिलसिलामा चिनजान भएको हो। मलाई बुट्टा बनाउने काम गर्न लगाउनु हुन्थ्यो। काम गर्ने सिलसिलामा पछि काम नराम्रो भयो भनेपछि मैले काम गर्न छाडेको हुँ। त्यसपछि मेरो भेटघाट भएको छैन।’

त्यसो भए ती भारतीय नम्बरहरु कसका थिए त जसमा छोरीमैयाँको मोबाइलबाट सम्पर्क भएको थियो? 

हामीले योबारे प्रश्न गर्दा छोरीमैयाँकी कान्छी छोरी सुधा महर्जनले भनिन्, ‘त्यतिबेला दिदी (सुभद्रा) र भिनाजु दिल्ली घुम्न जानुभएको थियो। घुम्ने पनि अनि त्यहाँबाट कुर्था आदि सामान ल्याएर यता बेच्न सकिन्छ कि भन्ने हिसाबले पनि उहाँहरु त्यहाँ जानुभएको थियो। हामीले दिल्लीमा उहाँहरु बसेको ठाउँको मोबाइलमा कल गरेका थियौँ।’

छोरीमैयाँको मोबाइलबाट किन त ?

‘आमाको मोबाइलमा पैसा भइरहने, त्यही भएर उहाँकै मोबाइलबाट कुरा गर्थ्यौं’, उनले भनिन्। 

हामीले यसबारे थप खोज्ना सुभद्रा र उनका पति सानु महर्जनको फेसबुक खोतल्यौं। सानुले सन् २०१२ को फेब्रुअरी १३ मा ताजमहल लगायत भारतका ठाउँहरुमा खिचेको फोटो फेसबुकमा अपलोड भएको फेला पर्यो। 

खासमा यी मोबाइल नम्बरहरुमध्ये ९१८८***९९१ छोरीमैयाँकी जेठी छोरीको श्रीमानको टाढाको नाता पर्ने दिल्लीमा बस्ने सविन शाहको र ९५६***४१३ सुमित्रा शाहले चलाउने गरेको खुल्यो। 

यो खुलेसँगै भारतीय नम्बरको कनेक्सनको एउटा पाटोको अनुसन्धान टुंगियो। 

हराएको ६ महिनापछि भारतबाट ‘मिस्डकल’

छोरीमैयाँको अवस्था पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान जारी थियो। उनी राजीखुसीले कतै लुकेर बसेको भए परिवारका सदस्यसँग कुनै न कुनै हिसाबले सम्पर्क हुनुपर्ने अनुमान थियो। त्यसैले उनको परिवारका सदस्यहरु निरन्तर प्रहरी निगरानीमा थिए।

हराएको ६ महिनापछि प्रहरीले एउटा ‘क्लु’ पायो। 

सन् २०१२ अगस्ट २० तारिखका दिन छोरीमैयाँकी कान्छी छोरी सुधाको मोबाइलमा रिङ बज्यो। उनले उठाउन नपाउँदै रिङ बन्द भयो। 

यो ‘मिस्डकल’ आएको थियो कन्ट्री कोड ९१ बाट सुरु भएको नम्बर अर्थात् भारतबाट। 

पहिलेझैँ कोही आफन्त त त्यतिबेला भारतमा गएका पनि थिएनन्। ८७३५***८४९ बाट कसले गर्यो कल? 

कतै प्रहरीको निगरानी भइरहेको थाहा पाएका कारण छोरीमैयाँले फोनमा कुरा नगरी मिस्डकलमात्र गरेर पछि अन्य माध्यम (इन्टरनेट आदि) बाट कुराकानी भएको हो त?

त्यसै पनि बजारमा छोरीमैयाँ भारतमा लुकेर बसेको हल्ला फैलिरहेको थियो नै। 

यस्ता आशंका मिश्रित प्रश्नहरुको चित्तबुझ्दो तथ्यगत जवाफका लागि थप अनुसन्धान अनिवार्य थियो। 

किनकी, छोरीमैयाँको परिवारले कसले फोन गरेको भन्नेबारे आफूहरुलाई केही थाहा नभएको बताइरहेका छन्। 

फोन कसले गरेको भनेर तुरुन्त पत्ता लगाउनसक्ने अवस्था पनि थिएन। किनभने मोबाइल नम्बर नेपालका मोबाइल अपरेटरहरुको नभएर भारतको थियो। तर असम्भव अनुसन्धान थिएन। नेपाल प्रहरी र भारतीय प्रहरीबीच यस्ता केसमा सहजै सूचना आदानप्रदान हुने गरेका थिए। र, अहिले पनि हुन्छन्।

तर, लामो समयसम्म पनि यो केसको फाइलमा ‘सो भारतीय नम्बरको समेत अनुसन्धान भइरहेको’ भन्ने मात्र उल्लेख रह्यो। किन?

कसको थियो त त्यो नम्बर? यसबारे थप जानकारी  #ChhoriMaiyaKhai शृंखलाको भोलि बिहीबारको अंकमा। 

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

८ मंसिर, २०७८, १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।