कभर स्टोरी

#ChhoriMaiyaKhai शृंखला- १९

के निक्कीलाई उन्मुक्ति दिन अभियोग गम्भीर तर प्रमाण फितलो पारिएको हो ?


राजधानीबाट १० वर्षदेखि हराइरहेकी छोरीमैयाँ महर्जनको बारेमा विस्तृत रिपोर्टिङका क्रममा हिजो हामीले चर्चा गर्‍यौँ, चर्चित तथा शक्तिकेन्द्र निकट रहेका व्यापारी दीपक मल्होत्राका कारण यो केसमा कस्तो असर परेको थियो। 

२०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनलाई प्रहरीले मल्होत्राकी बहिनी निक्की भनिने सुरक्षा सिंहविरुद्ध किटानी जाहेरी दिन लगायो। अपहरण तथा शरीर बन्धकको कसुरमा दिइएको त्यो जाहेरीसँगै प्रहरीले निक्कीलाई उनको नयाँ बानेश्वरस्थित घरबाटै पक्राउ गरियो। अनुसन्धान गरिरहेको थियो, महानगरीय प्रहरी अपराध महाशाखाले। हिरासतमा राखियो महानगरीय प्रहरी परिसर काठमाडौँको। महाशाखाको आफ्नै हिरासत नभएकाले परिसरको हिरासतमा राख्छ।

कुनै पनि मुद्दाका लागि यो सबैभन्दा महत्त्वपूर्ण चरण हो। प्रहरीले कसुरको आवश्यक प्रमाण जुटाउने सबै काम यही अवधिमा गरिसक्नुपर्छ। प्रहरी अनुसन्धानमा संकलन हुने प्रमाणकै आधारमा सरकारी वकिलले अभियोग पत्र र अदालतमा बहस गर्ने हो। आवश्यक प्रमाण नजुटाउे मुद्दा कमजोर हुने नै भयो। अदालतले सफाइ दिने सम्भावना बलियो हुन्छ। 

पटकपटक म्याद थप गर्दै निक्कीलाई २४ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्‍यो र प्रस्तावित रायसहितको प्रतिवेदन जिल्ला सरकारी कार्यालयमा बुझायो। प्रहरीले अधिकतम अनुसन्धानका लागि हिरासतमा राख्नसक्ने २४ दिन नै हो।

निक्कीको घरमा खानतलासी

अभियोग थियो अपहरण गरी राखेको। त्यसैले २०६९ साल वैशाख १३ गते महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरीले छोरीमैयाँलाई बन्धक बनाएर राखेको छ कि या कुनै प्रमाण फेला पर्छ कि भनेर नयाँ बानेश्वरमा रहेको निक्कीको तीनतले घरको खानतलासी गर्‍यो। खानतलासी मुचुल्कामा लेखिएको छ, ‘भुइँतलाका चार कोठा, दोस्रो तलाका तीन वटा कोठार तेस्रो तलाका दुई वटा कोठा समेत गरी जम्मा नौ वटा कोठा रहेको, सो कोठाहरु खोली हेर्दा, खानतलासी गर्दा छोरीमैयाँ महर्जन नदेखिएको, फेला नपरेको..’

त्यसैगरी महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले निक्कीका ससुराको काठमाडौँको सुनार गाउँस्थित घरमा पनि भोलिपल्ट खानतलासी गर्‍यो। त्यहाँ पनि ‘छोरीमैयाँ महर्जन लुकाई छिपाई बन्धक बनाई राखेको अवस्थामा फेला नपरेको र निजलाई नभेटिएको’ उल्लेख गरियो। 

दुवै ठाउँमा तालिमप्राप्त कुकुर वा अन्य उपकरणको प्रयोग गरिएको व्यहोरा उल्लेख छैन। मुचुल्का हेर्दा खाली आँखाले छोरीमैयाँ वा उनको कुनै सामान देखिन्छ कि देखिन्न भनेर मात्र हेरेको देखिन्छ।

गम्भीर अभियोग, फितलो प्रमाण

अपराध अनुसन्धान महाशाखाले यो केसको अनुसन्धान गरे पनि मुद्दा सम्बन्धी काम भने महानगरीय प्रहरी परिसरबाट मात्र हुने भएकोले महाशाखाबाट फाइल परिसर पुग्यो। परिसरले २०६९ वैशाख १७ गते अर्थात् छोरीमैयाँ हराएको दुई महिनापछि प्रस्तावित रायसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई पठाइयो। 

हामीले सो प्रस्तावित राय अध्ययन गर्दा त्यसमा प्रहरीको फितलो अनुसन्धान छरपष्ट थियो। स्थापित मान्यता हो- जति गम्भीर अभियोग हुन्छ, उति बलियो प्रमाण चाहिन्छ। कमजोर प्रमाणमा टेकेर गम्भीर अभियोग लगाउनु एक किसिमले उन्मुक्ति दिने चतुर उपाय नै हो।  

प्रहरीले निक्कीले कसुर गरेको ठहर गर्न निम्न नौ वटा बुँदालाई प्रमाण दावी गरेको थियो-

१) बयान : निक्की र छोरीमैयाँबीच आर्थिक कारोबार हुन्थ्यो। तर मिसिलमा यसको दह्रो प्रमाण प्रहरीले राख्न सकेको छैन। अधिकांश बयानमुखी अनुसन्धानझैँ यसमा पनि दुई जना छोरी सुभद्रा र सुधाले गरेको कागजलाई नै मुख्य प्रमाण भन्दै पुष्टि भएको दावी गरिएको छ। निक्कीको इन्कारी बयानलाई कसुरबाट बच्ने उद्देश्य भनिएको छ। 

२) बयान : निक्कीले छोरीमैयाँसित आर्थिक कारोबार छैन भनेर बयान दिए पनि ५ लाख रुपैयाँ लिएको र छोरी सुधालाई तिरिसकेको भनेको र त्यसलाई छोरीमैयाँका भाइ रामेश्वर महर्जनले समेत खुलाएर बयान कागज गरेकोलाई पनि प्रमाणका रुपमा प्रहरीले लिएको छ। 

३) डायरी : प्रहरीले अर्को प्रमाणका रुपमा ५० लाख दिएको भनी लेखिएको डायरीलाई प्रस्तुत गरेको छ। निक्कीले ५ लाख बाहेक अरु रकम लिएको छैन भनेकी थिइन्। तर डायरीमा ५० लाख लेखिएकोले आर्थिक कारोबार भएको र निक्कीले इन्कार गरेकीले अपहरण तथा शरीर बन्धक लिने कार्यमा उनको संलग्नता पुष्टि हुने तर्क प्रहरीको छ। तर उक्त ५० अंकमा ५ र ० को विवादमा विज्ञले समेत यकिन राय दिन नसकेको र उक्त डायरीमा लेखिएका अक्षर छोरीमैयाँकै हो भन्ने अरु प्रमाण पनि राखिएको छैन।  ५० लाखको लेनदेनको थप कुनै प्रमाण हुनसक्छ नै। डायरीमा लेखेको भेटिँदैमा प्रमाण हुने पनि होइन। त्यसलाई हो या हैन भन्न थप प्रमाण प्रहरीले खोजेन।

४) फोन सम्पर्क : घटना भएको दिन छोरीमैयाँले निक्कीको घरमा जान लागेको भनेर कान्छी छोरीलाई फोन गरेको र सुधाले पनि निक्कीलाई फोन गरी जानकारी गराएको देखिँदा छोरीमैयाँ महर्जन सम्पर्कविहीन हुनुअगाडि निक्कीको घरमा गएको तथ्य स्थापित हुने तर्क प्रहरीले गरेको छ। 

५) गलत मनसाय : प्रहरीले अर्को प्रमाणका रुपमा निक्कीको गलत मनसायलाई राखेको छ। जेठी छोरी सुभद्राले आमा घरमा आएको/नआएकोबारे बुझ्दा निक्कीले नआएको भनेको र आफू न्युरोडमा भएको भनेको, तपाईँले पनि फोन गर्नूस् भन्दा फोन गरेको तर नउठेको बताएको उल्लेख छ। प्रहरी भन्छ, त्यतिबेलासम्म निक्की र छोरीमैयाँको भेटघाट भइसकेको हुनुपर्नेमा सो कुरा इन्कार गरी आफू न्युरोडमा छु भनी बताएबाट निजको गलत मनसाय स्थापित हुन्छ। 

६) किटानी जाहेरी : प्रहरीले अर्को प्रमाणका रुपमा निक्कीकै नाम किटेर शिवकृष्ण महर्जनको किटानी जाहेरी परेकोलाई उल्लेख गरेको छ। जबकी किटानी जाहेरी आफैंमा कुनै प्रमाण होइन। 

७) बयान कागज : प्रहरीको बयानमुखी अनुसन्धानमा फेरि पनि अर्को प्रमाण बयान कागजकै छ, छोरीहरु सुधा र सुभद्राले आर्थिक कारोबार लेनदेन रहेको र सोही रकम तिर्न नपरोस् भनी निक्कीले नै अपहरण गरी बेपत्ता बनाएको हुनुपर्छ भनी गरेको कागज। 

८) कल लोकेसन : छोरीमैयाँको मोबाइलको कल डिटेलमा निजको लोकेसन बानेश्वर एरियामा देखिनु र निक्की भन्ने सुरक्षा सिंहको घर बानेश्वरमा भएबाट निज सम्पर्कविहीन हुनुअगाडि निक्की भन्ने सुरक्षा सिंहको घरतर्फ रहेको स्थापित हुने तर्क प्रहरीको छ। 

९) एसएमएस : छोरीमैयाँ हराएको दिन उनको मोबाइलबाट कान्छी छोरी सुधाको मोबाइलमा मनकामनामा छु भन्ने एसएमएस आएको र जाहेरीमा सुधाको मोबाइल नम्बर सीमित व्यक्तिलाई मात्र थाहा भएको, थाहा हुनेमा निक्की पनि रहेको, छोरीमैयाँलाई अंग्रेजीमा एसएमएस गर्न पनि नआउने भनेकोले निक्कीले नै छोरीमैयाँ महर्जनलाई कब्जामा राखी एसएमएस गरी कसुरबाट बच्न र घटनालाई मोड्न उद्देश्यले एसएमएस पठाएको प्रष्ट भएको प्रहरीको तर्क थियो। 

भएको के थियो ? प्रहरीको दावी

यी नौ वटा तथ्यका आधारमा प्रहरीले भएको के थियो भन्नेबारे यस्तो उल्लेख गरेको छ- निक्की र छोरीमैयाँबीच आर्थिक कारोबार लेनदेन थियो। यही विषयलाई लिएर उनीहरुको सम्बन्ध बिग्रँदै विवाद हुँदै थियो। 

२०६८ फागुन १६ गते छोरीमैयाँ आर्थिक कारोबार मिलाउन निक्कीको घरमा गएकोमा निक्कीले नै छोरीमैयाँलाई अपहरण गरी कहीँ/कतै बन्धक बनाइराखेकी छिन्। 

यो कार्य मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महल ८ (क) को दफा १ र २ नम्बर बमोजिम कसुर अपराध भएको हुँदा दफा ३ बमोजिम १५ वर्षसम्म कैद र दुई लाख रुपैयाँ जरिवाना लिनुपर्ने र बन्धक बनाएको प्रतिदिन ५ सय रुपैयाँका दरले क्षतिपूर्ति दिलाइदिनुपर्ने प्रतिवेदन प्रहरीले पेस गरेको थियो। 

सरकारी वकिल कार्यालयको पनि उही पारा 

प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित रायसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएपछि उसको पाटो सकिन्छ। 

सरकारी वकिलको कार्यालयले भने मिसिल अध्ययन गरेर त्यसमा मुद्दा चलाउनुपर्ने हो कि होइन, चलाउनुपर्ने हो भने प्रमाण पर्याप्त छन् कि छैनन्, कुनकुन विषयमा थप अनुसन्धान गर्नुपर्ने र प्रमाण जुटाउनुपर्ने हो- यसबारे प्रहरीलाई थप निर्देशन दिनसक्छ। सरकारवादी मुद्दामा प्रहरी सरकारी वकिलको अनुसन्धानको सहयोगी हो।

यो केसमा भने अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर मुद्दामा पर्याप्त प्रमाण नभएको विषयलाई सरकारी वकिलको कार्यालयले पनि बेवास्ता गरेको देखिन्छ। यद्यपि सहायक जिल्ला न्यायाधिवक्ता पदमबहादुर कार्कीले २०६९ वैशाख १७ गते छोरीमैयाँले मनकामनामा छु भनेर एसएमएस पठाउँदाको लोकेसन कुन हो र त्यसको विवरणसमेत खुलाई पठाउन र अन्य आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको भने देखिन्छ। 

एसएमएसको विवरणसमेत नराखेर लापरबाही गरेको प्रहरीले त्यो एसएमएस खासमा कसले पठाएको थियो, कहाँबाट पठाएको थियो भन्ने बारेमा खोज्ने कुरै भएन। सरकारी वकिलको कार्यालयले ‘अन्य आवश्यक अनुसन्धान’ भनेर केलाई इंगित गरेको भन्ने पनि प्रष्ट हुँदैन। 

पुष्टि नहुने अभियोग लगाएर कमजोर बनाइयो मुद्दा

कुनै पनि मुद्दा बलियो हुनका लागि सुरुमा अनुसन्धान राम्रो हुनुपर्छ। राम्रो अनुसन्धानले पर्याप्त प्रमाण बटुले मात्रै कसुरदार ठहर गर्न सकिन्छ। तर यो मुद्दामा अनुसन्धानै फितलो थियो भने प्रमाण गतिलो थिएन। अभियोग भने गम्भीर थियो। 

जिल्ला सरकारी वकिलको कार्यालयले दिएको निर्देशनको चार दिनपछि २०६९ वैशाख २१ गते निक्कीविरुद्ध सरकार वादी रहेको अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरियो। 

अभियोग पत्र प्रहरीको प्रस्तावित रायभन्दा खासै फरक देखिन्न। यति गम्भीर अभियोगको सबुत प्रमाणमा जाहेरवाला छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जन र देख्ने सुन्ने भनेर छोरीहरुसहित नौ जनाको बयान मात्रै राखिएको छ। 

छोरीमैयाँ र निक्कीबीच लेनदेनको विवाद थियो भनिएको छ। प्रमाण के छ त? त्यही डायरी। तर डायरीमा कति रकमको लेनदेन भन्ने विज्ञबाट स्पष्ट राय देखिएको छैन। 

छोरीमैयाँ निक्कीको घरमा जाने भनेर गएकी हो तर गएकै देखिने केही ठोस सबुत छ त? छैन। 

कल डिटेलमा छोरीमैयाँको लोकेसन नयाँ बानेश्वर क्षेत्रमा देखिन्छ। तर टावर एउटै देखिँदैमा सोही घरमा नै गएको भन्ने पुष्टि गर्न सकिन्न। 

बरु निक्कीले घटनाको दिन आफू न्युरोडसहित विभिन्न ठाउँमा गएको भनेर बयान दिएको तर उनको कल डिटेलमा उनी दिनभर नयाँ बानेश्वरमै देखिएको प्रमाण राख्न सकिन्थ्यो। यो महत्त्वपूर्ण प्रमाणलाई छुटाइएको छ। किन? 

निक्कीले पटकपटक झुटो बोलेको, अरु कसैले नदेखेको छोरीमैयाँ परपुरुषसित हिँडेको भनेर स्केच बनाउन लगाएर अनुसन्धानलाई मिसलिड गर्न खोजेको जस्ता प्रमाण पनि त्यसमा राखिएन। बहसको क्रममा सरकारी वकिलले पनि यसमा जोड दिएको देखिएन। 

समग्रमा यो केसका प्रमुख प्रश्न र त्यसको प्रमाण यस्तो रह्यो-

- छोरीमैयाँ र निक्कीबीच ५० लाख रुपैयाँ लेनदेनको विवाद थियो। ५० लाख लिए/दिएको कुनै प्रमाण छ?
छैन। डायरीमा लेखिएको कुरा विज्ञबाट निर्विवाद पुष्टि भएको छैन। 

- छोरीमैयाँ निक्कीको घरमा गएको कुनै ठोस प्रमाण छ त?
छैन। कल डिटेलमा देखाएको टावरले कुनै ठाउँ विशेषलाई इंगित गर्दैन। 

- छोरीमैयाँलाई कसले अपहरण गरी बन्धक बनाई राखेको?
निक्कीले। 

- अनि अपहरण गरी बन्धक बनाएको कुनै प्रमाण छ त?
छैन। 

-अपहरण तथा बन्धक बनाउन अरु कसैको संलग्नता छ त ?
खुलेको छैन। 

-छोरीमैयाँ खै त?
खोई, थाहा छैन। 

अपहरण तथा शरीर बन्धक सम्बन्धी यति गम्भीर विषयको अनुसन्धान र प्रमाण यस्तो छ भने यसको नतिजा कस्तो होला, तपाईँ हामी सहजै अनुमान गर्न सक्छौँ। 

एसएमएसको कुरा

अभियोग पत्रमा छोरीमैयाँको मोबाइलबाट मनकामनामा छु भनेर आएको एसएमएसको कुरा पनि गरिएको छ। छोरीमैयाँ सामान्य लेखपढ गर्न जान्ने तर अंग्रेजी टाइप गर्न नजान्ने भएकोले त्यो एसएमएस निक्कीले अपराध कसुरबाट बच्ने र घटनालाई मोड्ने उद्देश्यले पठाएको दावी गरिएको छ। 

यसको प्रमाण के त? त्यसमा लेखिएको छ- छोरी सुधाको नम्बर थाहा पाउनेमध्येकी निक्की सिंह एक भएकोले उनले नै पठाएको प्रष्ट हुन्छ। 

यसमा अनुमानको कुरा गरिएको छ। अनुमानभन्दा पनि ठोस प्रमाण प्रस्तुत गर्न सकिएको भए यो जटिल केस पार लाग्थ्यो। 

के हुनसक्थ्यो त ठोस प्रमाण? 

मोबाइलको आईएमइआई नम्बर। 

यसबारे विस्तृत विवरण #ChhoriMaiyaKhai को अर्को हप्ताको अंकमा। 

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा, अस्तित्व जोगाउनै हम्मे

‘म २०५५ मा काम गर्न आएको थिएँ सेडामा। त्यति बेला सेडाको सानमान अनि काम गराइको रफ्तार देखेर कुनै दिन म पनि यहाँ आउनुपर्छ भन्ने भएको....

रद्द विज्ञापनमा डा. भूपेन्द्रको बढुवा सिफारिसमा लोकसेवालाई स्वास्थ्य सचिवको उल्टै प्रश्न : रद्द भएको विज्ञापनको फर्म किन लियो त?

डा. बस्नेत अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए। रद्द भइसकेको विज्ञापन....

शिक्षा मन्त्रालयको नेतृत्व बदलिएसँगै केशर महल ठेक्कामा दिएर रेस्टुरेन्ट र डान्सबार खोल्ने रणनीति ब्युँतियो (प्रतिवेदन सहित )

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई भित्रैभित्रै पुन तीव्र बनाएका छन्।....

विपन्नको कोरोना राहतमा राजनीति : सत्ताधारी दललाई सहयोग पुग्ने भन्दै एमालेका स्थानीय तहले लिएनन् पैसा

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्याएको बजेट प्रतिस्थापन गर्दै नेपाली कांग्रेसको नेतृत्वको सरकारले पाँच लाख परिवारलाई सरकारको तर्फबाट सहयोग दिने कार्यक्रम ल्याएको थियो। प्रधानमन्त्री शेरबहादुर....

'ठेक्का सेटिङ क्विन' बायोमेडिकल इन्जिनियर भावनाको म्याद बढाउन वीरकै उच्च अधिकारी सक्रिय

आफू निकटकालाई कम्पनी दर्ता गर्न लगाएर शिक्षण अस्पताल महाराजगन्जमा टेन्डरमा सेटिङ गरेपछि करार खारेजीमा परेकी उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आइपुगेकी थिइन्....