अनुसन्धान हुँदै गर्दा किन हटाइए प्रहरी ?

अनुसन्धान हुँदै गर्दा किन हटाइए प्रहरी ?

१० वर्षदेखि राजधानीबाट हराइरहेकी महिला छोरीमैयाँ महर्जनबारे यो शृंखलाको हिजोको अंकमा हामीले निक्की र छोरीमैयाँबीच लेनदेन हुने गरेको तर त्यसलाई निक्कीले अस्वीकार गर्दै आएको विषयमा चर्चा गरेका थियौँ। 

प्रहरीले छोरीमैयाँको घरबाट बरामद गरेको हस्तलिखित डायरीमा ५० लाख निक्कीलाई दिएको उल्लेख थियो। तर त्यो ५० को ० अंक उतिबेलै लेखिएको हो कि पछि लेखिएको हो, एउटै कलमले लेखिएको हो कि फरकले भन्नेमा विवाद रह्यो। हस्ताक्षरविज्ञले समेत यकिन राय दिन सकेनन्। 

अरु ‘क्लु’हरुको अभावमा अब प्रहरीले निक्कीलाई नै शंकाको प्रमुख घेरामा राख्न थालेको थियो। र, अनुसन्धान निक्कीप्रति नै केन्द्रित हुँदै थियो।

हो, यही बेलादेखि नै भित्री चलखेल र पावर गेमहरु भएको महसुस हुन्छ छोरीमैयाँको परिवारलाई। 

एसएसपी देवेन्द्र सुवेदीको नेतृत्व रहेको महानगरीय अपराध महाशाखाका ८ पिलरमध्ये डिएसपी रवीन्द्र धानुकको नेतृत्वमा रहेको पिलरले यो केसको अनुसन्धान गरेको थियो। परिवारसँग निकट रही फिल्डमा खटिएका थिए सई अमर थापा र इन्सपेक्टर अर्जुन केसी। 

तर, अनुसन्धानको अन्तिम चरणमा आउँदा यी दुवै प्रहरी हनुमानढोकामा देखिएनन्। उनीहरुलाई अर्कैले सोधपुछ गर्न थाले। नयाँ खटिएका व्यक्ति थिए इन्सपेक्टर गणेश चन्द। 

एक दिन उनीहरुले केसीलाई भेटे। उनले आफ्नो ट्रेनिङमा जाने समय भएकोले केसबाट अलग्गिएको जानकारी दिए। परिवारले प्लिज भन्दै अनुरोध गरे, तपाईँले धेरै बुझ्नुभएको छ यो केस, अहिले केही समय बसिदिनूस्। 

तर, उनले हामीले आफ्नो करिअर पनि हेर्नुपर्छ भन्दै बिदा लिएको सुधालाई याद छ।

अर्जुन केसी अहिले डिएसपी भइसकेका छन्। काभ्रेस्थित संघीय प्रहरी कार्यालयमा हाल उनको मुकाम छ। तर उनले यो केसमा केही पनि नबोल्ने बताए। 

‘सिआइबीले अनुसन्धान गरिरहेको विषयमा मैले बोल्न मिल्दैन’, डिएसपी केसीले हामीलाई फोनमा दिएको प्रतिक्रिया यस्तो थियो।

तत्कालीन महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदीले पनि यसबारे थप कुरा गर्न अस्वीकार गरे। उनले एआइजी भएर प्रहरी संगठनबाट अवकाश पाइसकेका छन्।

अनलाइन कुराकानीमा सुवेदीले आफू रणनीतिक नेतृत्वको पदमा रहेको र विस्तृत छानबिनका लागि अनुसन्धानकर्ताहरु खटाइएको बताए। 

'मैले केही पनि कुरा लुकाएको छैन,' उनको भनाइ थियो।

हामीले पाएको अनौपचारिक जानकारीमा सुवेदी र दीपक मल्होत्राबीच यो केसको अनुसन्धानलाई लिएर केही विवाद भएको थियो। तर यसबारे दुवैले केही बताउन चाहेनन्। 

यो केसमा अनुसन्धान गर्ने अर्का अधिकारी सई अमर थापाले भने प्रहरी सेवा छाडिसकेका छन्। 

थापासित पनि छोरीमैयाँको परिवारको एक पटक हनुमानढोकमा नै भेट भएको थियो। अन्तिम भेटमा थापाले भनेको कुरा सम्झँदै सुधा भन्छिन्, ‘बीचमा एक पटक हनुमानढोका आउनुभएको थियो। चिन्ता नगर्नू, आत्तिनुहुन्न। आमा पत्ता लाग्छ भन्नुभएको थियो।’

‘तर आमा आएपछि पनि साँचो चाहिँ बोल्नुहुन्न’, थापाले त्यसो किन भने सुधाले अहिलेसम्म थाहा पाउन सकेकी छैनन्। 

अनुसन्धान टुंगोमा नपुग्दै किन अनुसन्धानरत प्रहरीलाई हटाउनुपर्ने अवस्था आयो, यो अहिलेसम्म खुलेको छैन। 

किटानी जाहेरीको सकस

अनुसन्धान अन्तिम चरणमा पुगेपछि तत्कालीन डिएसपी रवीन्द्र धानुकले परिवारलाई बोलाएर भने, ‘हाम्रो अनुसन्धान अन्तिमतिर आइपुग्यो। अरु केही देखिएन, निक्की नै देखियो। तपाईँहरु अब किटानी जाहेरी दर्ता गर्नूस्।’

सुधा भन्छिन्, ‘हामीलाई कुन मुद्दामा गर्ने भन्ने पनि थाहा थिएन।’

यता, आफ्नी बहिनी समस्यामा परेको देखेपछि दाजु दीपक मल्होत्रा पनि सक्रिय हुन थालिसकेका थिए। उनले परिवारलाई किटानी जाहेरी दर्ता नगर्न दबाब दिए। 

जाहेरी दरखास्त भनेको कुनै पनि आपराधिक गतिविधि भएमा वा घटना घटेमा त्यस्ता घटनाको दोषीलाई कारबाही गर्नका लागि नजिकैको प्रहरीमा दिइने उजुरी हो। आफूले शंका गरेको व्यक्तिको नामै किटेर जाहेरी दिनुलाई किटानी जाहेरी भनिन्छ। 

किटानी जाहेरी पर्ने बित्तिकै त्यसमा भएका नामलाई प्रहरीले पक्रेर थुनिहाल्नुपर्छ भन्ने हुँदैन। प्रारम्भिक अनुसन्धान गरेर संलग्न देखिएकालाई पक्राउ गरेर थप अनुसन्धान गर्नुपर्ने हो। तर नेपालमा परिवारलाई किटानी जाहेरी दिन लगाएर पक्रेर अनुसन्धान गर्ने काम धेरै हुन्छ। 

प्रहरीले किटानी जाहेरी देऊ भन्ने, मल्होत्राले नदिनू भन्ने! अपराध महाशाखाले किटानी जाहेरी देऊ भन्ने, काठमाडौँ परिसरले अहिले नदिनू भन्ने- परिवार सकसमा पर्यो।  

सडकमा प्रदर्शनका कारण दबाबमा परेको प्रहरी पहिलेझैँ ‘आफूखुसी कतै गएको हुनसक्ने’ भनेर हल्का रुपमा लिनसक्ने स्थिति थिएन। पावरले प्रभावित नभएको देखाउनुपर्ने पनि थियो प्रहरीलाई। 

ठिक त्यति नै बेला हो, डिआइजी रन्जन कोइरालाले आफ्नै श्रीमती हत्या गरेको केसको अनुसन्धान भइरहेको। प्रहरीले बहालवाला सशस्त्र प्रहरीका डिआइजीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। 

परिवारले प्रहरीले भने बमोजिम किटानी जाहेरी दर्ता गर्ने तयारी गरेपछि मल्होत्राले उनीहरुलाई भेटेर सोधे, 'तिमीहरुले किटानी जाहेरी दर्ता गर्ने नै भयौ? नगर।' 

‘मेरी आमा फिर्ता आउँछिन् त?’, सुधाले प्रश्न मिश्रित जवाफ फर्काइन्।

मल्होत्रा परिवार र महर्जन परिवारबीचको कानुनी लडाइँ त्यहीँबाट सुरु भयो। 

अन्ततः २०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनले महानगरीय अपराध महाशाखामा वर्ष ४१ की निक्की भनिने सुरक्षा सिंह मल्होत्राविरुद्ध किटानी जाहेरी दिए। अपहरण तथा शरीर बन्धकको कसुरमा त्यो जाहेरी दरखास्त प्रहरीले नै तयार पारिदिएको थियो। 

प्रहरीले पक्राउ पुर्जी पनि तयार पारिसकेको थियो। त्यही दिन पक्राउ पुर्जी लिएर प्रहरीको टोली नयाँ बानेश्वरस्थित निक्कीको घरमा पुग्यो। उनलाई घरबाटै नियन्त्रणमा लिई हनुमानढोका ल्याइयो र हिरासतमा राखियो। बाँकी केही दिनहरु उनले हनुमानढोकाको हिरासतमै बिताउनुपर्यो। 

महर्जन परिवारलाई याद छ, निक्कीलाई हिरासतमा राखिएपछि नै अनेक हल्ला सुरु भएको थियो, छोरीमैयाँ न्युरोडमा देखिएकोदेखि लिएर पोइल गएकोसम्मका। केही पत्रिकामा ढुकुटीको रकम खाएर छोरीमैयाँ फरार भएकोसम्मका समाचार आएको सुधालाई याद छ। 

‘फेक समाचार र हल्लाहरु कस्टडीमा राखिएपछि सुरु भएका हुन्’, उनी भन्छिन्, 'त्यसैले ती हल्लाका स्रोतहरु कहाँ हुन् भन्ने प्रष्ट नै छ।’

मल्होत्राकी बहिनीलाई समेत पक्रेको देखाएर प्रहरीले आफूमाथि पावरको प्रेसरमा परिरहेको विषयलाई चिर्न खोजेझैँ देखिन्थ्यो। 

ती दिन सम्झँदै गत भदौमा दीपक मल्होत्राले हामीलाई भने, 'म कसरी पावरफुल? मेरी निर्दोष बहिनीलाई २४ दिनसम्म थुनामा राखियो। छोरीहरु पावरफुल कि म पावरफुल?

हल्ला त आफूहरुको विरुद्धमा पनि गरिएको मल्होत्राको भनाइ छ। 

‘मैले अचेल जस्तो हिरासत छल्न बहिनीलाई अस्पतालमा पनि राखिनँ। तर हल्ला भने कस्टडीमा नभई घरमा लगियो भन्ने समेत भयो’, उनी भन्छन्, ‘त्यस्ता हल्ला चिर्न हनुमानढोकाको छतमा निक्कीलाई उभ्याएर भीडलाई देखाउनुपरेको थियो।’

निक्कीलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप्दै कानुनले दिएको अधिकतम अवधि २४ दिनसम्म हिरासतमै राख्यो। यो बीचमा उसले सबै प्रमाणहरु संकलन गरेर प्रस्तावित राय प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्थ्यो। त्यसैलाई अध्ययन गरेर जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्थ्यो। 

तर, महत्त्वपूर्ण प्रमाण संकलनका क्रममा प्रहरीले कसरी लापरबाही गर्यो  र फितलो मुद्दा कसरी दायर गरियो, यस विषयमा विस्तृत थप जानकारी #ChhoriMaiyaKhai का आगामी अंकमा।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

१५ मंसिर, २०७८, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।